Category: समाज

समाज

  • कैलालीमा ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

    कैलालीमा ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

    कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यस भएको छ भने अर्का एक जना घाइते भएका छन् । ट्रयाक्टरमा सवार सहचालक ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको छ ।

    गोदावरी नगरपालिका १२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।

    उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

    गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • चोभार कार दुर्घटना : बेपत्ता खत्रीको शव गोताखोरले तीन दिनपछि निकाले बागमतीबाट

    चोभार कार दुर्घटना : बेपत्ता खत्रीको शव गोताखोरले तीन दिनपछि निकाले बागमतीबाट

    काठमाडौं । काठमाडौंको चोभारस्थित पुलबाट तीन दिनअघि नदीमा खसेको कारमा सवार पुरुष मृत फेला परेका छन् ।

    दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीको शव तीन दिनपछि फेला परेको हो ।

    गएको सोमबार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार बा ५च ५६५४ नम्बरको कार चोभारको जलविनायक पुलबाट वागमती नदीमा खसेको थियो ।

    बेपत्ता खत्रीको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

    अम्बिकाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी परिसर ललिपुरका एसपी प्रविण पोखरेलले जानकारी दिएका छन् ।

    दुर्घटनापछि उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । कार पुलबाट करिब १५० मिटर तल खसेको थियो ।

  • काठमाडाैं महानगरकाे निर्णयमा ‘क्लिन एअर नेटवर्क नेपाल’ को ध्यानाकर्षण

    काठमाडाैं महानगरकाे निर्णयमा ‘क्लिन एअर नेटवर्क नेपाल’ को ध्यानाकर्षण

    काठमाडौं । साइकल तथा ठेलागाढामा व्यवसाय गर्न प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको सूचनामा ‘क्लिन एअर नेटवर्क नेपाल’ (सीएएनएन)को ध्यानाकर्षण भएको छ ।

    महानगरपालिकाले पुस २६ गते प्रकाशित गरेको सूचनामा सीएएनएनले मंगलबार विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    साइकल तथा ठेलागाढाजस्ता वातावरणमैत्री सवारीसाधनको प्रयोग प्रोत्साहनयोग्य भएको उल्लेख गरी सीएएनएनद्वारा विज्ञप्तिमा भनिएको छ, यस्ता सवारीसाधन प्रयोगमा ल्याएर आयआर्जन गर्न प्रतिबन्ध लगाए मानिसहरु बेरोजगार हुनेदेखि उनीहरुको परिवारको पालनपोषणमा समस्या निम्तिने छ । यसको दीगो व्यवस्थापन गर्न जरुरी छ ।

    सीएएनएनले महानगरपालिकालाई यो निर्णयमा निषेधात्मक नभइ उचित व्यवस्थापन गर्न अनुरोध पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘साइकल तथा ठेलागाढा प्रयोग गरी व्यापार आयआर्जन गर्नु, सहरको वायुप्रदूषण न्यूनीकरण र महानगरको आर्थिक स्थितिको एक हिस्सा हो । यसमा निषेधात्मक नभइ उचित व्यवस्थापन जरुरी छ ।’

    काठमाडौं महानगरपालिकाले गएकाे पुस २६ गते साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेकाे थियाे ।

    सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार/व्यवसाय गर्नेलगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको महानगरको सूचनामा उल्लेख गरिएकाे छ ।

  • काठमाडाैं–बेइजिङ सिधा हवाइ उडान फेरि सुरु

    काठमाडाैं–बेइजिङ सिधा हवाइ उडान फेरि सुरु

    काठमाडाैं । तीन वर्षदेखि रोकिएको काठमाडाैं–बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ ।

    सन् २०२० को मार्चपछि हिजाे मंगलबार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाडाैं–बेइजिङ उडान गरेको हो ।

    चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडाैं–बेइजिङमा उडानको अनुमति दिएको थिएन ।

    अब हिमालय एअरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जनाएको छ ।

    आउँदो फेब्रुअरी ११ तारिखदेखि हरेक शनिवार काठमाण्डौ–बेइजिङ उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । यो रुटमा उडानको अवधि तीन घण्टा ४८ मिनेटको रहेको छ ।

    चिनियाँ नयाँ वर्षको उत्सव र विदाको समय चलिरहेकाले यो मौकामा हुने काठमाडाैं–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।

  • विमान दुर्घटनामा ज्यान गुमाउने थप एक जनाकाे शव फेला, एक जनाकाे अवस्था अज्ञात

    विमान दुर्घटनामा ज्यान गुमाउने थप एक जनाकाे शव फेला, एक जनाकाे अवस्था अज्ञात

    काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।

    दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

    अहिलेसम्म दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।

    ७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

  • विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एक जनाको शव फेला

    विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एक जनाको शव फेला

    पोखरा । यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।

    योसहित ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।

    ४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।

  • विमान दुर्घटना : चालक दलका सदस्यसहित पहिचान नखुलेका शव काठमाडौं ल्याइने

    विमान दुर्घटना : चालक दलका सदस्यसहित पहिचान नखुलेका शव काठमाडौं ल्याइने

    काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नखुलेका शवहरु काठमाडौं ल्याइने भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालक दलका सदस्य र विदेशी नागरिक र पहिचान नखुलेका शवहरु पहिचान परीक्षणका लागि काठमाडौं लगिने जनाएको हो ।

    प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले शव पहिचानको प्रक्रिया सुरु भइसकेको बताए । उनले शव व्यवस्थापन कार्य भइरहेकाले सो कार्य सम्पन्न नभएसम्म धैर्य गर्न आफन्तलाई अनुरोध गरेका छन्।

    विमान दुर्घटनामा १५ जना विदेशी नागरिकको मृत्यु भएको छ।

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो।

    विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए। हालसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको अवस्था अज्ञात छ। उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • जुम्लामा जीप दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते

    जुम्लामा जीप दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते

    काठमाडौं । जुम्लामा आज (सोमबार) जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    दिउँसो करिब ४ बजे जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको दुर्घटना भएको हो ।

    दुर्घटनामा परि पातरासी गाउँपालिका–१ खालाढिक बस्ने ४२ वर्षीया छोजुम लामाको ज्यान गएको छ ।

    घटनामा अन्य १४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

    चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।

  • बस र कार ठोक्किँदा कार चालकको ज्यान गयो

    बस र कार ठोक्किँदा कार चालकको ज्यान गयो

    बुटवल । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालकको मृत्यु भएको छ । भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

    दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको डीएसपी पाण्डेयले बताए ।

    कारमा सवार यात्री घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ ।

  • पोखरामा जहाज दुर्घटना- एकै परिवारका चारको मृत्यु

    पोखरामा जहाज दुर्घटना- एकै परिवारका चारको मृत्यु

    पर्वत । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

    यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्।

    गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।

    आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो।

    युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको रुपमा कार्यरत थिए भने उनकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहेको आफन्तसमेत रहेकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले बताइन्।

    एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त भएकीले अस्पताल भर्ना गरिएको छ। एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकमग्न भएको छ।

    गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्। अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताइन्।

    विमान दुर्घनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएका छन्।

    सो घटनामा निधन हुनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उनको १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो।

    त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि सोही दुर्घटनामा निधन भएको थियो। रासस