अनुसन्धान र आविष्कारको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने मागसहित महावीर पुनको धर्ना (भिडिओसहित)

काठमाडाैं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गरेका छन् ।

पुनले शुक्रबारदेखि काठमाडाैंकाे माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका हुन् ।

उनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए ।

पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको बताए ।

उनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको गुनासाे पनि गरे ।

उनले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग पनि गरे । उनले प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने पनि बताए ।

यस्ता छन् पुनका माग :

१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने । कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।

३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने । सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने ।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने । उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७