Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • नयाँ समीकरण : देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा ?

    नयाँ समीकरण : देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा ?

    काठमाडौं । राष्ट्रिय सभाको नयाँ नेतृत्व चुन्ने समय नजिक आएपनि दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने यतिञ्जेल टुंगो लागिसकेको छैन्। सत्ता गठबन्धन दलहरु नै अहिलेसम्म सदनको माथिल्लो सदनको नेता चुन्ने बिषयमा मौन देखिन्छन् भने विपक्षसँग आफ्नो उम्मेदवार खडा गरेर जिताउने अंकगणित पुग्दैन।

    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुनेछ। १७ र १८ फागुनमा पदावधि सकिएर घर फर्किन लागेका सदस्यहरुलाई उनीहरुको अनुभव सुनाउने समय छुट्याईएको छ। २१ गते नवनिर्वाचित सदस्यहरुको शपथ र स्वागत कार्यक्रम रहेको राष्ट्रिय सभा सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

    हालै सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य चुनिएका छन्, उनीहरुको पदावधि आगामी २०८६ फागुन २० सम्म छ वर्ष कायम रहने छ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनले नै राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो उम्मेदवारलाई जिताउन सक्छन्। वर्तमान सत्ता गठबन्धन तलबितलमा नपरेसम्म यो अंकगणित नै निर्णायक हुने निश्चित देखिन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएका दलहरु कुनै विशेष कारणले अलग नहुँदासम्म संघीय संसदका दुवै सदनमा उनीहरुकै बहुमत छ। सभामुखको निर्वाचनपछि छोटो समयमै गठबन्धन परिवर्तन भएपछि एमाले दुवै सदनमा निर्णायक भूमिकामा छैन। तर आउने निर्वाचनमा भने यही गठबन्धन अनुसारको परिणाम आउनेमा शंका गरिँदैछ।

    कांग्रेस महासमितिको असर

    नेपाली कांग्रेसको महासमिति बैठकको एक राजनीतिक निर्णय प्रकाशमा आएपछि गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्र कांग्रेससँग सतर्क भएको देखिन्छ। उसले सहयात्री दललाई शंकाको नजरले हेर्न थालेको संकेतहरु देखा पर्न थालेका छन्। आगामी संसदीय निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने भनेर नेपाली कांग्रेसले निर्णय गरेपछि राजनीतिमा तरंग उत्पन्न भएको छ। गएको निर्वाचनमा आफूसँग सहकार्य गरेको मुख्य दलको यस्तो निर्णय आएपछि माओवादी केन्द्र सतर्क मात्र भएको छैन, उ तर्सिएको र वैकल्पिक सहयात्रीको खोजीमा समेत सक्रिय भएको देखिन्छ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक गोप्य वार्तालाप गरिसकेका छन्। यतिमात्र होइन दाहालले आफ्ना निकट सहयोगी नेताहरु अग्नीप्रसाद सापकोटा र जनार्दन शर्मालाई अघि सारेर नेपाली कांग्रेसको निर्णयप्रति गम्भीर असन्तोष प्रकट गरिसकेका छन्। दाहाल आफैं भने ओलीसँगको गुप्त वार्तालाई निरन्तरता दिएर गठबन्धनको मुख्य दललाई तर्साउने प्रयास गरिरहेका देखिन्छन्।

    नेपाली कांग्रेसले निर्वाचनमा सहकार्य नगर्ने नै हो भने माओवादीलाई एक्लै प्रतिष्पर्धा गर्न कठिनाई नै हुने विगतको परिणामले पनि देखाउँछ। त्यसैले उस्तै परे एमालेसँग सहकार्य गर्ने तर एमालेसँग पनि ढुक्क हुनसक्ने अवस्था नभएकाले नै दाहालले पूर्व माओवादी र अरु छरिएर रहेका वामपन्थी दलहरुलाई एक हुन आव्हान पनि गरिरहेका छन्।

    के होला गठबन्धन ?

    राष्ट्रिय सभाको अध्यक्ष बनाउने भनेर नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्षहरुले वचन दिएपछि सदस्यको निर्वाचनमा सहभागी भएर बिजयी बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यतिबेला विलखबन्दमा परेका छन्। महासमिति पछि एककिसिमले तनावमा परेको गठबन्धन सम्बन्ध सामान्य नभैसकेकाले राष्ट्रिय सभाको नेतृत्व कसको हातमा पर्ने हो भनेर ठोकुवा नै गर्नसक्ने अवस्था देखिँदैन। यही कारण नेपाली कांग्रेसका नेता सिटौला पनि अनिश्चयको बादलमा परेका छन्। तर गठबन्धन फेरबदलको तत्काल कुनै सम्भावना नभएकाले पूर्वसहमति अनुसार नै राष्ट्रिय सभाको नेतृत्व चयन हुने विश्वास गरिएकामा पछिल्ला दिनहरुमा माओवादी केन्द्रको रणनीति परिवर्तन भएको देखिएको छ।

    नयाँ रणनीति बनाउँदै माओवादी

    माओवादी केन्द्रको हालै सम्पन्न विधान अधिवेशन र अहिले जारी स्थायी समिति बैठकमा फरक मत आएको छ। केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार, वर्तमान सत्ता गठबन्धन निकट भविष्यमा परिवर्तन हुनसक्ने सम्भावना भएकाले माओवादी केन्द्र राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनबारे आन्तरिक छलफलमै छ। ‘आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार माओवादीले छाड्नुपर्ने हुन्छ, त्यतिबेला संवैधानिक अंगका कुनैपनि निर्णायक भूमिकामा माओवादी रहँदैन तसर्थ राष्ट्रिय सभाको नेतृत्व चैं आफैंसँग राख्नुपर्छ भन्ने आवाज पार्टीका सबै तहमा उठिरहेको छ। त्यसैले हालको गठबन्धन अनुसारकै परिणाम नआउन पनि सक्ला’ भन्छन् केन्द्रीय सदस्य दाहाल।

    खटपटको संकेत

    राष्ट्रिय सभा निर्वाचनकै क्रममा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आएपनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो । कोशीबाट कांग्रेस नेता सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएपछि माओवादी केन्द्रका नेताहरु रुष्ट भएका थिए । कांग्रेस मतदाताले ‘मतक्रस’ गरेर माओवादी उम्मेदवारलाई पराजित गराएको भन्दै माओवादीले समीकरणमा फेरबदलको प्रसंग अघि सारेको थियो ।

    जारी छ शीर्ष सम्वाद

    यसवीच सभापति शेरबहादुर देउवा र अध्यक्ष दाहालले पनि भेटघाट गरिसकेका छन्। देउवाले आफ्नो पार्टीको महासमितिको निर्णयबाट सशंकित नहुन दाहाललाई आश्वास्त तुल्याएको देउवा निकट सूत्रले बताएको छ।

    त्यसपछि नेता सिटौलाले पनि दाहालसँग भेटेर आफ्नो कारणले गठबन्धन संकटमा पर्ने अवस्था छ भने आफू पछि हट्न तयार रहेको बताएका छन्। तर दाहालले पूर्व सहमतिमा परिवर्तनको कुनै सम्भावना र आवश्यकता नरहेकाले अन्यथा नसोच्न सिटौलालाई सल्लाह दिएको समाचार सूत्रले बताएको छ।
    यस सम्बन्धमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले गठबन्धनको सम्बन्धमा कुनै परिवर्तनको सम्भावना नदेखिएकाले गठबन्धन दलहरुको निर्णय त्यही अनुसार नै हुनुपर्ने हो भनेका छन्। नेता रिजालले सिटौला नै अध्यक्ष पदका उम्मेदवार हुनेमा कुनै शंका नरहेको बताए।

    देउवाको रणनीति

    नेपाली कांग्रेसका सभापति देउवा आलोपालो अनुसार छैटौं पटक प्रधानमन्त्री हुने दाउमा छन्। माओवादी अध्यक्ष दाहालले छाडेपछि रिक्त प्रधानमन्त्री पदमा देउवा आउने सम्भावना छ। देउवालाई प्रधानमन्त्री पदमा सहयोग गर्दा माओवादीले धन्यवाद र कृतज्ञता मात्र लिएर चित्त बुझाउने छैन। उसले त्यसको बदलामा ठोस राजनीतिक लाभ लिने नै छ। हालको राजनीतिक अंकगणित हेर्दा माओवादीका आँखा राष्ट्रिय सभा अध्यक्षको आसनमै सोझिएको देख्न सकिन्छ। यही उदेश्यले हुनसक्छ अध्यक्ष दाहालले निकटस्थ नेतालाई नेपाली कांग्रेसप्रति कटाक्ष गराउँदै घुर्कीको भाषामा आलोचना गराईरहेका छन्।

    यस्तो अवस्थामा कांग्रेस नेता सिटौला राष्ट्रिय सभाको नेतृत्वमा पुग्ने सम्भावना आफ्नै सभापतिको राजनीतिक उदेश्यका कारण पनि क्षीण बन्दै गएको देखिन्छ। कदाचित देउवा नै प्रधानमन्त्री बने भने सरकारको दोस्रो वरियतासहित महत्वपूर्ण मन्त्रालयमा चित्त बुझाउन सिटौला वाध्य हुने अवस्था नआउला भन्न सकिँदैन।

  • अनुभव र क्षमताले खारिएका भण्डारी जसले हाँक्दैछन् दूरसञ्चार प्राधिकरण

    अनुभव र क्षमताले खारिएका भण्डारी जसले हाँक्दैछन् दूरसञ्चार प्राधिकरण

    काठमाडौं । नेपाल सरकाले झण्डै दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ लगायतका क्षेत्रमा अनुभव हासिल गरेका विज्ञ भुपेन्द्र भण्डारीलाई दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ ।

    २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिवको नेतृत्वमा रहेको सिफारिस समितिले भुपेन्द्र भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    नवनियुक्त अध्यक्ष भण्डारीले नेपालको मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ, फिनटेक, लेखा परीक्षण, कर तथा वित्त व्यवस्थापनको क्षेत्रमा अनुभव मात्र होइन, २१ वर्षदेखि सफल नेतृत्व गर्दै आएका छन् ।

    विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका छन् । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गरेका भण्डारीले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिएका छन् ।

    भण्डारीले विसं २०५९ देखि नेपालमा बैंकिङ क्षेत्रको नेतृत्व लिन सुरु गरेका थिए । उनले नेपाल श्रीलङ्का मर्चेन्ट बैंक (हाल नविल बैंकमा गाभिएको) मा कम्पनी सचिव एवम् लेखा तथा वित्त प्रमुखको जिम्मेवारी लिएर वित्त तथा व्यवस्थापन क्षेत्रको नेतृत्व सुरु गरेका थिए ।

    त्यसको एक वर्षपछि उनले नेपालको दुर्गम मानिने मध्यपश्चिम क्षेत्रको नेपालगञ्जमा पहिलो विकास बैंकको रुपमा कर्णाली विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । सशस्त्र द्वन्द्वका बीचमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कर्णाली विकास बैंकलाई सफल बनाउन उहाँले महत्वपूर्ण भूमिका पनि निर्वाह गरिसकेका छन् ।

    त्यसको दुई वर्षपछि विसं २०६२ मा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसमा सिनियर अडिटरको रुपमा काम गरेका भण्डारीले एक वर्षपछि पशुपति विकास बैंक (हाल हिमालयन बैंकमा गाभिएको) मा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले पशुपति विकास बैंकको नेतृत्व मात्र लिएनन्, चार वर्षअघि सञ्चालनमा आएर पनि लाभांश नदिएर समस्याग्रस्त बनेको बैंकमा खराब वित्तीय स्थितिको ब्यापक सुधार गरी एक वर्षभित्रै लाभांश दिने अवस्थामा पुर्याए ।

    उनले भारतमा रहँदा पञ्जाव नेश्नल बैंक, कार्पोरेशन बैंक, इण्डियन आयल कार्पोरेशनजस्ता स्थापित निकायमा लेखापरीक्षणको अनुभव प्राप्त गरिसकेका छन् । नेपाल र भारतमा विभिन्न निकायको कर तथा लेखा परीक्षणमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

    चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका भण्डारी २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्व लिने भूमिकामा गए । स्पाइस नेपाल प्रालि (मेरो मोबाइल)मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना दूरसञ्चार क्षेत्रको नेतृत्व थालेका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गरेका थिए ।

    विसं २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीको नेतृत्वमा समय दिए । उनले रुग्ण कम्पनीको नेटवर्क सुरु मात्र गरेनन्, तीन वर्षमै कम्पनीलाई नाफामा लगे । त्यति मात्र होइन, उनको कुशल नेतृत्वको परिणाम काम थालेको चार वर्षमै लासेल बुरुण्डीको दोस्रो नम्बरको कम्पनी बन्न सफल भयो ।

    विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व लिएका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा रहे । दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर विसं २०७४ मा उनी नेपाल फर्किए । नेपाल फर्केपछि भण्डारी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नवीन विधा फिनटेकतर्फ प्रवेश गरे । उनी आफैले पे नेप प्रालि स्थापना गरेर २०८० जेठ सम्म (छ वर्ष) त्यसको कुशल नेतृत्व गरे ।

    २०८० असारमा भण्डारीको जिम्मेवारी बदलियो । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाले । दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारीको प्रवेशले सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिए । लामो समयदेखि मन्त्रालयभित्र रहेका विभिन्न निकायहरुको अनियमिताहरुको अध्ययन, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सूचना प्रविधि क्षेत्रलाई राष्ट्रको हितमा परिचालन गरी देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने दृढ संकल्प र उच्च मनोबलका साथ भण्डारीले काम गरिरहेका छन् ।

  • रारातालको किनारमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

    रारातालको किनारमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

    मुगु । रारातालको किनार हिमपातले सेताम्य भएर टल्किएको छ । यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन् ।

    माघ दोस्रो सातातिर भएको हिमपातपछि मौसममा सुधार आएको छ । खुल्ला आकासमुनि नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रारामा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन् ।

    हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो । यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन । त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन् ।

    समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारातालको अधिकतम लम्बाइ ५ किलोमीटर र चौडाई ३.२ किलोमिटर छ । रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ ।

     

    हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउर्ने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरीक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

  • स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत

    स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत

    मुगु । हिमाली जिल्ला मुगुको स्याउ उत्पादन पकेट क्षेत्र मनिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका किसानको स्याउ उत्पादनमा ह्रास आएको छ । स्याउ उत्पादनमा कमी आएपनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि कृषक हर्षित बनेका छन् ।

    समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरुको भनाई छ । उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महशुस भएको बताउँछन् ।

    पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य कृषकमा समेत बीमा प्रति आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । स्याउ फल्ने फूल्ने समयमै छाँयानाथ रारा नगरपालिका भित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमालगायतका विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका थिए । बीमा गराउनेमा उक्त क्षेत्रका ५ सय ४७ जना कृषकहरु रहेको तथ्यांक छ ।

    छाँयानाथ रारा नगरपालिका ६ का गोबिन्द बमले १ सय ६० बोट स्याउको बीमा समयमै गराएको बताए । स्याउ उत्पादन नभएपनि बीमा बापत रकम पाएपछि उनी खुसी लागेको बताउँछन् । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको छ ।

    यस्तै, पाँच हजार बर्ग क्षेत्रफल भित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छाँयानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले लगाएको बगानमा उत्पादन नभएको बताए ।

    असिना पानी र बेमौसमी वर्षात्ले स्याउ उत्पादन निकै घटेको बताएका उनले गत वर्षको चौततिर ८ हजार ५ सय तिरेर १ सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाए । उनले बीमा बापत ४० हजार ४ सय रुपैयाँ बीमा कम्पनीबाट लिएको सुनाउँछन् । समयमै बीमा गर्दा उत्पादन नभएपनि किसानलाई बीमाले निकै राहत दिएकोले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनी बताउँछन् ।

    उनले भने, ‘हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गत वर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिए । तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौं । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।’

    मुगुको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका भित्रका विभिन्न क्षेत्रका कृषकले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गराउँदै आएका छन् ।

    गतवर्षको बेमौसमी वर्षत्ले कसैको बोटमा स्याउको दानै फल्न सकेन भने स्याउ फलेकाहरुको पनि ४० प्रतिशत उत्पादनमा गिरावट देखिएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड मुगुका शाखा प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् ।

    भण्डारीका अनुसार सोही आधारमा मुगुका ५ सय ४७ जना कृषकहरुले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराएबापत बिमीतलाई १ करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ ।

    ‘रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको स्याउ खेती बीमा कृषकले गरेका थिए । यो वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिराखेका छौं,’ प्रमुख भण्डारीले भने ।

    स्याउ खेती बीमा अन्र्तगत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ ।

  • लोप हुनथाले पानीघट्ट र ओखल

    लोप हुनथाले पानीघट्ट र ओखल

    मुगु । हिमाली जिल्ला मुगुमा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । गाउँमा बिजुली पुगेसँगै आधुनिक मिलहरु सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानीघट्ट, ओखल, जाँतो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

    आधुनिक मिलमा पिसेको पिठो स्वादिलो नहुने, रोटी चाम्रो हुने गरेको स्थानीयको भनाइ छ । मिलमा पिसेको पिठोभन्दा घट्टमा तयार पिठोको रोटी स्वादिलो हुने छाँयानाथ रारा नगरपालिका–८ का कृष्णबहादुर रावलले बताए ।

    मौलिक पानीघट्टमा पिंधेको धुलो पिठोबाट तयार परिकार बासनादार र स्वादिलो हुने तर विद्युतीय मिलबाट पिसेको धुलो कुनैपनि स्वाद नहुने रावलले बताए । आजभोलि सस्तो र सहज रुपमा बजारमा पिसेको पिठोको चामल पाउन गरेको, पानीघट्टहरु विग्रिएको, पानीघट्टका संचालकहरुले व्यवसाय परिवर्तन गर्न थालेपछि पानीघट्ट लोप हुने अवस्थामा पुगेको छाँयानथा रारा नगरपालिका–६ का ख्यामबहादुर रावलले बताए ।

    मिलमा पिसेको र तराइबाट आयतीत पिठोले बजार ओगटेका कारण पनि गहुँ, कोदो र फापर पानीघट्ट पिस्न छाडेको स्थानीको भनाई छ । त्यस्तै बाढीका कारण पानीघट्टहरु बगाएकाले पनि समस्या भएको नगरप्रमुख कर्णबहादुर रावलले बताए ।

    नगरपालिकाले घट्ट, ढिकी, जाँतो, ओखल संरक्षणका लागि योजना अघि सारेको रावलले बताए । ‘एक गाउँ, एक पानीघट्ट’ अभियान शुरु गरिएको उनले बताए ।

  • महिला कूटनीतिज्ञको माध्यमबाट चीनले काठमाडौंमा प्रदर्शन गरेको फरक कूटनीति

    महिला कूटनीतिज्ञको माध्यमबाट चीनले काठमाडौंमा प्रदर्शन गरेको फरक कूटनीति

    काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण सम्पन्न भएको छ। शुक्रबार नेपाल आएकी उनी सोमबार स्वदेश फर्किएकी छिन् ।

    नेपालमा रहँदा सुन निरन्तर सक्रिय भइन् । उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरी चीन-नेपाल सम्बन्ध तथा सहकार्यमा नयाँ अध्याय स्थापना गरेर नयाँ सेतु निर्माण गरेकी छिन् ।

    धेरैजसो महिला प्रतिनिधिमण्डलको नेतृत्व गर्दै, श्रीमती सुनले शीर्ष नेपाली नेता र अधिकारीहरूसँग छलफल गरिन् । छलफलका क्रममा चीनको ‘गुलाब कूटनीति’ को आकर्षण प्रदर्शन गर्दै उनले विकास परियोजना र द्विपक्षीय सम्बन्धको महत्त्वलाई जोड दिएकी थिइन् ।

    सुन हाइयानको भ्रमणले नेपालसँगको कूटनीतिक सम्बन्धलाई चीनले दिएको उच्च महत्त्वलाई झल्काउँछ । प्रधानमन्त्री पुष्प कमल दाहल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र नेपाली राजनीतिक दलका विभिन्न प्रतिनिधिहरूसँगको संयुक्त परामर्श सत्रमा भएको छलफलले दुई देशबीचको बृहत्तर आपसी समझदारी र सहयोगका लागि नयाँ मञ्च तयार भएको विश्लेषकहरूले बताएका छन् ।

    सुनको शालीन र गम्भीर व्यवहार, कूटनीतिक शैली तथा स्त्रीगत सौन्दर्यले नेपालमा धेरैको ध्यान खिचेको पाइयो । सिङ्गापुरका लागि चिनियाँ राजदूतको रूपमा काम गरिसकेको प्रभावशाली पृष्ठभूमि भएकी उनले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान सक्षम एक जानकार र अनुभवी नेताको रूपमा प्रस्तुत गरिन् ।

    संयुक्त परामर्श सत्रमा सुनले केही बाह्य शक्तिहरूले चीन-नेपाल द्विपक्षीय सम्बन्धलाई बिगार्ने प्रयास गरिरहेको मात्र औल्याइनन् चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलसँग साझा फाइदा र सहकार्यको सन्दर्भ केन्द्रित छलफलमा निम्त्याइएका प्रमुख दलका नेताहरूलाई सामूहिक रूपमा सुनले दलीय सहकार्यको मोडालिटी पनि बताइन् ।

    नेपाल अरुबाट प्रयोग हुनबाट बच्नुपर्ने संकेत गर्दै सुनले भनिन्, ‘अहिले विश्वमा शान्ति छैन, केही शक्तिहरू चीन र नेपालको राम्रो देख्न चाहिरहेका छैनन्, उनीहरूले दुर्भाव राखिरहेका छन् । हामीले एकता, विश्वास र पारस्परिक सम्बन्ध कायम राख्न सक्नुपर्छ र कठिनाइमा एकअर्काबीच मिलेर काम गर्नुपर्छ ।’ नेपालमा बढ्दो पश्चिमाहरूको सक्रियताप्रति सुनको खास चासो रहेको प्रस्ट मात्र थिएन, चिन्ताको अभिव्यक्ति पनि थियो ।

    उपमन्त्री सुनले द्विपक्षीय सम्बन्धलाई बढावा दिन पर्यटनको मूल्यसहित धेरै महत्त्वपूर्ण विषयहरूको चर्चा गरिन् । उनले नेपालमा पूर्वाधार विकास हुन नसकेको भन्दै त्यसको सुधारमा पनि जोड दिइन् । उनले कोभिड-१९ महामारी र अन्य कारणले अवरुद्ध भएका परियोजनाहरूलाई गति दिन र नीतिगत सुधारका लागि आह्वान गर्दै थप चिनियाँ लगानी आकर्षित गर्न नेपाल सरकारलाई आग्रह गरिन् ।

    ‘हामीले जनताको जीविकोपार्जनको उत्थानका लागि धेरैभन्दा धेरै परियोजनाहरू कार्यान्वयन गर्ने योजना बनाइरहेका छौं, तर यहाँ नीतिगत सुधार आवश्यक छ ताकि परियोजनाहरूले जनताको लागि राम्रो परिणाम सुनिश्चित गर्न सकून्’, उनले भनिन् ।

    उपमन्त्री सुन हाइयानको भ्रमणले निकट सहयोग र साझा विकास उद्देश्यका साथ नेपाल-चीन सम्बन्धमा नयाँ युगको थालनी गरेको छ ।

  • त्यो चर्चित गीत : नातीकाजी गाउन चाहन्थे, योगेशले गाइदिए

    त्यो चर्चित गीत : नातीकाजी गाउन चाहन्थे, योगेशले गाइदिए

    काठमाडौं । दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् ।

    बिहीबार श्रद्धाञ्जली सभामा भेटिएका वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटाले वैद्यलाई सुगम संगीतका संरक्षकका रुपमा सम्झिए ।

    तीन दिन अघि मात्रै वैद्यसँग आफूले कुरा गरेको स्मरण गर्दै बास्कोटाले भने, ‘तीन दिन अघिमात्र उहाँसँग कुरा गरिरहेको थिएँ । तर आज अचम्म भयो, खै के भनौं । मानिसको जीवन सोच्नै नसक्ने हुँदोरहेछ । ‘सपना भुलाई सारा’ भन्या जस्तो’, उनी भावुक हुँदै भन्छन्, ‘यो लामो जीवनमा किन म हतास हतास छु’ उहाँले त्यस्तै गीतहरु गाउनुहुन्थ्यो । उहाँका गीतले जीवन बोकेको हुन्थ्यो । किनकी जीवनको यर्थाथतालाई शब्दले अंगालेको हुन्छ । हामी योगेश दाइलाई मिस गरिराखेका छौं ।’

    वैद्यको निधनले नेपाली गीत संगीत क्षेत्रले सुगम संगीतका गहन व्यक्ति, एक संरक्षक गुमाएको बास्कोटाको प्रतिक्रिया थियो ।

    करिब आठ वर्ष योगेशसँगै नजिक रहेर काम गरेका संगीतकार तथा गायक टिका भण्डारीले वैद्यलाई थोरै गीत गाउने तर शब्दलाई चिनेर भावमा बगेर आत्माबाटै गाउने स्रष्टाका रुपमा लिन्छन् ।

    ‘सपना भुलाई सारा’ गीत रेकर्डको समयलाई स्मरण भण्डारी भन्छन्, ‘सपना भुलाई सारा, आँसु पिएर जाउ’ गीत चाहीं नातीकाजीको हातबाट उहाँले खोसेरै लिएको भन्न चाहन्छु । नातीकाजीले संगीत गर्न हार्मोनियममा राखेको गीतलाई उहाँले मलाई मन पर्यो । यो गीत मलाई सुट हुन्छ, म गाउँछु भन्नुभएको हो । त्यसपछि नातीकाजीलाई आग्रह गरेको र गाउनुस भनेपछि गाउनुभएको गीत हो त्यो ।’

    वैद्यलाई नेपाल भाषाको ज्ञाताको रुपमा लिएका भण्डारीले नेपाली संगीतको पनि भाषाविद् भएको प्रतिक्रिया दिए । ‘उहाँले नेपाल भाषाका पनि थुप्रै गीतहरु गाउनुभयो । नेपाल भाषाको राम्रो ज्ञाता हुनुहुन्थ्यो । संगीतमा एउटा भाषाविद् हामीले खोज्नुपर्यो भने उहाँको नाम आउँछ’ भण्डारीले भने । २०३० को दशकमा रेडियो नेपालको लोकप्रियता चुलिनुमा वैद्यको योगदान महत्वपूर्ण रहेको भण्डारीको भनाई छ ।

    उनले भने, ‘रेडियो नेपालको लोकप्रियता जति चुलियो त्यसमा उहाँको योगदान ज्यादै ठूलो छ । किनकी सुुगम संगीत नामाकरण गरेको समयलाई स्वर्णीम युग भनेर हामीले ३० को दशकलाई मान्यौं । हुनत उहाँले २०२२ सालमा स्वर परीक्षा पास गर्नुभएको हो । त्यसपछि उहाँले त्यस्तै प्रकृतिका गीतहरु मेहनतका साथ गहिरो भावमा अत्यन्तै लगनशील भएर गाउनुभयो । स्रोताको मन छुने काम गर्नुभयो ।’

    वैद्यले नातीकाजीदेखि तारादेवीसँग संगत मात्रै गरेनन् उनीहरुकै धेरै गीत गाए र संगीत पनि भरेका छन् । उनी रातारात कलाकार बन्ने र प्रतिस्पर्धा गर्ने प्रवृतिभन्दा पृथक र मिडियाबाट पनि टाढै बस्थे तर अन्र्तमनबाट संगीतमा रमाउने व्यक्ति भएको भण्डारी सम्झन्छन् ।

    वैद्यसँग नजिक रहेर काम गरेका संगीतकार स्वयन्द्र श्रेष्ठ उनको निधनले स्तब्ध भएको प्रतिक्रिया दिन्छन् । श्रेष्ठले केही समय अघिमात्रै वैद्यको गीतमा आफ्नो स्वर दिएका थिए तर वैद्य जीवित हुँदै गीत रिलिज गर्ने मौका भने पाएनन् ।

    ‘एक हप्ता अगाडीमात्रै उहाँको घरमा हाम्रो भेट गीतको सिलसिलामा भएको थियो । तीनचार महिना अगाडि हामीले तीन चारवटा गीत उहाँको घरमै गएर उहाँकै संगीतमा रेकर्ड गरेका थियौं । मैंले उहाँको संगीतमा गाउने अवसर पाए । मेरो संगीतमा उहाँले गाउनुभयो । तर उहाँको निधनले दुःखी बनाएको छ । उहाँ सपना पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ श्रेष्ठले भने ।

    लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित वैद्यको स्वास्थ्य बिहीबारबाटै बिग्रिएको बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशी बताउँछन् । ‘बेलुका योगेशलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार ७७ बर्षको उमेरमा प्राण त्यागे,’ जोशीले सुनाए ।

    वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका योगेशले करिब ३३ वर्ष सरकारी जागिरमा विताएका थिए । ०६१ मा सहसचिव पदबाट अवकाश लिएका योगेश निरन्तर संगीत साधनामा थिए ।

    उनको पार्थिव शरीरमा श्रद्धा–सुमन अर्पण गर्न नेपाली कला क्षेत्रका व्यक्ति एवम शुभचिन्तकहरु नेपाल संङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर अन्तिम बिदाई गरेका थिए ।

     

     

  • जहाँ बिगार गरे रातभर बाघ कराउँछ

    जहाँ बिगार गरे रातभर बाघ कराउँछ

    रामेछाप । जङ्गलको बिचमा सानो देवीको थान । पुरानै संरचना, कुनै नयाँ मन्दिर वा सजधज केही छैन, तर पनि मानिसहरूको आस्था र विश्वास त्यतिकै छ ।

    मन्थली नगरपालिका–१ को तिलेचौरस्थित सिद्धठाकुर तीनकन्या देवी स्थानीयको आस्था र विश्वासको धरोहर बनेर सदियौँदेखि हृदयमा सजिएर बसेकी छिन् । सरोकारवालाको ध्यान देवीस्थानको संरक्षण र प्रचारप्रसार पुगेको छैन् ।
    सदरमुकाम मन्थली नजिकै छ सिद्धठाकुर तीनकन्या देवीस्थान । मन्थलीको मच्छेडाँडीबाट पारी सुकाजोर खोलाको माथि पाखामा रहेको देवीस्थान मन्थलीबाट मर्निङवाक गर्न जोनको लागि पनि अति उपयुक्त मानिन्छ ।

    स्थानीय खड्गबहादुर खत्रीका अनुसार सो देवीस्थानको इतिहास कति पुरानो छ भन्ने कसैलाई थाहा छैन । पुस्तौँदेखि देवीस्थानमा पूजा गरिँदै आइएको छ, अहिलेका पुस्ताले पनि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।
    आफूहरू सानो हुँदा गोठधुप गर्दा वा धुप हाल्दा हजुरबा, बा, काकाबाहरुले तिलेचौर सिद्धठाकुर तीनकन्या देवीलाई पुकारेको सुन्ने गरेको स्थानीय दामोदर घिमिरे बताउँछन् । त्यसैले सो देवीस्थान निक्कै पुरानो शक्ति पीठको रूपमा रहेको उनले बताए ।

    खड्गबहादुर पनि सो देवीस्थानलाई स्थानीयले आफ्नो आस्थाको केन्द्रको रूपमा लिएको बताउँछन् । केही आपत पर्यो भने तीनकन्या देवीलाई स्थानीयले पुकार्ने उनी बताउँछन् । ‘देवीलाई पुकारेर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास छ’, उनले भने ।

    सो देवीस्थानमा स्थानीयले हरेक वर्ष सामूहिक रूपमा पाठी पूजा गर्छन् । देवीस्थानमा दर्शन गर्न जाने र परेवा पूजा गर्ने पनि बाक्लै हुन्छन् । तर त्यहाँ पूजा गरेको प्रसादी घर लैजानु हुँदैन भन्ने मान्यता रहेको छ । पूजाको प्रसादी त्यहीँ पकाएर खाई भाँडा माझेर मात्र घर लिएर जानुपर्छ भन्ने भनाइ छ । ‘विवाहित महिलाले देवीको प्रसादी खानु हुँदैन भन्ने मान्यता छ, पहिलादेखि चल्दै आएको अहिले पनि त्यही प्रचलन छ’, खत्रीले भने ।

    देवीस्थानको वरिपरी कसैले विघ्न गर्यो भने अहिले पनि रातभरि बाघ कराएर दुःख दिने खत्री बताउँछन् । देवीस्थान नजिकै घर भएका खत्रीले त्यसो भयो भने आगोमा धुप हालेर देवी पुकार्ने गरिएको बताए । त्यसो गरेपछि बाघ हिँड्ने उनले सुनाए । ‘हालैको दिन पनि त्यस्तै भयो, देवीस्थान माथि कसैले स्याउला काटेछ, साँझदेखि नै बाघ करायो, धुप हालेपछि बल्ल कराउन छाडेर हिँड्यो’, उनले भने ।

    देवीस्थानलाई सानो ढुङ्गाले दुई भागमा विभाजन गरिएको छ । एक भागमा तीन कन्याका तीनवटा सिला छन् । अर्को भागमा सिद्ध ठाकुरका शिला छन् । ‘देवीको शिलामा बली चलाइन्छ तर सिद्ध ठाकुरकोमा चल्दैन, पहिला देवीको पूजा गरेर त्यसपछि सिद्ध ठाकुरको पूजा गरिन्छ’, खत्रीले भने ।

    देवीस्थानको तल बारम्बार पहिरो गएर देवीस्थान भएको ठाउँ साँघुरो हुँदै गएको छ । स्थानीयले संरक्षणको लागि केही प्रयत्न गरेका भए पनि उनीहरूको प्रयत्नले मात्र पुगेको छैन । ‘देवीस्थानमा एउटा मन्दिर बनाउने कुरा चलिरहेको छ, तर बनाउन सकिएको छैन’, खत्रीले भने ।

  • संसारकै लामो पोखरा–मुक्तिनाथ केवलकारको डिपीआर तयार, ५५ अर्ब खर्च हुने अनुमान

    संसारकै लामो पोखरा–मुक्तिनाथ केवलकारको डिपीआर तयार, ५५ अर्ब खर्च हुने अनुमान

    काठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ ।

    सो प्रतिवेदन अनुसार कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ ।

    मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केवलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    जबकि साढे पाँच वर्षअघि सरकार र मुक्तिनाथ दर्शन प्रालिबीच भएको समझदारीमा ३९ अर्ब २० करोड लागत अनुमान गरिएको थियो ।

    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरादेखि मुक्तिनाथसम्म नेपालकै ठूलो यस परियोजना सञ्चालनका लागि अनुमति दिएका थिए । त्यही बेला सरकारले मुक्तिनाथ दर्शन प्रालिलाई डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआईए)का लागि जिम्मेवारी दिएका थिए । तर कानूनी समस्या भएका कारण काममा ढिलाई भएको सो कम्पनीका अध्यक्ष सुवेदीले बताए ।

    उनले कानूनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा इआईएको प्रक्रिया रोकिएकोमा अब निमार्णका लागि बाटो खुल्ने विश्वास व्यक्त गरे ।

    अध्यक्ष सुवेदीले यसअघि नै पेस गरिएका दस्तावेजहरू कानूनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्तावेज पेश गरिएको बताए ।

    भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केवलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केवलकार बनाउने भएको हो । मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष सुवेदी भौगोलिक जटिलताका कारण सर्वेक्षणमा समस्या भएकाले परियोजनाको सर्वेक्षणमै ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्छन् ।

    नेपालमा कहाँ कसरी चलेका छन् केवलकार ?

    नेपालमा सर्वप्रथम २०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । उक्त केवलकारको उद्घाटन २०५५ साल मंसिर ८ गते तत्कालिन युवराज दिपेन्द्र शाहले गरेका थिए । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको यो केवलकारमा अहिले ३४ वटा (डब्बा) गोण्डला सञ्चालनमा छन् ।

    चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म चल्ने यो केवलकारले नेपालको प्रख्यात मन्दिर मनकामनाको दर्शनलाई सहज बनाएको छ । यसको लम्बाई ३.०२ किलोमिटर रहेको छ ।

    नेपालको दोस्रो केवलकार परियोजनाका रुपमा ३० मंसिर २०७३ मा चन्द्रागिरि केवलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री भएका बेला यो परियोजनाको उद्घाटन गरेका थिए ।

    काठमाडौंको थानकोटमा रहेको बस स्टेशनबाट ९ देखि १४ मिनेटको यात्रापछि चन्द्रागिरि डाँडामा रहेको टप स्टेशनमा पुग्न सकिन्छ । यस केवलकारमा जम्मा ३८ वटा गोण्डला जडान गरीएका छन् ।

    त्यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिकामा सञ्चालनरत कालिन्चोक केवलकार परियोजना नेपालको तेस्रो केवलकार परियोजना हो । १७ कात्तिक २०७५ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो परियोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा औपचारिक उद्घाटन गरेका हुन् । यसमा ४ गोण्डला मात्र रहेका छन् ।

    त्यस्तैगरी, २०७८ फागुनबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको अन्नपूर्ण केवलकार नेपालको चौथो केवलकार परियोजना हो । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म यो केवलकार सञ्चालनमा रहेको छ । यसको लम्बाई २.१६ किलोमिटर रहेको छ ।

    नेपालको पाँचौं केवलकार परियोजनाका रुपमा मौलाकाली केवलकार सञ्चालनमा आएको हो । केवलकार गत वैशाख १८ गते प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । १२ सय मिटर लामो यो केवलकारमा १४ वटा गोण्डला छन् ।

  • यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

    यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

    काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको महसुल बक्यौताको विवाद निरुपण गर्न समिति गठन गरेको सरकारले विभिन्न विषयमा २६ वटा निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकका निर्णयहरु सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बुधबार सार्वजनिक गरेकी हुन् । विद्युत महसुल विवादको समाधान खोज्न पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठनको निर्णय बैठक लगतै सार्वजनिक भएको थियो । सरकारले बुधबार सार्वजनिक गरेको सूचीअनुसार बैठकले २६ वटा निर्णयहरु गरेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद् निर्णय

    १. प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने ।

    २. राष्ट्रिय विकास परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिहरु मध्येबाट २५ जना सदस्यहरु मनोनयन गर्ने ।

    ३. विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित एक सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौता र कार्यक्रमसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने ।

    ४. अर्थ मन्त्रालय, सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौस्तर पदको शुरू तलबमान, ग्रेड संख्या र ग्रेड दर स्वीकृत गर्ने ।

    ५. अर्थ मन्त्रालय, भारतको गुजरातमा हुने दशौं भाईब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा भाग लिन पुस २४ देखि २७ सम्म माननीय अर्थमन्त्रीलाई स्वीकृति दिने ।

    ६.यही पुस २७ र २८ मा काठमाडौंमा हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गर्ने ।

    ७ .यही पुस २५ गते हुन लागेको भर्चुअल ‘मिटिङ अफ एलडीसीएसयू ट्रेड मिनिस्टर्स’ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपालको तर्फबाट सहभागिता जनाउने ।

    ८. गोदक सोयाक १३२ केभी प्रसारणलाइन आयोजनाको इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ९, १० र ११ मा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर र बायाँ ९ मिटर गरी जम्मा १८ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका अन्य संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने ।

    ९. ताप्लेजुङ जिल्लाको मैवाखोला तथा आठराई त्रिवेणी गाउँपालिका र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर र बायाँ ९ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका अन्य संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने ।

    १०. डेडिकेटेड र ट्रक लाइनको विद्युत् महसुलको सम्बन्धमा देखापरेको समस्याको छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सदस्य रहने गरी एक समिति गठन गर्ने । समितिले प्रतिवेदन पेस गरी निर्णय नहुञ्जेलसम्मको लागि उक्त विषयको कारण विद्युत् लाइन काटिएका उद्योगहरूमा लाइन जडान गर्न निर्देशन दिने ।

    ११.क) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८१ असार मसान्तसम्म थप गर्न यसैसाथ संलग्र बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

    (ख) बुँदा नं. (१) बमोजिम जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

    १२. नेपाल न्याय सेवा आयोगको सिफारिसमा राजपत्रांकित विशिष्ट श्रेणीका न्याय परिषद्का सचिव श्री देवेन्द्रराज ढकाललाई नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने ।

    १३. न्याय सेवा आयोगको सिफारिसमा सर्वोच्च अदालतमा कार्यरत नेपाल न्याय सेवा, न्याय समूह, राजपत्रांकित प्रथम श्रेणीका सहरजिस्ट्रार विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने ।

    १४. नेपाल न्याय सेवा, न्याय समूहका पाँचजना राजपत्रांकित प्रथम श्रेणीका देहायका अधिकृतहरुलाई सरुवा गर्ने ।

    १५. राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्ने ।

    १६. सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ६५ को उपनियम (२) बमोजिम सशस्त्र प्रहरी नायब महानिरीक्षक ई. किशोर प्रधानको आगामी माघ २२ देखि लागू हुने गरी एक वर्ष पदावधि थप गर्ने ।

    १७. प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा यही माघ ५–६ सम्म आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलन तथा सो अघि माघ ३–४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा र माघ १–२ मा हुने उच्च पदाधिकारीहरुको बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने ।

    १८. तानसेन नगरपालिका–१ भुसालडाँडामा प्रस्तावित इल तथा फोहोर पानी प्रशोधन तथा व्यवस्थापनको लागि ध्रुवघाट सामुदायिक वनको रुख नभएको १०१७.४७ वर्गमिटर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
    १९. हेवा ‘ए’ साना जलविद्युत आयोजना निर्माणको लागि पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं १, २, ३, ७ र ८ मा रहेको राष्ट्रिय वनको १.४७ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका २७५ गोटा रूख÷पोल हटाउन स्वीकृति दिने ।

    २०. कैलालीको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा रहेको चिसापानी–मंगलसेन (१६ किमि) सडकखण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.१२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिका ४७२ वटा रूख÷पोल हटाउन स्वीकृति दिने ।

    २१. सुर्खेत जिल्लास्थित चौकुने–मायाताल–लगाम बजार (२८ किमि) सडकखण्डको स्तरोन्नतिको लागि चौकुने गाउँपालिका वडा नं २, ३, ४ र ५ अन्तर्गत रहेको राष्ट्रिय बनको २७.७६ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १८८४ गोटा रूख÷पोल हटाउन स्वीकृति दिने ।

    २२. प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा (४) बमोजिम विश्व सम्पदा सूचीमा सूचीकृत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको तोकिएबमोजिमको चार किल्ला भित्रको क्षेत्रलाई लुम्बिनी संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

    २३. भरतपुर महानगरपालिका, चितवनलाई वागमती प्रदेश सरकारसँगको साझेदारी भरतपुर–. १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि सहमति प्रदान गर्ने ।

    २४. एनसेलको सेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ को निर्णयानुसार गठित समितिको कार्यावधि माघ १५ गतेसम्म थप गर्ने ।

    २५. नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिनुभएको राजीनामा स्वीकृत गर्ने । रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने । प्राधिकरणको कार्यवाहक अध्यक्ष पदमा नवराज अधिकारीलाई तोक्ने ।

    २६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव पदमा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव पदमा सरूवा गर्ने ।