Tag: विकास

  • लामो पुलले बढायो बागलुङमा पर्यटक

    लामो पुलले बढायो बागलुङमा पर्यटक

    बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

    धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ ।

    पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ ।

    पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङमा पर्यटक बढेको बताए । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएकाे छ ।

    ‘लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्, नयाँनयाँ होटल पनि थपिएका छन्’, अध्यक्ष चोखालले भने, ‘दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित बन्दै गएका छन् ।’

    अध्यक्ष चोखाल पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकामा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउँछन् ।

    बागलुङ बजार भएर पञ्चकोट र सुरुङभित्र रहेको सालिग्राम सङ्ग्रहालय हेर्न जाने पर्यटक सङ्ख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायी उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवर्द्धनमा ठूलो टेवा पुगेकाे बताए ।

    अध्यक्ष खड्काले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताए । सामाजिक सञ्जालमा व्यापाकरुपमा प्रचार भएको हुँदा पुलमा आउने आगन्तुक दिनदिनै बढेको उनकाे भनाइ छ । खड्काले पुलसँगै बागलुङ कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा समेत पर्यटकको आकर्षण निकै बढेको बताए । ‘लामो पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको सङ्ख्यामा मान्छे आउँछन्, अझ बिदाको दिन निकै ठूलो भीड हुन्छ, छोटो समयमा धेरै प्रचारका कारण पर्यटक बढेका हुन्’, अध्यक्ष खड्काले भने, ‘पुलमा मात्रै होइन, अहिले कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा पनि पर्यटकको आगमन निकै बढेको छ, यसले बागलुङको पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।’

    खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताए । पुल वरपरका गन्तव्यबाहेक पछिल्लो समय अन्य क्षेत्रमा पनि पर्यटक पुग्ने गरेको उनी बताउँछन् ।

    ‘अहिले मुुस्ताङको मुक्तिनाथ जाने आधा पर्यटक बागलुङ आउने गरेका छन्, पुलले बागलुङमा व्यापकरुपमा पर्यटक भित्र्याउन मद्दत गरेको छ, यसभन्दा अगाडि मुस्ताङ जाने पर्यटक बागलुङमा १० प्रतिशत पनि आउँदैनथे, पुलकै कारण बागलुङका अन्य गन्तव्य पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्’ उनले भने । उनले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताए ।

    अहिले जडान भएको लाइट आधा भागमा मात्रै बलेको भन्दै त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ बत्ती जडान गर्न थालेको खड्काले बताए । नयाँ बत्ती जडान गर्न रु १२ लाख लाग्ने अनुमान गरेको भन्दै बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाको यस सहकार्य हुने उनको भनाइ छ ।

    ‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल पाँच सय ६७ मिटर लामो छ  । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ । पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो । रासस

  • धनगढीको सडक चौडा पर्ने निर्णयविरुद्ध उभिए व्यवसायी

    धनगढीको सडक चौडा पर्ने निर्णयविरुद्ध उभिए व्यवसायी

    धनगढी । धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक विस्तार गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेपछि सडक क्षेत्रका घरधनी तथा व्यवसायी विरुद्धमा उत्रिएका छन् ।

    धनगढी मुख्यबजार क्षेत्रमा ३० मिटर सडक क्षेत्राधिकार राख्दा धेरै परिवार घरवारविहीन बन्ने र कोरोनाका कारण घाटा व्यहोर्दै आएका व्यवसायी झनै संकट व्यहाेर्ने भएकाले सडकको क्षेत्राधिकार घटाउन व्यवसायीको माग छ ।

    ‘धनगढीको मुख्य बजारलाई पुरनो बजारका रुपमा संरक्षण गरेर बाहिरी भागमा बजार बनाउँदा राम्रो हुन्छ,’ व्यवसायी हित्रिस मोहम्मद्ध शिद्धिकीले भने, ‘बजारमा पाँच धुर जमिनमा घर बनाएर बसेकाहरू लागि घरबारविहीन बनाउने काम गर्नु हुँदैन ।’

    व्यवसायीले सडक विस्तार गर्दा हुने समस्याका बारेमा जनप्रतिनीधिसँग छलफल गर्न व्यवसायी नेत्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेका छन् । ‘हामीलाई बेवास्ता नै गरेर अघि बढ्न खोज्नु मुर्खता हुनेछ’ तदर्थ समितिका अपाध्यक्ष अर्जुन श्रेष्ठले भने, ‘समस्याको समाधान कसरी हुन्छ, त्यसबारेमा छलफल गरिनु आवश्यक छ, आधा कट्ठा, पाँच धुर जमीनमा घर बनाएर बसेकाहरूको व्यवस्थापन नगरी सडक निर्माण हुन सक्दैन ।’

    आफूहरू विकासविरोधी नभएको बताउँदै उनले सबै नागरिकको समस्या समाधान गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बताए । धनगढी बजार क्षेत्रबाहिर पनि व्यवस्थित सडक बनेकाे भन्दै उनले अब धनगढीमा बजार व्यवस्थापन गर्न समस्या नभएकाले सबैको रायअनुसार अघि बढ्दा राम्रो हुने बताए ।

    ‘मेयर साप निस्वार्थ भावनाले धनगढीको विकास गर्न आउनु भएको छ, उहाँलाई हामी सहयोग गर्न पनि तयार छौं,’ उनले भने, ‘तर सबैथोक विनास हुनेगरी सहयोग गर्न सक्दैनौं, यस विषयमा गम्भीर बन्नु पर्छ ।’ उनले पुरै घर जाने र अन्त जमिन समेत नभएका व्यवसायीलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय भएको बताए ।

    शनिबार धनगढी स्थित नैनादेवि मन्दिरमा भेला भएका अन्य व्यवसायीले भने अहिले सडक निर्माणको कामलाई अघि बढाउन उपयुक्त नभएको बताए । ‘कोरोनामा सबै व्यवयासी घाटामा गए’ व्यवसायी नरेश साइजुले भने, ‘अहिले पनि व्यापार व्यवसायमा मन्दि आएको छ, बैंकको ब्याज तिर्न पनि सकिरहेका छैनौं, यस्तोमा सडक विस्तार गरेर व्यवसायीलाई विस्थापित गर्ने काम गर्नु हुँदैन, परिस्थिति सहज भएपछि मुख्य बजारको सडकका बारेमा सोच्नु उपयुक्त हुन्छ ।’

    तदर्थ समितिको सचिवमा ठेकेन्द्रराज जोशी, सह–सचिवमा गोविन्दराज जोशी, सदस्यमा ठेकलाल श्रेष्ठ, अनुप उपाध्याय, प्रकाश जंग स्वाँर, आनन्द जोशी, कर्णबहादुर कुँवर, रुपबहादुर खड्का, शुशील शाह, रणबहादुर बोहरा रहेका छन् ।

  • विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु !

    विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु !

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा पर्ने गाउँ हुन् तेम्बाथान, तेगा र दिपु । यहाँका यी गाउँ विकट छन् । यहाँका बासिन्दालाई सरकारी सेवासुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यति मात्र हो र, सडक र बिजुली नै छैन ।

    तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिकेसम्म आइ दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने गरेका छन् । बाटो सफा बनाउन एक घर एक व्यक्ति जानै पर्ने नियम गाउँलेले राखेका छन् ।

    स्थानीय तहमा जनप्रतिनिधि आएपछि गुम्बा गाउँ सम्म सडक र बिजुली पुगेको छ । यी गाउँमा धेरै शेर्पा जातिको बसोबास छ । स्थानीयका अनुसार १६७ घरधुरी तेम्बाथानमा छन भने दिपु , साङ्लुङ र तेगा गाउँमा ३०/३२ घरधुरीको बस्ती छ तर यी बस्तीका स्थानीयलाई विकसित गाउँ कस्तो हुन्छ नै थाहा छैन ।

    बिरामी हुँदा हेलिकप्टरकै भर

    सामान्य उपचारको लागि त तेम्बाथानमा स्वास्थ्यचौकी छ । नजिक स्वास्थ्यचौकी भए पनि सिटामोलबाहेक अरु औषधि पाइँदैन । गुम्बादेखिका व्यक्तिसमेत दुई दिन माया मारेर कात्तिके पुग्ने गर्दछन् भने तेम्बाथानको त कुरै नगरौँ । बिरामी भएकै दिन अस्पताल पुर्‍याउन कठिनाइ हुन्छ । जानैपरे पनि भिरको बाटो, तत्काल बोकेर लाने अवस्था छैन, हेलिकप्टर नै झिकाउनुपर्छ । अरु विकल्प यहाँ छैन ।

    स्थानीय लाक्पा लामा भन्छन् , ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’

    गाउँमा १६७ घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ । सिंगो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पुर्‍याउन सकिँदैन । बिरामी पर्दा जंगली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।

    शिक्षाको कमि

    तेम्बाथान, तेगा, साङ्लुङ र दिपु गाउँ । यी गाउँको मानिसकाे पेसा याक ,चौँरी र गाई पाल्ने हो । पितापुर्खादेखि गोठ पाल्ने चलन भएकाले लेकाली क्षेत्रका धेरैको पेसा नै गोठ पाल्नु हो । चौरी गोठमा भकारा सोर्ने, चौरी खेद्ने र वस्तुभाउको चाकरीमा व्यस्त रहन्छन् । केही समय अगाडि यहाँका अधिकांश बाललालिका चौरी गोठमै हुन्थे । दुई दिन पैदल दूरीका चौरी गोठ । त्यही भएर पनि अभिभावकले गोठ जहाँ लान्छन्, छोराछोरी पनि त्यहीँ लैजाने चलन थियो ।

    विद्यालयको अनुहारै नदेखेका बालबालिकाको दैनिकी यस्तैमा बित्थ्यो । परिवारमा पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले पनि उनीहरू शिक्षाबाट टाढा भए । तर, अहिले बालबालिकाहरू गोठ नभई विद्यालय जान थालेका छन् । कक्षा ६ सम्म पढाई हुने तेम्बाथानको आधारभुत विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या १०० छ ।

    गाउँका केटाकेटी खासै स्कुल नजाने चौँरी गोठमै भेटिन थालेपछि सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुस् भनि घरघरमा अभिभावकलाई सल्लाह सुझाब दिएसँगै विद्यार्थी नियमित जान थालेका हुन् ।

    खाजा आफ्नै घरबाट ल्याउन लाएर सो खाजाको पैसा ४/५ महिनामा एकमुस्ट दिने गरेकाले विद्यालय आउने विद्यार्थीकाे संख्या बढ्न थालेको तेम्बाथान आधारभूत विद्यालयका प्रधानध्यापक युवराज शर्माले बताए । कक्षा कोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षा कोठा अभावले प्रशासन चलाउन नसकिएकाे उनले बताए । तेम्बाथानको विद्यालयलाई पालिकाले कुनै सहयोग नगरेकोमा शर्माको गुनासो छ ।

    जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्नेजस्ता समस्या भइरहेकेा शिक्षक साङगे निमा शेर्पाले बताए । अहिलेसम्म अँग्रेजी र गणित विषयका किताब विद्यालयमा उपलब्ध छैन । साङ्लुङ, तेगा र दिपुका विद्यार्थी बर्खामा तेम्बाथानमा आफन्ताकोमा बसेर विद्यालय जान्छन् भने हिउँदमा २ घण्टाको बाटो हिँडेर विद्यालय जाने गरेका छन् ।

    कक्षा ६ सम्म अध्यापन हुने भएकाले माथिल्लो कक्षा पढ्न टाढा जानुपर्दा गाउँमा पढाइप्रति आकर्षण घट्ने होकि भन्ने चिन्ता विद्यालय व्यवस्थापन अध्यक्ष लाक्पा शेर्पाको चिन्ता छ । बिजुली नभएकै कारण पनि पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित हुन पुगेका हुन् । सामान्य अक्षर चिन्न सक्ने र अलिअलि काम गर्न सक्ने भएपछि वैदेशिक रोजगारको बाटो खोज्छन् ।

    सडकको पहुँच नहुँदा समस्या, १२ हजार भत्ता लिन ७ हजार खर्च

    तेम्बाथान, दिपु र तेगाका प्रत्येक ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तलगायत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न एक दिनको पैदल हिँडेर वडा कार्यालय धाउनुपर्ने बाध्यता छ । बर्खामा जोखिम मोलेरै हिँडिरहेका छन् ।

    ज्येष्ठ नागरीकलाई १२ हजार सामाजिक सुरक्षा भत्ता लिन ७ हजारसम्म खर्चगर्नुपर्ने बाध्यता छ । यहाँका जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि २ दिन पैदल हिँडेर जुगलको डाडे बजार पुग्छन् । त्रैमासिक रुपमा सरकारले दिने १२ हजार भत्ता लिन जाँदा ७ हजार रकम त खाना, खाजा र बास बसेकै ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको जेष्ठ नागरिक फुर्वा शेर्पाको गुनासो छ ।

    भत्ता लिन जाँदा र फर्कंदा ४ दिनको पैदल यात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । ज्येष्ठ नागरिक र अशक्तहरूले सरकारले प्रत्यक तीन तीन महिनामा दिने भत्ता लिन व्यहोर्नुपरेको सास्तीबारे जानकार रहेको जुगल ३ का वडा अध्यक्ष लक्ष्मण दोङ बताउँछन् । बैंकसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको अध्यक्ष दोङले बताए ।

    न त बिजुली न इन्टरनेट

    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन । न इन्टरनेट चल्छ । सोलारकै भर छ । धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ । केही हुनेखाने परिवारले सोलार जडान गरेका छन् ।

    आफन्तसगँ फाेनमार्फत कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । तेम्बाथाङ , तेगा र दिपुमा घाम लाग्दा मात्रै टावर आउने गर्छ । स्थानीयवासीहरु महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घाम लाग्ने बितिकै डाडामा निस्किने गरेका छन् ।

    स्थानीय लाक्पा शेर्पा भन्छन् , ‘विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएकाे छ ।’

  • जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे . . .

    जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे . . .

    गोरखा । ‘दरौँदी नदीमा पुल नबन्दासम्म घलाङमा छोरी नदिनु भन्ने उखान नै गर्थे । ‘पुल छैन्, यत्रो दरौँदी तरेर कसरी जाने ? चेलीबेटी दिएर के गर्ने ? भन्थे’, गोनपा ३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका -५ जरेवर बस्ने गोबिन्द बिश्वकर्माले पूराना कुरा सुनाए ।

    गेबिन्दको घर नारेश्वर भएता पनि उनको पाखा बारी बाहेक खेतीयोग्य जमिन दरौँदी नदी पारी जरेबर फाँटमा थियो । पुल नहुँदा बर्खामा खेती लगाउन जाँदा दरौँदी नदी गरेर जान निकै सास्ती हुने उनको अनुभव छ ।

    ‘पुल नहुँदा बर्खामा खेतिपाती गर्न दरौँदी तरेर जानुपर्थाे । कहिले गोरु बगाउने, कहिले मान्छे बगाउने कम त दुख पाइएन्’, उनी भन्छन् ।

    २०४६ सालमा जरेवर र नारेश्वर जोड्ने झोलुङ्गे पुल बन्यो । झोलुङ्गे पुल बनेपछि भने विगतमा भन्दा केही सहज भयो । तर, आफ्नो खेत दरौँदी पारी नै भएकाले खेति गर्न जान आउजाउ गर्दा समस्या हुन थालेपछि गोबिन्द केही बर्षयता दरौँदी पारी नै घर बनाएर बस्न थालेका छन् ।

    गेबिन्दले जस्तै समस्या भोगेर अहिले नारेश्वरका दर्जनौँ घर परिवार दरौँदी पारी बसाईँ सरेर बसिसकेका छन् । कारण, ‘मोटरवेल पुलको अभाव’ ।

    अहिले यहाँ स्थानीयहरुले नै माग गरेर गण्डकी प्रदेश सरकारको पाँच करोड ३९ लाख ८० हजार लागतमा मोटरवेल पुल निर्माण भइरहेको छ । यहाँ बनिरहेको पुलका लागि स्थानीयहरुको आग्रहमा तत्कालिन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले बजेट बिनियोजनका लागि पहल गरिदिएका थिए ।

    ‘हामी स्थानीयहरुले नै यहाँ पुल आवश्यक छ भनेर माग गरेपछि मन्त्री आएर ठाउँ हेरेर बजेट हाल्दिएको हुन् । तर, अहिले स्थानीयहरुसँग सल्लाह नै नगरी बजेट हालेको भन्दै गलत प्रचार भइरहेको छ’, स्थानीय मधुकर अधिकारी ।

    अहिले ‘वारी जंगल, पारी खेत, बीचमा पाँच करोडको मोटरवेल पुल’ भन्दै भाइरल भइरहेको यही पुल हो । जुन पुलको पर्खाइमा नारेश्वरका हजारौँ घरधुरीले बर्षाैँदेखि प्रतिक्षा गरिरहेका थिए भने गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का आम नागरिकहरुले आशा गरिरहेका थिए ।

    ‘सडक नै नपुगेको ठाउँमा करोडौँको पुल बन्यो भनेर जसरी प्रचार भइरहेको छ, यो सरासर गलत हो । यहाँ वारीपारि दुबै तीर सडक पुगेको छ । यो पुल सम्पूर्ण नारेश्वरवासी र गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का सबै जनताका लागि आवश्यक पनि हो’, स्थानीय सुशिल अधिकारी भन्छन् ।

    दरौँदी नदी माथि बनिरहेको पुल नजिकै नारेश्वर क्षेत्रमा दुई वर्ष अघि नै कच्ची सडक पुगेको थियो । सडक सन्जाल भए पनि पुल नहुँदा प्रयोगमा नआएको सडकमा बिरुवाहरु, झार पात उम्रिएर जंगल जस्तै देखिन्छ । जंगलको बीचमा, प्रयोगमा नआएको सडकमा बिरुवा, झारहरु उम्रनु स्वभाविकै हो । जरेवरतर्फ भने पुलको करिब डेढ सय मिटर नजिकै ग्रावेल गरिएको सडक आइपुगेको छ ।

    दुबैतर्फ सडक आइपुगे पनि सडक पक्की पुल नहुँदा यहाँबाट सवारी आउजाउ गर्न सक्दैन। तर, दरौँदी नदी माथि पुल बनिसकेपछि नारेश्वर हुँदै गएको सडक मध्यपहाडी लोकमार्ग, बारपाक सडकसँग जरेवरमा जोडिनेछ । यो रुट हुँदै आउजाउ गर्दा दूरीका हिसाबले पनि छोटो र सस्तो पर्ने स्थानीयहरु बताउँछन् ।

    ‘अहिले हामी डेढ सय रुपैँया तिरेर गोरखा सदरमुकाम जान्छौँ भने यो पुल बन्यो भनेक ६०/७० रुपैँया तीरेर जानसक्छौँ । समयको हिसाबले पनि धन्दै एक घण्टाभन्दा बढि छिटो हुन्छ । बिरामीहरु परे, केही ईमरजेन्सी केस पर्याे भने केही मिनेट छिटो हुँदा पनि मान्छेको ज्यान जानबाट बच्छ’, स्थानीय शम्भु बस्नेत भन्छन् ।

    सत्ता र शक्तिको आडमा ब्यक्तिगत फाइदाका लागि भन्दा जनताका माग र आवश्यकताका आधारमा बजेट बिनियोजन भएकाले पुल निर्माण सम्पन्न भएपछि थुप्रै जनसंङ्ख्या लाभाम्वित हुने सिरानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शित्तल पोखरेल बताउँछन् ।

    ‘पुलले पूर्णता पाईसकेपछि अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, धार्चे, चुमनुब्रीका र गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका जनताहरुलाई सेवा दिन्छ । सुबिधा पाउँछन्,’, वडाध्यक्ष पोखरेलले भने, ‘अर्काे दुई नम्बर क्षेत्र वाहेक नयाँ पुल र तुरतुरेको पुल भन्दा वाहेक अर्काे त्यही एउटा दरौँदी नदी माथि छेवेटारको पुल मात्रै हो र यो पुलले केही भवितव्य भईहालेको अबस्थामा एउटा ट्राफिक रुटको रुपमा पनि प्रयोग हुने भएकाले यो पुलको उपयोगिता छ ।’

    दरौंदी नदी माथिको यो पुल ५० मिटर लामो हो । कार्यालयका अनुसार पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ । एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो । पुलको ठेक्का लगाउँदा नै पुलसँग जोड्न बाँकी सडक पनि निर्माण कम्पनीले गर्ने, नदी किनारमा ग्याबिन लगाउने लगायतको काम गर्ने गरी गरी कामको ठेक्का दिएको कार्यालयले जनाएको छ ।

    ‘पुलको काम सकिएको छैन् । निर्माण कम्पनीले स्टरकचरको काम गरेर सडकको काम, ग्याबिनको काम गर्ने गरी काम सुरु गर्‍यो । काम बाँकी नै छ । ठेक्का लगाउँदा नै स्टमेटमा निर्माण कम्पनीले पुलसँग जोड्न बाँकी ६०० मिटर सडक पनि बनाउने भन्ने छ । काम छिट्टै सम्पन्न हुन्छ’, पूर्वाधार विकास कार्यालय गोरखाका सूचना अधिकारी इन्जिनियर अजय श्रेष्ठले भने ।

  • कामदारको अवरोधपछि सुनकोसी-मरिन डाइभर्सनको काम बन्द

    कामदारको अवरोधपछि सुनकोसी-मरिन डाइभर्सनको काम बन्द

    सिन्धुली । मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिन डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।

    भर्खरै निर्माणको काम सुरु भएको आयोजनामा काम गर्ने मजदुरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ ।

    आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदुर पूर्णबहादुर विकले बताए। उनले भने, ‘सुनकोसी–मरिन डाइभर्सनमा आफूले दैनिक आठ घण्टा काम गरेवापत आयोजनाले सुक्खा रु ५८० का दरले पारिश्रमिक दिने गरेको छ ।’ आयोजनको पारिश्रमिकले जीवन धान्न नै मुस्किल हुने उनकाे गुनासो छ ।

    आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैँ बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग राखेकाले आफूहरुको माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईँले बताए । आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनको भनाइ छ ।

    आयोजनामा मजदुर ११०, मिस्त्री ५०, मेकानिक आठ, अपरेटर २०, वेल्डर सात, दोभासे चार, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० मजदुर कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिए ।

    सुनकोसी–मरिन डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदुरलाई तलब दिँदै आएको लूकाे भनाइ छ । आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ गु्रप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदुरले शुक्रबारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् ।

    मजदुर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । -रासस