Category: हुलाक समाचार

हुलाक समाचार

  • प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे ।

    उनले दुई मुलुकबिचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी रहेका थिए । स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए ।

  • आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

    आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

    काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आइपीएल मार्च १४ बाट सुरु भएको छ । आइपीएलले विहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।१४ मार्चमा सुरु हुने आइपीएलको फाइनल खेल भने २५ मे मा हुनेछ । क्रिकइन्फोका अनुसार आईपीएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ, तर यो अन्तिम मिति हुने सम्भावना छ ।

    सन् २०२६ को आइपीएल मार्च १५ देखि मे ३१ सम्म र २०२७ को आइपीएल मार्च १४ देखि ३० मेको बीचमा हुने छ । आउँदो संस्करणमा पनि आइपीएलका ७४ खेल हुने छन् ।तर यस विषयमा औपचारिक रुपमा आइपीएल र बीसीसीआईले आधिकारिक घोषणा भने गरेका छैनन् । कोलकाता नाइट राइडर्स डिफेन्डिङ च्याम्पियन हो । फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले अघिल्लो संस्करणको उपाधि जितेको थियो ।अस्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आईपीएल २०२५ सिजन खेल्न अनुमति दिएको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

    यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ । सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ । त्यसपछि अष्ट्रेलियाका खेलाडी आईपीएलका लागि उपलब्ध हुनेछन् ।इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइपिएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ । तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन । स्टोक्सलाई आईपीएल २०२५ को मेगा लिलामीमा समावेश गरिएको छैन । २०२५देखि २०२७ को आइपीएलमा पूर्ण रूपमा उपलब्ध खेलाडीहरूको सूचीमा जोफ्रा आर्चर, गुस एटकिन्सन, जोनी बेयरस्टो, ज्याकब बेथेल, ह्यारी ब्रुक, जोस बटलर, ब्राइडन कार्स, ज्याक क्राउली, साम कुरान, बेन डकेट, विल ज्याक्स, लियाम लिभिङस्टोन छन् ओली पोप, म्याथ्यू पोट्स, आदिल रशिद, फिल साल्ट, ओली स्टोन र रीस टोपलीको नाम। समावेश गरिएको छ ।

    श्रीलंका क्रिकेटले सन् २०२५ को सिजनका लागि आफ्ना खेलाडी पूर्ण रूपमा उपलब्ध हुने जनाएको छ । बंगलादेश क्रिकेट बोर्डले तीन वर्षको अवधिमा प्रत्येक खेलाडीका लागि फरक उपलब्धतासहित १३ वटा नाम पठाएको छ । सूचीमा तस्किन अहमद, लिटन दास, महेदी हसन, शकिब अल हसन, रिशाद हुसेन, तौहीद हृदोय, शोरिफुल इस्लाम, शोहिदुल इस्लाम, हसन महमूद, मेहदी हसन मिराज, मुस्ताफिजुर रहमान, नाहिद राना, तान्जिन हसन साकिब रहेका छन् ।यसबाहेक दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र जिम्बाब्वेका खेलाडीहरू पूर्ण रूपमा उपलब्ध हुनेछन् ।बीसीसीआईले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) लिलामीका लागि ५७४ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । जसमा ३६६ भारतीय र २०८ विदेशी खेलाडी छन् । ८१ खेलाडीको बेसिक मूल्य २ करोड रुपैयाँ छ ।

  • नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल

    नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस (द्यद्य–) स्कोर प्राप्त गर्न सफल भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको जानकारी दिएको हो ।मन्त्रालयका अनुसार क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।सार्वभौम क्रेडिट रेटिङ्गमा मूलतः अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलव्धी, सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसुचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ ।

    मुलुकको सार्वभौम क्रेडिट रेटिङ्ग गर्दा यस्ता पक्षहरुलाई विभिन्न सार्वभौम रेटिङ्ग मोडल र गुणात्मक मापन विधीबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डि’ देखि अधिकतम ‘एएए’ (ब्ब्ब्) सम्म रेटिङ्ग प्रदान गर्ने गरिन्छ ।‘एएए’ ले मुलुकको उच्च क्रेडिट गुणस्तर रहेको देखाउँद छ भने ‘डि’ ले पूर्वनिर्धारित (म्भाबगति) को अवस्थालाई ईंगित गर्दछ । उक्त प्रक्रिया बमोजिम फिच रेटिंग्स लिमिटेडले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसूचकहरु, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो।
    यसका साथै गुणात्मक मूल्यांकनको चरण अन्तर्गत फिच रेटिंग्स लिमिटेडको विज्ञ समूहबाट २०२४ सेप्टेम्बर ११ देखि १३ मा नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका उच्च पदाधिकारहरुसँग परामर्श र छलफल गरेको थियो भने निजी क्षेत्र र नेपाल स्थित द्विपक्षिय तथा वहुपक्षिय विकास साझेदार निकायका अधिकारीहरुसँग समेत परामर्श गरेको थियो ।

    नेपालले प्रस्तुत गरेको पुर्वाधार विकासको मध्यकालिन र दीर्घकालिन योजनाको कार्यान्वयनको मुल्यांकन गर्न नमुनाको रुपमा नागढुंगा सुरुङ्ग मार्गको अवलोकन समेत गरेको थियो । हाल फिच रेटिंग्स लिमिटेडको टोलीले नेपालको सार्वभौम क्रेडिट रेटिङ्ग गरी सोको प्रतिवेदन प्रेषित गरेको छ ।पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले सार्वभौम क्रेडिट रेटिङ्गलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने सकिने बताए ।क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मुल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन उनको भनाई छ ।‘सार्वभौम क्रेडिट रेटिङ्गलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने गर्दछन्। यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुयाउने गर्दछ । यस अर्थमा सार्वभौम क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मुल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिन्छ ।

    नेपालको सार्वभौम क्रेडिट रेटिङ्गले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । सार्वभौम क्रेडिट रेटिङ्ग विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत हो । यसले अर्थतन्त्रको भावि दिशा र संभावनाको आंकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पुर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ’ उनले भने ।उनका अनुसार क्रेडिट रेटिङ्गको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ्ग नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक छ ।‘क्रेडिट रेटिङ्गको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ्ग नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना गरेको छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नु पर्ने अवस्थाको पूर्व तयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङ्गलाई लिन सकिन्छ ।’ उनले भने, ‘नेपालको सार्वभौम क्रेडिट रेटिङ्गमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावि दिनमा नेपालको पुर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।’

  • सुनको भाउ बढ्दा चाँदी घट्यो

    सुनको भाउ बढ्दा चाँदी घट्यो

    काठमाडौं । साताको अन्तिम कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो ।बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोवार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघकाअनुसार शुक्रबार चाँदी तोलामा १० रूपैयाँले घटेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

    कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

    काठमार्डौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित बनेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनीहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।

    प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरुको पक्षमा उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते फैसला कार्यान्वयन नभए पनि प्रतिष्ठानक उपकुलपति डा.मंगल रावलले फैसला कार्यान्वयनमा आनाकानी गर्दा कर्मचारी तथा शिक्षकहरु आन्दोलित भएका हुन् ।कार्तिक २६ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारी तथा शिक्षकहरुसंग कार्तिक २७ गते दिउसो ३ बजे पदाधिकारी र आन्दोलनरत पक्षविच भएको दुई पक्षीय वार्तावाट ५८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरि अनुमोदनका लागि सभा (सिनेट) मा पेश गर्ने निर्णय भएको थियो ।

    कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेकोे सभा वैठकबाट पनि उक्त निर्णय अनुमोदन भइसकेको  पनि प्रतिष्ठानका उपकुलपतिले कार्यान्वयन गर्न नमानेको आन्दोलनरत कर्मचारी इन्द्रराज डागीले वताए ।‘उच्च अदालतको आदेश र प्रधानमन्त्री अध्यक्ष भएको प्रतिष्ठानको सभा वैठकले निर्णय गरिसक्दा पनि उपकुलपति रावलले नियतबस आलटाल गर्दा हामी आन्दोलित हुनुपरेको छ,’उनले भने, ‘उपकुलपति अदालत र प्रतिष्ठानको सिनेट भन्दा माथि हुँ भन्ने जस्तो घमण्ड देखाइराखेका छन् ।’उच्च अदालत र प्रतिष्ठानको सभा (सिनेट)ले गरेको निर्णयलाई उपकुलपति डा. रावलले कार्यान्वयन नगर्दा आन्दोलनरत कर्मचारी तथा शिक्षकले मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका हुन् ।प्रतिष्ठानमा ताला लागेको एक साता वित्न लाग्दा पनि उपकुलपतिलाई भने कुनै चासो र चिन्ता नभएको कर्मचारी तथा शिक्षकहरुको आरोप छ ।

    आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आवश्यक छलफल तथा सहजीकरणका लागि मंसिर ४ गते जिल्ला समन्वय समितिको सभाहल र मंसिर ५ गते जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वदलिय वैठकमा समेत प्रतिष्ठानका पदाधिकारीहरु सो विषयप्रति संवेदनशिल नभएकाले कुनैपनि निर्णय हुन सकेन ।मंसिर ४ गते बसेको सर्वदलीय वैठकको निर्णय अनुसार आन्दोलनरत पक्षबाट मंसिर ५ गतेदेखि ओपीडी सेवा बन्द गर्ने कार्यक्रम रहेकोमा ओपीडी सेवा हाललाई बन्द नगरिदिनका लागि अनुरोध गर्ने निर्णय अनुसार हाल अस्पतालका सम्पूर्ण सेवाहरु संचालनमा रहेको छन् ।सर्वदलीय वैठकमा प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षले आन्तरिक रुपमा छलफल गरी निकासमा पुग्नुपर्ने भनिएता पनि उपकूलपति स्ंवयम उदासिन बनेको आन्दोलनकारीको भनाइ छ ।उपकूलपति स्वंयम २०७४ चैत्र ९ गते कार्यकारी परिषदको निर्णयबाट मात्र बढुवा भई मिति २०७७ पुष २० गते प्रतिष्ठानको कुनैपनि नियममा नभएको थप जिम्मेवारी सोही कार्यकारी परिषद्बाट लिइ उपकूलपति पदमा नियुक्त भई हालसम्म उपकुलपति वनेका हुन् । २०८१ कार्तिक २७ गते शिक्षक तथा कर्मचारीहरुलाई कार्यकारी परिषदले बढुवा गर्ने निर्णय गरी कार्तिक २८ गतेको सभाको वैठकले समेतले सो निर्णय अनुमोदन गरिसक्दा पनि उपकूलपतिले व्यक्तिगत स्वार्थका कारण शिक्षक तथा कर्मचारीहरुलाई बढुवा गर्न आलटाल गरिरहेको उनीहरुको आरोप छ ।

  • काठमाडौंका तीन स्थानमा प्रदर्शन, आवातजावतमा प्रभावित हुनसक्ने

    काठमाडौंका तीन स्थानमा प्रदर्शन, आवातजावतमा प्रभावित हुनसक्ने

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शुक्रबार विभिन्न समूहले आन्दोलन एवं जनसभा गर्दैछन् ।

    कोटेश्वरमा दुर्गा प्रसाई समूहको, दरबारमार्गमा एमाले र माइतिघरमा सहकारी पीडितले आन्दोलनको आयोजना गरेका छन् ।

    एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ। प्रसाईं समर्थित समूहले कोटेश्वर, तिनकुने क्षेत्रमा आन्दोलन गर्दै छन् भने सहकारी पीडितले माइतिघर–बानेश्वर क्षेत्रमा रहेर आन्दोलन गर्ने छन् ।

    काठमाडौंका मुख्य सडकका मुख्य स्थानमै कार्यक्रम गर्ने भएपछि आवातजावातमा कठिनाइ हुने छ । ट्राफिक व्यवस्थापनको लागि प्रहरीले तयारी गरिसकेको जनाएको छ । ५ हजार प्रहरी परिचालन गरेको र ५ सय ट्राफिक प्रहरी खटाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

    प्रहरीसँगै सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै सशस्त्र प्रहरी र नेपाल आर्मीपनि खटाइने उनले बताए ।

  • एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

    एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ ।एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

    एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

    एन्फाले शहिद स्मारक बि डिभिजनका केहि खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

  • ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।

    अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन अस्ति बुधवार निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम एयरलाइन्सले हिजो मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।

    मन्त्रालयका अनुसार विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।यसैबीच अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ ।

  • आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।कालीमाटीमा आज च्याउसहितका केही तरकारीको मूल्य बढेको छ । साग लगायतका केही तरकारीको मूल्य भने थोरै घटेको छ ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६७, रातो आलु ६८, सेतो आलु ५९, सुकेको भारतीय प्याज १११, लोकल गाँजर १५०, तराईको बन्दा ८५, काउली ११०, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, तने बोडी १४५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ ।कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ६७, सेतो आलु ५६, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, लोकल बन्दा ९०, तराईको बन्दा ७५, स्थानीय काउली ११५, तराईको काउली ९५ रुपैयाँ प्रतिकिलो थियो ।

    त्यसैगरी करेला, परबल र लौका ९५, घिरौँला ७५, हरियो फर्सी ५५, भिन्डी १२५, स्कुस २५, रायोको साग ३६, पालुंगोको साग ९५, कन्य च्याउ २१०, डल्ले च्याउ ३७६, कुरिलो ११५०, ब्रोकाउली १५० रुपैयाँ पैतिकिलो छ ।त्यसैगरी रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, तने बोडी १५०, मकै बोडी ६५, करेला, लौका र परबल ९५, घिरौँला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो ।त्यसैगरी हिजो भिन्डी १३५, स्कुस २५, रायोको साग ५५, तरुल ९५, कन्य च्याउ २००, डल्ले च्याउ ३२५, कुरिलो ११५०, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलो थियो ।

  • मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए ।

    कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ ।

    मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क खुलाउन भनिएको छ । यसैगरी सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।यसैगरी टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । पहिलो चरणमा अनुगमन गरिनेछ,’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।’