Category: खेल

खेल

  • लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने

    लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने

    लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ।

    सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको सहयोग आगामी जेठ २९ गतेदेखि भुमहिमा हुने लागेको हो।

    प्रदेश सरकारको सहयोगमा आयोजना हुने प्रतियोगितामा टोलीगत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम टोलीलाई ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र, दोस्रोलाई सिल्भर मेडल र प्रमाणपत्र तथा तेस्रोलाई कास्य मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष टपन केवटले बताए।

    त्यसैगरी,उत्कृष्ट क्यारुगी खेलाडी तथा अनुशासित खेलाडीलाई विशेष आकर्षक पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ।

    भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने जेठ ३१ गते सम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरी ४०० बढी खेलाडी सहभागी हुने क्लबका उपाध्यक्ष विशाल पौडेलले बताए ।

  • नेपाल भर्सेस नेदरल्यान्ड्स: डन्डीमा जित दोहोऱ्याउने लक्ष्यसहित मैदान उत्रिँदै

    नेपाल भर्सेस नेदरल्यान्ड्स: डन्डीमा जित दोहोऱ्याउने लक्ष्यसहित मैदान उत्रिँदै

    आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच जारी त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार दोस्रो खेल खेल्दैछ। यो खेल स्कटल्यान्डको डन्डी मैदानमा हुनेछ, जहाँ नेपालले नेपाली समय अनुसार दिउँसो ३:४५ बजे नेदरल्यान्ड्सको सामना गर्नेछ।

    नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित हात पारेको थियो। एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने नेपालले दुई खेलमा विजय हात पारेको छ। पछिल्लो दुई खेल २०२४ को फेब्रुअरीमा कीर्तिपुरमा भएको थियो, जसमा दुवैले एक-एक खेल जितेका थिए।

    स्कटल्यान्डलाई हराएपछि नेपाल ८ अंकसहित अंक तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएई ६ अंकसहित अन्तिम स्थानमा छ। अमेरिका २० खेलबाट २८ अंकसहित शीर्षमा छ भने नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो, र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्। स्कटल्यान्ड र क्यानडाको समान २० अंक छ, तर रनरेटका आधारमा स्कटल्यान्ड चौथो र क्यानडा पाँचौं स्थानमा छन्। नामिबिया १४ अंकसहित छैटौं स्थानमा छ।

    त्रिकोणात्मक लिग-२ पछि नेपालले यी दुई टोलीसँग टी-२० सिरिज पनि खेल्ने तालिका छ।

    नेपाली टोलीमा रहेका खेलाडीहरू:
    रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, र रिजन ढकाल।

  • यू–१६ क्रिकेटमा लुम्बिनीका रौनक श्रीवास्तवको दोहोरो शतक

    यू–१६ क्रिकेटमा लुम्बिनीका रौनक श्रीवास्तवको दोहोरो शतक

    काठमाडौं।  सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले शानदार दोहोरो शतक प्रहार गरेका छन्।

    विरेन्द्रनगर रंगशालामा गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाए।

    उनको विस्फोटक प्रदर्शनको मद्दतमा लुम्बिनी प्रदेशले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको विशाल स्कोर खडा गर्‍यो।

  • करण केसीको जादुमय ब्याटिङ्मा नेपालको ऐतिहासिक जित, स्कटल्याण्ड १ विकेटले पराजित

    करण केसीको जादुमय ब्याटिङ्मा नेपालको ऐतिहासिक जित, स्कटल्याण्ड १ विकेटले पराजित

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत डन्डीमा सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको ऐतिहासिक र रोमाञ्चक जित हात पारेको छ।गएराती सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २९७ रनको ठूलो लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। खेलको अन्तिम बलअघि जित निकाल्न सफल भएको नेपालका लागि जितको नायक बनेका छन् स्टार अलराउन्डर करण केसी, जसको विस्फोटक ब्याटिङले टिमलाई निकै कठिन परिस्थितिबाट जितसम्म पुर्‍याएको थियो ।

    करणले आठौं नम्बरमा ब्याटिङ गर्दै ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रनको अविस्मरणीय इनिङ खेले। जब टिम संकटमा थियो, त्यतिबेला उनले आत्मविश्वासका साथ रन जोड्दै टिमलाई जित नजिक पुर्‍याएका थिए। यसबाहेक ओपनर कुशल भुर्तेलले ४४ बलमा अर्धशतक पुरा गरे भने गुलशन झाले ३० बलमा ४२ रनको योगदान दिए। गुलसनको इनिङ्सले पनि नेपाललाई जितको निकै नजिक पुर्याएको हो ।

    त्यद्तै कप्तान रोहित पौडेलले ३७ र भीम सार्कीले ४० रन बनाए।

    यसअघि स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। चार्ली टियरले ८० रन, फिनले म्याक्रेथले ५५ रन, र कप्तान बेरिङटनले ४० रनको योगदान दिए। नेपालका बलरहरूमध्ये करण केसी, रिजन ढकाल, र सोमपाल कामीले समान २–२ विकेट लिए।

    जितसँगै नेपाल लिगको अंक तालिकामा सातौँ स्थानमा उक्लिएको छ। करण केसीको साहसी इनिङले न केवल खेलको रुख मोड्यो, तर नेपाली क्रिकेटको आत्मविश्वाससमेत थप बढाएको छ। नेपालले अब आफ्नो दोस्रो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

  • नेपाल र स्कटल्यान्डबीच लिग-२ भिडन्त आज,यस्ता छन् पछिल्ला नतिजा

    नेपाल र स्कटल्यान्डबीच लिग-२ भिडन्त आज,यस्ता छन् पछिल्ला नतिजा

    आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डको घरेलु मैदानमा आयोजना हुने यो खेल नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो मुकाबला हुनेछ।

    खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

    नेपाल र स्कटल्यान्डबीच हालसम्म ८ ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) खेलहरू सम्पन्न भइसकेका छन्। तीमध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने स्कटल्यान्डले ३ खेल जितेको छ। बाँकी १ खेल वर्षाका कारण नतिजाविहीन भएको थियो।

    यी तथ्यांकहरूले दुई टोलीबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको संकेत गर्छ। नेपालले पछिल्ला केही वर्षमा स्कटल्यान्डविरुद्ध सशक्त प्रदर्शन गर्दै आएको देखिन्छ।

    फेब्रुअरी २०२३ मा कीर्तिपुरमा भएका दुई खेलमा नेपालले स्कटल्यान्डलाई क्रमशः ३ विकेट र २ विकेटले पराजित गरेको थियो। त्यसपछि अक्टोबर २९, २०२४ मा डलासमा भएको खेलमा नेपालले फेरि स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। नोभेम्बर ४, २०२४ मा डलासमै खेलिने अर्को खेल भने वर्षाका कारण सम्पन्न हुन सकेन।

    यसअघि सन् २०२२ मा स्कटल्यान्डले राम्रो प्रदर्शन गरेको थियो। सो वर्ष भएका ४ खेलमध्ये ३ मा स्कटल्यान्ड विजयी भएको थियो – जुलाई १७ मा ग्लास्गोमा ८ विकेटले, डिसेम्बर ४ मा विन्डहोकमा ३ विकेटले र डिसेम्बर ८ मा ८ विकेटले नेपाललाई पराजित गरेको थियो। नेपालले भने जुलाई १३ मा ग्लास्गोमा भएको खेल ५ विकेटले जितेको थियो।

    हालसम्मको प्रदर्शन हेर्दा नेपालले पछिल्ला खेलहरूमा आफ्नो लय फेला पारेको देखिन्छ र स्कटल्यान्डसँगको प्रतिस्पर्धामा बलियो रूपमा उभिएको छ।

  • आइसिसी विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

    आइसिसी विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

    आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज सोमबारदेखि स्कटल्याण्डमा सुरु हुँदैछ।

    सिरिजको उद्घाटन खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल फोर्थहिल डुन्डी मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

    नेपालले सिरिजको दोस्रो खेल आगामी जुन ४ मा नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। त्यसपछि जुन ८ मा फेरि स्कटल्याण्ड र अन्तिम खेल जुन १० मा नेदरल्याण्ड्ससँग हुनेछ।

    हालसम्म लिग–२ को अंक तालिकामा नेपाल १२ खेलमा जम्मा २ जितसहित आठौं स्थानमा छ। २० खेलमा २८ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २६ अंकसहित दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्।

    स्कटल्याण्ड र क्यानडाले समान २० अंक जोडेका छन्, तर स्कटल्याण्ड चौथो र क्यानडा पाँचौं स्थानमा छन्। यिनीहरूपछि नामिबिया, युएई र अन्त्यमा नेपाल छन्।

    त्रिकोणात्मक एकदिवसीय सिरिजपछि नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग टी–२० शृंखला पनि खेल्नेछ।

    लिग–२ अन्तर्गतका खेलहरू जेठ १९ गतेदेखि सुरु हुनेछन् भने टी–२० सिरिज असार २ गतेदेखि प्रारम्भ हुनेछ।

    नेपाली टोली यस प्रकार रहेको छः
    कप्तान – रोहित पौडेल,
    उप–कप्तान – दीपेन्द्र सिंह ऐरी,
    विकेटकिपर – आसिफ शेख,
    अन्य खेलाडीहरू – कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।

  • विश्वकप खेलिसकेको थाइल्यान्डसँग भिड्दै नेपाली महिला टोली

    विश्वकप खेलिसकेको थाइल्यान्डसँग भिड्दै नेपाली महिला टोली

    एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला फुटबल टोली अहिले थाइल्यान्ड भ्रमणमा छ । जँहा नेपालले विश्वकप खेलिसकेको टोलि थाईल्याण्डसंग एक अभ्यास र एक मैत्रीपुर्ण खेल गरि दुई खेल खेल्नेछ ।थाइल्याण्डले अहिलेसम्म २ पटक फिफा महिला विश्वकप खेलिसकेको छ। फिफा वरियाताको ४७ औँ स्थानमा रहेको थाइल्याण्ड विरुद्दको यो खेल एसियन कप छनौट प्रतियोगिताका लागि निकै महत्वपूर्ण हुनेछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार टोलीलाई बिदाइ गरेपछी नेपाली टोली गत बुधबारदेखी थाइल्यान्डमै रहेका छन् । नेपालले १६ गते शुक्रबार थाईल्याण्डसंग अभ्यास खेल खेलिसकेको छ । थाइल्यान्डसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पराजित हुन पुग्यो । थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलअघिको अभ्यास खेलमा नेपाली टोली १-० ले पराजित भएको हो।

    अभ्यास खेल बन्द रगंशालामा भएको थियो । नेपालले अब सोमबार थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल गुमाएपनि नेपाली टोलिले अभ्यास खेलमा बलियो खेल प्रस्तुत गरेको थियो । यहि मनोबललाई कायम राखेर नेपाली महिला टोलि मैत्रिपुर्ण खेलमा विश्वकप खेलिरहेको टोलि थाईल्याण्डलाई हराउने दाउमा छन् । वरियाताक्रममा नेपालभन्दा ५२औं स्थान माथि रहेको नेपाली टोलीले यदि थाइल्याण्ड विरुद्द राम्रो प्रदशन गर्न सकेको खण्डमा एसिया कप छनौट खेल्दै गर्दा नेपाली टोलिको मनोबल उच्च रहन्छ ।
    थाइल्याण्ड टुरका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेर मैदानमा उतारेका छन् ।

    मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल विदेशमा रहेका कारण उनीहरू थाइल्यान्डमै टोलीसंग जोडिएका छन् ।

    कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर पूजा राना पनि यहि श्रृङ्खलाका लागि विदेशी लिगबाट फर्किए घरेलु टोलीसँग अभ्यासमा सहभागी भएका हुन् । प्रशिक्षक तामाङका अनुसार विदेशी लिगमा खेल्ने खेलाडीको अनुभवले टोलीलाई फाइदा पुग्नेछ।

    केहि दिन अगाडी नेपालमै अभ्यासका क्रममा महिला टोलिले भेट्रान टोलीसँग अभ्यास खेल पनि खेलेको थियो। थाइल्याण्ड भ्रमणमा खेलिने खेलले एसियन कप छनोटमा सहयोग पुग्ने प्रशिक्षकको विश्वास छ।

    टोलीमा डिफेन्डर मनमाया दमाईले सिनियर टोलीमा डेब्यू गर्ने तयारी गर्दैछिन्। प्रारम्भिक छनोटमा नियमित सहभागी रहेकी मनमाया पहिलो पटक अन्तिम टोलीमा परेकी हुन्।

    घाइते हिरा कुमारी भुजेल र दीपा शाही टोलीबाहिर छन्। अमिसा कार्कीको अनुपस्थितिमा सुस्मा तामाङ, सरस्वती हमाल र चन्द्रा भण्डारीले पुनः टोलीमा स्थान बनाएका छन्। भ्रमणमा जानु अघि

    प्रशिक्षक तामाङले आगामी विश्वकप लक्ष्यलाई ध्यानमा राख्दै नयाँ खेलाडीको विकास आवश्यक रहेको बताएका थिए ।
    हाल टोलीको फिटनेस ८०-८५ प्रतिशत मात्र रहेको बताउँदै उनले आगामी खेलमै सुधार गरिने बताएका छन्।

    कप्तान एञ्जिलाले अनुभव र युवाको मिश्रणले टोली सशक्त बनेको बताएकी छन्। प्रमुख फरवार्डबिनाको अभ्यासले सुरुवातमा चुनौती भए पनि रश्मी घिसिङले राम्रो प्रदर्शन गरिरहेकोले पछी सहज भएको उनले बताइन् ।

    थाइल्यान्ड भ्रमणबाट सिकेका कुराले छनोटमा सहयोग पुग्ने उनको भनाइ छ।

    थाइल्यान्डसँगको खेलपछि टोली पुनः एसियन कप छनोटको तयारीमा जुट्नेछ। एन्फा विदेशी प्रशिक्षक ल्याउने तयारीमा छ, जसले टोलीमा फेरबदल ल्याउने सम्भावना पनि रहेको छ।

    नेपाल छनोटको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले जुन २९ मा लाओस, जुलाई २ मा श्रीलंका, र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका छ।

     

  • खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट, कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गरिने

    खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट, कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गरिने

    काठमाडौं । सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।

    बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

  • बिबिए कप प्रतिबन्ध निर्णयको विरोधमा विद्यार्थी: “यो खेल होइन, हाम्रो पहिचानको लडाइँ हो”

    बिबिए कप प्रतिबन्ध निर्णयको विरोधमा विद्यार्थी: “यो खेल होइन, हाम्रो पहिचानको लडाइँ हो”

    काठमाडौं, बैशाख १३ पछिल्लो १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गतका BBA विद्यार्थीहरूका लागि शिक्षा र खेलकुदको संगमका रूपमा स्थापित BBA CUP क्रिकेट प्रतियोगिता यस वर्ष रोकिएको छ। TU प्रशासनले यस्तो प्रकारका प्रतियोगितालाई अनुमति नदिने निर्णय गरेसँगै विद्यार्थी समुदायमा व्यापक आक्रोश छ।

    BBA CUP कुनै साधारण खेलकुद कार्यक्रम होइन। यो प्रतियोगिताले विगत एक दशकभन्दा बढी समयदेखि नेतृत्व, सहकार्य, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्दै आएको छ। TU मा आबद्ध देशभरका क्याम्पसहरूबाट सयौं विद्यार्थीहरू प्रत्येक वर्ष राजधानीमा भेला भएर खेल मैदानमा आफ्नो प्रतिभा र टीम स्पिरिट देखाउँदै आएका छन्।

    बीबीए कप:पछिल्लो संस्करण
    बीबीए कप:पछिल्लो संस्करण

    सबैभन्दा धेरै उपाधि जित्ने टोलीको रूपमा पब्लिक युथ क्याम्पस (धोबीचौर, काठमाडौं) चार वर्षसम्म च्याम्पियन रहँदै आएको छ। पछिल्लो संस्करणमा भने KCMIT विजेता बनेको थियो। पछिल्ला चार संस्करण “Man Can Do” इभेन्ट्स प्रालिको आयोजनामा सुनिल थापाको नेतृत्वमा सम्पन्न हुँदै आएका थिए।

    तर, TU को पछिल्लो निर्णयले प्रतियोगितामाथि पूर्ण रोक लगाउने भन्दै आयोजक र सहभागी विद्यार्थीहरूलाई निराश तुल्याएको छ। विद्यार्थीहरू भन्छन्, “शिक्षा केवल किताबी ज्ञान होइन, जीवनको लागि आवश्यक सीप, नेतृत्व र आत्मविश्वास सिकाउने माध्यम हो—BBA CUP त्यही उद्देश्य बोकेको कार्यक्रम हो।”

    विद्यार्थीहरूका अनुसार, BBA CUP ले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थपेको छ। धेरै विद्यार्थीहरूले यही प्रतियोगिताबाट यात्रा सुरु गरेर क्लब क्रिकेट हुँदै राष्ट्रिय स्तरसम्मको यात्रा तय गरेका छन्।

     

    यस विषयमा बोल्दै एक आयोजक प्रतिनिधिले भने, “TU को यो निर्णय केवल निराशाजनक होइन, सम्पूर्ण विद्यार्थी समुदायमाथिको अन्याय हो। यदि निर्णय फिर्ता गरिएन भने हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौं।”

    “हामी बोल्नेछौं, खेल्नेछौं र लड्नेछौं न्याय नपाएसम्म,” विद्यार्थीहरू चेतावनी दिँदै भन्छन्।

     

  • भारतको नयाँ टेस्ट कप्तान बने शुभमन गिल

    भारतको नयाँ टेस्ट कप्तान बने शुभमन गिल

    काठमाडाैं । शुभमन गिल भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आउँदो जुनमा शुरू हुने इङ्गल्यान्डसँगको पाँच खेलको टेस्ट शृङ्खलाका लागि गिलको कप्तानीमा शनिबार टोली घोषणा गरेको हो ।

    टोलीका उपकप्तानमा विकेटकीपर ब्याटर ऋषभ पन्त रहेका छन् । इङ्गल्यान्ड भ्रमणका लागि भारतको १८ सदस्यीय टोलीमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शनसम्म अटाउँदा मोहम्मद शमी भने परेका छैनन् ।

    रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि गिल कप्तानमा नियुक्त हुनुले भारतीय क्रिकेटमा नयाँ युगको शुरुआत भएको सङ्केत गर्दछ । सन् २०२२ को फेब्रुअरीदेखि भारतको नेतृत्व गरिरहेका रोहितसँगै विराट कोहली र रविचन्द्रन आश्विनले पनि टेस्टबाट बिदा लिएका छन् ।

    २५ वर्षीय गिल टेस्टमा भारतको कप्तानी गर्ने पाँचौं कान्छा क्रिकेटर बनेका छन् ।