Category: खेल

खेल

  • नेपाल यू–१६ को आक्रामक प्रदर्शन, इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

    नेपाल यू–१६ को आक्रामक प्रदर्शन, इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

    काठमाडौं । यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ५ विकेटको क्षतिमा ४२० रन जोड्दै कीर्तिमानी स्कोर बनाएको हो ।

    नेपालका लागि प्रशिद्ध जैशीले शानदार शतक प्रहार गर्दै ११४ बलमा १३ चौका र ३ छक्कासहित १३२ रन जोडे । त्यसैगरी परिमार्जन यादवले २८ बलमा ७१ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन र जोय थापाले ४१ बलमा ५७ रनको योगदान दिए ।

    सुगम बुढाथोकीले पनि ३४ बलमा ३९ रन जोड्दै स्कोरलाई थप बलियो बनाए भने रोशन शाहीले ९ बलमा १० रन जोडे । शिवान्स बजगाईँ ४ रनमा आउट भए ।

    नेपालले पहिलो १० ओभरमै कुनै विकेट नगुमाई १३० रन जोड्दै बलरमाथि दवाब कायम गरेको थियो ।

    नेपालको आक्रमक ब्याटिङपछि अब इन्डोनेसियाले यो विशाल लक्ष्य पछ्याउन पर्नेछ । नेपाललाई जित दिलाउन बलरहरूले पनि यही जुझारु खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

     

  • टी–२० विश्वकपको तयारी : नेपाल राष्ट्रिय टोली अष्ट्रेलियाको टी–२० श्रीङ्खलामा मा सहभागी हुने

    टी–२० विश्वकपको तयारी : नेपाल राष्ट्रिय टोली अष्ट्रेलियाको टी–२० श्रीङ्खलामा मा सहभागी हुने

    नेपाल राष्ट्रिय क्रिकेट टोली आगामी २०२५ अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड  टी–२० श्रीङ्खलामा सहभागी हुने भएको छ।

    यो श्रृंखला सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि एक महत्वपूर्ण अभ्यासको अवसर मानिएको छ।

    नेपालले उक्त प्रतियोगितामा डिएक्ससी एरिना, टिआइओ स्टेडियम र काजालीज एरिना मा कम्तीमा ६ वटा खेल खेल्ने छ।

    प्रतियोगिताको पूरा खेल तालिका र सहभागी टोलीहरूको विवरण चाँडै सार्वजनिक गरिने आयोजकहरूले जनाएका छन्।

    अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको प्रदर्शनलाई थप सशक्त बनाउने यो सिरिजले खेलाडीहरूलाई बहुमूल्य अनुभव दिने विश्वास गरिएको छ। नेपाली क्रिकेट समर्थकहरू अब फेरि राष्ट्रिय खेलाडीहरुको प्रदर्शन हेर्न उत्साहित छन्।

  • सन्दीप र ललितको आईसीसी टी–२०आई वरियतामा उल्लेख्य सुधार

    सन्दीप र ललितको आईसीसी टी–२०आई वरियतामा उल्लेख्य सुधार

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनरहरू सन्दीप लामिछाने र ललित राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा उल्लेख्य प्रगति गरेका छन्।

    लेग स्पिनर सन्दीप लामिछानेले स्कटल्याण्डमा सम्पन्न टी–२०आई शृंखलामा शानदार प्रदर्शन गर्दै ४१ स्थान उक्लिएर बलिङ वरियतामा ७५औं स्थानमा पुगेका छन्। उनले चार खेलमा ११ विकेट लिएका थिए।

    त्यस्तै, बाँया हातका स्पिनर ललित राजवंशीले पनि राम्रो प्रदर्शन गर्दै २९ स्थानको सुधारसहित ५४औं स्थानमा स्थान बनाएका छन्। उनले सो शृंखलामा ४ विकेट हात पारेका थिए।

    अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत छन्, भने कुशल भुर्तेलले ब्याटिङमा १० स्थान सुधार गरी ८३औं स्थानमा उक्लिएका छन्। टी–२०आई अलराउन्डर सूचीमा उनले ६ स्थान उक्लिएर ३२औं स्थानमा पुगेका छन्।

    नेपाली क्रिकेट टोलीको समग्र वरियतामा भने कुनै परिवर्तन देखिएको छैन। नेपाल टी–२०आई टोली विश्व वरियताको १८औं स्थानमा र एकदिवसीय वरियतामा १७औं स्थानमा यथावत रहेको छ।

    एकदिवसीय बलिङ वरियतामा पनि सुधार देखिएको छ। ललित राजवंशी ५ स्थान सुधार गर्दै ४८औं स्थानमा पुगेका छन् भने सन्दीप लामिछाने एक स्थान सुधार गर्दै ५४औं स्थानमा पुगेका छन्।

  • एनपिएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सका ६ खेलाडी रिटेन, ६ खेलाडी रिलिज

    एनपिएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सका ६ खेलाडी रिटेन, ६ खेलाडी रिलिज

    नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको उपविजेता टिम सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि ६ खेलाडीलाई रिटेन गरेको छ।

    राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा टिममा यथावत् राखिएको छ। ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई पनि टिमले रिटेन गरेको हो।

    साथै, सुदूरपश्चिमले ६ खेलाडीलाई टिमबाट अलग गरेको छ। टिमका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काका अनुसार अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ।

    रिलिज गरिएका खेलाडीहरूको भविष्यका लागि शुभकामना दिँदै, आगामी ड्राफ्ट र ट्रायलमार्फत नयाँ खेलाडीहरूलाई स्वागत गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने दाउमा नेपाल

    अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने दाउमा नेपाल

    नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

    नेपाल हालसम्म तीन खेलमध्ये दुईमा विजयी हुँदै अंक तालिकाको शीर्ष स्थानमा छ र आजको खेल जितेमा नेपालले सिरिज आफ्नो पक्षमा पार्नेछ।

    स्कटल्यान्डले भने तीन खेलमध्ये एकमात्र खेल जितेको छ र दुई अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ। आजको खेल दुबै टोलीका लागि निर्णायक हुनेछ, किनकि सिरिज जित्न अबको जित अनिवार्य छ।

    सिरिजमा नेदरल्यान्ड्सले चार खेल खेलेर चार अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ।

    नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा हार व्यहोरेको थियो। त्यसपछि उसले स्कटल्यान्डलाई दुई विकेटले र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै बलियो पुनरागमन गरेको थियो।

    आजको खेल पनि नेपालले आफ्नो पोल्टामा पार्न सकेको खण्डमा नेपालका लागि जारी श्रृङ्खलामा सुखद् समापन हुनेछ ।

  • नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर,नतिजा नेपालको पोल्टामा परेन

    नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर,नतिजा नेपालको पोल्टामा परेन

    स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग निकै रोमाञ्चक प्रतिस्पर्धा गर्दै तेस्रो सुपर ओभरमा हार बेहोरेको छ।

    तीन पटक स्कोर बराबरी भएपछि अन्ततः नेपाल पराजित भयो।नेपाल र नेदरल्यान्ड्सले तीन सुपर ओभर खेलेर कीर्तिमान बनाए। पहिलो र दोस्रो सुपर ओभरमा दुवै टिमले बराबरी खेलेपछि तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले जित हासिल गर्यो।

    पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो, तर नेदरल्यान्ड्सले पनि १९ रन बनाएपछि दोस्रो सुपर ओभरमा खेल पुग्यो। दोस्रो ओभरमा पनि दुबै टोलीले समान १७ रन बनाएपछि तेस्रो सुपर ओभर आवश्यक भयो। दीपेन्द्रसिंह ऐरीको छक्काले दोस्रो सुपर ओभरमा खेललाई तेस्रो ओभरमा पुर्यायो।

    तेस्रो सुपर ओभरमा नेपालले कुनै रन बनाउन सकेन भने नेदरल्यान्ड्सले पहिलो बलमै छक्का हान्दै खेल आफ्नो पक्षमा पारेको हो। यसअघि नियमित २० ओभरको खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १५२ रन बनायो। जवाफमा नेपालले पनि ८ विकेट गुमाएर समान १५२ रन बनायो।

    अन्तिम ओभरमा नेपाललाई १६ रन आवश्यक परेको अवस्थामा सन्दीप लामिछाने र नन्दन यादवले आक्रामक ब्याटिङ गर्दै स्कोर बराबरी गराए। नेपालका लागि कप्तान रोहित पौडेलले ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ रनको योगदान दिए। बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए।

    खेलमा किरणकुमार ठगुन्ना र रुपेश सिंहले टी–२० मा डेब्यू गरे। नेदरल्यान्ड्सविरुद्ध पहिलो पटक टी–२० खेलिरहेका उनीहरू प्लेइङ-११ मा पनि परेका थिए। नेपाली टोलीले यो सिरिजलाई २०२६ टी–२० विश्वकप छनोटको तयारीको रूपमा लिएको छ।

    यसअघिका सिरिज र अभ्यास म्याचहरू जस्तै, नेपालले आगामी महिना श्रीलंका, त्यसपछि अस्ट्रेलिया र सेप्टेम्बरमा युएई भ्रमण गरी तयारी गर्नेछ। अक्टोबरमा ओमानमा हुने एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा नेपालले प्रतिस्पर्धा गर्दैछ।

    यस छनोटबाट तीन टोली २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुग्ने छन्। विश्वकपमा १२ टोली पहिले नै छनोट भइसकेका छन् भने बाँकी आठ टोली क्षेत्रीय छनोटबाट तय हुनेछन्।

  • नेपाल र नेदरल्यान्ड्सबीच खेल आज, यस्तो छ टी-२० आईमा हेड टु हेड

    नेपाल र नेदरल्यान्ड्सबीच खेल आज, यस्तो छ टी-२० आईमा हेड टु हेड

    स्कटल्याण्डमा सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

    नेपाल, नेदरल्यान्ड्स र आयोजक स्कटल्याण्ड सहभागी रहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले आइतबार नेदरल्यान्ड्सलाई पराजित गरिसकेको छ।

    नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल स्कटल्याण्डको ग्लास्गोमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।

    सिरिजका लागि नेपाली टोलीमा केही परिवर्तन गरिएको छ। चोटका कारण बाहिरिएका गुल्सन झा र सोमपाल कामीको स्थानमा रुपेश सिंह, लोकेश बम र किरणकुमार ठगुन्नालाई समावेश गरिएको छ।

    नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म १३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले ५ जितेको छ भने नेदरल्यान्ड्सले ७ खेलमा विजय हात पारेको छ। एक खेल निष्कर्षविहीन भएको थियो।

    दुवै टोलीबीचको पछिल्लो भेट २०२४ को टी–२० विश्वकपमा अमेरिकाको डलासमा भएको थियो, जहाँ नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।

    नेपालले यो सिरिजलाई २०२६ मा हुने टी–२० विश्वकपको छनोटको तयारीका रूपमा लिएको छ। यसअघिनै एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटको तयारी थालिएको छ।

    यसै तयारीअन्तर्गत नेपालले चैत महिनामा हङकङमा भएको चारदेशीय टी–२० सिरिजमा भाग लिएको थियो। आगामी जुलाईमा टोली श्रीलंका भ्रमणमा निस्कने कार्यक्रम सार्वजनिक भइसकेको छ, जसअन्तर्गत वर्षा मौसमको कारण नेपालले श्रीलंकामा प्रशिक्षण गर्नेछ।

    श्रीलंकापछि नेपाली टोली अस्ट्रेलिया जानेछ। त्यहाँ नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यास खेलाडी सम्मिलित टिमहरूसँग अभ्यास खेल खेल्नेछ।

    सेप्टेम्बर महिनामा नेपालले युएई भ्रमण गर्नेछ, जहाँ वेस्ट इन्डिजको टेस्ट टोलीसँग तीन टी–२० खेल खेल्ने तालिका छ।

    यस्तै, अक्टोबरमा नेपालले ओमानमा हुने एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट प्रतियोगितामा भाग लिनेछ। प्रतियोगितामा नेपाल, ओमान, जापान, मलेसिया, पपुवा न्यूगिनी, कुवेत, कतार, समाओ र युएई गरी नौ टोली प्रतिस्पर्धा गर्नेछन्।

    यीमध्ये उत्कृष्ट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

    विश्वकप २०२६ का लागि भारत, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान गरी १२ टोली सिधै छनोट भइसकेका छन्।

    बाँकी आठ टोली भने क्षेत्रीय छनोटबाट छनोट हुनेछन्। एसिया–ईस्ट एसिया प्यासिफिकबाट ३, युरोप र अफ्रिकाबाट २–२, र अमेरिकन क्षेत्रबाट १ टोली विश्वकपमा पुग्नेछन्।

  • कुशल भुर्तेल फेरि पोखरा एभेन्जर्समै ,पोखराले सुरु गर्यो सिजन २ को तयारी

    कुशल भुर्तेल फेरि पोखरा एभेन्जर्समै ,पोखराले सुरु गर्यो सिजन २ को तयारी

    पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि कुशल भुर्तेललाई ‘मार्की खेलाडी’को रूपमा पुनः रिटेन गरेको छ।
    गत संस्करणमा लक्की ड्रमार्फत भुर्तेललाई टिममा समावेश गरिएको हो।
    मार्की खेलाडी भएर टोलीमा भित्रिएका कुशल भुर्तेलले अघिल्लो वर्ष टोलीको कमान सम्हालेका थिए । यसपालि पनि पोखरा टिम व्यवस्थापनले भुर्तेललाई नै निरन्तरता दिने भएको छ ।

    पहिलो संस्करणमा पोखराले ७ खेलमा २ जित र ५ हार व्यहोर्दै अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा यात्रा टुङ्ग्याएको थियो ।

    दोस्रो सिजन आउन करिब ६ महिना अगावै नै  पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत आगामी सिजनका लागि कप्तान रिटेन गरिएको जानकारी दिएको छ। उनीहरूकै आधिकारिक फेसबुक पेजमा कुशल भुर्तेलको तस्बिर राख्दै टोलीले यस्तो जानकारी दिएको हो । पोस्टमा “पोखरा एभेन्जर्स कोर टिमको, रिटेन्सन फाइनल भयो। सिजन २ मा को-को खेलाडी रिटेन हुदैँछन् त भनेर अनुमान लगाउन आग्रह गरेको छ ।

  • भारतीय राजदूतावासद्वारा यू–१९ नेपाली क्रिकेटरलाई क्रिकेट किट हस्तान्तरण

    भारतीय राजदूतावासद्वारा यू–१९ नेपाली क्रिकेटरलाई क्रिकेट किट हस्तान्तरण

    काठमाडौं । भारत र नेपालबीचको खेलकुद सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्यले भारतीय राजदूतावास, काठमाडौंले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेट खेलाडीहरुलाई क्रिकेट किट हस्तान्तरण गरेको छ।

    सोही अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले “नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप” को घोषणा गरे । जस अन्तर्गत नेपालका दुइजना युवा क्रिकेटरहरुले भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर पाउनेछन्।

    यो कार्यक्रम काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा २०८२ जेठ १७ गतेदेखि जेठ २५ गतेसम्म सम्पन्न “भारतीय राजदूत क्रिकेट प्रतियोगिता–२०८२” को समापन समारोहको अवसरमा सम्पन्न भएको हो।

    प्रतियोगिताको उद्घाटन २०७२ जेठ १७ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) गेहेन्द्र राजभण्डारीको उपस्थितिमा भएको थियो।

    प्रतियोगितामा भारतीय दूतावास, नेपाल सरकारको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेट क्षेत्र तथा नेपालस्थित भारतीय डायस्पोरालाई प्रतिनिधित्व गर्ने गरी छ वटा टोलीको सहभागिता रहेको थियो।

    एक साता लामो उत्साहजनक प्रतिस्पर्धापछि फाइनल खेल २०८२ जेठ २५ गते भारतीय दूतावास र भारतीय डायस्पोराको टोलीबीच सम्पन्न भयो, जसपश्चात आयोजित पुरस्कार वितरण समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

    त्यसै दिन साँझ भएको समापन समारोह र रिसेप्सन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु तथा सहभागी टोलीका सम्पूर्ण खेलाडीहरु उपस्थित थिए।

    राजदूतावासको यो पहल खेलकुद मार्फत नेपालमा युवाहरुको विकासमा टेवा पुर्‍याउनुका साथै भारत–नेपाल जनस्तरको सम्बन्धलाई थप बलियो बनाउन गरिएको भारतको प्रतिबद्धताको एउटा सशक्त संकेत हो।

  • विराट कोहली जान पर्छ जेल ? कोहलीविरुद्ध प्रहरीमा उजुरी

    विराट कोहली जान पर्छ जेल ? कोहलीविरुद्ध प्रहरीमा उजुरी

    आईपीएल इतिहासमा पहिलो पटक ट्रफी जितेपछि खुसीयाली मनाइरहेकी रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) टिम अहिले गम्भीर विवादमा फसेको छ। २०२५ मे ४ तारिखमा बेंगलुरुमा भएको विजय परेडको क्रममा ठूलो दुर्घटना भएको थियो। अत्याधिक भिडको कारण भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका छन्।

    यो घटनापछि अब आरसीबी टिमका स्टार खेलाडी विराट कोहली विरुद्ध समेत कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ। सामाजिक अभियन्ता एच.एम. वेंकटेशले विराटविरुद्ध बेंगलुरुको कब्बन पार्क प्रहरी कार्यालयमा उजुरी दिएका छन्। प्रहरीले यस उजुरीलाई पहिले नै दर्ता गरिएको मामला नम्बर १२३।२०२५ अन्तर्गत अनुसन्धान गरिने जनाएको छ।

    प्रहरीले एक प्रेस नोट जारी गर्दै विराटविरुद्ध उजुरी दर्ता भएको पुष्टि गरेको छ र छानबिन भइरहेको जानकारी दिएको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि मात्रै थप निर्णय गरिने पनि प्रहरी स्रोतले बताएको छ।

    मुख्यमन्त्रीको भनाइ
    कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनामा घाइतेको अवस्था अहिले खतरामुक्त रहेको र उनीहरूको उपचार जारी रहेको बताए। साथै राज्य सरकारले पीडित परिवारलाई आवश्यक सहयोग प्रदान गरिने उल्लेख गरेका छन्।

    आरसीबी व्यवस्थापनको सहयोग
    आरसीबी व्यवस्थापनले मृतकका परिवारलाई १०।१० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ। यति ठूलो दुर्घटनाले विजयको खुसीलाई शोकमा परिणत गरिदिएको जनाइएको छ।

    यो घटनाले आरसीबी टिम र यसको व्यवस्थापनमाथि ठूलो प्रश्न खडा गरेको छ। विजय उत्सवको क्रममा सुरक्षा व्यवस्थाको कमी तथा अत्याधिक भिड नियन्त्रणमा लिन नसक्दा यस्तो दुर्घटना भएको अनुमान गरिएको छ।