• २०८३ साउन ३
  • 2026 July 19, Sunday

गत आर्थिक वर्षमा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ । विभागका अनुसार उक्त अवधिमा स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत मार्ग ‘अप्रुभ्ट रुट’ मार्फत गरी १ हजार ११६ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

विभागका अनुसार स्वचालित मार्गबाट ८९७ परियोजनाका लागि ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, ‘अप्रुभ्ट रुट’मार्फत २१९ परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।

क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै ७२७ परियोजना दर्ता भएका छन् । यद्यपि यस क्षेत्रमा लगानी प्रतिबद्धता २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन रकमका आधारमा सबैभन्दा ठूलो हिस्सा हो । पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ, ऊर्जामूलक क्षेत्रमा ४ परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ तथा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धताले नेपालमा विशेषगरी कृषि, पर्यटन, ऊर्जा, उत्पादन र सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गरेको छ ।