Category: समाज

समाज

  • भूकम्प प्रभावित जिल्लाहरुलाई सरकारले चासो दिएन

    भूकम्प प्रभावित जिल्लाहरुलाई सरकारले चासो दिएन

    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सरकारले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन् ।

    बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँचवटा भूकम्प प्रभावित जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरिएको भएपनि पुनर्निर्माणमा ढिलाई भएको बताएका हुन् ।

    उनले भने, ‘पाँचवटा भूकम्प गएका जिल्लाहरु संकटग्रस्त जिल्ला घोषणा भएका छन् । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुदूरपश्चिमका डोटी र बझाङ गरि पाँच भूकम्प प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला भनिएको छ । तर, राज्यले त्यो अनुसारको पुनर्निर्माण गर्न सकेको छैन जस्तो लाग्छ । त्यहाँका नागरिकहरु आधा भत्किएको घरमा पनि बस्न बाध्य छन् ।’

    आधा भत्किएको घरमा बसिरहेका परिवारले पुनर्निर्माणका लागि पाँच लाख दिनेबेला मात्र घर भत्काउने अडान लिइरहेको उल्लेख गर्दै सरकारल छिटो रकम भुत्तानी गर्नुपर्ने बताए । उनले भने, ‘राहतको दोस्रो किस्ता दिने । र पुनर्निर्माणका लागि पाँच लाख दिने बेला मात्र घर भत्काउँछौं भन्ने त्यहाँका जनताको अडान छ ।

    अहिले अलि अप्ठ्यारो त्यहाँ भएको छ । संकटग्रस्त जिल्लाहरुका भूकम्पपीडितहरुलाई ‘क’,‘ख’ र ‘ग’ गरि तीन वर्गमा विभाजित गरिएको छ । अहिले अब पुननिर्माणका लागि ख वर्गलाई पाँच लाख रुपैयाँ दिने भनेर राज्यले भनेको छ । क वर्गलाई ६ लाख, ख वर्गलाई पाँच लाख र ग वर्गलाई चार लाख रुपैयाँ दिने भनिएको छ ।’

  • नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको तयारी पूरा

    नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको तयारी पूरा

    काठमाडौं । यही जेठ ३२ र असार १ गते सञ्चालन हुने नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।

    विहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो ।

    नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन,काठमाडौं  महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो ।
    एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्सपोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ ।

    एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिकासहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।

  • प्राकृतिक विपद् न्यूनीकरण गर्न र अन्धाधुन्ध विनाश रोक्न माग

    प्राकृतिक विपद् न्यूनीकरण गर्न र अन्धाधुन्ध विनाश रोक्न माग

    काठमाडौं । सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अन्धाधुन्ध तवरले भएका विनाश नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

    बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै सांसद रामकृष्ण यादव र नेकपा एमालेका सांसद योगेश भट्टराई लगायतले विपद् व्यवस्थापन र पूर्वतयारीबारे संसदमा ध्यानाकर्षण गराएका हुन् ।

    महामन्त्री शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धि संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्नुपर्ने बताए ।

    उनले वर्षा याममा बाढी पहिरो, आपत्कालीन बैठक र दलहरुको वक्तव्यसँगै संसदमा सांसदहरुको ध्यानाकर्षण गराएको तीन दृश्य देखिने गरेको उल्लेख गर्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे ।

    उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे । उनले जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरुले औंल्याएका पहिरोको जोखिम बस्तीहरु स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्न आग्रह गरे।

    उनले भने, ‘वर्षाको समयमा हाम्रो देशमा तीनवटा दृश्य देखिने गरेको छ । पहिलो बाढी पहिरो, दोस्रो आपतकालिन बैठकहरु, तेस्रो दलहरुको वक्तव्य अनि संसदमा सांसदहरुको ध्यानाकर्षण । यसपालि दृश्य बदलौँ। ध्यानाकर्षणका लागि बाढी नकुरौँ।’
    यस्तै उनले बाढीपछि बैठक बस्ने प्रवृति छोडेर उद्धारमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

    जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोगका कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको बताएका शर्माले बाढी पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गरे ।

    ‘भूगर्भविद्हरुले औंल्याएका पहिरोको जोखिम बस्तीहरु स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राखौँ। विपद् व्यवस्थापनमा स्थानीय तहको भुमिकालाई जोखिम न्यूनीकरणसम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गरौँ’ शर्माले थप भने, ‘आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ ।’

    यस्तै, कांग्रेस सांसद रामकृष्ण यादवले पनि मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरे ।प्रतिनिधि सभाको शून्य समयमा बोलेका एमाले सांसद योगेश भट्टराईले सरकारको मनसुनको पूर्वतयारी नै अपुरो भएको बताए ।

    जलवायु परिवर्तनका कारण पूर्वानुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाँदा त्यसको असर आममानिसमा परिरहेको बताए । भट्टराईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सरकारले दिएको बजेट कम भएको धारणा राखे ।

    विपद् उद्धारका निम्ति दक्ष जनशक्ति र पर्याप्त साधनस्रोत समेत नरहेको उल्लेख गर्दै उनले भने, ‘हामीसँग दक्ष जनशक्ति छैन । आधुनिक साधनहरू छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन’ ।

    उनले जलवायु परिवर्तनबाट नेपालमा परेको असरको क्षतिपूर्तीका लागि सरकारले छिटो लबिङ गर्नुपर्नेमा जोड दिँदै त्यहाँबाट पाएको ‘लस एण्ड ड्यामेज फण्ड’ लाई विपद् प्राधिकरमार्फत खर्च गरेर प्राधिकरणलाई स्रोत साधनयुक्त बनाएर प्रभावकारी रुपमा काम गर्नसके प्राकृतिक विपत्तीबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे ।

  •  उपत्यकामा आज छिटफुट वर्षाको सम्भावना, बीरगञ्जका विद्यालय बन्द

     उपत्यकामा आज छिटफुट वर्षाको सम्भावना, बीरगञ्जका विद्यालय बन्द

    काठमाडौं । मनसुन नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाको घोषणा पछि पनि तापक्रम बढेर जनजीवन निकै प्रभावित बनेको छ ।

    काठमाडौं उपत्यका र तराईका कतिपय जिल्लामा तामक्रम निकै बढेको छ । यसको सोझो असर विद्यालयहरुको पठनपाठनमा परेको छ । खेतिकिसानी पनि प्रभावित भएको छ ।

    तापक्रम बढेर जनजीवन निकै प्रभावित भएपछि छिमेकी भारतका विभिन्न शहरमा विद्यालय र क्याम्पसहरुमा पठनपाठन स्थगित गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी नयाँदिल्लीमा यतिबेला तापक्रम बढेर ४५ डिग्री पुगिसकेको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

    हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

    विभागका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । तैपनि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

    यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन सचेत गराएको छ ।

    अत्यधिक गर्मीले वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ ।

    वीरगञ्जको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ ।विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरेको छ ।

  • श्रमाधान रोजगार मेला : जागिर खोज्ने र दिनेको भीड

    श्रमाधान रोजगार मेला : जागिर खोज्ने र दिनेको भीड

    काठमाडौं । ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ ।

    रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो । मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।

    पाटन बहुमुखी क्याम्पसमा भएको मेलामा जागिर खोज्ने र दिनेहरुको भीड लागेको छ । मेलामा सरकारी र निजी गरी ८० भन्दा बढी क्षेत्रका रोजगार कक्ष राखिएका छन् ।
    सातै प्रदेशमा सञ्चालन भएको मेला यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमत्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

    यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा मेला गरिएको हो । ६ प्रदेशमा सम्पन्न भएपछि मेला ललितपुरमा सम्पन्न भएको छ ।

    मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।

  • टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

    टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन् ।

    सँगै मञ्चमा आसिन गृहमन्त्री रवि लामिछानेलाई उल्लेख गर्दै चौधरीले भने, ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस् । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुयायो, त्यो साढे ८ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने ?’

    काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवस कार्यक्रममा चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । उनले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको समेत प्रष्ट पारे ।

    ‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं । टीकापुरको अब नाम भन्ने बेला आएको छ,’ चौधरीले भने ।

    यस्तै, चौधरीले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उनलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गरे ।

    ‘दुई–चार महिनादेखि हाम्रो घरमा आगो लगाइदिए यिनीहरुले । लोग्ने–स्वास्नीको बीचमा फाटो ल्याउन लाग्ने राजनीतिक दलले देशको विकास गर्लान ? कस्तो नैतिकता, हाम्रो प्रधानमन्त्रीको बडा फुर्सद । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ मलाई,’ चौधरीले भने ।

    यस्तै चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको गुनासो गरे ।

    ‘महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्यांग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’ उनले प्रश्न गरे ।

    उनले समानुपातिक निर्वाचन प्रणाली उचित नभएको तर्क पनि गरे । थारुलाई जोगाउनुपर्ने बताएका उनले नजिस्क्याउन पनि चेतावनी दिँदै टीकापुर घटना घुसपैठ नभएर राज्यको सुनियोजित षड्यन्त्र भएको आरोप लगाए ।

    उनले जेलमा आफूलाई माओवादी नेताले नै त्यसको पुष्टि गरेको उल्लेख गर्दै भने, ‘कृष्णबहादुर महराजीले जेलमा भन्नुभएको छ, ‘एक ठाउँमा युद्ध नगरे संविधान जारी हुँदैन थियो रेशमजी, ठाउँको खोजी हुँदै थियो टीकापुर भयो, अच्छा भयो ।’

     

  • गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल

    गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल

    काठमाडौ। सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ ।

    झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् ।

    सर्वाेच्चको माघ २४ गतेको फैसलाले गिरीबन्धु टी स्टेटको ३ सय ४३ बिगाहा १९ कठ्ठा जमिनलाई स्थानान्तरण गर्ने केपी ओली सरकारको निर्णय उल्टाएको थियो । जेठ पहिलो साता सार्वजनिक भएको त्यो फैसलाको पूर्णपाठपछि गिरीबन्धुको जग्गा खरिद गर्न बैना दिएका व्यवसायीहरु अन्योलमा छन् ।

    ‘हामीले २०२९ सालमा पाँचयय बिगाहा जमिनको हदबन्दी पाएका हौं, सरकारसँगको सम्झौता अनुसार हामीले ३९५ बिगाहा जमिन मात्र खरिद गर्न सक्यौं, गिरीबन्धु टी स्टेटका सञ्चालक छत्रबहादुर गिरीले भने,‘हामीले हदबन्दी छुट लिएको पाँचसय बिगाहभन्दा बढी जमिन मात्र सरकारले जफत गर्न सक्छ ।’ उनले गिरी परिवारको निजी सम्पत्तिको बिषयमा विभिन्न समुहको बुझाई नकारात्मक भइरहेको बताए ।

    गिरीबन्धु टी स्टेट २०२० सालमा स्थापित कम्पनी हो । २०२१ सालमा भूमिसुधार ऐन लागू भएको थियो । भूमिसुधार ऐन लागू भएपछि सरकारले जमिनमा हदबन्दी लगायो । त्यसपछि सरकारले हदबन्दी छुट दिएर चिया उद्योग स्थापना गर्न सुविधा दिएको थियो । त्यसपछि गिरी परिवारले लगातार जमिन खरिद गर्दै कम्पनीको नाममा राखेर चिया उद्योग स्थापना गरेको बताएका छन् ।

    ‘हामीले बन जंगल फाँडेर हदबन्दी छुट पाएका होइनौं । कम्पनी स्थापना भएपछि खरिद गरेका हौं, गिरी बन्धुका अर्का साझेदार नविन गिरीले भने,‘हामीले खरिद गरेर हदबन्दी छुट सुविधा लिएर उद्योग सञ्चालन गरिरहेको जमिन अहिले कसरी सरकारी हुन्छ ?’ उनले गिरीबन्धुको जमिनका बारेमा सामाजिक सञ्जाल तथा बिभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण सन्देशहरु प्रवाह भइरहेको बताए ।

    सर्वाेच्चको फैसलाले सट्टा–भर्नाका लागि रोक नलगाएको तर्क गिरी बन्धुका सञ्चालकको रहेको छ । अदालतले पहिला सट्टा–भर्नाका लागि जमिन तयार गरेर मात्र स्थानान्तरणको लागि अनुमति दिने दावी सञ्चालकको छ । सट्टा–भर्नाका लागि उपयुक्त जमिन खोजिरहेको बताउँदै सञ्चालक छत्रबहादुर गिरीले जमिन फेला परे लगत्तै प्रक्रिया अघि बढाउने बताए ।

    चिया बगान स्थापना गर्दा उपयुक्त भएपनि अहिले घना शहरको मध्यभागमा रहेको बगान अनुपयुक्त हुन पुगेकाले सट्टा–भर्नाका लागि अघि सरेको उनको भनाई छ । चिया बगानमा बिभिन्न आपराधिक घटना हुने, चिया बगानभित्र लागू औषधको बढ्दो कारोबार नियन्त्रणको लागि पनि यहाँको चिया मास्नुपर्ने दावी सञ्चालकको रहेको छ ।

    स्थानीय आवश्यकता अनुसार अन्यत्र जमिन किनेर चिया बगान स्थानान्तरण गर्न व्यवसायीसँग रकम संकलन गरिएको गिरीको भनाई छ । ‘हामीसँग त्यति धेरै जमिन खरिद गर्ने पैसा छैन, व्यवसायीसँग सल्लाह गरेपछि जमिन दिनेगरी पेश्की लिएको साँचो हो, गिरीले भने, ‘अब प्रक्रिया मिलाएर जमिन स्थानान्तरण गरेपनि सम्झौता अनुसार उहाँहरुलाई यहाँको जमिन दिन्छौं ।’ गिरीले काठमाडौंका ब्यापारी दिपक मलहोत्रा र झापाका बिष्णुबहादुर राईसँग अन्यत्र जमिन खरिद गर्न पेश्की रकम लिएको जानकारी दिए ।

    गिरी परिवारको निजी सम्पत्तिलाई सरकारी जमिन भनेर नबुझ्न उनले सबैमा अपिल गरेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले गिरीबन्धुको जमिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुछेर नीतिगत भ्रष्टाचार गरेको भन्ने आरोपमा कुनै तुक नभएको बताए ।

    त्यो बेला कांग्रेस वा माओवादी नेतृत्वमा सरकार भएपनि कानुनत प्रक्रिया पुरा गरेर अघि बढेको फाइल रोक्न नपाइने थियो, गिरीले भने,‘यसलाई सदनमा मसला बनाइयो, यो दुखद अवस्था हो ।’

    कुनै–कुनै सरकारी नीतिका कारण देशका उद्योगीहरु पलायन हुन बाध्य भइरहेको आरोप गिरीको थियो । ‘सरकारले जमिन खरिद गर भन्छ, उद्योग स्थापना गर भन्छ अनि उद्योग कुनैदिन धरासयी भयोभने सरकारीकरण गर्छु भन्छ भने यो मुलुकमा उद्योगधन्दा सञ्चालनको वातावरण कहाँ छ ?’गिरीले भने । उनले लगानीको वातावरण बनाउन अनुरोधसमेत गरेका छन् ।

  • कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

    कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    जसकारण आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही ठाउँहरुमा भने बुधबार बिहानै वर्षा भइरहेको छ ।

    बुधबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बेलुका कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

  • रैथाने बालीको संरक्षण गर्न बीउ बैंक

    रैथाने बालीको संरक्षण गर्न बीउ बैंक

    काठमाडौ। मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ । यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ । संघसंस्थाहरुको सहयोग र सहकार्यमा नगरपालिकाले समुदायस्तरमै बीउ बैंक स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो ।

    वडा नं. ५ ढुममा ०७७ सालमा स्थापना भएको बीउ बैंकमा हाल नगरपालिकाका सबै वडाका बासिन्दा सदस्य छन् । बैंकमा धान, मार्सी, कागुनो, जौँ, फापर, कोदो, भटमास, उवा, चिनो, सिमी, मास, मुसुरो लगायत अन्य अन्नबाली, टिमुर, खुर्सानी, धुनियाँ, अदुवा, जिरा, लसुन, प्याज, बन्दा, गाँजर, मुला लगायत मसला र तरकारी बालीहरुको संरक्षण गरिएको अध्क्षय कालीबहादुर रोकायाले बताए ।

    ‘गाउँ–गाउँमा विदेशी उत्पादनले पकड पायो । मान्छेहरुले पनि कुन रैथाने, कुन विदेशी छुट्याउन सक्ने अवस्था भएन,’ उनले भने, ‘किसानलाई आवश्यक पर्दा रैथाने बाली लगाउन र बीउ रोप्न सहज होस् भन्ने हेतुले हामीले रैथाने बाली संरक्षण गरेका छौँ ।’

    अहिले नगर क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घरको समेत स्थापना गरिएको छ ।

  • विदेश पठाउने भन्दै तीनसय जनाबाट १५ करोड ठगी

    विदेश पठाउने भन्दै तीनसय जनाबाट १५ करोड ठगी

    काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टरार्ईका अनुसार गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फेक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीनसय जनाभन्दा बढी मानिसको १५ करोड रुपैंयाँ ठगी गरेका हुन् ।

    फेक आइडीबाट सम्पर्कमा आएका नागरिकका लागि किर्ते कागजात बनाई ५ देखि १० लाखसम्म ठगी गर्दै लुक्ने गरेको अुनसन्धानबाट खुलेको एसएसपी भट्टराईले जानकारी दिए । गिरोहले अमेरिका लगिदिने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट प्रहरीले विभिन्न व्याक्तिहरुका पाँच थान राहदानी, दुई थान मोबाइल सेट, टेलिकमका दुई थान सिमकार्ड, एनसेलको सिम एक थान, राहदानीका सात थान प्रतिलिपि बरामद गरिएको प्रहरीले जनाएको छ ।