Tag: जापान

  • नबिन निउरेले एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी दिने

    नबिन निउरेले एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी दिने

    जापान । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नबिन निउरेले उम्मेदवारी दिने भएका छन् ।

    विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका निउरेले गैरआवसीय नेपाली संघ एनआरएनए जापानको आसन्न नेतृत्वका लागि उम्मेदवारी दिन लागेका हुन् ।

    गैरआवसीय नेपाली संघ एनआरएनए जापानको क्षेत्रीय समिति कान्तो टोकियो २०११ मा सदस्यता लिएका निउरे १३/१५ मा कान्तो कोषाध्यक्ष, १५/१७ मा सचिव, १७/१९ को संयोजक हुँदै युवा उपाध्यक्ष मा निर्विरोध निर्वाचित भएका थिए । निउरे २०२१/२३ को कार्यकालका लागि भारी मतान्तरका साथ वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए ।

    एनआरएनए जापानलगायत गल्कोट समाज जापानकाे निवर्तमान महासचिव र गल्कोट सपोर्ट क्लब टोक्योको सल्लाहकारसमेत रहेको निउरेको विभिन्न संघसंस्थामा लामो समय सम्म रही काम गरेको अनुभव छ ।

    जापानका नेपाली समुदायमा परेका समस्या नाजिकबाट नियालेर समाधानमा निरन्तर रूपमा लागिपरेकाे र अबका दिनमा पनि लाग्ने प्रतिबद्धतासहित उनले जापानवासी नेपालीहरुमा सहयाेगकाे अपिल गरेका छन् ।

  • बागलुङ समाज जापानको प्रवक्तामा रामु खत्री

    बागलुङ समाज जापानको प्रवक्तामा रामु खत्री

    जापान । बागलुङ समाज जापानको प्रवक्तामा रामु खत्री मनोनित भएका छन् ।

    निलुवा समाज जापनको वरिष्ठ उपाध्यक्षसमेत रहेका रामु खत्री स्थापनाकाल देखिनै संस्थामा हरेक सहायोग गर्दै आएका थिए ।

    खत्रीलाई समाजको पछिल्लो कार्यसमिति विशेष बैठकले प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    समाज स्थापनाकालदेखि हालसम्म खत्रीले गरेको भुमिकालाई मध्यनजर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको समाजका महासचिव सचिन आचार्यले बताए ।

    समाजको गतिविधिलाई वृहत रुपमा संचालन गर्न खत्रीको भुमिका महत्वपूर्ण रहने समाजको विश्वास छ । खत्री लोक तथा दोहोरी गायक पनि हुन् ।

  • एनआरएनए जापानले जुलाई २२/२३ मा टोकियोमा ‘नेपाल फेस्टिभल’ आयाेजना गर्ने

    एनआरएनए जापानले जुलाई २२/२३ मा टोकियोमा ‘नेपाल फेस्टिभल’ आयाेजना गर्ने

    जापान । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एनआरएनए जापानले जापानकाे टोकियोमा ‘नेपाल फेस्टिवल’को आयोजना गर्ने भएको छ ।

    जापानिज नागरिक नेपाल घुम्न जाउन् भन्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको आयोजक गैरआवसीय नेपाली संघ एनआरएन जापानले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

    फेस्टिभल जापानको टोकियाेस्थित नाकानोमा जुलाई २२ र २३ तारिक (साउन ६ र ७ गते) हुनेछ ।

    फेस्टिभलले नेपाली खाना, कला र संस्कृतिसँगै सिंगो नेपाल चिनाउने फेस्टिभलकी उप‐संयोजक संगीता अधिकारीले पत्रकार सम्मेलनमा बताइन् ।

    फेस्टिभलमार्फत् विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मभूमि नेपाल भए पनि विभिन्न प्रकारले छरिएका भ्रमलाई चिर्ने र जापानिज नागरिकलाई नेपाल चिनाउने प्रयास गर्ने महासचिव सिद्धार्थ श्रेष्ठले बताए ।

    फेस्टिभलको आकर्षण नेपालको हिमालदेखि तराईसम्मका ११ वटा जातजातीको भेषभुषासहित झाँक्रीको प्रस्तुति, लोक भजन, पञ्चेबाजा, जापनिज कलाकारको प्रस्तुति रहेको संयोजक तथा एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

    ‘साथै नेपालको परम्परा, धर्म र संस्कृति झल्कने मन्दिर अथवा घरको निर्माण गर्ने छौं’ उनले भने । फेस्टिभलको उद्घाटनका लागि जापान र नेपालको तर्फबाट वहालवाल मन्त्रीको सहभागिताका लागि नेपाली राजदूतावास जापान र एनआरएन जापानले पहल गरिरहेको पौडेलले बताए ।

    फेस्टिभलको अनुमानित खर्च १ करोड ५० लाख येन रहेको आर्थिक संयोजक नवीन निउरेले जानकारी दिए ।

    ‘एनआरएन जापानले लामो समयसम्म घाटा सहेर भएपनि फेस्टिभलको आयोजना गर्दै आएको थियो । खुसीको कुरा के छ भने गत वर्ष पहिलो पटक फेस्टिभल नाफामा गयो । यसवर्ष पनि नाफामा लाने हाम्रो लक्ष्य छ’ निउरेले भने ।

    फेस्टिभलको स्पोनजरमा जापानीज संस्था आइएचएनओ समेत रहेको छ । फेस्टिभलमा नेपाल पर्यटन बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मीले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको निउरेले बताए ।

    फेस्टिभलमा २६ वटा व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । जसमा १० वटा नेपाली खानाको, १२ वटा व्यापपारिक तथा ४ आयोजकको प्रयोजिनका लागि स्टल रहने, स्टल व्यवस्थापक संयोजक सुवास लामिछानेले जानकारी दिए । फेस्टिभलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुनेछ ।

    गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिभलको गर्दै आएको र यसलाई निरन्तरता दिएको बताए ।

    कोरोना महामारीमा भने फेस्टिभल गर्न नसकेको एनआरएन जापानले जनाएको छ ।

    आयोजकले फेस्टिभलमा जापान बासी नेपाली जन हरू लाई नेपाली पोशाकमा उपस्थित भइदिन अनुरोध गरेको छ । साथै आफ्नो सम्पर्कमा रहेका जापानिज नागरिकलाई लिएर आउनसमेत अनुरोध गरेको छ ।

  • जसस जापानका युवा नेता खनालकाे आक्राेश: आरजू राणा र प्रकाशशरण महतका कारण अधिवेशन हुन सकेन

    जसस जापानका युवा नेता खनालकाे आक्राेश: आरजू राणा र प्रकाशशरण महतका कारण अधिवेशन हुन सकेन

    जापान । नेपाली कांग्रेस जनसम्पर्क समिति जापानकाे युवा प्रभावशाली नेता राजेश खनालले समितिकाे अधिवेशन नहुनुमा कांग्रेस शीर्ष तहका नेताकाे हात रहेकाे भन्दै आक्राेश पाेखेका छन् । समितिकाे अधिवेशन ७ वर्षसम्म नहुनुमा मुख्य दाेषी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र हालका अर्थमन्त्री प्रकाशशरण महत रहेकाे बताएका हुन् ।

    जनसम्पर्क समिति जापानका सभापति राेशन केसी नेतृत्वकाे कार्यसमितिले ७ वर्षसम्ममा पनि अधिवेशन गर्न सकेकाे छैन । यही कारण जापानमा रहेका नेपाली कांग्रेसका कृयाशील सदस्य र शुभचिन्तकको मनोभावनालाई बन्दक बनाइएकाे र सिङ्गो लोकतन्त्रको नै धज्जी उडेकाे भन्दै खनालले आक्राेश ब्यक्त गरेका हुन् ।

    उनले विगत ९ महिनादेखि कार्यसमितिकाे बैठक पनि बस्न नसकेकाे पनि बताएका छन् । कार्यसमितिकाे बैठकसमेत बस्न नसक्ने कार्यसमितिमा रहेका उपसभापतिलगायतका पदाधिकारीहरु के हेरेर बसेकाे भन्दै उनले बाटाे खुला गरिदिन विगतदेखि नै माग गरिरहेका थिए ।

    विगतमा पनि जनसम्पर्क समिति जापानमा विवाद थियाे । तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुन जोशीले याे विवाद मिलाउनका लागि निवर्तमान सभापति डीपी कँडेलले एक वर्ष र राेशन केसीले एक वर्ष नेतृत्व गर्ने भनि सहमति भएकाे थियाे । कँडेलले एक वर्षकाे सहमति अनुसार सभापति हस्तान्तरण गरेका थिए भने केसीले ६ वर्ष बितिसक्दा पनि अधिवेशन गर्न चाहेका छैनन् ।

    अझ उनले जापानको फुकोओकामा एउटै ठाउँमा २ ओटा कार्यसमिति बनाएर कांग्रेसको आदर्श, लोकतन्त्रको मूल्य मान्यताकाे धज्जी उडाएर बन्द कोठाबाट सिंगो जापानमा रहेका कांग्रेसी जनको मनोभावनालाई कुल्चेर संगठनलाई नै बन्धक बनाइराखेको आराेप पनि खनालले लगाएका छन् ।

    सङ्गठनकाे बेइज्जत हुँदा पनि प्रकासशरण महत र आरजु देउवा राणाको आडमा उनीहरूकाे स्वार्थ पूर्ति नहुने बेलासम्म अधिवेशन नहुने पनि जापानका अन्य नेताहरु बताउँछन् ।

    खनालले नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कर्यकर्ताहरु चरम दास र अवसरवादी भएकाे पनि बताएका छन् । उनले अब अधिवेशन नहुने हाे भने जुझारु युवाहरु मिलेर अर्काे कमिटी गठन गर्ने चेतावनी पनि दिएका छन् ।

    उनले यस विषयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाकाे पनि ध्यानाकर्षण गराएका छन् । खनाल भन्छन् ‘युवाहरुकाे आवाज बुलन्द पार्न र परिवर्तनका लागि नेतृत्व तहमा गएका गगन, विश्वप्रकाश किन यस विषयमा बाेल्दैनन् ? देउवाकाे डरले त हाेइन ?’

    नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको समयमा अधिवेशन सम्पन्न नहुँदा जापानमा रहेका काँग्रेका युवा नेताहरु अन्य पार्टीमा प्रवेश गरी प्रतिस्पर्धामा उत्रेकाे पनि उनले बताएका छन् । उनले अब यस किसिमकाे गतिविधिले नेपाली कांग्रेस पार्टी धराशायी बन्ने र यसकाे जिम्मा लिन तयार भएर बस्न महामन्त्रीद्वयलाई चेतावनी पनि दिएका छन् ।

  • पर्वत समाज जापानले उचाल्याे गलकाेट स्पार्ट्स क्लब जापानकाे आठाैँ सिल्भर रनिङ कपकाे उपाधि

    पर्वत समाज जापानले उचाल्याे गलकाेट स्पार्ट्स क्लब जापानकाे आठाैँ सिल्भर रनिङ कपकाे उपाधि

    जापान । गलकाेट स्पोर्ट्स क्लब टोकियाे, जापानले नवौं वार्षिकोत्सव तथा आठौँ सिल्भर रनिङ पुरुष भलिबल प्रतियाेगिता सम्पन्न गरेकाे छ । उक्त प्रतियाेगिताकाे उपाधि पर्वत समाज, जापानले उचाल्याे ।

    यसैगरी, उप विजेताकाे ट्रफी घुम्टे युवा परिवार, जापान शाखाले हात पार्न सफल भयाे ।

    प्रतियोगितामा विजेता हुने पर्वत समाज जापानले नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र पाएको छ ।

    उपबिजेता घुम्टे युवा परिवार, जापान शाखाले नगद २ लाख १९ हजार ९ सय ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र पाएकाे छ ।

    सेमिफाइनलिष्ट समूह सान्त्वना गल्कोट स्पोर्ट क्लब टोक्यो र गलकाेट समाज जापानले पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र पाएको छ ।

    ‘स्वास्थ्य का लागि खेलकुद, राष्ट्रका का लागि खेलकुद’ भन्ने मूल उद्देश्यका साथ स्थापित भएको यस संस्था ‘गल्कोट स्पोर्ट्स क्लब टोकियो’ले राष्ट्रिय खेल भलिबलको संरक्षण संवर्द्धन, विकास र प्रवासमा रहेका खेलाडीहरुलाई क्रियाशील बनाइराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेकाे छ । क्लबले उक्त प्रतियाेगिता जापानकाे टाेकियाे कामतामा आयाेजना गरेकाे थियाे ।

    कार्यक्रम क्लबका अध्यक्ष डिलाराम निउरेकाे सभापतित्वमा र गलकाेट समाज जापानकी केन्द्रीय अध्यक्ष कालिका थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

    कार्यक्रममा विशिष्ट अतिथि क्लबका संरक्षक गिरि शेरचन, रत्न सिंह बस्नेत, लक्ष्मण कार्की एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष क्लबका सल्लाहकार नवीन निउरे रहेका थिए । यसैगरी, कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार, जापान निवासी नेपाली तथा खेलप्रेमी, क्लबलाई सहयाेग गर्ने दाताहरुकाे उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रममा स्वागत मन्तव्य स्पोर्ट क्लबका सचिव दिनेश थापाले दिएका थिए भने कार्यक्रम सञ्चालन महासचिव हिमाल कँडेलले गरेका थिए । टाेकियोको कामातामा रहेको ओता सिटी जेनरल म्युजियम हलमा भएको प्रतिस्पर्धामा १२ टिम सहभागी थिए ।

    प्रतियोगितामा विजेता टिम भित्रबाट सबैभन्दा उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको उपाधीद्वारा पुरस्कृत गरिएको थियो ।

    उक्त विधा अन्तर्गतको विजेता टिम पर्वत समाज, जापानको टिमबाट उत्कृष्ट खेलाडी देव शर्मा ‘माइला’, बेष्ट क्विकर प्रकाश चन्द्र जोशी, बेष्ट सेटर उमेश लामिछाने, बेष्ट कोच सुभाष लामिछाने र उपविजेता घुम्टे युवा परिवार, जापानको टिमबाट बेष्ट स्पाइकर प्रदिप गुरुङ बेष्ट बल्कर धिरेन्द्र सिंह ठकुरी र बेष्ट डिफेन्डर मनोज केसीलाई ट्रफीद्वारा पुरस्कृत गरिएको खेल संयोजक गणेश केसीले जानकारी दिए ।

    प्रतियोगिताको औपचारिक कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगदाता, संस्थागत सहकार्य गर्नुहुने सामाजिक संघसंस्था, समाजसेवी व्यक्तित्व, त्यसैगरी, नेपालबाट जापानका विभिन्न शहरमा सांगितिक कार्यक्रम लिएर आएको नेपालको इन्द्रेणी टिमलाई घुम्टे नौमति बाजासहित, सम्मान पत्र, मायाको चिनो र खादाद्वारा अध्यक्ष डिलाराम निउरे, प्रमुख अतिथि गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा, संरक्षक गिरी शेरचन, रत्नसिंह बस्नेत, लक्ष्मण कार्की र सल्लाहकार, विशिष्ट अतिथि र अतिथिहरुले सम्मान गरेकाे संस्थाका सचिव दिनेश थापाले बताए ।

    खेल संचालनका लागि रेफ्री, प्राविधिक तर्फको सम्पूर्ण जिम्मेवारी नेपाल भलिबल संघ जापान शाखाले सहयोग उपलब्ध गराएको थियो भने नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गरुङको संयोजकत्वमा सम्पूर्ण खेल सञ्चालन गरिएको थियो । उद्घाटन खेल प्रमुख अतिथि, कालिका थापाबाट र फाइनल खेलमा प्रमुख अतिथि, संरक्षक र सिल्भर कप प्रायोजक गर्ने चन्द्र केसीबाट हस्तान्तरण गरि सुरुवात गरिएको थियो ।

    सन् २०१५ सालमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने एक जना व्यक्तिलाई सम्मान गर्दै आइरहेकोमा यस पटक सो सम्मान पश्चिमाञ्चल नेपाल भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङलाई दिइएकाे थियाे । यसैगरी, संस्थाको स्थापना कालदेखि गल्कोट स्पोर्ट्स क्लब टोकियोको प्रतिनिधित्व गर्दै खेलको माध्यमबाट संस्थाको गरिमा फराकिलो बनाएकोमा १८ जना खेलाडीलाई कार्यक्रममा सम्मान गरिएको अध्यक्ष डिलाराम निउरेले बताए ।

    खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा सञ्चालन भएको थियो । खेल टोकियोको कामाता स्पोर्ट्स सेन्टरमा मंगलबार बिहान १० बजेदेखि सुरु भएकाे थियाे । प्रतियोगिता भव्य र उत्साह पूर्वक सम्पन्न भएकाे महासचिव हिमाल कँडेलले जानकारी दिए ।

  • गलकोट स्पोर्ट्स क्लब, जापानले नवाैँ वार्षिकाेत्सवमा भलिबल प्रतियाेगिता गर्ने

    गलकोट स्पोर्ट्स क्लब, जापानले नवाैँ वार्षिकाेत्सवमा भलिबल प्रतियाेगिता गर्ने

    जापान । गलकोट स्पोर्ट्स क्लब जापानले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आठौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएकाे छ ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल उद्देश्यका साथ सात समुद्रपारी जापानलाई आफ्नो कर्मभूमि बनाई आएका गल्कोटे दाजुभाईबाट एकीकृत रुपमा स्थापित यस संस्था ‘गल्कोट स्पोर्ट्स क्लब, टोकियो’ले राष्ट्रिय खेल भलिबलको संरक्षण संवर्द्धन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाइ राख्न प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे ।

    गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो नवाैँ वार्षिकाेत्सव तथा आठौँ सिल्भर रनिङकप खुल्ला पुरुष भलिबल प्रतियोगिता टाेक्यो कामतामा गर्ने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।

    भलिबल प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख १९ हजार ९ सय ९९ रुपैयाँ नगदसहित रनिङ सिल्भर कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार दुई लाख १९ हजार ९ सय ९९ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, तथा सान्त्वना पुरस्कारमा ५५ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र पुरस्कार रहेकाे महासचिव हिमाल कँडेलले जानकारी दिए ।

    क्लबले वार्षिकोत्सवको तथा वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्चको १o तारिक अर्थात् सोमबार टोकियोको ओटाकु सोउगो ताइइकुकानमा गर्न लागेकाे हाे । उक्त प्रतियाेगिताकाे लागि सम्पूर्ण तयारी पूरा भइसकेकाे क्लबका सचिव दिनेश थापाले जानकारी दिए ।

    प्रतियोगिता सञ्चालनका लागि आवश्यक अम्पाएर खेल मैदानलगायतको व्यवस्थापकीय कार्य चुस्तदुरुस्त रूपमा गर्न लागिएकाे छ । प्रतियाेगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरी नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण सम्वर्द्धन गरिराख्ने क्लबका खेल संयोजक गणेश केसीले बताए ।

    क्लबले जापानमा रहेका सम्पूर्ण सहयाेगी मन, सहयाेगी दाताहरु, खेलप्रेमीलाई कार्यक्रममा उपस्थित हुन आग्रह पनि गरेकाे छ । प्रतियाेगिता बिहान ९ बजेदेखि सुरु हुनेछ ।

  • निलुवा समाज जापानको छैठाैँ साधारणसभा तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न

    निलुवा समाज जापानको छैठाैँ साधारणसभा तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न

    काठमाडाैं । निलूवा समाज जापानको छैठौँ साधारण सभा तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा ‘हाम्रो सान पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मान्यताका साथ निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम तथा साधारायण सभा सम्पन्न भएको छ ।

    २०१५मा स्थापना भएको मानवीय सेवा गर्ने हेतुले निलुवा समाज जापानले मिति २०२२ डिसेम्बर ३१ मा समाजका अध्यक्षको सभापतित्वमा भएको सम्मान तथा साधाराण सभा कार्यक्रम गरेकाे हाे । कार्यक्रम संस्थाका महासचिव भूमिराज सुवेदी ‘ठिटो’ले कार्यक्रम सञ्चालन गरेका थिए ।

    कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जी आर शर्माले दिएका थिए ।

    मन्तव्य राख्ने क्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद सुवेदी, संस्थाका समरक्षक थम क्षेत्री तथा संस्थापक अध्यक्ष तथा संरक्षक भोजिन्द्र सुवेदी ले जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले काम गर्नको लागि लाग्नुपर्ने बताए । उनीहरुले संस्थाकाे विकाशका लागि कुनै कसर बाँकी नराखी एक भएर लाग्ने पनि बताए ।

    नेपालबाट जापानको भ्रमण शिलसिलामा रहेका टीकाराम सुवेदी र शान्ता सुवेदीलाई सम्मान गरेको र संस्थाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गरेकाे वरिष्ठ उपाध्यक्ष रामु खत्रीले जानकारी दिए ।

    कोषाध्यक्ष भूमिराज शर्मा (विष्णु)ले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

    निलुवा समाज जापानले बाग्लुङ जिल्ला गल्कोट नगरपालिका-४ निलूवामा संस्थाले नील बराह मन्दिर निर्माणको लागि शिलान्यास गरिसकेको र बाँकी निर्माणको काम सबै जना लागेर समयमा नै निर्माण सम्पन्न गर्ने गरि छलफल गरेको महासचिव भूमिराज सुवेदी ‘ठिटो’ले जानकारी दिए ।

    संस्थाले निवर्तमान कार्यसमितिका सदस्य तथा सल्लाहकार सदस्यलाई सम्मान र प्रमाणपत्र हस्तान्तरण गरेको छ । साथै, नेपाली टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान सम्मान तथा साधारण सभामा बाक्लो उपस्थिति रहेको सदस्य राजु सुवेदीले जानकारी दिए ।

  • नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

    नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

    काठमाडाैं । नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले अध्यक्ष पदमा बुद्ध बस्नेतलाई निर्वाचित गरेको छ ।

    जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्विरोध निर्वाचित गरेको हो ।

    अध्यक्ष बस्नेतसहित सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिए ।

    तीन उपाध्यक्ष पदमा भिक्टर मगर दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिवमा प्रकाश चन्द्र जोसी, सहसचिवमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सहकोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।

    नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा निर्वाचन समितिका संयोजक एवम् गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले कार्यकाल सफलताको लागि नव निर्वाचित अध्यक्ष बस्नेतसहित सम्पूर्ण कार्यसमितिलाई बधाइ दिए ।

    आफ्नो कार्यकाल सफल गराउन भूमिका खेल्ने निवर्तमान अध्यक्ष रत्न सिंह बस्नेत र कार्यसमितिलाई समेत जापान शाखाका पूर्व अध्यक्ष रहेका गुरुङले धन्यवाद दिए ।

    निर्वाचन समितिको सदस्यमा लक्ष्मण कार्की र महेन्द्र साहनी थिए ।

  • मिर्गाेला पीडित स्याङ्जाका डासिराम विश्वकर्मालाई जापानबाट आर्थिक सहयाेग

    मिर्गाेला पीडित स्याङ्जाका डासिराम विश्वकर्मालाई जापानबाट आर्थिक सहयाेग

    जापान । २ ओटै मिर्गाैला फेल भएका स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका-३ का डासिराम विश्वकर्मालाई जापानबाट आर्थिक सहयाेग प्रदान गरिएकाे छ ।

    आर्थिक अवस्था कमजाेर भएका विश्वकर्मालाई सहयाेग गर्न जापान निवासी नेपाली नागरिकहरुले रकम संकलन गरेका थिए । उनीहरुले संकलन गरिएकाे ८० हजार नेपाली रुपैयाँ विश्वकर्मालाई प्रदान गरेका हुन् ।

    विश्वकर्माले कतारमा सँगै काम गरेका र हाल जापानमा रहेका कञ्चन सापकाेटालाई उपचारकाे लागि सहयाेग गर्न अपिल गरेपछि विश्वकर्माका लागि गलकाेट समाज क्षेत्रीय समिति कान्तो टोकियोका सचिव दीपक सुवेदी ‘विप्लव’ र सापकाेटाले सहयाेग रकम संकलन गरेका थिए ।

    उनीहरुले सहयाेग गर्नेप्रति आभार पनि प्रकट गरेका छन् ।

  • सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी गायिकामाथि दुर्व्यवहार, मोनाकाे गम्भीर ध्यानाकर्षण

    सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी गायिकामाथि दुर्व्यवहार, मोनाकाे गम्भीर ध्यानाकर्षण

    जापान । सांगीतिक प्रस्तुति दिन जापान पुगेकी लोक तथा दोहोरी गायिका अमृता श्रीपालमाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएको छ ।

    म्याग्दी जिल्ला बेनी नगरपालिका-२ की गायिका श्रीपाललाई स्पोन्सर गरी जापान लैजाने ओसाका कोबेस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापाले हातपात, यौन दुर्व्यवहार एवं ज्यान मार्ने धम्की दिएको घटना बाहिरिएको हो ।

    म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति (मोना) जापानले एक प्रेस विज्ञप्ति जारी गरी थापाको उक्त घृणित एवं निन्दनीय कार्यको घोर भर्त्सना गरेको छ ।

    माेनाले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘दोहोरी साँझको नाममा नेपालबाट कलाकार बोलाएर यस्ता हर्कत विगतमा पनि गर्दै आएको बुझिएकोले निजको नियतमै खोट रहेको घटनाक्रमहरूबाट प्रस्ट हुन्छ । सामाजिक एवं न्यायिक सुरक्षाको ग्यारेन्टी भएको देश जापानमा बस्दै गर्दा त्यो हदको ज्यादतीको जति नै निन्दा गरे पनि थोरै हुने व्यहोरा स्पष्ट पार्न चाहन्छौं । एक पटक होइन पटक–पटक ज्यान मार्ने धम्की दिने निज थापाबाट ज्यान जोगाउन पीडित गायिका श्रीपाल भागेर हाल आफन्तको शरणमा बसिरहेको अवस्था छ । भविष्यमा पनि यस्तै ज्यादतीपूर्ण अमानवीय व्यवहार कसैमाथि नदोहोरियोस् भन्ने उद्देश्यले सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौं ।’

    गायिका श्रीपालले आरोप लगाएका धन थापाले भने यो विषयलाई खण्डन गरेका छन् । गायिका श्रीपाललगायत कलाकारलाई आफूले धौलागिरि दोहोरी साँझमा कार्यक्रमका लागि ल्याएको, तर सम्झौता विपरीत अन्य क्लब र दोहोरी साँझमा समेत गाउँदै हिँडेकाले सामान्यरूपमा सम्झाएको बताएका छन् ।