समाजवादी संस्कृतिको जग बसाल्न प्रधानमन्त्री दाहालको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् जनसांस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए ।

उनले भने, ‘संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ । जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी संठगित गर्नुपर्छ ।’

‘जनयुद्ध’ कालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि संकल्प र पहल लिएको भन्दै उनले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ । यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।’

उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको पनि बताए ।उनले भने, ‘असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसंगीत, नृत्य, वास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, सम्वर्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ । यस दिशामा जनसांस्कृतिक महासंघ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।’

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको उनको भनाइ छ ।यस्तै, उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको बताए ।कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको संस्कृति, भाषा र संरक्षण गर्न विविध कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा उल्लेख भएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१