Category: समाज

समाज

  • यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

    यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । आज देशभर मौसम आंशिक देखि साधारणतया बदली रहने छ ।

    हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको पनि विभागले जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। यस्तै, आइतबार राती कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

    के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

    काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीनजनाले ज्यान गुमाएका छन् । दुइजनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ ।

    लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

    तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो ।

    यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिएका छन् ।

    सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचार गर्न लगिएको छ । यार्सा टिप्न पाटन पुगेका तीन जनाको गत वर्ष हिउँ पहिरोमा परेर मृत्यु भएको थियो ।

    मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगु मकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

    जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाबाट यार्सा टिप्न दशौँ हजार मानिस डोल्पा, रुकुम र मुगुका उच्च पहाडी भेगमा जाने गर्छन् । उनीहरुसँग जोखिम व्यवस्थापन र आपतकालिन उध्दारको कुनै प्रवन्ध हुँदैन । केही सुरक्षाकर्मी सँगसँगै हिँडे पनि दुर्घटना हुँदा आपतकालिन उद्धारको कुनै उपाय देखिँदैन ।

    यार्सा जुम्ला, डोल्पा, मुगु, रुकुम, जाजरकोट, दार्चुला, हुम्ला, मनाङ, मुस्ताङ जिल्लाका बासिन्दाको मुख्य आय स्रोत मानिन्छ ।

    नेपालमा प्रत्येक वर्ष झन्डै पाँच अर्ब रुपैयाँको कारोबार हुने यार्सागुम्बाबाट सरकारले दुई करोड रुपैयाँजति राजस्व सङ्कलन गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ ।

    रोचक कथा यार्सागुम्बाको

    यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको शब्द हो । तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’को अर्थ घाँस र ‘कुन्भु’को अर्थ हिउँदे किरा अर्थात वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ ।

    यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्चागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र किडाजडी भनिन्छ । कर्णाली अञ्चलको जुम्ला र हुम्लाका भोटेहरूले यसलाई यार्साकिमु भन्छन् ।

    किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्चागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ ।

    हुन पनि यो कहिल्यै मर्दैन भनिन्छ । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । यार्चागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रूपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

    कहाँ कति छ ?

    विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्चागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखुराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ ।

    खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनियाँ औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ ।

    हाल यार्चागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ । नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार मानिन्छ ।

  • गढीमाइ नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थको राजश्व आफ्नै खल्तीमा

    गढीमाइ नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थको राजश्व आफ्नै खल्तीमा

    काठमाडौ। रौतहटको गढीमाई नगरपालिकामा वागमती नदीको नदीजन्य पदार्थ उत्खन्नबाट संकलित राजश्व अनियमितता भएको रहस्य खुलेको छ ।गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले वागमती नदीबाट नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का बन्दोबस्त मिलाउँदा राजश्वको रकम अनियमितता गरेको प्रमाण फेला परेको हो ।

    बागमती नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो आएपछि हालैमात्र जिल्ला अनुगमन समितिले स्थलगत निरीक्षण गर्दै पालिकाबाट यस सम्वन्धी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो ।गढीमाई नगरपालिकाको समनपुर र हरैयाघाटबाट गरी दुई भागमा हुने गरेको ठेक्काको पुलदेखि उत्तर पृथ्वी निर्माण सेवा हर्दिया–४ ले एक करोड पाँच लाखमा र पुलदेखि दक्षिण सुमित निर्माण सेवाले ९५ लाख रूपैयाँमा सकार गरेको हो । तर ठेक्का सकार गरेको पृथ्वी निर्माण सेवा प्रालीले पालिकामा राजश्व दाखिला नगरी नदीजन्य पदार्थ मापदण्ड विपरित उत्खनन गरेको पाइएको छ ।

    ठेक्का सकार गरेको कम्पनीले नगद रकम उपलब्ध गराएको स्रोतबाट बुझिएको छ । नगर प्रमुख यादवलाई नगद २० लाख र प्रमुख प्रशासकीय अधिकृत यादवलाई पाँच लाख रुपैयाँ नगद उपलब्ध गराइएको स्रोतले दाबी गरेको छ ।कम्पनीले पहिलो चरणमा ३० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा गरेपछि मात्रै पट्टा दिने प्रावधान रहेको छ । तर निर्माण कम्पनीले पालिकाको खातामा राजश्व जम्मा नगरी उत्खनन गर्न इजाजत पत्र पाएकोप्रति स्थानीयले आशंका गरेका छन् ।

    विगतका वर्षभन्दा निक्कै कममा पालिकाले ठेक्का लगाए पनि ठेक्का सकार कम्पनीले भने मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन् गर्दै दोहन गरेको स्थानीयको आरोप छ ।स्थानीयबासीले दिएको जानकारी अनुसार पुल उत्तरमा चारवटा स्काभेटर र दक्षिणतर्फ पनि सोही संख्यामा स्काभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् भई रहेको हो ।

    वातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको मापदण्ड अनुुसार एक मिटर गहिराइसम्म दैनिक तीनसय घनमिटर उत्खनन गर्न भनिए पनि तीनदेखि पाँच मिटरसम्म गहिरो खाडल बनाइ नदीजन्य पदार्थको चरम उत्खनन, दोहन गर्दै ओसारपोसार हुने गरेको स्थानीय अगुवाहरु बताउँछन् ।

    नगरपालिकाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कारण पालिकाको राजश्व समेत प्रभावित भएको उनीहरुको आरोप छ । २०८० फागुन २९ गते नगरपालिकालाई निर्माण कम्पनीले साढे दश लाख र सात लाख ५१ हजारको दुई वटा राष्ट्रिय वाणिज्य बैंक चन्द्रपुर शाखाको चेक दिएको देखिन्छ ।
    तर उक्त चेक नगरपालिकाको खातामा अहिलेसम्म जम्मा भएको छैन । फागुन महिनामा दिइएको चेक अहिलेसम्म बैंकमा जम्मा नगर्नु तथा बाउन्स नगर्नुले मिलोमतोका आशंका गर्न सकिने स्थानीयको दावी छ ।
    तर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले ठेक्का लागेको रकम मध्ये ९० प्रतिशत रकम निर्माण कम्पनीले जम्मा गराइसकेको दाबी गरे । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस बिषयमा जनगुनासो आएपछि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको बताए ।

    उनले पालिकाको कागजपत्र अध्ययन गर्दा नगरपालिकालाई बुझाउनुपर्ने राजस्व समेत नबुझाई नदीमा दोहन कार्य भइरहेको पाइएको उल्लेख गरे । विगतमा पनि नगरपालिकालाई ठूलो आर्थिक नोक्सानी पुर्याउन नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर अनुसारको कारवाही गर्नुपर्ने माग गरिएको छ ।

  • जलवायु परिवर्तनको असर हिमालमा धेरै, सगरमाथामा फोहोर बढेको गुनासो

    जलवायु परिवर्तनको असर हिमालमा धेरै, सगरमाथामा फोहोर बढेको गुनासो

    काठमाडौं । खुम्बु पासाङल्हामु गाँउपालिकाका उपाध्यक्ष टाँसी ल्हमु शेर्पाले जलवायु परिवर्तनको सबैभन्दा बढि प्रभाव हिमाली क्षेत्रमा परेको बताएकी छन् ।शुक्रबार सरोकार समितिमा बसेको बैठकमा उनले हिमालमा हिउँ कम पर्ने, हिम नदीहरु सुक्ने, पानीका मुहानहरु सुक्ने जस्ता समस्या जलवायु परिवतर्नका कारण आएको बताइन् ।

    उनले भनिन्, ‘अहिले हिउँ कम पर्ने गरेको छ जसले गर्दा हिम नदीहरु सुक्नेक्रम बढ्दो छ, पानीका क्रमहरु बढ्दो क्रममा छ । कुन समयमा के हुन्छ भन्ने कुरा पनि आकंलन गर्न नसक्ने अवस्था भएको छ । यसले गर्दा चौरी पाल्ने किसानहरुलाई पनि एकदमै गाहो भएको छ ।’यसको साथै पर्यटनको आगमनमा पनि धेरै प्रभाव परेको भन्दै राज्यले ध्यान नदिने हो भने पर्यटन क्षेत्रलाई जोगाउन गाहो हुने पनि उनको भनाई छ ।

    उनले भनिन्, ‘पर्यटनको आगमनमा पनि धेरै प्रभाव परेको छ । उनीहरुको सुरक्षामा पनि धेरै प्रभाव पर्ने गरेको छ । यसमा राज्यले जति ध्यान दिनुपर्ने हो त्यति ध्यान दिएको छैन् र यस्तै हुने हो भने भोलि पर्यटन क्षेत्रलाई जोगाउन सक्दैनौं । स्थानीय सरकारको तर्फबाट हामीले गर्नसक्ने काम गरिरहेका छौ ।’
    यस्तै, बैठकमा गाइड अथवा पर्वातारोहीहरुको सहायक दावा याङ्जुम शेर्पाले नेपालको हिमालमा टेन्ट राख्न पनि नमिल्ने गरि फोहोरहरु थुप्रेको बताइन् ।

    उनले अरु देशको हिमाल र नेपालको हिमाल हेर्ने हो भने नेपालको हिमालमा धेरै नै फोहोर हुने भन्दै यसको समाधानको लागि केही पहल गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘जलवायु परिवर्तनको कुरा गर्दा मैले धेरै देशहरुमा काम गरिसकेको छु । त्यहाँको हिमाल हेर्दा र हाम्रो सगरमाथा हेर्दा हाम्रो फोहोरको व्यवस्थापन त्यस्तो राम्रो छैन् । बाहिरतिर फोहोर हिमाल आरोहण गर्ने आफैंले बोकेर तल ल्याउनुपर्छ अथवा त्यहाँ त्यसको व्यवस्था गरिएको हुन्छ । नेपालको हिमालमा भने टेन्ट राख्ने ठाँउ पनि हुदैँन ।

    फोहोर हुन्छ । कानून आयो भने पनि सुरुवातमा हुन्छ तर त्यसको निरन्तरता नै हुदैँन ।’ यसको साथै तालिम नै नलिएका मानिस पनि हिमाल आरोहण गर्न जानेक्रम बढेको भन्दै जसका कारण अलि बढि नै खतरा हुने पनि उनको भनाइ छ ।बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरु, सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर एवं आगामी कार्यदिशा बारे छलफल भएको थियो ।

  • कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

    कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । आज काठमाडौंसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका रहेको जनाएको छ । जसकारण शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

     

  • हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

    हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

    काठमाडौं । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गरेका छन् । जेठको दोश्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उनी शुक्रबार काठमाडौं फर्किएका हुन् ।

    काठमाडौंमा उनलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उनले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वल्ड रेकर्ड बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा आरोहण गरेको बताए ।

    ‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ,’ उनले भने, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

  • रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान

    रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान

    काठमाडौं । समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । श्री शाहका परिवारजनको विशेष सक्रियतामा अम्विका निवास, लाजिम्पाटमा बिहीबार आयोजित एक समारोहमा गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो ।

    संस्थाका अध्यक्ष चिन्तामणि नाथ योगीको सभापतित्व एवं पूर्व मुख्यसचिव शंकर वैरागीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापिका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारपानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

    पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका थिए । यसैगरी, नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्यकेन्द्र थापाथलीलाई ५ लाख, त्रिवेणी धाम आरती समूह शंखमुललाई २ लाख प्रदान गरिनुका साथै दुर्गा मन्दिर धर्ना, दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

     

  • कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

    कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

    काठमाडौं । बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत वल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्तरुपमा अभियानको घोषणा गरेका हुन् ।

    बिहीबार भएको घोषणा कार्यक्रममा वल्डभिजन इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वल्डभिजनले बालअधिकारको रक्षा तथा पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताइन् । इनफ अभियानले प्राथमिकरुपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।

    दिगो विकास लक्ष्य हासिल गर्न देशको प्रतिबद्धता र त्यसलाई प्राप्त गर्न बहुक्षेत्रीय पोषण योजना (तेस्रो) र १६ औँ आवधिक योजना जस्ता राष्ट्रिय प्राथमिकतालाई पूरा गर्न यो अभियानले सघाउने उनले बताइन् । वल्डभिजन इन्टरनेशनल नेपालले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १७ लाख अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता पनि जनाएको छ ।

    विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाटै यो अभियानको घोषणा गरिएको हो ।प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन नसकेको पाइएको र यो अवस्था अन्त्य गर्न वल्डभिजन इन्टरनेशनल नेपाल र अकोराबको सहकार्यमा ३ वर्षे अभियानको औपचारिक सुरुवात गरिएको हो ।

    कार्यक्रममा बालबालिका, बिभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सरकारी प्रतिनिधि, सरोकारवाला मन्त्रालयका पदाधिकारी, सांसद, संवैधानीक आयोगका पदाधिकारी, दातृ निकाय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, पोषणविद्, पत्रकार र साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिनेछ ।

    पर्याप्त तथा विशेष स्तनपानमा वृद्धिस बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्यस बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुनेछ ।वल्र्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १० दशमलव ७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने जनाएको छ ।अभियान १६ जिल्लाका ५३ वटा पालिकामा सञ्चालन गरिनेछ ।

  • समाजवादी संस्कृतिको जग बसाल्न प्रधानमन्त्री दाहालको जोड

    समाजवादी संस्कृतिको जग बसाल्न प्रधानमन्त्री दाहालको जोड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् जनसांस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए ।

    उनले भने, ‘संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ । जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी संठगित गर्नुपर्छ ।’

    ‘जनयुद्ध’ कालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि संकल्प र पहल लिएको भन्दै उनले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए ।
    उनले भने, ‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ । यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।’

    उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको पनि बताए ।उनले भने, ‘असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसंगीत, नृत्य, वास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, सम्वर्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ । यस दिशामा जनसांस्कृतिक महासंघ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।’

    वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको उनको भनाइ छ ।यस्तै, उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको बताए ।कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको संस्कृति, भाषा र संरक्षण गर्न विविध कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा उल्लेख भएको छ ।

     

  • नेपाल र भारतमा किन भयो यति धेरै गर्मी ?

    नेपाल र भारतमा किन भयो यति धेरै गर्मी ?

    काठमाडाैं । के तपाईंलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ? वर्ष २०२२ सबैभन्दा तातो वर्षको रुपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरु गम्भीर तातो (गर्मी) को लहरमा परेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।)

    वर्ष सन् २०२२ मा भारतमा यतिधेरै गर्मी बढेको थियो कि १ सय २२ वर्षकै रेकर्ड तोडिएको थियो । ‘भारतले १२२ वर्ष यताकै तातो अप्रिल देखेको छ’ १ मे मा भारतीय मौसम विज्ञानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको वाक्य हो यो ।

    २०२२ को गर्मी यतिमै सीमि थिएन, फेरी वर्ष ०२३ को गर्मीले २०२२ को रेकर्डलाई माथ मात्र दिएन उत्तरी गोलार्धमा २ हजार वर्ष यताकै धर्तीमा सबैभन्दा तातो समर भएको वैज्ञानिकहरुले घोषणा गरेका थिए ।

    हामी अब वर्ष २०२४ मा छौं । पछिल्लो ११ महिना धर्तीमा गर्मी बढ्ने क्रमले एकपछि अर्को रेकर्ड तोडिरहेको छ ।

    फक्स वेदरले २०२४ को पहिलो महिना पृथ्वीको सबैभन्दा तातो जनवरी भनेर मापन गरेको थियो । यस्तै, फोर्ब्सले २०२४ को फेब्रुअरी महिनालाई सबैभन्दा तातो महिना भएको भनेर रेकर्डमा राखेको थियो । गर्मीको बढ्दो क्रमले पछिल्लो ११ महिनामा पारो मात्रै बढाएको छैन एक पछि अर्को महिनाको तापक्रम वृद्धिमा झन्झन् रेकर्ड कायम गर्दै उकालो लाग्दै छ । मार्च महिना पनि भारतका लागि सबैभन्दा गर्मीको महिना बनेर आयो । अप्रिल महिना पनि सबैभन्दा तातो महिना बनेको भारतीय मौसम विभागले रेकर्डमा राखेको छ ।

    पछिल्लो ११ महिना गर्मीको बढ्दो क्रमले धर्तीमा जुन रफ्तार लिएको छ यो सामान्य कुनै हालतमा होइन । पछिल्लो महिना (अप्रिल) मा दक्षिण भारत र सम्पूर्ण दक्षिणपूर्व एशियामा यस्ता रेकर्ड तोड्ने ‘हिट वेभ’ अर्थात् तातो हावाको लहर धेरै ठाउँमा देखिएका छन् । भियतनाम, सिंगापुर, मलेसिया, इन्डोनेशियालगायतका देशहरुमा असह्य तापक्रम वृद्धि भएको छ ।

    फिलिपिन्समा अप्रिल २८ र २९ को तापक्रम ‘हिट इन्डेक्स’ सूचकांक ५३ डिग्री सेल्सिएस पुगेको थियो । उक्त समय संयुक्त राष्ट्र संघको मौसम तथा जलवायु परिवर्तन एजेन्सीले एसियाको तापक्रम तीब्र गतिमा बढिरहेको बतायो । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिम परेको देश फिलिपिन्स भएको समेत एजेन्सीले किटान गरेको फिलिपिनी मिडिया एबिएस–सिबएनले उल्लेख गरेको थियो ।

    यसैबीच उत्तराखण्डमा जङ्गलमा आगलागी भयो । मे महिनाको पहिलो हप्तामै उडिसा, झारखण्ड, मध्यप्रदेश, छत्तिसगढलगायतका जिल्लामा पनि धेरै ठाउँका धेरै जङ्गलमा पनि आगलागी भए । भारतमा अहिले देशभर हिट वेभको चेतावनी दिइरहेका छन् । यहाँसम्म कि केरला जहाँ आम रुपमा हिट वेभको सम्भावना निकै न्यून हुन्छ, त्यहाँ समेत मौसम विभागले गर्मीको चेतावनी दिएको छ । अहिले नर्थ इण्डियामा ४६ डिग्री भन्दा माथि तापक्रम पुगेको छ । बुधबार (हिजो) नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । लोकसभा निर्वाचनको अन्तिम चरणमा रहेको भारतमा हिट वेभले (तातो हावा) ले प्रभावित भएको छ । हाल भारतका विभिन्न राज्यका विभिन्न इलाकामा बढ्दो तापक्रम वृद्धिले ठूलो संख्याको आवादीलाई नकारात्मक प्रभाव पारेको छ । यो अवस्था यसरी नै अघि बढ्ने हो भने उष्णकटिबंधीय हिन्द महासागरको भविष्य शिर्षकमा गरिएको एक अध्ययनले २०५० सम्ममा विश्वमा तापक्रम वृद्धिको अवस्था निकै बढ्ने र भारतका कतिपय एरियामा एक वर्षमा २२० देखि २५० दिनसम्म हिट वेभ देखिने उल्लेख गरेको छ ।

    तापक्रम वृद्धि भारतको मात्र समस्या होइन । नेपालमा पनि मौसम विभागले बैशाखको पहिलो सातामै तातो लहर (हिट वेभ) को घोषणा गरिसकेको छ । तराईका विभिन्न जिल्लाका भिन्न भिन्न क्षेत्रमा तापमान ४० डिग्री देखि ४४ डिग्री सम्म मापन भएका छन् । विभागले तेस्रो हिट वेभको चेतावनी जारी गरेको दुई दिनपछि आज मध्यान्ह्र १२ बजे सूदुरपश्चिमको धनगढी सबैभन्दा बढी तातेको छ । त्यहाँको तापक्रम ( सवा १२ बजे) ४३ दशमलव ३ डिग्री पुगेको छ । यस्तै, नेपालगञ्मा ४२ दशमलब ८ डिग्री तापक्रम मापन हुँदा जनकपुरमा ३९ दशमलव ८ डिग्री, घोराही, भैरहवा, सिमरा लगायतका स्थानमा पनि ४० डिग्रीको आसपास तापक्रम बढेको छ । तराईका जिल्लाहरुमा भन्दा अनुकुलन रहेने काठमाडौंको तापक्रम समेत पछिल्लो समय निकै बढेको छ । आज काठमाडौंमा ३३ दशमलब २ डिग्री तापक्रम पुगेको छ ।

    तराई मधेशका जिल्लाहरुमा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ । चर्को घामसँगै तातो हावा चल्दा त्यहाँका नागरिक दिउँसो घरबाट बाहिर निस्किनै सकेका छैनन् भने विद्यालयमा पठनपाठनका लागि समस्या भएपछि रौटहट, कैलालीलगायतका कतिपय स्थानीय तहले एकपछि अर्को गरी विद्यालय बन्द गराइरहेका छन् । आर्थिक रुपमा कमजोर वर्गलाई (दैनिक ज्याला मजदुरी गर्ने) हिट वेभले निकै असर पुर्याउने अनुमान गरिएको छ ।
    मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ भएकाले अझै दुई हप्तासम्म नेपालमा गर्मी बढ्ने अनुमान सहजै गर्न सकिन्छ । सरदर मिति जुन १३ भएपनि कहिलेकाँही केही दिन ढिला गरी मनसुन भित्रिने र केहीदिन ढिलै गरी बाहिरीने गरेको रेकर्ड छ । अघिल्लो वर्षको मनसुन एक दिन ढिला गरी प्रवेश गरेर एक दिन नै ढिला गरी बाहिरिएको थियो ।

    नेपालको मनसुनी प्रणाली भारको प्रणालीसँग सम्बन्धित छ । भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैं यस्तै अवस्था हुन्छ भन्ने एकिन गर्न चाँही गाह्रो छ । भारतको मौसम विज्ञान विभागले हिजो जारी गरेको विज्ञप्तिमा बिहीबार (आज) सम्म मनसुन भित्रिनसक्ने सम्भावना रहेको उल्लेख गरेको छ । तर, दिउँसो १ बजेसम्म भारतमा मनसुन भित्रिसकेको कुनै जानकारी विभागले गराएको छैन । भारतको केरलामा सबैभन्दा पहिले मनसुन भित्रिन्छ र विस्तारै देशभर फैलिन्छ । नेपालमा पनि दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्दछ । मनसुन अवधिमा वार्षिक वर्षाको सरदर ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यस वर्षको मनसुन अवधि (जुनदेखि सेप्टेम्बर महिनासम्म) मा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसम विभागले गरे पनि यो वर्ष नेपालमा कहिले मनसुन भित्रिन्छ भनेर अहिले नै यकिन गर्न सकेको छैन ।

    जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी एवं जलवायु विज्ञान महाशाखा एवं विश्लेषण शाखाकी प्रमुख विभूति पोखरेलले भनिन्, ‘नेपालमा यो वर्ष मनसुन यति नै गते भित्रिन्छ भनेर अहिलेनै किटान गर्न सक्ने अवस्था बनेको छैन । भारतमा आजसम्ममा मनसुन भित्रने वातावरण बन्ने भनिएको छ, तर भारत आइपुगेर नेपालमा भित्रिन ढिला हुने गरेको विगत छ । केही दिन नहेरी यसै भन्न सकिने अवस्था छैन ।’

    यद्यपी आज भारतमा मनसुन भित्रियो भनेपनि अझै साता दश दिनसम्म नेपालमा गर्मीको मार परिनै रहने छ ।
    भारत होस् कि नेपालको तापक्रम वृद्धि, यो सबको पछाडिको सिधा कारण भनेको ग्लोवल वार्मिंङ नै हो । तर, यो मात्र तापक्रम वृद्धिको कारण होइन । यसका अन्य दुई प्रमुख कारण पनि छन्, र त्यसले लोकल लेबलमा पार्ने असरको समाधान कसरी गर्न सकिन्छ ? गर्मीबाट बच्न के गर्न सक्छौं सो बारेमा पनि जानकार रहन जरुरी भएको छ ।

    ग्लोवल वार्मिंङपछि पृथ्वीमा तापक्रम वृद्धिको अन्य दुई कारण के–के हुन ?

    पछिल्लो समय तापक्रम वृद्धि केवल भारत र उत्तरी साउथ एशियामा मात्र नभएर विश्वरका विभिन्न स्थानमा देखिइरहेको छ । यही मे महिनामा साउथर्न अमेरिकाको ब्राजिलमा डेड लाख ज्यादा मानिस विस्थापित हुने गरी भारी वर्षा भयो र पुरै शहर नै पानीमा डुब्यो । भयानक बाढी पहिरोमा परि ८३ जनाले ज्यान गुमाए भने त्यतिबेला त्यहाँका मिडियाले १ सय ज्यादा मानिस बेपत्ता भएको समाचार प्रकाशित गरेका थिए । यस्तै, साउथ अफ्रिकामा यतिबेला नागरिकहरु भयानक सुख्खापनसँग जुधिरहेका छन् ।

    विश्व खाद्य प्रोगमाले त्यो सुख्खापनलाई सन् १९४७ यताकै असामान्य परिस्थिति भएको बताएको छ । जसले भोकमरीको अवस्था ल्याउने भन्दै कतिपय साउथ अफ्रिकी देशहरुले ५ दशमलब ५ बिलियन डलर अन्य राष्ट्रिसँग माग गरेका छन् । सन् २०१५–१६ मा एल निनोका कारण देखापरेको चरम खडेरी र बाढीले ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षालाई असर गरेको संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले उल्लेख गरेको थियो ।

    यो सब हुनुको पछाडि सबैभन्दा बढी जिम्मेवार मौसमी घटनाको रुपमा एल मिनियो । (EL MINIO) लाई ग्लोवल वार्मिंङपछि तापक्रम वृद्धिको दोस्रो कारण मानिएको छ ।

    के हो एल निनो ?

    एल निनो स्पेनिश भाषाबाट आएको शब्द हो । एल निनो भनेको केटा र ला निनो भनेको सानी केटी हो ।

    प्रशान्त भूमध्यीय क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना एल निनो हो । एल निनो जलवायुको प्राकृतिक साइकल हो । यसको पूरा नाम ‘एल निनो साउर्थन असेलेसन’ (इएनएसओ) अर्थात्, ‘एल निनो दक्षिणी दोलन’ हो । एल निनो प्राकृतिक जलवायु परिस्थितिको एउटा हिस्सा हो। अमेरिकी जियोसाइन्स इन्स्टिच्यूटका अनुसार एल निनो र ला निनो दुवै प्रशान्त महासागरको समुद्री सतहको तापक्रममा वेला–वेला हुने परिवर्तनसँग जोडिएको छ । यी दुईको प्रभाव संसारभरको मौसममा पर्दछ । एल निनोले मौसममा निकै गहिरो असर पार्छ। यो आउँदा विश्वभरको मौसम प्रभावित हुन्छ। यसले गर्दा वर्षा र गर्मी दुवै मौसममा फरक पार्छ ।

    हरेक पाँच देखि सात वर्षको अन्तरालमा देखिने एल निनो क्लाइमेट चेन्जको कारण झन् चाँडो चाँडो देखिन थालेको विज्ञहरुले बताएका छन् ।

    विश्व स्वास्थ्य संगठनको अनुसार धर्तीको क्लाइमेट परिवर्तन हुनुमा इएनएसओ दोस्रो ठूलो कारण हो । एल निनो भन्दा पनि पहिलो तापक्रम वृद्धिको कारण चाँही पृश्वी र सूर्यबीचको सम्बन्धलाई मानिएको छ । किनभने पृथ्वी सूर्यको वरिपरी घुम्ने हुँदा जाडो पछि गर्मी र गर्मी पछि जाडो मौसमको साइकल निरन्तर चल्दै आएको छ । यो साइकल पछि एल निनोकै असर सबैभन्दा बढी पर्ने विज्ञरुले बताएका छन् ।

    एल निनो आएको बेला मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ । पूर्वदेखि पश्चिमतर्फ बहने गर्छ । जसलाई ट्रेन्ड विन्ड पनि भनिन्छ । जुन हावा धेरै जसो साउथ अमेरिकादेखि अस्ट्रलियाको क्षेत्रमा बहने गर्दछ । त्यो कोरिओलिस इफेक्टस्को कारण हुने गर्छ । धर्ती पश्चिमबाट पूर्वतर्फ घुम्नेगर्छ र त्यो कोरिओलिस इफेक्टस्को कारण हावा उल्टो तिर बहने गर्छ । त्यसो हुँदा प्रशान्त महासागरमा रहेको सतहको पानी (अष्ट्रेलियातर्फ) पश्चिमी दिशामा प्रवाह हुन थाल्छ । तातो पानी पश्चिमी दिशामा प्रवाह हुँदा समुन्द्रको पूर्वी दिशामा रहेको पानी माथि पट्टी आउँछ, अर्थात् पानी साउथ अमेरीका तर्फ प्रवाह हुन थाल्छ । जुन प्रकृयालाई अपवेलिङ (उत्थान) भन्ने गरिन्छ । समुन्द्रको मुनिबाट माथितर्फ आएको पानी सतहको पानी भन्दा धेरै चिसो र पोषकतत्वयुक्त हुन्छ । यहाँ हामीले के बुझ्नुपर्छ भने सामान्य अवस्थामा प्रशान्त महासागरको सतहको तातो पानी अष्ट्रेलियातर्फ र समुन्द्रमुनिको चिसो पानी अमेरिकातर्फ प्रवाह हुने गर्छ । जब पानी तातो हुन्छ त्यो सजिलैसँग वाष्पीकरण हुन्छ र बादल बन्छ । त्यसैले अष्ट्रेलियामा धेरै पानी पर्ने गर्छ ।

    अब तपाईँ हामी यो कल्पना गरौं कि ट्रेन्ड विन्ड कमजोर बन्यो र प्रशान्त महासागर माथि हावा कम बहन थाल्यो भने के हुन्छ ? पक्कै पनि अपवेलिङ कमजोर बन्छ । महासागरको सतहमा रहेको तातो पानी तातै रहन्छ र जुन अष्ट्रेलियातर्फ निरन्तर पानी पर्ने गर्दथ्यो त्यो प्रशान्त महासागरमै कहीं पनि वर्षा हुन सक्छ । जसले अष्ट्रेलियामा पानी पर्दैन र त्यहाँको क्षेत्र सुख्खा बन्छ । एल निनोले गराउने मख्य घटना नै यही हो । तर यो निरन्तर हुने साइकल भने होइन, एल निनो हालसम्म चार देखि सात वर्षको अन्तरालमा भएको पाइएको छ । जब यो आउँछ आधा वा एक वर्षसम्म चल्छ र यसले विश्वभरको मौसमी चक्र बदलिदिन्छ । एल निनो कै कारण अष्ट्रेलिया र दक्षिणपूर्व एशियामा धेरै गर्मी र सुख्खापन हुने गर्छ । साथै हिटवेभको जोखिम पनि बढ्छ । तपाईंलाई यदी २०२० मा अष्ट्रेलियाको जङ्गलभर लागेको डढेलो र त्यसले पुर्याएको क्षतीबारे जानकारी छ भने यो बुझ्नुहोस् कि त्यसमा एल निनो एक प्रमुख कारण थियो । किनकि २०१९ को डिसेम्बरमा अष्ट्रेलियाको झाडीहरुमा आगो लागेका थिए, त्यसपछि जंगलभर रोक्नै नसक्ने गरी फैलियो । एल निनो पछिल्लो समय जनवरी २०२० सम्म चलेको थियो । त्यसपछि जनवरी २०२३ देखि अर्को एल निनो चलिरहेको छ । एल निनो जस्तै यसको उल्टो प्रकृया ला निनो पनि छ ।

    ला निनोले के गर्छ ?

    ला निनो भनेको स्पेनिश भाषामा सानी केटी हो । माथि एल निनोको बारेमा प्रशान्त महासागरमा हुने सामान्य अवस्थाको जुन चर्चा गरिएको छ, त्यो अत्यन्त गहिरो अवस्थामा पुग्यो भने ला निनोको असर देखिन्छ । मतलब, जुन प्रशान्त महासागर क्षेत्रको सतहमा बनेको तातो हावा हुन्छ यो परिस्थिति भूमध्यरेखीय प्रशान्त महासागर क्षेत्रको सतहमा निम्न हावाको दबाबले पैदा हुनेगर्छ । ट्रेन्ड–विन्ड, पूर्वदेखि वहने हावा निकै तीव्र गतिमा बग्दा समुद्री सतहको तापक्रम घट्न थाल्छ । यो घट्दो तापक्रमलाई नै ला निनो भनिन्छ। यो अवस्था उत्पन्न हुँदा संसारभरकै तापक्रममा असर पर्न जान्छ । जसकारण ला निनो आएको वर्ष तापक्रम औसतभन्दा धेरै चिसिन्छ । ला निनोका वेला पूर्वदेखि पश्चिमी वायु बलियो हुन्छ जसले तातो पानीलाई थप पश्चिमतिर धकेलिदिन्छ ।

    ट्रेन्ड विन्ड अष्ट्रेलीयातर्फ तीब्र गतिमा वहँदा समुन्द्र सहतमुनिको चिसो पानी भने दक्षिणी अमेरिकातर्फ झन् धेरै जान्छ । चाखलाग्दो कुरा के छ भने एल निनोको प्रभाव एशिया र अष्ट्रेलियामा जुन पर्छ त्यसको उल्टो असर साउथ अमेरिकामा पर्छ । अर्थात् साउथ अमेरिकामा धेरै वर्षा गराउँछ । पछिल्लो समय ब्राजिलमा अत्याधिक वर्षा हुनुको पछाडि पनि यही कारण हो । ला निनो एल निनो भन्दा लामो समय अर्थात् एक देखि चार वर्षसम्म चल्ने सम्भावना हुन्छ ।

    जस्तो, २०१८–१९ को एल निनोपछि २०२०–२१ मा ला निनो आयो । त्यो यति चरम थियो कि अष्ट्रेलियामा मार्चमा अत्याधिक वर्षाको कारण बाढी आएको थियो ।

    ला निनोको मौसमा असर

    यसको असर विश्वभरमा आउने साइक्लोनमा पर्छ। वैज्ञानिकहरुले यस वर्ष जुलाई देखि अगस्टको बीचमा ला निनो आउन सक्ने बताएका छन् । यसले भारतमा हालको मनसुनलाई २०२३ को भन्दा राम्रो बनाउन सक्छ । किनभने अघिल्लो वर्षको मनसुनमा भारतमा एल निनोको कारण औषतभन्दा धेरै वर्षा भएको थिएन । र यही एल निनो २०२३–२४ मा अधिक गर्मीको कारण बनेको छ । जसले भारतमा मात्र होइन दक्षिणी अफ्रिकी देशहरुमा धेरै खडेरी /सुख्खापन देखियो । यहाँसम्म कि दुवैमा हालै भएको भारी वर्षा र बाढीको पछाडी पनि बिबीसीले एल निनोलाई केही हदसम्म कारण मानेको छ ।

    यस्तै, वैज्ञानिकहरुले मानवद्वारा गरेको जलवायु परिवर्तनले एल निनोको प्रभावलाई अझ चरम बनाउँदै लगेको ठानेका छन् । अर्थात् बढी, हिट वेव (तातो लहर) झन् झन् खतरनाक बन्दै गइरहेका छन् । यही कारण (एल निनो चलेको कारण) केरलामा आजसम्म २०१६ अप्रिल र २०२४ मे मा दुई पटक तातो लहरको चेतावनी दिइएको थियो । भारतीय मौसम विज्ञान विभागले कुनै ठाउँको तापक्रम मैदानमा ४० डिग्री सेल्सियस, टटीय क्षेत्रमा ३७ डिग्री सेल्सियस र पहाडमा ३० डिग्री सेल्सियस भयो भने तातो लहको घोषणा गर्ने गर्छ । जब तापक्रम ४५ डिग्री सेल्सियस नाघ्छ, मौसम विभागले तुरुन्तै गर्मीको लहर घोषणा गर्दछ। भारतका राज्यहरुमा सबै ठाउँमा सोही तापक्रम उपयोगी भने मानिदैन ।

    किनभने, मे महिनामा दिल्लिमा ४५ डिग्री गर्मी सहन सहज हुन्छ, तुलनात्मक रुपमा मुम्बईको ३८ डिग्री सेल्सियस तापक्रम भन्दा । किनभने मुम्बईको तापक्रम डिग्रीमा कम भएपनि त्यसमा आर्द्रता बढी हुन्छ र त्यो व्यक्तिका लागि दिल्लिको तुलनामा बढी असह्य हुन्छ । हावामा जति धेरै आद्रता हुन्छ त्यति नै तापक्रम सहन मुस्किल हुँदै जान्छ । वास्तवमा हावाले कति पानी बोक्छ/राख्छ भन्ने कुरानै सापेक्षित आद्रता हो । चिसो हावाको तुलनामा तातो हावाले ज्यादा पानी बोक्छ । हावामा धेरै आद्र्रता भएपछि मानिसको आफ्नो शरिरलाई चिसो राख्न सक्दैन र तातो लहर चल्दा त्यसले मानिसको ज्यानै पनि जान सक्ने सम्भावना बढ्छ । यही कारण हामीले तापक्रम र सापेक्ष आद्रतामाथि विचार पुर्‍याउन जरुरी छ । यी दुवै कुराको मापन हिट इन्डेक्सबाट गर्न सकिन्छ । तापक्रम वृद्धिमा सापेक्ष आद्रताको भूमिका संवेदनशील पनि हुन्छ ।

    उदाहरणको लागि : यदी आजको तापक्रम ३५ डिग्री सेल्सिएस पुगेको छ । त्यसमा ५० प्रतिशत सापेक्ष आद्र्रता मिसिएको छ भने मानिसको शरिरले ४१ डिग्री सेल्सिएर तापक्रम पुगेको बराबर तातो महशुस गर्छ । यदी ३५ डिग्री सेल्सिएस तापक्रममै ७५ प्रतिशत सापेक्ष आद्र्रता हावामा मिसिएको छ भने त्यो ५५ डिग्री सेल्सिएस बराबरको तातो हुन्छ । त्यो भनेको मानिसका लागि निकै खतरनाक हो । यही कारण अप्रिलको अन्तिम साता फिलिपिन्समा आएको हिट वेभका कारण धेरै मानिसहरुमा असर परेको थियो, त्यतिबेला तापक्रम ५३ डिग्री पुगेको थियो । विज्ञहरुले ३२ देखि ४१ डिग्री सेल्सिएस हिट इन्डेक्समा बाहिर काम गर्दा समेत इस्ट्रोक हुन सक्ने सम्भावना रहेको बताएका छन् । जुनको अन्त्यतिर वर्षायाम नजिक हुने र हावामा आद्रता बढ्ने हुँदा दिल्लीमा पनि गर्मी असहनीय हुने गर्छ ।
    ग्लोवल वार्मिङ र एल मिनियो पछि तेस्रो तापक्रम वृद्धिको कारण हो ‘अर्वन हिट आइल्याण्ड इफेक्ट’ अर्थात् यसलाई निश्चित शहरी इलाकामा हुने गर्मीको प्रभाव वा असर भनेर पनि बुझ्न सकिन्छ ।

    तपाईंले तापक्रम डिग्रीमा हेर्दा उतिनै (दुई वा तीन डिग्री) सम्म थपघट भएका बेला कतै कम गर्मी र कतै ज्यादा गर्मी महशुस गर्नुभएकै होला । धेरै ठूला भवनहरु निर्माण गरिएको एरिया होस् वा चार पाँच लेनको हाईवे (यहाँ कोटेश्वर देखि कलंकी सम्मको एरियालाई उदाहरण मान्न सकिन्छ ।) त्यो एरिया धेरै तातो हुने गर्छ । जसलाई अर्वन हिट आइल्याण्ड भनिन्छ । जहाँ तुलनात्मक रुपमा रुख विरुवा धेरै छन् त्यहाँ कम र जहाँ धेरै ठूला सिसाका भवनहरु बनेका छन् त्यहाँ ज्यादा गर्मी हुने गर्छ । भवनमा प्रयोग भएका सिसाको ग्लास, कंक्रिट, सडकमा हालिएको डामरलगायतले सूर्यको किरण लिन्छ (एब्जर्भ) गर्छ । जहाँ धेरै ठूला र टाँसिएका अग्ला भवन निर्माण गरिएका हुन्छन् त्यहाँ हावा राम्रोसँग वारपार हुन सक्दैन । दिनभर अवशोषित गर्मी राती बाहिर निस्किन्छ ।

    दिल्लीमा अर्वन हिट आइल्याण्ड इफेक्टबारे भएको एक अध्ययनले रुख विरुवा लगाएको एरियामा भन्दा तुलनात्मक रुपमा ठूला र बढी भवन बनेको एरियामा ३ देखि ८ डिग्री सेल्सिएस सम्म बढी गर्मी हुने देखाएको थियो । यो अध्ययनको फरकले रुख विरुवाको महत्वलाई अझ धेरै उजागर गरेको छ ।

    यस्तै, हेर्दा सामान्य लाग्छ तर, घरभित्र चलाईने एसीले जति शितल हामीलाई दिइरहेको हुन्छ उती नै मात्रामा हिट बाहिर फालिरहेको हुन्छ । यसले बाहिरी एरियामा गर्मी बढाइरहेको हुन्छ । एसीलाई बढाउने भन्दा यसको प्रयोगलाई भविष्यमा घटाउँदै लैजानु वातावरणको लागि फाइदाजनक बन्न सक्छ । एसीको अल्टरनेटिभको रुपमा भवन डिजाइन गर्दा देखि नै कम भन्दा कम एसी आवश्यक हुने गरी घरभित्र मज्जाले हावा आउन र जान सक्नेगरी भेन्टिलेसन सिस्टमलाई ध्यान दिएर निर्माण गर्नु एक उपाए हुन सक्छ । अर्को भनेको रेडियन्ट कुलिङ सिस्टम प्रयोग गर्न सकिन्छ ।

    यस्तै, घरको छानामा सेतो रंग लगाएर पनि थोरै हदसम्म हामीले गर्मीलाई घटाउन सक्छौं । यो २०१८ को मार्चमा यल विश्वविद्यालयले गरेको एक अध्ययनले सेतो वा हल्का रंगको कलर घरमा पेन्ट गर्दा त्यसले २ देखि ३ डिग्री सेल्सिएस सम्म तापक्रम घटाउन मद्दत गर्ने देखाएको थियो । किनभने डार्क कलरले सनलाइटलाई शोष्छ र सेतो रंगले सनलाइटलाई रिफ्लेक्ट गर्छ । यो लोजिक शहरी क्षेत्रमा मात्र नभएर ग्रामिण एरियामा पनि लागू हुन्छ । सेतो रंग लगाउने बाहेक घरको छतमा, घर वरिपरी एरियामा हरियो रुख विरुवा लगाउनाले पनि वातावरण सँगै तापक्रम वृद्धिलाई शुष्म रुपमा भएपनि कम गर्न सहयोग गर्छ । यो सँगै आगामी समयमा हुने हिट वेभको असर सकेसम्म कम गर्न सरकारले शहरी क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोगमा बढवा दिने र शहरी क्षेत्रमै बढी भन्दा बढी विरुवा रोप्ने नीति लिन जरुरी देखिन्छ । नेपालको सन्दर्भमा पनि सरकारले २०२१–२०५० सम्मको लािग वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाले बनाएको नेपाल न्याप नीतिको कार्यान्वयन पक्ष बलियो र प्रभावकारीता सुनिश्चित गर्नु जरुरी देखिन्छ ।

    (भारतीय भ्लगर ध्रुव राठीले हिटवेभ बारे बनाएको भिडियो सामग्रीमा आधारित– समय समीक्षा)