Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु

    रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु

    काठमाडौं । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

    भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ ।

    जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
    प्रधानमन्त्रीले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी समेत व्यक्त गरेका छन् ।
    प्रधानमन्त्रीद्वारा जारी अपिलमा भनिएको छ, “कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि हो।  उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु ।”
    प्रधानमन्त्री ओलीले सबैलाई यस विषम परिस्थितिमा संयम अपनाउन आव्हान समेत गरेको छन् ।
  • देशका विभिन्न ठाउँमा प्रदर्शन, प्रचण्ड निवासमा ढुंगामुढा, सञ्चारमन्त्रीको घरमा आगजनी 

    देशका विभिन्न ठाउँमा प्रदर्शन, प्रचण्ड निवासमा ढुंगामुढा, सञ्चारमन्त्रीको घरमा आगजनी 

    जेनजीको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि आक्रोशित युवापुस्ताले आज दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् । बिहानैबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको छ ।
    प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा ढुंगामुढा तथा तोडफोड गरेका छन् । उनको घर नजिक रहेको प्रहरी बिटमा आगजनी भएको छ ।
    उता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी भएको छ । ललितपुरको सुनाकोठीस्थित गुरुङको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सुनाकोठीस्थित उनको घर पुगेका प्रदर्शनकारीले सुरुमा ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले जानकारी दिए । घरमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
    सङ्घीय संसद् रहेको नयाँ बानेश्नर क्षेत्रमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीहरूलाई भने अहिले प्रहरीले लखेटेको छ । त्यस क्षेत्र अहिले सुनसान छ भने ठुलो सङ्ख्यामा प्रहरी, सशस्त्र तथा सेना तैनाथ गरिएको  छ ।
  • कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

    कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    मंगलबार विहान एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जनाएका छन् ।
    राजीनामा पत्र जस्ताको त्यस्तै
    आदरणीय नेपाली जनसमुदायहरू,
    नमस्कार, जय नेपाल !
    म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

    मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु। हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्।

    लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्योरु यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन।

    स(साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।

    पटक पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी नेता हौं’भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
    जय नेपाल १
    २४ भाद्र २०८२
    रामनाथ अधिकारी
    मन्त्री
    कृषि तथा पशुपन्छी विकास मन्त्रालय,
    सिंहदरबार, काठमाडौं

  • गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा

    गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। जेनजीले आज काठमाडौँ र देशका मुख्य सहरहरूमा गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको र ३ सय  बढी घाइते भएको घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएका हुन् ।
    सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। त्यसअघि बुढानीलकण्ठमा बसेको काँग्रेसको पार्टी बैठकमा लेखकलाई राजीनामा दिन दबाब परेको थियो ।
    उता, मन्त्रिपरिषद्ले आजको घटना घटनाबारे छानबिन समिति बनाउने निर्णय गरेको छ । समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय सीमा दिइएको छ ।
  • हुलाक सञ्चार सम्पादकीय: जेनजीको प्रदर्शन सत्ता र नेतृत्वलाई अन्तिम चेतावनी

    हुलाक सञ्चार सम्पादकीय: जेनजीको प्रदर्शन सत्ता र नेतृत्वलाई अन्तिम चेतावनी

    सन् १९९७ देखि २०१२ सम्ममा जन्मिएका जेनजी उमेर समूहका युवाहरू आज काठमाडौँसँगै देशभरका प्रमुख सहरहरूमा प्रदर्शनमा उत्रिए । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध उनीहरू स्वतःस्फूर्त रूपमा सडकमा आएका थिए । प्रदर्शनको सुरुवात शान्तिपूर्ण थियो तर सरकारको अत्यधिक बल प्रयोगले यसलाई हिंसात्मक बनायो। यो सम्पादकीय तयार पार्दासम्म १९ जना प्रदर्शनकारीहरूको मृत्यु भइसकेको छ भने ३ सय बढी घाइते छन् ।
    लोकतान्त्रिक मूल्य मान्यता अँगालेको समाजमा सडकमा गएर आफ्ना आवाज उठाउनु स्वाभाविक कदम हो । आन्दोलन नै आन्दोलन देख्दै र सुन्दै आएको यस जेनजी पुस्तालाई समेत त्यो अधिकार छ । तर यसअघि कहिल्यै पनि यो तहमा जेनजी पुस्ता सडकमा आएको थिएन । उनीहरूमा सरकार, डेलिभरीको अभाव, बेरोजगारी, भ्रष्टाचार र बेथिति विरुद्ध नैराश्यता तथा आक्रोश भए पनि त्यो सामाजिक सञ्जालमार्फत प्रस्फुटित भइरहेको थियो । तर सरकारले सामाजिक सञ्जालमा समेत बन्देज लगाएर युवाको अभिव्यक्ति थुन्न खोजेपछि युवाहरूमा गुम्सिएको आक्रोश आजको प्रदर्शनका दौरान विस्फोट भएको हो ।
    तर यो विस्फोट गराउन भने सरकार स्वयं उद्धत देखियो । प्रहरीले प्रदर्शनकारीहरूमाथि व्यापक बल प्रयोग गरेर दमन गर्ने नीति अँगाल्यो । प्रदर्शनकारीहरूले कुनै सुरक्षाकर्मी माथि आक्रमण नगरेको र सार्वजनिक सम्पत्तिमाथि क्षति नपुर्‍याएको स्थितिमा प्रहरीले स्वयता अपनाउन सकेन र प्रदर्शनकारीमाथि बर्बरता अपनाउन पुग्यो । यसले गर्दा प्रदर्शनकारीहरू थप उत्तेजित बन्न पुगे र कलेज पढ्ने निर्दोष विद्यार्थीहरूले ज्यान गुमाउने स्थिति बन्यो । समाचार सङ्कलन र दृश्य कैद गर्न पुगेका पत्रकारहरूमाथि समेत गोली चलाइनु र अस्पताल भित्रै पसेर अश्रु ग्यास प्रहार र लाठीचार्ज गर्नुले प्रहरीले कुन हदसम्मको दमनको नीति लिएको थियो भन्ने स्पष्ट हुन्छ ।
    यसका लागि गृहमन्त्री रमेश लेखक पूर्ण जिम्मेवार छन् । युवाहरूको प्रदर्शन चलिरहँदा लेखक भने संसदीय समितिमा थिए । संसद् भवन अगाडि नै मुठभेडको अवस्था देखापरेपछि बल्ल उनी समितिबाट निस्किएका थिए । गृहमन्त्रीका रूपमा लेखकको असक्षमता र विवाद यसअघि पनि देखापरेको थियो । भिजिट भिसा प्रकरणमा अख्तियारले छापा मार्ने पूर्व सूचना पाएका लेखकले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालयमा सरुवा गरेर जोगाउन खोजेका थिए । भिजिट भिसा प्रकरणमा उनै लेखकमाथि नै प्रश्न उठेपछि उनको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रतिनिधि सभामा राप्रपा र रास्वपाले लगातार बैठक बहिस्कार गर्दै आएका छन् । तर झन्डै २ तिहाइको शक्तिशाली सरकारको गृहमन्त्री रहेका लेखक र प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेपाली काँग्रेसले उनलाई जोगाउँदै आएका छन् । तर आजको घटनाले भने अब उनी जोगिन सक्ने ठाउँ छैन र उनको राजीनामा निर्विकल्प सर्त हो ।
    तर आजको घटना निम्तिनुमा लेखक मात्रै नभएर सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उत्तिकै जिम्मेवार छन् । सञ्चार मन्त्री गुरुङले, खासगरी, सामाजिक सञ्जाल दर्तामा नआएको विषयमा प्रभावकारी भूमिका निभाउनुको साटो गैरजिम्मेवार अभिव्यक्ति दिइरहे । उता, प्रधानमन्त्री ओलीले यस बिचमा दिएका अभिव्यक्तिहरूले समेत आगोमा घ्यु थप्ने काम गरे । शनिबार हरिसिद्धिमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सवार गाडीले एक बालिकालाई ठक्कर दिएर हिँड्यो । तर ओलीले त्यसलाई घटनालाई ‘सामान्य’ भने र त्यसपछि विरोधमा उत्रिएका स्थानीयहरूको कदमलाई ‘राजनीति’ भनिदिए । हरेक कुरामा राजनीति देख्ने र आफ्नो विरोध गर्ने विरुद्ध तुच्छ अभिव्यक्ति दिइरहने तर जनतालाई डेलिभरी दिने कुरामा करिब करिब ‘जिरो’ रहेका प्रधानमन्त्री ओलीबाट आम जनता आजित भइसकेका छन् । उस्तै, अवस्था छ देउवा र ओलीबाट समेत ।
    पछिल्लो २०४६ सालदेखि काँग्रेस र एमाले र २०६३ पछि थपिएको माओवादीले यो देशमा लगातार (कु)शासन गरिरहेका छन् । ओली, देउवा र प्रचण्डले नै आलोपालो शासन चलाइरहेका छन् । तर उनीहरू तीनै जना पटक-पटक ‘टेस्टेड’ भइसक्दा समेत देशमा कायम भ्रष्टाचार, बेरोजगारी, युवा पलायन, आर्थिक सुस्तता, बेथिति लगायतका तमाम समस्याहरू समाधान हुन सकेका छैनन् । बरु, उनीहरूकै कारण बढिरहेका  छन्  । जसले गर्दा अहिले नेपाली समाज ‘निराशाको काल’मा बाँचिरहेको छ । जसको पछिल्लो प्रतिबिम्ब हो, आजको प्रदर्शन ।
    तर आजको प्रदर्शन त्यति मात्र पनि हैन । यो सत्तामा बसेकाहरू र राजनैतिक दलहरूलाई स्पष्ट सन्देश समेत हो – नेपाली युवा यी सबैबाट वाक्क भइसकेका छन् र परिवर्तन खोजिरहेका छन् । यो सन्देशलाई अब पनि नजरअन्दाज गरिए त्यसले नेपालमा यसअघि कहिल्यै नदेखिएको बङ्गलादेशको झैँ दुखद परिणाम ल्याउन सक्छ ।
  • “Gen Z को बिद्रोह: लोकतन्त्रको नयाँ चेतावनी”

    “Gen Z को बिद्रोह: लोकतन्त्रको नयाँ चेतावनी”

    काठमाडौं । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश उम्लिएको छ र यो पटक देशको भविष्य निर्माण गर्ने युवापुस्ता, जेनेरेसन जेन्जीको नेतृत्वमा ।

    सोमबार सुरु भएको आन्दोलनले पहिलो दिनमै १७ युवाको ज्यान लिएको खबर आइसकेको छ र मृत्युको संख्या अझै बढ्न सक्ने गम्भीर अनुमान गरिएको छ । देशका प्रमुख सहरहरू झडप, गोली प्रहार र निषेधाज्ञाको सन्त्रासमा छन् । सरकार भने आफ्नै जनताको आवाज सुन्ने ठाउँमा होइन, त्यही आवाजलाई बन्दुक र बन्देसाजमार्फत थुनिदिन खोजिरहेको छ ।

    यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको विरोधमा सीमित छैन । यो देशमा जरा गाडेर बसेको भ्रष्टाचार, अकर्मण्यता र जनउत्तरदायित्वको घोर अभावविरुद्धको चर्को ध्वनि हो । सरकार आफ्नै जनतासँग डराउन थालेको छ ।
    सोमबारको आन्दोलन एउटा स्वाभाविक प्रतिक्रियाको परिणाम थियो । जब जेनजी पुस्ताले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आन्दोलनको अनुमति मागे, शायद सरकार आफैंले पनि आजको जटिल परिस्थितिको पूर्वानुमान गर्न सकेन । आन्दोलनकारीको उद्देश्य स्पष्ट थियो शान्तिपूर्ण विरोध । तर, आन्दोलन स्थलमा जब असन्तुष्टि, आवेग र उत्तेजना मिसिए, केही समूह संसद भवनतर्फ लम्किए । सुरक्षाकर्मीको प्रतिक्रिया अश्रुग्यास र गोली, यसले परिस्थिति झनै भड्कायो ।
    प्रश्न उठ्छ सरकारको तयारी कहाँ थियो ? प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक किन समयमै सचेत हुन सकेनन् ? सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएर आन्दोलनको बीउ रोपे, तर त्यसको परिणामबारे सोच्न कति तयार थिए ?

    सरकारको संवेदनशीलताको चरम अभावले यो संकट उत्पन्न भएको हो । जनता, विशेषतः नयाँ पुस्ता अब डराउँदैनन् । उनीहरू सवाल उठाउँछन्, गल्ती औंल्याउँछन्, र परिवर्तन माग गर्छन् । यो उनीहरूको अधिकार हो, र लोकतान्त्रिक शासन प्रणालीमा सरकारको कर्तव्य उनीहरूका सवाल सुन्ने हो, गोली चलाउने होइन ।

    लोकतन्त्रमा सत्ता जनताको इच्छा अनुसार चल्नुपर्छ । जनताको आवाज दबाउने जुनसुकै प्रयास निरंकुशताको संकेत हो । सामाजिक सञ्जाल बन्द गरेर, आन्दोलनमाथि दमन गरेर, सरकारले लोकतान्त्रिक मूल्यलाई कुल्चिएको छ । इतिहासले देखाएको छ कुनै पनि सत्ताले जनभावनालाई सधैं दमन गरेर टिक्न सक्दैन ।

    आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको विरुद्ध होइन, यो एउटा ज्वाला हो, जुन सरकारको अकर्मण्यता, गम्भीर भ्रष्टाचार र जनउत्तरदायित्वको अभावबाट उम्लिएको हो । जब सरकार जनताको आवाज सुन्‍नु त परै जाओस्, त्यो आवाज उठाउने माध्यम नै बन्द गर्न लाग्छ, त्यसलाई लोकतन्त्र होइन, अधिनायकवाद भनिन्छ ।

    सामाजिक सञ्जाल युवापुस्ताको मात्र नभई, देशभरिका आवाजहरूको खुला चौतारी बनेको छ । सरकारको कदम केवल प्रविधिको बन्देज होइन, विचारको बन्देज हो । यथार्थमा भन्नुपर्दा, सरकारको यो निर्णय आफैँप्रति असुरक्षित भएको प्रमाण हो । एक प्रकारको डर, जुन सत्य बोलेर जनताले खोलेका घाउहरूबाट उत्पन्न भएको हो ।

    आज प्रश्न उठ्छ किन जनताको आवाज दमन गर्दै छ यो सरकार ? लोकतान्त्रिक मुलुकमा सरकार जनताप्रति जवाफदेही हुनुपर्छ, शासक होइन । जनता सरकारको मालिक हुन्, र मालिकको आवाज दबाउने जुनसुकै प्रयास निरंकुशताको संकेत हो ।
    यदि सरकार सोच्दछ कि सामाजिक सञ्जाल बन्द गरेर वा गोली चलाएर जनआक्रोशलाई थाम्न सकिन्छ भने, त्यो भ्रम हो । इतिहासले देखाएको छ, सच्चा परिवर्तन कहिल्यै बन्दुकको नालबाट रोकिँदैन ।
    आजको आन्दोलन एउटा चेतावनी हो, नयाँ पुस्ता केवल टेक्नोलोजीमै होइन, चेतनामा पनि अगाडि छ । उनीहरूलाई अब डर छैन । उनीहरू प्रश्न गर्न जान्दछन्, प्रतिकार गर्न जान्दछन्, र परिवर्तनको नेतृत्व गर्न पनि ।
    सरकारलाई आग्रह गर्दै अझै समय छ, सुन्नुहोस् जनताको आवाज । विरोधलाई दमन होइन, संवादको माध्यमबाट सम्बोधन गर्नुहोस् । नत्र यो आगो फैलिएर नियन्त्रणबाहिर जान सक्छ, जसको परिणाम देशका लागि घातक हुनेछ । नेपालको संविधानले नै व्यवस्था गरेको नागरिक अधिकार, वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुनेगरी सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने कदम लोकतान्त्रिक कदम मान्न सकिदैन् । यसमा सरकार गम्भीर बन्नुपर्छ ।

  • इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

    इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

    सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

    जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ ।

    घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

  • जेनजी प्रदर्शन : मृतकको संख्या १६ पुग्यो

    जेनजी प्रदर्शन : मृतकको संख्या १६ पुग्यो

    काठमाडाैं । प्रहरीको गोली लागेर जेन–जीहरूले गरेको प्रदर्शनमा हालसम्म १६ जनाको मृत्यु भएको छ ।

    प्रहरी स्रोतका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र टिचिङ अस्पतालमा एक जना गरि १६ जनाको मृत्यु भएको हो ।

    प्रदर्शनका क्रममा एक सय भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १९ जना नेपाल प्रहरीका छन् ।

    प्रहरीका अनुसार बानेश्वर क्षेत्रमा अहिले पनि प्रदर्शन भइरहेको छ । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि प्रदर्शनकारीहरू पछि हटेका छैनन् ।

  • जेन जी आन्दोलनमा १४ जनाकाे मृत्यु, छैन घाइतेकाे यकिन तथ्यांक

    जेन जी आन्दोलनमा १४ जनाकाे मृत्यु, छैन घाइतेकाे यकिन तथ्यांक

    काठमाडौं । जेन जी आन्दोलनका क्रममा अहिले १४ जनाले ज्यान गुमाएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

    सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १-१ को ज्यान गएको छ ।

    प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।

    घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।

    हालसम्म कोही पनि मृतकको पहिचान खुलेको छैन ।