सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी गायिकामाथि दुर्व्यवहार, मोनाकाे गम्भीर ध्यानाकर्षण

जापान । सांगीतिक प्रस्तुति दिन जापान पुगेकी लोक तथा दोहोरी गायिका अमृता श्रीपालमाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएको छ ।

म्याग्दी जिल्ला बेनी नगरपालिका-२ की गायिका श्रीपाललाई स्पोन्सर गरी जापान लैजाने ओसाका कोबेस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापाले हातपात, यौन दुर्व्यवहार एवं ज्यान मार्ने धम्की दिएको घटना बाहिरिएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति (मोना) जापानले एक प्रेस विज्ञप्ति जारी गरी थापाको उक्त घृणित एवं निन्दनीय कार्यको घोर भर्त्सना गरेको छ ।

माेनाले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘दोहोरी साँझको नाममा नेपालबाट कलाकार बोलाएर यस्ता हर्कत विगतमा पनि गर्दै आएको बुझिएकोले निजको नियतमै खोट रहेको घटनाक्रमहरूबाट प्रस्ट हुन्छ । सामाजिक एवं न्यायिक सुरक्षाको ग्यारेन्टी भएको देश जापानमा बस्दै गर्दा त्यो हदको ज्यादतीको जति नै निन्दा गरे पनि थोरै हुने व्यहोरा स्पष्ट पार्न चाहन्छौं । एक पटक होइन पटक–पटक ज्यान मार्ने धम्की दिने निज थापाबाट ज्यान जोगाउन पीडित गायिका श्रीपाल भागेर हाल आफन्तको शरणमा बसिरहेको अवस्था छ । भविष्यमा पनि यस्तै ज्यादतीपूर्ण अमानवीय व्यवहार कसैमाथि नदोहोरियोस् भन्ने उद्देश्यले सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौं ।’

गायिका श्रीपालले आरोप लगाएका धन थापाले भने यो विषयलाई खण्डन गरेका छन् । गायिका श्रीपाललगायत कलाकारलाई आफूले धौलागिरि दोहोरी साँझमा कार्यक्रमका लागि ल्याएको, तर सम्झौता विपरीत अन्य क्लब र दोहोरी साँझमा समेत गाउँदै हिँडेकाले सामान्यरूपमा सम्झाएको बताएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७