लामो पुलले बढायो बागलुङमा पर्यटक

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ ।

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ ।

पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङमा पर्यटक बढेको बताए । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएकाे छ ।

‘लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्, नयाँनयाँ होटल पनि थपिएका छन्’, अध्यक्ष चोखालले भने, ‘दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित बन्दै गएका छन् ।’

अध्यक्ष चोखाल पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकामा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउँछन् ।

बागलुङ बजार भएर पञ्चकोट र सुरुङभित्र रहेको सालिग्राम सङ्ग्रहालय हेर्न जाने पर्यटक सङ्ख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायी उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवर्द्धनमा ठूलो टेवा पुगेकाे बताए ।

अध्यक्ष खड्काले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताए । सामाजिक सञ्जालमा व्यापाकरुपमा प्रचार भएको हुँदा पुलमा आउने आगन्तुक दिनदिनै बढेको उनकाे भनाइ छ । खड्काले पुलसँगै बागलुङ कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा समेत पर्यटकको आकर्षण निकै बढेको बताए । ‘लामो पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको सङ्ख्यामा मान्छे आउँछन्, अझ बिदाको दिन निकै ठूलो भीड हुन्छ, छोटो समयमा धेरै प्रचारका कारण पर्यटक बढेका हुन्’, अध्यक्ष खड्काले भने, ‘पुलमा मात्रै होइन, अहिले कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा पनि पर्यटकको आगमन निकै बढेको छ, यसले बागलुङको पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।’

खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताए । पुल वरपरका गन्तव्यबाहेक पछिल्लो समय अन्य क्षेत्रमा पनि पर्यटक पुग्ने गरेको उनी बताउँछन् ।

‘अहिले मुुस्ताङको मुक्तिनाथ जाने आधा पर्यटक बागलुङ आउने गरेका छन्, पुलले बागलुङमा व्यापकरुपमा पर्यटक भित्र्याउन मद्दत गरेको छ, यसभन्दा अगाडि मुस्ताङ जाने पर्यटक बागलुङमा १० प्रतिशत पनि आउँदैनथे, पुलकै कारण बागलुङका अन्य गन्तव्य पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्’ उनले भने । उनले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताए ।

अहिले जडान भएको लाइट आधा भागमा मात्रै बलेको भन्दै त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ बत्ती जडान गर्न थालेको खड्काले बताए । नयाँ बत्ती जडान गर्न रु १२ लाख लाग्ने अनुमान गरेको भन्दै बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाको यस सहकार्य हुने उनको भनाइ छ ।

‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल पाँच सय ६७ मिटर लामो छ  । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ । पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो । रासस

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७