• २०८३ असार २०
  • 2026 July 04, Saturday

इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ ।

विभागले मध्यपूर्वमा देखिएको संकटका कारण बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएसँगै नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको उल्लेख गर्दै आम उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न विभागले आग्रह गरेको हो ।

विभागले खाद्यान्नलगायत सबै वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन सबै विक्रेता, व्यवसायी, ढुवानीकर्ता तथा सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजार मूल्यमा समेत देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गरेको छ ।