Category: प्रविधि

प्रविधि

  • युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने

    युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने

    काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि करा लाग्ने भएको छ ।

    अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मुल्यको दुई प्रतिशत कर भुक्तानी गर्नु पर्नेछ ।

    आर्थिक विधेयक ०८० मा भनिएको छ,‘विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्नेछ । विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) लाग्नेछ ।’

    नीति लागू गर्न सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरिसकेको छ । कार्यविधि अनुसार विद्युतीय सेवा भन्नाले सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवा हो ।

    कार्यविधि अनुसार वार्षिक २० लाख रुपैयाँभन्दा माथि कारोबार गर्ने कम्पनीको हकमा मात्रै करको नियम लागू हुनेछ । जसमा विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिकालगायत सेवालाई समेटिएको छ ।

  • नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शनी हुनु गौरवको विषयः योगेश भट्टराई

    नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शनी हुनु गौरवको विषयः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सीबीएम कलेजले नेपालको गौरव बढाउने काम गरेको बताए । बुधबार डिल्लीबजारस्थित सीबीएम कलेजमा नेपालमा नै बनेको रकेट प्रदर्शनीको अवलोकन गर्दै नेता भट्टराईले यो विषयलाई संसद मार्फत सरकारमा पुर्याउने बताएका हुन् ।

    कलेज र विद्यार्थीले मिलेर ३० लाख भन्दा बढीखर्चमा रकेटको निर्माण गरेका हुन् । नेपाल सरकारले रकेटको प्रदर्शनी अवलोकनको क्रममा अमेरिकामा आउने जाने खर्चको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने आशा कलेज र विद्यार्थीको छ । यस विषयमा संसदमा कुरा उठाइदिने प्रतिबद्धता भने सांसद भट्टराईले व्यक्त गरेका छन् ।

  • फेला पर्‍याे बुद्धकाे जहाजमा हराइरहेकाे ‘मुसा’

    फेला पर्‍याे बुद्धकाे जहाजमा हराइरहेकाे ‘मुसा’

    काठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए ।

    तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो ।

    आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ ।

    आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिने समेत बुद्धको भनाइ छ ।

    बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत अनुरोध गरेको छ ।

  • उपायले नेपालमा ल्यायो कोल्ड चेन समाधान : PronGO

    उपायले नेपालमा ल्यायो कोल्ड चेन समाधान : PronGO

    काठमाडाैं । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले कोल्ड चेन लजिस्टिक सोलुसन PronGO ल्याएको छ ।

    PronGo तरकारी, फलफूल, आइसक्रिम, डेरी उत्पादन, माछामासु, जमेको खाद्य वस्तु र अन्य वस्तहुरूको ताजापन र गुणस्तर कायम राख्नको लागि तापक्रम नियन्त्रण गर्ने प्रविधि हो ।

    PronGo चिल्ड र फ्रोजन ब्याग तथा बक्समा उपलब्ध छ । फ्रोजनमा १६ घण्टासम्म -१५ °C देखि -२५°C को तापक्रम कायम गर्छ भने चिल्डमा ४८ घण्टासम्म २°C देखि ८°C को तापक्रम कायम गर्छ ।

    इनोभेटिव Phase Change Materials (PCMs) राखिएको ट्याबहरूले ब्याग र बक्समा तापक्रम स्थिर राख्छ। ढुवानी र भण्डारणको समयमा पनि यो प्रविधिले तापमान स्थिर र उपयुक्त दायराभित्र रहने ग्यारेन्टी दिन्छ ।

    यो तापक्रम नियन्त्रण नेपालको लजिस्टिक र सप्लाई चेन उद्योगका लागि विशेष गरी उत्पादनको ताजापन र गुणस्तरमा भर परेका उद्यमहरूका लागि धेरै महत्त्वपूर्ण माध्यम हुनेछ । यो प्रविधिले फोहोर कम गर्न र सप्लाई चेनको गुणस्तर सधार गर्न मद्दत गर्न सक्छ ।

    उपायले PronGO मार्फत नेपालमा कोल्ड चेन लजिस्टिक समाधानका लागि नयाँ बेन्चमार्क सिर्जना गर्दैछ। छिट्टै बिग्रिने खानेकुराहरु ढुवानी गर्दा गुणस्तर र ताजापन कायम राख्नु महत्त्वपूर्ण हुन्छ ।

    उपाय एक इनोभेटिव प्राविधिक प्लेटफर्म हो, जसले गुणस्तरीय लजिस्टिक सेवा नेपालभर प्रदान गरिरहेकाे छ ।

  • दर्ता भयाे ‘यात्री’ माेटरसाइकल

    दर्ता भयाे ‘यात्री’ माेटरसाइकल

    काठमाडाैं । स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्तत: कानुनी रूपमा दर्ता भएको छ ।

    यात्री डिजाइन स्टुडियो प्रालि नामले कम्पनी दर्ता भएको हो । यात्रीले ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको थियो ।

    एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी जटिलताका कारण बजार विस्तार हुन सकेको थिएन।

    गत वैशाखमा यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी दर्ताको बाटो खुलेको हो ।

    यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ । यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी-१ मोटरसाइकल दर्ता भएको बताएको हाे ।

  • पाटनढोका–रातोपुल–दक्षिणढोका बिजुली बस सेवा सुरु

    पाटनढोका–रातोपुल–दक्षिणढोका बिजुली बस सेवा सुरु

    काठमाडौं । पाटनढोका–माईतिघर–जमल–घण्टाघर–रातोपुल–गौशाला–चावहिल–जोरपाटी– दक्षिणढोका बिजुली बस सेवा सुरु भएको छ । २६ नम्बर रुट बन्द भएको लामो समयपछि साझा यातायातले विद्युतीय बस सेवा सुरु गरेको हो ।

    साझा यातायातले भित्राएका ४० वटा बस मध्ये पहिलो चरणमा ३ वटा उक्त रुटमा चल्ने भएका छन्। अबको २ हप्ताभित्र १५ वटा बस सञ्चालनमा आउने जनाएको छ ।

    ललितपुरका मेयर चिरिबाबु महर्जनले विहान ५ देखि राति ९ बजेसम्म नियमित बस सञ्चालन गर्न आग्रह गरेका छन् ।

     

  • जेठ १ गतेबाट एमडीएमएस लागू, श्रम स्वीकृति पाएकालेमात्र २ ओटा माेबाइल ल्याउन पाउने

    जेठ १ गतेबाट एमडीएमएस लागू, श्रम स्वीकृति पाएकालेमात्र २ ओटा माेबाइल ल्याउन पाउने

    काठमाडाैं । नेपालीले विदेशबाट २ वटा मोबाइल ल्याउनेगरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जेठ १ गतेबाट लागु हुने भएको छ ।

    सरकारले निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको हाे ।

    दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल सेटहरुको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेठ १ देखि एमडीएमएस लागू गर्ने जानकारी दिएको छ ।

    विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन् । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्नेछ ।

    प्राधिकरणले नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गरी खरिद गर्न सकिन्छ ।

    नेपालमा मोबाइल आयातकर्ता तथा विक्रेताहरुले मोबइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्न निर्देशन दिएकाे छ ।

  • विदेशबाट आउँदा अब दुइटासम्म फोन ल्याउन पाउने

    विदेशबाट आउँदा अब दुइटासम्म फोन ल्याउन पाउने

    काठमाडाैं । सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ ।

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने‍ व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन‍् ।

    पहिले पाइरहेको सुविधाबाहेक थप अर्को एउटा फोन पनि ल्याउन पाउने निर्णय भएको उनले बताइन् ।

    यसअघि बाहिरबाट फोन ल्याउँदा खेरी आफूले चलाइरहेको मात्र फोन ल्याउन पाइन्थ्यो थप अर्को ल्याए १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो । त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई तत्काल लागु नगर्न निर्देशन दिएका थिए ।

    यस्तै, एमडिएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

  • रोबोटले जन्मायो जुम्ल्याहा छोरी

    रोबोटले जन्मायो जुम्ल्याहा छोरी

    स्पेनमा बच्चा जन्माउन रोबोट्सको मद्दत लिइएको छ । रोबोट्सले गर्भाधान गर्न सहयोग गरेको जुम्ल्याहा छोरीको जन्म भइसकेको छ ।

    उक्त प्रक्रिया बार्सिलोनामा पूरा भएको हो र शुक्रकीटलाई सुईमार्फत महिलाको अण्डासँग मिलान गराउन विद्यार्थी इन्जिनियर इड्वार्ड अल्बाको सहभागिता थियो ।

    यो नयाँ प्रक्रिया स्टार्टअप कम्पनी ओभरचर लाइफले सुरु गरेको हो । महिलालाई अलि सस्तोमा प्रभावकारी ढङ्गले गर्भाधान गर्न सहयोग गराउने यसको उद्देश्य रहेको छ । इन–भिट्रो फर्टिलाइजेसनका लागि लाखौँ रकम खर्च हुने गर्छ ।

    साधरणतया आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमा नै पुरुषको शुक्रकीट र महिलाको अण्डालाई मिलाएर भ्रूणलाई विकसित गर्ने गरिन्छ । तर यस पटक रोबोट्सले यस्तो गरेको छ ।

    एमआइटी टेक्नोलोजी रिभ्युसँग कुरा गर्दै अल्बाले भने, ‘म त्यति बेला शान्त थिएँ । त्यति बेला मैले सोचिरहेको थिएँ ‘यो अर्को एउटा परीक्षण त हो ।’’

    ‘यो ठुलो उपलब्धि हो । ओभरचरले अब रोबोटद्वारा पहिलो पटक गर्भाधान गरिएको दुई स्वस्थ छोरीलाई जन्म दिएको भनेर दाबी गर्न सक्छ ।’

    यद्यपि, विशेषज्ञ यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको विश्वास गर्छन् ।

    केही विज्ञ यसमा सहमत छैनन् । कोलम्बिया युनिभर्सिटी फर्टिलिटी क्लिनिकका निर्देशक जेभ विलियम्सले यो समयमा निषेचनका लागि मेसिनभन्दा मानिस नै पोख्त भएको बताएका छन् ।

    ‘निषेचनका लागि तपाईं सकेसम्म नाजुक हुनुपर्छ । यो समयमा मानिस नै मेसिनभन्दा राम्रा छन्,’ उनले भने ।

    ओभरचरले यसमा थप अनुसन्धानका लागि ३७ मिलियन डलर रकम सङ्कलन गरिसकेको छ ।

  • अनुसन्धान र आविष्कारको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने मागसहित महावीर पुनको धर्ना (भिडिओसहित)

    अनुसन्धान र आविष्कारको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने मागसहित महावीर पुनको धर्ना (भिडिओसहित)

    काठमाडाैं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गरेका छन् ।

    पुनले शुक्रबारदेखि काठमाडाैंकाे माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका हुन् ।

    उनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए ।

    पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको बताए ।

    उनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको गुनासाे पनि गरे ।

    उनले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग पनि गरे । उनले प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने पनि बताए ।

    यस्ता छन् पुनका माग :

    १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने । कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।

    २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।

    ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने । सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने ।

    ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने । उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने ।