Tag: माओवादी केन्द्र महाधिवेशन

  • माओवादी महाधिवेशनबारे भीम रावलको टिप्पणी : जनवादलाई ‘म हो वाद’मा झारेकाे देखियाे

    माओवादी महाधिवेशनबारे भीम रावलको टिप्पणी : जनवादलाई ‘म हो वाद’मा झारेकाे देखियाे

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन प्रक्रियाबारे टिप्पणी गरेका छन् । माओवादी महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’मा झारेको रावलले बताएका छन् ।

    ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो । महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो,’ ट्वीटरमार्फत रावलले भनेका छन् ।

    माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे भने महाधिवेशन प्रतिनिधिले अनुमोदन गरेका थिए । केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्ड पुन: निर्वाचित भएका थिए ।

    माओवादीमा महाधिवेशन प्रतिनिधिले चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गरिएको पनि रावलको भनाइ छ ।

  • माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता, यस्ताे छ निर्वाचन कार्यतालिका

    माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता, यस्ताे छ निर्वाचन कार्यतालिका

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

    निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन् ।

    उम्मेदवारको मनोनय पत्र दर्ता सूची प्रकाशन १०: ३० बजे गरिनेछ ।

    यसैगरी उम्मेदवारको विरोधमा भोलि बिहान ८ बजेदेखि ८: ३० सम्म उजुरी दिन सकिनेछ । भोलि बिहान ११ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

    यसअघि निर्वाचन समितिले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो ।

  • माओवादीकाे विधान संशाेधनसहित पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

    माओवादीकाे विधान संशाेधनसहित पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

    काठमाडौं । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले पार्टीको विधान संशोधन सहित पारित गरेको छ ।

    विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

    विधान अनुसार पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।

  • डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

    डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन् । खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन् ।

    उनको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।

    जवाफमा उनले भने- ‘डेरा सर्ने कुरा ठीक छ । खुमलटारबाट डेरा सर्छु । अर्को डेराको खोजी हुँदैछ । ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो । घर सल्लाह गर्छु । यहीँ बस्ने कि चितवन ।’

    ‘केन्द्रीय सदस्य काठमाडौंमा बस्न पाउने छैनन् । आफ्नो जिल्ला गाउँमै बस्नु पर्नेछ,’ उनले भने । डेरा सर्दा काठमाडौं नै बस्ने कि चितवन भन्ने प्रश्नले अध्यक्ष प्रचण्ड अलमलमा छन् ।

    प्रचण्ड अहिले ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् । अधिकारीले ठेक्का पाएका धेरै ठाउँमा काम अलपत्र छाडेका छन् । त्यसैले उनीमाथि शारदाप्रसाद अधिकारीलाई बचाउँदै आएको आरोप पनि लाग्दै आएको छ ।

    प्रचण्डले अमेरिकी सहायता मिलिनियम च्यालेज कर्पोरेशन (एमसीसी)बारे भने दस्तावेजको धारणामा परिवर्तन नहुने बताए । राजनीतिक प्रतिवेदनमा संशोधनबिना एमसीसी अघि नबढ्ने उल्लेख छ ।

  • माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

    माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ ।

    आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।खपुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेपछि महाधिवेशन लम्ब्याउने निर्णय गरिएको बताइएकाे छ ।

    माओवादी महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल भइरहेको छ ।

  • प्रचण्डको प्रतिवेदनमाथि बाबुरामको टिप्पणी : अबाेध कार्यकर्ता फेरि झुक्किने भए !

    प्रचण्डको प्रतिवेदनमाथि बाबुरामको टिप्पणी : अबाेध कार्यकर्ता फेरि झुक्किने भए !

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

    ‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’ भट्टराईले भनेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए! शुभकामना!’

    उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख पनि गरेका छन् । उनले जनतालाई नेताले बाटो देखाउनुपर्नेमा भ्रम छर्न खोजेको आरोपसमेत लगाएका छन् ।

    ‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ । जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन,’ बाबुरामले भनेका छन् ।

    प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    भट्टराई माओवादीबाट अलगिएर नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीमा अहिले संघीय परिषद् अध्यक्ष छन् ।

  • प्रचण्डकाे दस्तावेजमाथि सामूहिक छलफल सुरु

    प्रचण्डकाे दस्तावेजमाथि सामूहिक छलफल सुरु

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ ।

    आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो । ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ । सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं छन् ।

    समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन् । सो समूहको छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया हुँदैछ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन् । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन् ।

    समूह ६ र ७ मा प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । यो छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन् । समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ । सो समूहको संयोजन नेता चक्रपाणि खनालले गरिरहेका छन् । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् ।

    सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ छन् । समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरु गरेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन् ।

    समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ । संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी छन् । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट छन् । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् ।

    सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिङ्खडा छन् ।

    समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गरेका छन् ।

    समूह २२ र २३ मा बागमती प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैंक्वेट थापागाउँमा सुरु भएको छ । सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गरेका छन् । समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु भएको छ । सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले गरिरहेका छन् ।

    समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन् । सो समूहले काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु गरेको छ । सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गरिरहेकी छन् ।

    माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।

  • प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह, यी स्थानमा छलफल हुने

    प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह, यी स्थानमा छलफल हुने

    काठमाडाैं । नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब साढे २ घण्टा लगाएर वाचन गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।

    ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले उक्त राजनीतिक प्रतिवेदन वाचन गरिसकेपछि छलफलका लागि २५ वटा समूह बनाइएको हो । छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ ।

    यी समूहलाई प्रचण्डले वाचन गरेको राजनीतिक प्रतिवेदन उपलब्ध गराइनेछ । त्यो प्रतिवेदनमाथि सोमबार र मंगलबार छलफल हुनेछ । ती समूहले राय सुझाव दिइसकेपछि प्रचण्डले प्रतिवेदनमाथि थप जवाफ दिनेछन् ।

    यो राजनीतिक प्रतिवेदन पारित भएपछि बुधबारदेखि माओवादीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।

    समूहगत छलफलका लागि छुट्टयाइएको २५ समूह :

    १) ज्येष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)

    २) सल्लाहकार परिषद (प्रज्ञा भवन)

    ३) सल्लाहकार परिषद (प्रज्ञा भवन)

    ४) प्रदेश १ क.(भानुभक्त हल प्रज्ञा)

    ५) प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)

    ६) प्रदेश २ क.( पारिजात हल प्रज्ञा )

    ७) प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)

    ८) लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)

    ९) लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)

    १०) गण्डकी क.(पेरिसडाँडा )

    ११) गण्डकी ख.(पेरिसडाँडा)

    १२) प्रवास (पेरिसडाँडा )

    १३) कर्णाली क. (ए वान पार्टी प्यालेस)

    १४)कर्णाली ख. (ए वान पार्टी प्यालेस)

    १५) सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस)

    १६) सुदूरपश्चिम ख (ए वान पार्टी प्यालेस)

    १७) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)

    १८) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)

    १९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)

    २०) सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

    २१) सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस

    २२) वागमती क.(बानेश्वर ब्याङ्क्वेट)

    २३) वागमती ख.(बानेश्वर ब्याङ्क्वेट)

    २४) आयोग (काठमाडौं ब्याङ्क्वेट)

    २५) जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)