• २०८३ असार ११
  • 2026 June 25, Thursday

बिबिए कप प्रतिबन्ध निर्णयको विरोधमा विद्यार्थी: “यो खेल होइन, हाम्रो पहिचानको लडाइँ हो”

  • २०८२ जेठ १३, मङ्गलबार १९:१८

काठमाडौं, बैशाख १३ पछिल्लो १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गतका BBA विद्यार्थीहरूका लागि शिक्षा र खेलकुदको संगमका रूपमा स्थापित BBA CUP क्रिकेट प्रतियोगिता यस वर्ष रोकिएको छ। TU प्रशासनले यस्तो प्रकारका प्रतियोगितालाई अनुमति नदिने निर्णय गरेसँगै विद्यार्थी समुदायमा व्यापक आक्रोश छ।

BBA CUP कुनै साधारण खेलकुद कार्यक्रम होइन। यो प्रतियोगिताले विगत एक दशकभन्दा बढी समयदेखि नेतृत्व, सहकार्य, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्दै आएको छ। TU मा आबद्ध देशभरका क्याम्पसहरूबाट सयौं विद्यार्थीहरू प्रत्येक वर्ष राजधानीमा भेला भएर खेल मैदानमा आफ्नो प्रतिभा र टीम स्पिरिट देखाउँदै आएका छन्।

बीबीए कप:पछिल्लो संस्करण
बीबीए कप:पछिल्लो संस्करण

सबैभन्दा धेरै उपाधि जित्ने टोलीको रूपमा पब्लिक युथ क्याम्पस (धोबीचौर, काठमाडौं) चार वर्षसम्म च्याम्पियन रहँदै आएको छ। पछिल्लो संस्करणमा भने KCMIT विजेता बनेको थियो। पछिल्ला चार संस्करण “Man Can Do” इभेन्ट्स प्रालिको आयोजनामा सुनिल थापाको नेतृत्वमा सम्पन्न हुँदै आएका थिए।

तर, TU को पछिल्लो निर्णयले प्रतियोगितामाथि पूर्ण रोक लगाउने भन्दै आयोजक र सहभागी विद्यार्थीहरूलाई निराश तुल्याएको छ। विद्यार्थीहरू भन्छन्, “शिक्षा केवल किताबी ज्ञान होइन, जीवनको लागि आवश्यक सीप, नेतृत्व र आत्मविश्वास सिकाउने माध्यम हो—BBA CUP त्यही उद्देश्य बोकेको कार्यक्रम हो।”

विद्यार्थीहरूका अनुसार, BBA CUP ले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थपेको छ। धेरै विद्यार्थीहरूले यही प्रतियोगिताबाट यात्रा सुरु गरेर क्लब क्रिकेट हुँदै राष्ट्रिय स्तरसम्मको यात्रा तय गरेका छन्।

 

यस विषयमा बोल्दै एक आयोजक प्रतिनिधिले भने, “TU को यो निर्णय केवल निराशाजनक होइन, सम्पूर्ण विद्यार्थी समुदायमाथिको अन्याय हो। यदि निर्णय फिर्ता गरिएन भने हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौं।”

“हामी बोल्नेछौं, खेल्नेछौं र लड्नेछौं न्याय नपाएसम्म,” विद्यार्थीहरू चेतावनी दिँदै भन्छन्।

 

  • २०८२ जेठ १३, मङ्गलबार १९:१८