• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

काठमाडाैं महानगरकाे निर्णयमा ‘क्लिन एअर नेटवर्क नेपाल’ को ध्यानाकर्षण

काठमाडौं । साइकल तथा ठेलागाढामा व्यवसाय गर्न प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको सूचनामा ‘क्लिन एअर नेटवर्क नेपाल’ (सीएएनएन)को ध्यानाकर्षण भएको छ ।

महानगरपालिकाले पुस २६ गते प्रकाशित गरेको सूचनामा सीएएनएनले मंगलबार विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

साइकल तथा ठेलागाढाजस्ता वातावरणमैत्री सवारीसाधनको प्रयोग प्रोत्साहनयोग्य भएको उल्लेख गरी सीएएनएनद्वारा विज्ञप्तिमा भनिएको छ, यस्ता सवारीसाधन प्रयोगमा ल्याएर आयआर्जन गर्न प्रतिबन्ध लगाए मानिसहरु बेरोजगार हुनेदेखि उनीहरुको परिवारको पालनपोषणमा समस्या निम्तिने छ । यसको दीगो व्यवस्थापन गर्न जरुरी छ ।

सीएएनएनले महानगरपालिकालाई यो निर्णयमा निषेधात्मक नभइ उचित व्यवस्थापन गर्न अनुरोध पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘साइकल तथा ठेलागाढा प्रयोग गरी व्यापार आयआर्जन गर्नु, सहरको वायुप्रदूषण न्यूनीकरण र महानगरको आर्थिक स्थितिको एक हिस्सा हो । यसमा निषेधात्मक नभइ उचित व्यवस्थापन जरुरी छ ।’

काठमाडौं महानगरपालिकाले गएकाे पुस २६ गते साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेकाे थियाे ।

सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार/व्यवसाय गर्नेलगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको महानगरको सूचनामा उल्लेख गरिएकाे छ ।