Tag: प्रतिनिधिसभा निर्वाचन

  • देउवाविरुद्ध उठेका सागर ढकालले पाए चुनाव चिह्न सुई

    देउवाविरुद्ध उठेका सागर ढकालले पाए चुनाव चिह्न सुई

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालले चुनाव चिह्न सुई पाएका छन् ।

    उनले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    केही वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गर्दा उनले हप्की खाएका थिए । अहिले ढकालले उनै देउवाको क्षेत्रमा उम्मेदवारी दिएका हुन् ।

  • चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालालाई माछा चुनाव चिह्न

    चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालालाई माछा चुनाव चिह्न

    काठमाडौं । सत्ता गठबन्धनविरुद्व चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् ।

    निर्वाचन आयोगले उनलाई आज चुनाव चिह्न प्रदान गरेको हो ।

    उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर समर्थन गरेको छ । उनी कांग्रेसका नेता डा. शेखर कोइराला समूहका हुन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

    यता, एमालेबाट उम्मेदवार रहेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रबाटै फिर्तां लिइएपछि जिल्लामा असन्तुष्टि बढेको छ ।

  • प्रभु साहले पाए चापाकल चुनाव चिह्न

    प्रभु साहले पाए चापाकल चुनाव चिह्न

    काठमाडौं । रौतहट-३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् ।

    बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

  • घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिन्ह

    घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिन्ह

    काठमाडाैं । नेकपा एमाले परित्याग गरी रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले बुधबार भुसाललगायत स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

    एमालेका पूर्वउपमहासचिव तथा नेता भुसालले रूपन्देही-१ बाट प्रतिनिधि सभामा दाबी गरेका थिए ।

    उनको सिफारिस भने उनी २०७४ मा विजयी भएको रूपन्देही-३ बाट भएको थियो । अन्तिममा पार्टीले उनलाई कुनै पनि क्षेत्रबाट टिकट दिएन ।

    अहिले उनी रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनले उक्त क्षेत्रमा कुनै पनि उम्मेदवार नउठाएर भुसाललाई समर्थन गरेको छ । सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादी केन्द्रले पाएको थियो ।

  • चितवन ३ मा एमालेकाे उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

    चितवन ३ मा एमालेकाे उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

    काठमाडाैं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएका हुन् । न्यौपाने एमाले चितवनका अध्यक्ष समेत हुन् ।

    एमालेको समर्थन आफूलाई रहने पक्का भएको नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले जनाएका छन् ।

    कोइराला कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

    चितवन ३ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

    कोइराला चुनाव जितेपछि एमाले प्रवेश गर्ने चर्चा पनि चलेकाे छ । कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए ।

  • कैलाली–५ मा स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ‘क्रेज’

    कैलाली–५ मा स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ‘क्रेज’

    कैलाली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सबैभन्दा रोचक क्षेत्र मध्ये कैलाली ५ पनि एक हो । प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र नेता पुष्करनाथ ओझाका कारण यो क्षेत्र सर्वाधिक चर्चामा छ ।

    ओझा कैलालीका पुराना र लोकप्रिय नेता हुन् । उनको राजनीतिक जीवन नै तहसनहस बनाउने गरी कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरे पनि ओझा बिचलित भएका छैनन् । उनको शक्ति झन् बढेको छ । यसपटकको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    ओझाकै कारण प्रधानमन्त्री पत्नी राणा यो क्षेत्र छाडेर समानुपातिकमा बसेकी छिन् । आउँदो निर्वाचनमा पनि ओझाको सहयोग नहुने संकेत पाएपछि उनले यहाँबाट चुनाव लड्ने आँट नगरेकी हुन् । गत चुनावमा उनी एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

    राणालाई असहयोग गरेको आरोपमा पार्टी सदस्य नरहने गरेर ओझालाई कारवाही गरिएको थियो । त्यसअघि सभापति देउवा आफैँ सो क्षेत्रबाट उम्मेदवार बनेका थिए । देउवाले सो क्षेत्र छाडेपछि भएको निर्वाचनमा ओझा विजयी भएका थिए ।

    ओझा ०५६ को आम निर्वाचन तत्कालिन कैलाली क्षेत्र नम्बर ३ र ०७१ को उपचुनावमा क्षेत्र नम्बर ६ (हालको ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । ०५६ मा चुनाव जितेपछि उनलाई सञ्चार राज्यमन्त्री पनि बनाइएको थियो ।

    पार्टीको कारवाहीपछि लामो समय मौन बसेका ओझाले स्वतन्त्र उम्मेदवारी दिएर गतिलो जवाफ फर्काएका छन् । उनको उम्मेदवारीलाई उनको निर्वाचन क्षेत्र मात्र नभइ जिल्लाभर स्वागत गरिएको छ ।

    बौद्धिक, इमान्दार र सिद्धान्तनिष्ट नेताको रुपमा परिचित ओझालाई कांग्रेसलगायत अन्य पार्टीका नेता, कार्यकर्ताको पनि समर्थन देखिन्छ । उनलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालको पनि समर्थन रहेको छ । उम्मेदवारी दर्ताकाक्रममा गोपाल हमालका भाइ श्याम हमाल र कांग्रेस कार्यकर्ताको उपस्थितिले उनको बलियो अवस्था स्वतः सिद्ध भएको छ ।

    धनगढीसहितको क्षेत्र नम्बर ५ ले उपयुक्त उम्मेदवार नपाएको भन्दै आफूले उम्मेदवारी दर्ता गरेको ओझा बताउँछन् । धनगढीका मतदाता विकाउ माल होइनन् भन्दै यस क्षेत्रका मतदाताको स्वाभिमान जोगाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

    कैलाली ५ मा एमालेका नारदमुनी राना, कांग्रेसका डिल्ली पन्त लगायतको उम्मेदवारी भए पनि ओझाको उम्मेदवारीले उनीहरु हच्केका छन् । अहिले गाउँ–गाउँका युवाहरुले स्वतस्फूर्त ओझा जिताउँ अभियान सुरु गरेका छन् ।

  • रविन्द्र मिश्र वंशवादको भूत बोकेर हिँडेपछि प्रकाशमानलाई काठमाडौं १ मा सजिलो

    रविन्द्र मिश्र वंशवादको भूत बोकेर हिँडेपछि प्रकाशमानलाई काठमाडौं १ मा सजिलो

    काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

    गठबन्धनका तर्फबाट उनले आइतबार मनोनयन दर्ता गराएका हुन् । उनकै निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रको पनि उम्मेदवारी छ । नेकपा एमालेबाट युवा नेता किरण केसी, नेपाल शुसासन पार्टीका रमेश खरेल र स्वतन्त्रबाट पुकार बमसहित स्वतन्त्रबाट केही नयाँ अनुहारहरुसमेत यो क्षेत्रमा उम्मेदवारको रुपमा देखिएका छन् ।

    यस्तो अवस्थामा काठमाडौं क्षेत्र नम्बर १ मा कसले बाजी मार्ला ? भनेर विभिन्न किसिमका अड्कलबाजी गर्न थालिएको छ । राप्रपाका मिश्र प्रकाशमान सिंहका निकटतम प्रतिद्वन्द्वी मानिन्छन् । यो पटक पनि उनीहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अन्य उम्मेदवारहरुलाई केही हदसम्म भोट काट्न सक्ने कैँचीको रुपमा हेरिएको छ ।

    २०७४ सालको निर्वाचनमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यती बेला मिश्रले विवेकशील साझा पार्टीबाट निर्वाचन लडेका थिए । मिश्रलाई भारी मतान्तरले पराजित गर्दै सिंहले बाजी मारेका थिए । उसो त प्रकाशमान सिंह २०६४ / २०७० सालमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै विजयी भएका थिए ।

    यो निर्वाचनमा पनि गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले नै बाजी मार्ने आँकलन गरिएको छ । ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालले चुनावी गठबन्धन गरेका थिए । काठमाडौं क्षेत्र नम्बर १ मा बामगठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदवार थिए । उनले ५३३६ मत मात्र प्राप्त गरेका थिए । जबकी नेपाली कांग्रेसका प्रकाशमान सिंहले १०९३६ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । यो नेपाली कांग्रेसकाे चोखो मत मानिएको थियो । अहिले गठबन्धनका अन्य दलहरुको मत पनि सिंहले पाउनेछन् ।

    सिंहका निकटतम प्रतिद्वन्द्वी मिश्रले १०११८ मत प्राप्त गरेका थिए । ७४ मा यो क्षेत्रमा विवेकशील साझाको राम्रो प्रभाव थियो तर मिश्र अहिले राप्रपाबाट लडिरहेका छन् ।

    ०७४ मा वैकल्पिक शक्तिकाे रुपमा उदाएकाे साझा पार्टी र विवेकशील नेपाली दलकाे एकीकरण भएर बनेकाे विवेकशील साझा पार्टीबाट चुनावमा हाेमिएका मिश्र यतिबेला राप्रपाबाट चुनावमा उठेका छन् । वैकल्पिक राजनीतिकाे धारमा उनी टिक्न सकेनन् ।

    पुराना पार्टीले केही काम नगरेकाे भन्दै आक्राेश व्यक्त गरेर नयाँ अनुहारमा केही आशा गरेका कतिपय मानिसहरु यतिबेला मिश्रसँग रुष्ट बनेका छन् । अहिले मिश्रले खुलेर राजसंस्था र राजाकाे बारेमा बाेलिरहेका छन् । राजसंस्था मन नपराउनेकाे जमात पनि बाक्लाे भएका कारण उनकाे मत झन् कम हुने कतिपयकाे बुझाइ छ ।

    राप्रपा प्रवेश गरेर २१ औँ शताब्दीमा शाह वंशकाे भूत बाेक्दै धर्मकाे नाममा राजनीति गरेर सांसदकाे लाेगाे लगाउन कस्सिएका रविन्द्र मिश्रकाे पूरातन र साम्प्रदायिक राजनीतिलाई काठमाडाैं १ का सचेत जनताले पत्याउन मुश्किल पर्ने राजनीतिक वृत्तमा चर्चा छ ।

    काठमाडौं क्षेत्र नम्बर १ मा नेपाल सुशासन पार्टीका रमेश खरेल र स्वतन्त्रबाट पुकार बमलगायतका अन्य स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।

    भ्रष्ट्राचार अन्त्य गरी नेपालमा सुशानसन कायम गर्न भनी आएकाे खरेलकाे पार्टीकाे पनि खास राजनीतिक मुद्दा छैन । खरेलले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए पनि याे पार्टीकाे खास राजनीतिक उदेश्य भने प्रष्ट छैन । पार्टीकाे राजनीतिक उदेश्य नै नभएकाे पार्टीलाई नागरिकले अहिले नै विश्वास गरिहाल्ने कुनै पनि आधार देखिँदैन ।

    स्वतन्त्र उम्मेदवारी दिएमा जित पक्का हुन्छ भन्ने मानसिकताले केहीले हचुवाको भरमा उम्मेदवारी दिएको देखिन्छ । स्वतन्त्र उम्मेदवारहरु धेरै भएकाले उनीहरुको मत बाडिँने र प्रकाशमान सिंहलाई चुनाव जित्न अझ सहज हुने आँकलन पनि गरिएकाे छ ।

  • निर्वाचनबाट कुन–कुन नेता बाहिरिए ?

    निर्वाचनबाट कुन–कुन नेता बाहिरिए ?

    काठमाडाैं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिए ।

    निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् ।

    नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा. अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रुपमा देखिएनन् ।

    यसैगरी नेकपा (एमाले) नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल (पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवारका रुपमा देखिएनन् ।

    निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन् ।

    निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई सय ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई सय ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् ।

    यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

    निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

  • कञ्चनपुरमा पूर्व तीन मन्त्रीकाे उम्मेदवारी

    कञ्चनपुरमा पूर्व तीन मन्त्रीकाे उम्मेदवारी

    काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन जना पूर्वमन्त्रीहरूले मनोनयन दर्ता गराएका छन् ।

    सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बीना मगरले मनोनयन दर्ता गराएकी हुन् । यसअघिको निर्वाचनमा भारी मतले विजयी भएकी उनी यसपटक अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छिन् ।

    विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको साथमा छ । सत्ता गठबन्धनले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) मा कांग्रेसका बन्धु राना र (ख) मा पनि कांग्रेसकै दिवानसिंह विष्टलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय लामा यसपटक भने उनकाे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

    एमालेले प्रदेशतर्फ क्षेत्र नं १ को (क) मा वीरबहादुर थापा र (ख) मा पल्लभराज भट्टलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको एक सिटका लागि पूर्वमन्त्री मगरसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद चुनावी मैदानमा अघि बढेका छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित साउदको दोस्रोपटक चुनावी भीडन्त हुँदैछ । धामी जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा छन् ।

    क्षेत्र नं २ को प्रतिनिधिसभाको एक सिटमा १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सत्ता गठबन्धनले क्षेत्र नं २ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका नेता ओमविक्रम भाट र (ख) मा कांग्रेस नेता बहादुरसिंह थापालाई अघि सारेको छ ।

    त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा एमालेका नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतान्तरले पराजित नेता लेखक यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । यता समानुपातिकबाट सांसद बनेकी एमाले नेत्री पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ चुनावी तालमेल गरेको छ ।

    सत्ता गठबन्धनले यहाँको प्रदेश निर्वाचन क्षेत्र नं (क) मा माओवादी केन्द्रका नेता टिकेन्द्रप्रसाद भट्ट र (ख)मा कांग्रेस नेता बेलबहादुर रनालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमाले र राप्रपाले प्रदेश (क) मा राप्रपाका नेता धर्मराज जोशी र (ख) मा एमालेका नेता सुरेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ ।

    निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा प्रतिनिधिसभाका तीन सिटमा आइतबार ३१ जना र प्रदेशसभाका छवटा सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • प्रतिनिधिसभातर्फ २४ सय ९४, प्रदेशसभातर्फ ३४ सय २३ उम्मेदवार

    प्रतिनिधिसभातर्फ २४ सय ९४, प्रदेशसभातर्फ ३४ सय २३ उम्मेदवार

    काठमाडाैं । मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि २४ सय ९४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

    आयाेगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधिसभा सदस्यका लागि २२ सय ६१ पुरुष र २३३ महिलाको उम्मेदवारी परेको हो ।

    अर्कातिर प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा करिब १ हजार धेरै उम्मेदवारी दर्ता भएको पौडेलले बताएका छन् ।

    उनका अनुसार प्रदेशसभा सदस्यका लागि जम्मा ३४ सय २३ जनाको उम्मेदवारी परेको छ ।

    जसमा ३१ सय २७ पुरुष र २९५ महिला रहेका छन् । त्यस्तै पुरुष, महिलाबाहेक अन्य एकजनाको पनि प्रदेशसभामा उम्मेदवारी परेको छ ।