काठमाडौं । पाकिस्तानमा इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीले आफ्नो पार्टीबाट निर्वाचित सबै सांसद्हरुले सामूहिक राजीनामा दिने घोषणा गरेको छ ।
नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनु अघि खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय बैठकले यस्तो निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।
पीटीआईको केन्द्रिय सूचना सचिव फारुख हबिबले ट्विटमार्फत भनेका छन्, ‘संसदीय पार्टीले नयाँ आयातित सरकारविरुद्ध संसद्बाट राजीनामा दिने निर्णय गरेको छ ।’
पार्टीको निर्णयलगत्तै सांसद मुराद सइद, पूर्व समुद्र मामिलामन्त्री अली हैदर जइदी, अली अमिन गन्दापुर लगायत ले सांसद पदबाट राजीनामा दिएको बताइएको छ ।
पाकिस्तानी संसद्मा सबैभन्दा ठूलो दल पीटीआईका १५५ सांसद छन् ।
प्रधानमन्त्री खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएपछि उनी आइतबारदेखि नै पदमुक्त भइसकेका छन् । पाकिस्तानको संसद् (राष्ट्रिय सभा) आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए ।
३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक थियाे ।