Author: Hulak News

  • प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

    प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

    काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो ।

    अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ ।

    प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था छ । यसले प्रहरी कर्मचारीको मनोबल बढाउन मद्दत गर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले निर्णयार्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

  • विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय 

    विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय 

    काठमाडौं । राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ ।

    शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन् । २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।

    बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केन्द्रीय प्रतिनिधिको संख्या थप्न प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको प्रवक्ता महराले जानकारी दिए ।

  • कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो ।

    नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ रहेको छ । कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको हो ।

    यसपटक ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जना, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जना विद्यार्थीले ल्याएका छन् ।

    त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १० हजार ७३ जना रहेको छ ।

    ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् ।

    यसरी हेर्न सकिन्छ नतिजा

    रिजल्ट हेर्न NEB लेख्ने, एक स्पेस लिएर सिम्बाेल नम्बर राख्ने अनि १६०० मा एसएमस गर्न सकिने छ । वेब पेजमार्फत हेर्नका लागि https://www.ntc.net.np/ मा गएर सिम्बाेल नम्बर र जन्म मिति राखेर सर्च गर्दा पनि रिजल्ट थाहा पाउन सकिने छ । अथवा ल्याण्ड लाइनबाट १६०१ डायल गरी दिइएकाे निर्देशनअनुसार रिजल्ट बुझ्न सकिन्छ ।

  • जब मन्त्रीले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

    जब मन्त्रीले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् ।

    रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

    विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

     

  • राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

    राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

    काठमाडाैं । राजासहित हिन्दू राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुधबारदेखि सुरु हुँदैछ ।

    भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

    महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

    तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।

  • मंगलबार यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने

    मंगलबार यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने

    काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ ।

    दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

    बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात सम्भावना छ ।

    शुक्रबार देशभर बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपातका कारण चिसो बढ्ने बताएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ६.३ डिग्रीसेल्सियसमा झरेको छ भने जुम्लाको तापक्रम माइनस ४ दशमलव ८ डिग्रीसम्म झरेको छ ।

  • एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सर्वाधिक मत, भुसाल पराजित

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सर्वाधिक मत, भुसाल पराजित

    चितवन । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् ।

    चितवनमा भएको १० औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

    उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पाैडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।

    तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।

    एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए । तर उनी पराजित भएका छन् ।

  • एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित

    एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित

    काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् ।

    मंगलबार भएको निर्वाचनमा भीम रावललाई पराजित गरी ओली पुनः निर्वाचत भएका हुन् ।

    ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिएकाे र अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएकाे निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

    ओली यसअघि नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई थोरै मतान्तरले पराजित गर्दै अध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भइसकेका छन् । सोमबार वरिष्ठ उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको थियो ।

  • केही दिन पारिलाे घाम लाग्ने सम्भावना कम, यस्ताे रहनेछ माैसम

    केही दिन पारिलाे घाम लाग्ने सम्भावना कम, यस्ताे रहनेछ माैसम

    काठमाडाैं । अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेका मौसमविद्ले बताएका छन् ।

    अबको केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने र केही ठाउँमा वर्षा तथा केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको र भोलि सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी पर्ने र हिमाली जिल्लामा हिमपात हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

    मंगलबार काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    महाशाखाका अनुसार मंगलबार दिउँसाे देशभर आँशिक बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ ।

  • ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्यो : डब्लूएचओ

    ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्यो : डब्लूएचओ

    न्युयाेर्क । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ ।

    डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌‍आवश्यकता औल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रैनजिक छ’ उनले भने ।

    ओमिक्रोन भाइरस यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो । यो भेरियन्ट कोभिडको यसअधि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ । भेरियन्टबारे तत्कालै जानाकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रश‌ंसा भएको छ । ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ । तसर्थ महामारीबारे विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने ।

    नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । ‘हामीममध्ये धरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने । । तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानाकारी दिए ।

    क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ । भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशहरुले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन् ।

    त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरुसँगको सीमा बन्द गरेको जनाएको छ ।