कृष्णकुमारी पौडेलले उद्यमी बन्छु भन्ने कहिल्यै सोचेकी थिइनन्।
अहिले उनको नाम उद्यमीकै रूपमा परिचित छ। ४२ वर्षीया कृष्णकुमारी अनुग्रह ह्यान्डिक्राफ्टु की संस्थापक एवम् सञ्चालक हुन्।
२०७२ साल असारदेखि सञ्चालित अनुग्रह ह्यान्डिक्राफ्टमा विभिन्न डिजाइनमा ढाकाको कपडा बनाइन्छ। फरक/फरक बुट्टाका सारी, कुर्ता, सल, टोपी, कोट, टाइ, खास्टो लगायत उपलब्ध छन्। ग्राहकको मागअनुसार पनि तयार पारिन्छ।
यहाँको कपडा र लुगा ग्राहकले मन पराउनुभएको छ, कृष्णकुमारीले दंग हुँदै भनिन्, सकारात्मक प्रतिक्रियाले कामलाई निरन्तरता दिन हौसला मिलेको छ।
अनुग्रहको औसतमा मासिक कारोबार ८ लाख रूपैयाँको छ। बिहे तथा चाडपर्व बढी हुने महिनामा १५ देखि २० लाखसम्मको हुन्छ।
अहिले ढाकाको माग सबै जिल्ला र समुदायमा भएको कृष्णकुमारी बताउँछिन्। त्यसमा पनि मंगोल समुदायमा बढी चलेको छ। अनुग्रहका उत्पादन विदेश पनि पुग्छ। खासगरी अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङमा नियमित निर्यात हुन्छ। त्यस्तै अरू देशमा बसेका नेपालीहरूले पनि मगाउँछन्।
अनुग्रहका सबै कपडा हातैले बनाइन्छ। ललितपुर, नख्खिपोटको पिकेदेवल कृष्णकुमारीले एक रोपनी जग्गा भाडामा लिएकी छन्। यहाँ सानो कारखाना र पसल छ। कारखानामा दस वटा तान चल्छन्। केही तान कर्मचारीले घरै लगेर काम गरिरहेका छन्। तिनै तानमा विभिन्न डिजाइनमा ढाकाको कपडा तयार हुन्छ। कम्पनीमा प्रत्यक्ष रूपमा ३६ जना कार्यरत छन्।
कृष्णकुमारी ढाकाबुनाइको व्यावसायिक प्रशिक्षक पनि हुन्। २०६५ सालदेखि नै सिकाउँथिन्, २०७६ सालदेखि भने संस्थागत रूपमै प्रशिक्षण दिन थालेकी हुन्।
पहिले छरछिमेक र साथीसंगीलाई मात्रै सिकाउँथे। अहिले व्यावसायिक तरिकाले कारखानामै सिकाउँदैछु, उनले भनिन्, मैले सिकाएका केही महिला उद्यमी भइसके। यो सुन्दा खुसी लाग्छ।
विगत दुई दशकदेखि यही पेसामा आवद्ध कृष्णकुमारी दशकअघि र अहिलेको ढाका बजारमा ठूलो बदलाव आएको बताउँछिन्। पहिले ढाका भन्नेबित्तिकै सीमित रङ तथा बुट्टामा उपलब्ध हुने कपडा मानिन्थ्यो। त्यस्तै धेरैले महँगो भएको गुनासो गर्थे। हुन पनि अहिले एउटा सारीको चार हजार पाँच सय रूपैयाँदेखि २५ हजारसम्म पर्छ। सलकै भाउ सात सय रूपैयाँदेखि सुरू हुन्छ। कोटको कपडा तयार हुँदा मात्रै ८ हजारदेखि १६ हजार रूपैयाँसम्म पर्छ।
अहिले पनि सस्तो होइन तर राम्रो ढाका बनाउन समय र मेहनत लाग्छ भनेर मानिसहरूले बुझेका छन्, उनले भनिन्, अनि कपडाको गुणस्तर पनि हेरेर मूल्य ठीकै छ भन्छन्।
सिपालुलाई एउटा ढाकाको सल बनाउन ८ देखि १० घन्टा र सारी तयार पार्न एक हप्ता लाग्छ। कुनै सारीको त डिजाइन यति मिहीन हुन्छ, एक महिनामा बल्ल पूरा हुन्छ।
अनुग्रहमा पाइने डिजाइन तुलनात्मक रूपमा भिन्न र कपडा गुणस्तरीय हुने कृष्णकुमारी दाबी गर्छिन्।
हाम्रो कपडामा भुवा आउँदैन, उनले भनिन्, त्यस्तै हामीले लुगा बनाउनुअगाडि नै कपडा धोएका हुन्छौं। त्यसैले पछि धुँदा घट्ने र खुम्चिने पनि हुँदैन।
ढाका बुन्न चाहिने धागो अनुग्रहले नेपालका भिन्नभिन्न ठाउँबाट ल्याउँछ। यहाँ उपलब्ध नभए भारतबाट पनि मगाउँछ। विशेषगरी रातो, निलो, हरियो, पहेँलो, सुन्तले, कालो र अरू रङ मिलाएर विभिन्न डिजाइन बनाइन्छ।
कृष्णकुमारीले ढाका बुन्न २५ वर्षअघि सिकेकी हुन्।
उनको माइतीघर सुदूरपश्चिमको पाँचथर गाउँमा हो। उनका अनुसार त्यो बेला छोरीहरूलाई मुश्किलले कक्षा ५ सम्म मात्र पढाइन्थ्यो। त्यसपछि बिहे गरिदिने चलन थियो। कृष्णकुमारीलाई त्यति बेलै बिहे गर्नु थिएन। जसोतसो परिवारलाई फकाइरहिन्। घरको काम गर्छु भन्दै टारिन्। उनलाई पढाइ पनि रोक्नु थिएन। कक्षा ५ पछि गाउँसमाजबाट लुकीलुकी स्कुल जान्थिन्।
काम सकेर भ्याएँ भने लुकेरै स्कुल जान्थेँ। दिनमा एउटा मात्रै विषय भए पनि पढ्थेँ, विगत सम्झिँदै कृष्णकुमारीले भनिन्, त्यसरी गएको चाल पाएपछि गाउँलेहरू कुरा काट्थे।
उनी रोकिइनन्। परिवारलाई मनाइरहिन्। परीक्षाहरू दिइन् र उत्तीर्ण पनि हुँदै गइन्। एसएलसी परीक्षा दिएपछि भने परिवारकै दबाब आयो। बिहे टार्न नसक्ने देखेपछि, २०५४ सालमा उनी सुटुक्क काठमाडौं आइन्।
पहिले त टारेकै थिएँ, त्यो बेला भने सकिनँ, उनले भनिन्, एउटै विकल्प घरबाट भागेर काठमाडौं आउने देखेँ, भागेँ।
उनी एक जना छिमेकी साथीसँग काठमाडौं आएकी थिइन्। ती साथीकी सानीआमा महागुठीमा कपडा बुन्न सिकाउँथिन्। त्यो बेला मीनभवनमा रहेको महागुठीले महिलाहरूलाई सीप सिकाउँथ्यो।
कृष्णकुमारीलाई पनि सिलाइबुनाइमा रूचि थियो। गाउँमा छिमेकी दिदीसँग ऊन बुन्न सिकेकी थिइन्। छाताको डन्डी भाँचेर कुरुस बनाउँथिन्। पुराना कपडाको ऊन निकालेर स्विटर बनाएको अनुभव थियो। तिनै छिमेकी दिदीबाट तान तान्न पनि जानेकी थिइन्।
यो सिकाइले उनलाई फाइदा भयो। साथीकी सानीआमासँग महागुठीमा तालिम लिइन्। करिब तीन वर्ष त्यहीँ काम गरिन्। महागुठी कुपन्डोल सरेपछि भने काम छाडिन्। त्यही बेला उनलाई बिहेको प्रस्ताव आयो। यसपटक उनले अस्वीकार गरिनन्। २०५७ सालमा ललितपुरका केटासँग उनको बिहे भयो।
काठमाडौं आएर उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिएकी थिइन्। त्यो बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राइभेटु परीक्षा दिन पाइन्थ्यो। उनले प्रवीणता प्रमाणपत्र तह सकिन्।
बिहे भएको केही समयपछि उनी शिक्षण पेसामा लागिन्। करिब दुई वर्ष एक सरकारी विद्यालयमा कक्षा ५ सम्म पढाइन्। २०५९ सालतिर सन्तान जन्मिएपछि भने निरन्तरता दिन मुश्किल भयो।
घरमा बस्दा उकुसमुकुस हुन्थ्यो। परिवारको राम्रो व्यवहार भए पनि म यसै बस्न सकिनँ, उनले भनिन्, बरू काम गर्छु भनेर एक वर्षपछि फेरि महागुठीतिर बुझ्न गएँ।