काठमाडौं । विश्वमा नकारात्मक समाचारको बाढीबीच नेपालबाट सकारात्मक सोच र ऊर्जा फैलाउने नयाँ अभियान सुरु भएको छ। नेपाल दृश्य मिडिया प्रा।लि। ले असोज ५ देखि केवल सकारात्मक समाचार प्रकाशन र प्रसारण गर्ने घोषणा गरेको छ।
संस्थाले यसलाई लामो समयदेखि तयारी गरिएको दुरगामी योजनाको पहिलो औपचारिक कदमका रूपमा लिएको जनाएको छ। यस अभियानमार्फत नेपाललाई केवल हिमाल र बुद्धको देश मात्र नभई कृतज्ञता, सकारात्मकता र प्रेरणादायी समाज भएको देशको रूपमा चिनाउने उद्देश्य लिइएको छ।
अध्यक्ष तथा प्रधान सम्पादक शिवनारायण गिरिका अनुसार, मिडिया र सामाजिक सञ्जालको दुरुपयोगले समाजमा निराशा र अशान्ति फैलाइरहेका बेला यस अभियानले आशा र सम्भावनाको किरण जगाउनेछ। उनले भने, ‘हाम्रो संकल्प हो, सकारात्मक सोच, सकारात्मक ऊर्जा, सकारात्मक नेपाल र सकारात्मक विश्व निर्माण।’
यसअघि पनि नेपाल दृश्यले Gratitude Power LLC सँग सहकार्य गर्दै ‘कृतज्ञता दिवस’ विशेष कार्यक्रम, ‘कृतज्ञता विराम’ तालिम तथा विभिन्न टक–शोमार्फत हजारौंलाई प्रेरित गरिसकेको छ। झापा, धादिङ र मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीलाई पनि तालिम दिइएको थियो ।
अभियानको पहिलो चरणमा नागरिकहरूले आफ्ना टोल, समाज वा संस्थाले गरेका सकारात्मक कार्यका फोटो वा भिडियो सामग्री पठाउन सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि 9846718842 नम्बरमा WhatsApp तथा [email protected] मा मेल पठाउन सकिनेछ ।



