प्रहरीमा एसपीसम्मले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो ।

अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ ।

प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था छ । यसले प्रहरी कर्मचारीको मनोबल बढाउन मद्दत गर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले निर्णयार्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१