Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

    बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

    काठमाडौं । जाडो बढेपछि बढेको विद्युतको लोड धान्न नसकेर बेला-बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले बताएकाे छ ।

    शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । घिसिङले भने, ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ, लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं ।’

    काठमाडौं उपत्यकामा ५०–६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङकाे भनाइ थियो ।

    केही दिनयता विद्युत आपूर्ति अनियमित हुन थालेपछि सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गरिरहेका छन् ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताबारे चर्चा सुरु भएकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग भेट गरेपछि याे चर्चा सुरु भएकाे हाे ।

    भेटका क्रममा पार्टी एकताकाे सम्भावनाबारे छलफल भएकाे बताइएकाे छ । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जान सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको स्राेतले बताएकाे छ ।

    नेताहरूको भेटको तस्विर फेसबुकमा राखेर विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा ‘आशाजनक संवाद’ भएको पनि उल्लेख गरेका छन् ।

    मिश्रले फेसबूकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

    मिश्रले पछिल्लाे समय ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाइरहेका छन् ।

  • विश्व अर्थतन्त्र, सन् २०२२ मा पुनर्जीवन लेला ?

    विश्व अर्थतन्त्र, सन् २०२२ मा पुनर्जीवन लेला ?

    काठमाडौं । कोरोनाभाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ?

    विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन् । सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक प्रतिशत कमी हो ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो विवरणमा हामीबाट बिदा हुँदै गरेको सन् २०२१ मा अर्थतन्त्रको वृद्धि ५.९ प्रतिशत रहने उल्लेख छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका संयुक्तराज्य अमेरिका, युरोप समेतका मुलुकको आर्थिक वृद्धि सन् २०२१ मा ५.२ प्रतिशत रहेको थियो भने उदीयमान अर्थतन्त्र रहेका चीन, भारत, आसियान मुलुकहरु, रसिया, ब्राजिल समेतका मुलुकको आर्थिक वृद्धि यस वर्ष ६.४ प्रतिशत रहेको छ । तर चिन्ताजनक कुरा के भने न्यून आय भएका विकासशील मुलुकको अर्थतन्त्र ३ प्रतिशतले मात्र वृद्धि भएको छ ।

    आगामी वर्ष २०२२ मा पनि ठूला अर्थतन्त्र भएका मुलुकको हिस्सा बढी नै देखिएको छ । कोषका अनुसार न्यून आय भएका मुलुकको अर्थतन्त्रमा केही सुधार भई ५.३ प्रतिशत पुग्नेछ, तर कोभिडका कारण सिर्जित समस्याले यी मुलुकमा अनिश्चितता बढाएको छ । सन् २०२२ मा छिमेकी मुलुक चीनको आर्थिक वृद्धिदर ५.६ प्रतिशत हुनेछ भने भारतको वृद्धिदर ८.५ प्रतिशत हुने कोषले प्रक्षेपण गरेको छ ।

    कोषले विश्व अर्थतन्त्रको पुनरुद्धारको गति निरन्तर भए पनि आर्थिक वृद्धि सोचेजस्तो गतिमा नहुने र अनिश्चितता कायमै रहने जनाएको छ । खासगरी कोरोनाभाइरसका नयाँनयाँ भेरिएन्टका कारण विभिन्न मुलुकले लगाएका प्रतिबन्धहरुले आर्थिक विकासमा अनिश्चितता र आशंका बढाएको हो ।

    कोरोनाभाइरस विरुद्धको खोपको विश्वव्यापी पहुँच र आर्थिक नीतिहरुमा गर्नुपर्ने सामयिक सुधारले मात्र अर्थतन्त्रलाई थप गतिशील र चलायमान बनाउने कोषको ठम्याई छ । पछिल्ला विवरणहरुमा कोभिड विरुद्धको खोपको वितरणमा विकसित र गरिब राष्ट्रबीच व्यापक असमानता रहेकाले पनि आर्थिक पुनरुद्धारमा विषमता देखिएको छ, र त्यो अझ फराकिलो हुने विश्व बैंक र मुद्रा कोष दुबैले बताएका छन् । खोप वितरणको असमानताले बेरोजगारी र आर्थिक असमानता अरु बढ्ने र विश्वका करोडौं मानिस पुनः गरिबीको चक्रमा पर्ने विश्वका प्रबुद्ध अर्थशास्त्रीहरुले चेतावनी दिइरहेका छन् ।

    अर्कोतिर, उपभोग्य सामानको विश्वभर नै मूल्यवृद्धि भएको छ, र यो क्रम सन् २०२२ मा पनि देखिने छ । अघिल्लो वर्षको तुलनामा मुद्रास्फिती अझ बढेको छ । खासगरी, उदीयमान अर्थबजार भएका मुलुकमा वस्तुको मूल्यमाथि चाप पर्नेछ किनभने खाद्यान्नको चर्को मूल्य, इन्धनको मूल्यवृद्धि र मुद्रा विनिमयमा परेको चापका कारण आयातित बस्तुको मूल्य बढेको छ ।
    स्पेनकी पूर्व मन्त्री एवं विश्व बैंककी पूर्व वरिष्ठ उपाध्यक्ष अना पालासिओको विचारमा कोभिड संकटको हालको अवस्थामा आर्थिक पुनरुद्धारको कार्य ज्यादै असमान ढंगबाट अगाडि बढिरहेको छ ।

    कोभिड खोपको सफल उत्पादन र प्रयोगलाई तिब्रता दिएका विकसित मुलुकमा आर्थिक पुनरुद्धारको कार्यमा तिब्रता आएको छ । विकसित मुलुकमा खोपको उपलब्धता व्यापक छ, र उनीहरु बुस्टर डोजका नाममा तेस्रो, चौथो मात्रा खोप लगाइरहेका छन् । आर्थिक रुपमा कमजोर मुलुकहरुमा अधिकांश जनताले एक डोज खोप पनि लगाउन पाएका छैनन् । उनी भन्छन्, ‘अर्कोतर्फ, अहिले आपूर्ति प्रणालीमा आएको गडबडी र इन्धनको मूल्य वृद्धिसँगै यात्रा प्रतिबन्ध र लकडाउनको नयाँ चक्रले विपरीत परिस्थिति खडा गरिरहेको छ । साथै, बढ्दो वित्तीय जोखिम र मुद्रास्फितीको दबाबका बीच नीति निर्माताहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुमाथि सन्तुलनको नाजुक स्थिति सामना गर्नुपर्ने चुनौती आइपरेको छ ।’

    कोभिड महामारी शुरु हुनुअघि संयुक्तराज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा उत्पादित सामानमा एकाएक र एकपछि अर्को गर्दै करवृद्धि गरेपछि सन् २०१८ मा शुरु भएको दुई देशबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा असामान्य परिस्थिति सिर्जना गरेको थियो । आयातित बस्तुमाथि लगाइएका करले अन्ततः विश्वभरकै आपूर्ति प्रणालीमा नराम्रोसँग खलल पु–याएको थियो जसबाट व्यापार व्यवसायमा व्यवधान उत्पन्न भएको थियो ।

    यो अस्थिरता डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि केही सुधार हुने अनुमान गरिएको भए पनि चीनसँग मानव अधिकार, सीमा समस्या, ताइवान र दक्षिण चीन सागर विवाद जस्ता विषयमा अमेरिकासँग उत्पन्न मतभेदले व्यापार युद्धलाई अहिले ओझेलमा पारेको छ । चीन र अमेरिकाका राष्ट्रपतिबीच गत नोभेम्बर १६ मा भएको प्रत्यक्ष भर्चुअल शिखर बैठकमा आर्थिक विषयलाई भूराजनीतिक प्रसंगले ओझेलमा पारेको थियो । बैठकमा बाइडेनले चीनमाथि अन्यायपूर्ण व्यापार र आर्थिक नीतिहरु अबलम्बन गरेको दोषारोपण गर्दै यसबाट अमेरिकी कामदारको हितमाथि चोट पु–याएको बताएका थिए । बैठकमा राष्ट्रपति बाइडेनले सिनजियाङ, तिब्बत र हङकङमा मानव अधिकार उल्लंघनको कुरा उठाएर चीनलाई चिढ्याएका थिए । तर बाइडेनले अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्न चाहेको तर द्वन्द्व नचाहेको बताएर चीनलाई आश्वस्त पार्न खोजेका पनि थिए ।

    यहाँ विचारणीय पक्ष के छ भने चीन र रसियाका राष्ट्रपतिहरुसँग भेटघाट र वार्ता गरे पनि इन्डो प्यासिफिक सैन्य सहयोगलाई थप मजबूती दिनुका साथै रसिया र चीन जस्ता महाशक्ति राष्ट्रलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्र शिखर बैठक आयोजना गर्नु भएकाले पनि विश्वका आर्थिक विकास समेतका अन्य जल्दाबल्दा समस्या समाधानमा आगामी दिनमा अड्चन आउने देखिन्छ । यी कदमले दुई देशबीचको आपसी सहयोग र सम्बन्धलाई थप जटिलतातर्फ मोडेको भन्दै आलोचना पनि भइरहेको छ ।

    कोभिड संकटबाट जुझिरहेका विश्वका धेरै देशले संयुक्तराज्य अमेरिका समेतका विकसित मुलुकहरु र संस्थाबाट बढीभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग र साझेदारी चाहिरहेका छन् तर चाहे अनुरुप आर्थिक, प्राविधिक तथा अन्य क्षेत्रमा सहयोग प्राप्त गर्न सकेका छैनन् । अमेरिकाकै कार्नेजी इन्डाउमेन्ट फर इन्टरनेसनल पिसको भनाईमा अमेरिका र चीनबीचको व्यापार युद्धबाट दुबै देशले केही लाभ प्राप्त गर्न नसकेका बरु गुमाएका छन् । कार्नेजीको भनाईमा व्यापार युद्ध अहिले शीत युद्धमा रुपान्तरण हुने खतरा बढेको छ, र अन्ततोगत्वा यसले दुबै मुलुकका साथै विश्व अर्थतन्त्रलाई थप अनिश्चयको घेरामा पार्दैछ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनमाथि नरम नीति अख्तियार गर्नुको साटो थप घेराबन्दी गर्न थालेको भनाइ कार्नेजीको छ ।

    विश्व अर्थ राजनीतिमा संयुक्तराज्य अमेरिका र चीनको सम्बन्धले समकालीन विश्वमा निकै ठूलो महत्व राख्नेमा विवाद छैन । यी दुई मुलुक नै अहिलेको विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा छन् । अमेरिकाले विश्वको आर्थिक, राजनीतिक पक्षमा बढ्दो चिनियाँ प्रभावलाई कम गर्न निरन्तर प्रयास गरिरहे पनि चीन पनि आक्रामक रुपमा निरन्तर अघि बढिरहेको छ ।

    कोभिडका कारण सिर्जित आर्थिक मन्दीकै अवस्थामा पनि चीनले आफूलाई विश्व अर्थतन्त्रसँग परिपक्व ढंगबाट जोड्न महत्वाकाँक्षी बेल्ट एन्ड रोड (बिआरआई) परियोजना अघि बढाइरहेको छ । चीनले छिमेकी मुलुकहरु लाओस, भियतनाम समेतका पूर्वी एशियाली मुलुकसँग उच्च गतिको रेलसेवा विस्तार गरिरहेको छ भने पश्चिम एसियातर्फका रेल परियोजना पनि तिब्र गतिमा अघि बढेका समाचार आइरहेका छन् । अफ्रिकी र दक्षिण अमेरिकी मुलुकहरुमा पनि चीनले लगानी बढाउनुका साथै कोभिड विरुद्धको खोप व्यापक स्तरमा उपलब्ध गराएर कुटनीतिक तहमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

    न्यूयोर्क विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक नाउरिल रुबिनीले प्रोजेक्ट सिन्डीकेटमा लेखेकाे आलेखमा पनि कोभिडका नयाँ भेरिएन्टका कारण सन् २०२२ मा नयाँ चुनौतीहरु यथावत् रहेको उल्लेख गरेका छन् । केन्द्रीय बैंकहरुले नीतिगत तहमा सुधारका कदमहरु चाले पनि भूराजनीतिक र प्रणालीगत जोखिमको अवस्था रहेको उनको भनाइ छ ।

    कोभिड संकटबाट जनजीवन सहजतातर्फ उन्मुख हुन अझै केही वर्ष लाग्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहेको अवस्थामा नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका मुलुकको आर्थिक विकासका लागि विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता दातृ निकाय एवं धनी राष्ट्रहरुबाट आर्थिक, प्राविधिक सहयोग जरुरी पर्नेमा कुनै विवाद छैन । धनी र गरिब राष्ट्रबीचको बढ्दो आर्थिक असमानतालाई सम्बोधन गर्न पनि अन्तर्राष्ट्रिय स्तरबाटै पहल हुन जरुरी छ ।

    -(अन्तर्राष्ट्रिय समाचारकाे सहयाेगमा समाचार संस्था राससले तयार पारेकाे सामग्री)

  • कांग्रेस वरीयता : देउवापछि पूर्णबहादुर खड्का, गगनपछि विश्वप्रकाश (सूचीसहित)

    कांग्रेस वरीयता : देउवापछि पूर्णबहादुर खड्का, गगनपछि विश्वप्रकाश (सूचीसहित)

    काठमाडाैं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।

    सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन् । कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमश: वरीयतामा मिलाएर राखेको छ ।

    दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन् । महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उनको पछाडि छन् ।

  • प्रचण्डकाे दाबी : फरक मत भनेर विवाद हुने विषय आएकाे छैन

    प्रचण्डकाे दाबी : फरक मत भनेर विवाद हुने विषय आएकाे छैन

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा फरक मत भनेर विवाद हुने विषय नआएको दाबी गरेका छन् ।

    बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा प्रचण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरी सुझाव आएको र कुनै विवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको जिकिर गरे ।

    लेखनाथ न्यौपानेको फरक मत पनि आफूले हेरेको र आफूलाई सहयोग पुग्नेगरि नै सुझाव आएको उनकाे भनाइ छ । समूहगत छलफलका सबै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केही परिमार्जन गर्न सुझाव दिएको उनले बताए ।

    उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए । प्रचण्डले महाधिवेशन व्यवस्थित र अनुशासित रुपमा अघि बढिरहेको पनि जानकारी गराए ।

  • भेरी अस्पतालको आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

    भेरी अस्पतालको आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

    काठमाडाैं । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाएको मृत्यु भएको छ ।

    चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा धनप्रसादसहित उनकी बहिनी अन्दाजी २२ वर्षीया नन्लकली, तीन महिनाका छोरा इप्सन र आमा अन्दाजी ५५ वर्षीया कोपिला छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका थिए ।

    त्यस्तै अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतावस्थामा फेला परेका थिए ।

  • चर्चित र्‍यापर ‘लाहुरे’ पक्राउ

    चर्चित र्‍यापर ‘लाहुरे’ पक्राउ

    काठमाडाैं । चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’ पक्राउ परेका छन् ।

    उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनी बुधबार बेलुकी पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

  • इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

    इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

    काठमाडाैं । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    सहकारीमा रकम बचत गर्नेहरुको रकम ठगीको आरोपमा उनलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले बताए ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।

  • बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडाैं । सरकारले तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ । तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    उक्त अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

    गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।

  • नयाँ बसपार्कमा ९ जनाद्वारा एक महिलालाई रातभर बलात्कार, ८ जना पक्राउ

    नयाँ बसपार्कमा ९ जनाद्वारा एक महिलालाई रातभर बलात्कार, ८ जना पक्राउ

    काठमाडाैं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई ९ जनाले सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ८ जना पक्राउ परिसकेका छन् ।

    काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलामाथि मंगलबार रातभर सामूहिक बलात्कार भएकाे हाे । नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा लगेर ती महिलालाई सामूहिक बलात्कार गरिएको हो ।

    पीडित पक्षले दिएको उजुरीमा पीडक ९ जनाको नाम छ । जसमा अझै एक जना फरार छन् ।

    पीडित महिला सुर्खेतको भएको खुलेको छ। उनका श्रीमान भारतमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका पुरुष १९ देखि ४३ वर्षसम्मका छन् ।

    पीडित महिलाकाे स्वास्थ्य परीक्षण गरिएकाे र उनकाे अवस्था सामान्य भएकाे पनि प्रहरीले जनाएकाे छ ।