Tag: भारत

  • एक भारतीय आमा जसले आफ्नी छाेरीकाे “मृतक” बलात्कारी पत्ता लगाइन्

    एक भारतीय आमा जसले आफ्नी छाेरीकाे “मृतक” बलात्कारी पत्ता लगाइन्

    गत वर्ष भारतको उत्तरी राज्य बिहारमा एक महिलालाई उनकी छोरीको बलात्कारीको मृत्यु भएको बताइयो । लगत्तै ती मानिस विरुद्धको मुद्दा बन्द गरिएको थियो । तर, ती महिलाले त्यस व्यक्तिको मृत्यु भएको भन्ने दाबीमाथि प्रश्न उठाइन् र यथार्थ उजागर गरिन् ।

    जसका कारण मुद्दा पुनः चल्यो र अन्ततः उनकी छोरीको निम्ति न्याय सुनिश्चित भयो । बीबीसीका सौतिक बिस्वासले ती आमाको संघर्षको अन्तर्कथा यहाँ प्रस्तुत गरेका छन् ।

    गत वर्ष, सम्भवतः फेब्रुअरी महिनाको एक बिहान, दुई जना पुरुषहरू भारतको पवित्र नदी गङ्गाको किनारमा अवस्थित दाहसंस्कार स्थलमा पुगे ।

    उनीहरू हिन्दू परम्परा अनुसार अन्तिम संस्कारका लागि त्यहाँ पुगेका थिए। उनीहरूले दाउरा बोकेका थिए तर रोचक त के भने कुनै शव ल्याएका थिएनन्।

    उनीहरू दाहसंस्कार गर्ने ठाउँमा पुगेपछि घटनाले अस्वाभाविक मोड लियो।

    दुईजना मिलेर भुईँमै चिता बनाए। त्यसपछि उनीहरूमध्ये एकजना आफै चितामा सुते। सेतो कात्रोले आफैलाई ढाके र आँखा बन्द गरे। अर्कोले चाहिँ चितामा सुतेको व्यक्तिको टाउको बाहेक पूरा शरिर नढाकिएसम्म दाउरा थपिरहे।

    त्यसपछि त्यो अवस्थाको दुईवटा तस्बिर खिचियो। तस्बिर कसले खिच्यो वा त्यहाँ तेस्रो व्यक्ति पनि थियो कि भन्ने स्पष्ट छैन।

    “मृतक” बनेका व्यक्ति एक सरकारी विद्यालयका शिक्षक ३९ वर्षीय नीरज मोदी थिए। अर्का व्यक्ति उनका ६० वर्षमाथिको उमेरका बुबा राजाराम मोदी थिए, जो एक किसान हुन्।

    त्यसपछि राजाराम मोदी एक वकिललाई साथ लिएर करिब १०० किलोमिटर टाढा रहेको अदालतमा पुगे।

    त्यहाँ उनले छोरा नीरज मोदीको फेब्रुअरी २७ मा उनीहरूको गाउँको घरमा मृत्यु भएको बयान दिएर कानुनी दस्तावेजमा हस्ताक्षर गरे।

    उनले दाहसंस्कारका दुई तस्बिर र दाहसंस्कारका लागि दाउरा खरिद गरेको रसिद प्रमाणका रूपमा पेस गरे।

    तस्बिरमा देखिएका मृत मानिस बलात्कार अपराधी नीरज मोदी हुन् ।

    प्रहरीले नीरजविरुद्ध बलात्कारको अभियोग पत्र दायर गरेको ६ दिनपछि यो सबै भएको थियो।

    उनलाई सन् २०१८ को अक्टोबरमा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो।

    ती बालिका उनकै विद्यार्थी थिइन् र उनलाई उखुबारीमा एक्लै हुँदा जबरजस्ती करणी गरिएको थियो।

    बलात्कारीले आफूले घटनाको भिडिओसमेत खिचेको र त्यसलाई अनलाइनमार्फत् सार्वजनिक गरिदिने भनेर पिडितलाई धम्काएका थिए।

    बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि मोदी पक्राउ परेका थिए र दुई महिना जेलमा बिताएपछि धरौटीमा रिहा भएका थिए।

    गत वर्ष नीरज मोदीको “मृत्यु” भएपछि घटनाक्रम द्रुत गतिमा अघि बढ्यो। उनका बुबाले अदालतमा जानकारी दिएको दुई महिनापछि स्थानीय अधिकारीहरूले उनको मृत्यु प्रमाणपत्र जारी गरिदिए।

    अदालतले सोही वर्ष मे महिनामा “मुद्दाका एक मात्र अभियुक्त”को मृत्यु भएका कारण मुद्दामाथिको कारबाही बन्द गरिदियो।

    केवल एक व्यक्तिले मात्र ती शिक्षकले आफ्नो मृत्युको नाटक गरेको र सजाय भोग्नबाट जोगिन लुकेको शङ्का गरिन्।

    ती व्यक्ति हुन् पिडित बालिकाकी आमा, शारीरिक रूपमा कमजोर महिला जो मोदीसँगैको गाउँमा एक झुपडीमा बस्थिन्।

    “नीरज मोदीको मृत्यु भयो भनेर दाबी गरिएको थाहा पाएकै क्षण मलाई थाहा थियो कि त्यो खबर झूटो हो। मलाई थाहा थियो ऊ जीवितै छ भन्ने,” मैले हालसालै उनलाई भेट्दा ती आमाले भनिन्।

    भारतमा हुने १० मध्ये सात मृत्यु देशको लगभग ७००,००० वटा गाउँहरूमा हुन्छन्।

    सहरको तुलनामा गाउँमा धेरैको मृत्यु घरमै हुन्छ। ५४ वर्ष पुरानो कानुन अनुसार जन्म र मृत्यु अनिवार्य दर्ता गर्नु पर्छ तर मृत्युको कारण खुलाउनु पर्दैन।

    बिहारको गाउँमा कुनै व्यक्तिको निधन हुँदा मृतकको परिवारको सदस्यले आफ्नो बायोमेट्रिक परिचय नम्बर पेस गर्नुपर्ने नियम छ।

    त्यस्तै मृत्यु प्रमाणित गर्न अन्य पाँच जना गाउँलेले हस्ताक्षरसहित मृत्यु पुष्टि गर्नुपर्छ।

    त्यसपछि ती कागजपत्र स्थानीय पञ्चायत वा ग्राम पञ्चायतमा बुझाउनु पर्छ।

    स्थानीय रजिस्ट्रारसहित परिषद्का सदस्यहरूले कागजपत्रको जाँच गर्छन् र सबै कुरा ठीक भएको खण्डमा एक साताभित्र मृत्युको प्रमाणपत्र प्राप्त हुन्छ।

    “हाम्रा गाउँहरू बाक्ला छन् र सबै जना निकट छौँ। सबैले एकअर्कालाई चिन्छौँ। कसैको मृत्युबारे अरू कोही बेखबर रहँदैनन्,” पीडितका वकिल जय करण गुप्ता भन्छन्।

    राजाराम मोदीले पाँच जना गाउँलेको हस्ताक्षर, बायोमेट्रिक परिचय नम्बर र आफ्नो छोराको मृत्यु पुष्टि गर्ने बयानपत्र बुझाएर छोराको मृत्यु प्रमाणपत्र लिएका थिए। कागजपत्रमा मृत्युको कारण उल्लेख गरिएको छैन। दाउरा पसलमा दिइएको रसिदमा “रोग”को कारण मृत्यु भएको जनाइएको छ।

    गत मेको एक दिन एक जना वकिलले, बालिकाकी आमालाई नीरज मोदीको मृत्यु भएको कारण उनी विरुद्धको मुद्दा बन्द भएको जानकारी दिए।

    “तर एक जना शिक्षकको मृत्युबारे कसरी कसैलाई थाहा भएन? मृत्युपछि किन परम्परागत मृत्युसंस्कार गरिएन? मृत्युको बारेमा किन चर्चा भएन?,” उनले प्रश्न गरिन्।

    उनले नीरज मोदीको मृत्यु भएको हो या होइन भन्दै घरघरमा पुगेर मानिसहरूसँग बुझेको बताइन्। तर, उनको मृत्युबारे कसैले थाहा पाएका थिएनन्। त्यसपछि उनी यस विषयमा अनुसन्धानको मागसहित निवेदन लिएर अदालत धाइन्। न्यायाधीशहरूले आरोपित जीवित रहेको प्रमाणित गर्न उल्टै प्रमाण माग गरे।

    मे महिनाको बीचतिर, ती आमाले ग्राम पञ्चायतले नक्कली कागजपत्रको आधारमा मृत्यु प्रमाणपत्र जारी गरेको र यस विषयमा अनुसन्धान हुनुपर्ने जनाउँदै एक वरिष्ठ स्थानीय अधिकारीलाई निवेदन दिइन्।

    त्यसपछि घटनाक्रमले गति लियो।

    ती उच्च अधिकारीले घटनासम्बन्धी छानबिन गर्न निर्देशन दिए र ग्राम पञ्चायतलाई जानकारी गराए। त्यसपछि पञ्चायतका सदस्यहरूले राजाराम मोदीसँग उनको छोराको मृत्यु भएको बारे “मृत्युपछि मृतकको फोटो, दाहसंस्कार, जलेको चिता, मृत्युपछिका संस्कार र पाँच साक्षीहरूको ताजा बयान” लगायत थप प्रमाण मागे।

    ग्राम पञ्चायतका सदस्यले करिब २५० घर भएका गाउँका बासिन्दाहरूलाई भेटे। तीमध्ये कसैले पनि नीरज मोदीको मृत्युबारे सुनेको पाइएन। हिन्दूहरूमा शोक मनाउने परम्परा अनुसार कसैको मृत्युपश्चात् निकट आफन्तहरूले टाउको खौरन्छन्। तर मोदी परिवारका कुनै पनि सदस्यले कपाल खौरिएको देखिएन।

    मृत्युदर्ताकाे प्रमाणपत्र ।

    “नीरज मोदीकै आफन्तहरूलाई समेत उनको मृत्यु वा उनी कहाँ छन् भन्ने थाहा छैन। उनीहरूले यदि कसैको मृत्यु हुन्थ्यो भने उसको अन्तिम संस्कार घरमै गरिने कुरामा जोड दिए,” अनुसन्धानमा खटेका प्रहरी अधिकारी रोहितकुमार पासवानले भने।

    ग्राम पञ्चायतका सदस्यहरूले राजाराम मोदीलाई पुनः एक पटक प्रश्न गरे। उनले आफ्नो छोराको मृत्युको ताजा प्रमाण दिन सकेनन्। “जब हामीले उनलाई थप प्रश्न गर्‍यौँ उनले कुनै चित्तबुझ्दो जवाफ दिन सकेनन्,” पञ्चायतका सचिव धर्मेन्द्र कुमारले बताए।

    नीरज मोदीले आफ्नो मृत्युबारे नाटक गरेको र बाबुछोरा दुवैले मृत्यु प्रमाणपत्र प्राप्त गर्न किर्ते कागजपत्र बनाएको अनुसन्धानको निचोड रह्यो।

    नीरज मोदीले आफ्नै मृत्युको प्रमाणपत्र लिन पाँच जना विद्यार्थीहरूको अभिभावकको बायोमेट्रिक परिचय नम्बर लिएको र फर्जी हस्ताक्षर गरेको प्रहरीले पत्ता लगायो। उनले ती अभिभावकहरूसँग विद्यार्थीलाई छात्रवृत्ति व्यवस्थापन गर्न उनीहरूको बायोमेट्रिक आवश्यक पर्ने बताएका थिए।

    मे २३ मा अधिकारीहरूले नीरज मोदीको मृत्यु प्रमाणपत्र खारेज गरिदिए। प्रहरीले उनको बुबालाई पक्राउ गरेर किर्ते कागजपत्र बनाएको अभियोग लगाए।

    “मैले आफ्नो सेवा अवधिभर यस्तो मुद्दा अनुसन्धान गरेको थिइनँ,” पासवानले भने। ” सुन्दा त घटनाक्रमको रचना एकदम पक्का र बलियो सुनियो तर त्यो त्यस्तो थिएन।”

    जुलाईमा अदालतले अभियुक्तले “सजायबाट बच्न” “धोका दिएको र गलत जानकारी दिएको” भन्दै मुद्दा पुनः सुरु गर्‍यो। नीरजको खोजी गर्न अथक लडिरहेकी आमा उनलाई पक्राउ गर्ने मागसहित पुनः अदालत पुगिन्।

    १४ वर्षको जेल सजाय घोषणा भएपछि नीरज मोदी ।

    मृत घोषित भएको नौ महिनापछि गत अक्टोबरमा नीरज मोदीले अदालतसमक्ष आत्मसमर्पण गरे। सुनुवाइका क्रममा उनले बलात्कारको आरोप खण्डन गर्दै आफ्नो बचाउ गरेका थिए। तर उनी योपल्ट उनी टाउको झुकाएर र डोरीले बाँधिएको अवस्थामा अदालतबाट निस्किए।

    गत महिना अदालतले नीरज मोदीलाई नाबालिग बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै १४ वर्षको जेल सजाय सुनाएको थियो। आदेशले पीडितलाई तीन लाख भारतीय रुपैयाँ क्षतिपूर्ति प्रदान गर्‍यो। राजाराम मोदी पनि ठगी र बेइमानी गरेको आरोपमा जेलमा छन्। उनलाई बढीमा सात वर्षसम्मको जेल सजाय हुन्छ। अहिले यी दुवै बाबुछोरा मृत्यु प्रमाणपत्र सम्बन्धी मुद्दा लडिरहेका छन्।

    “मेरी छोरीलाई गलत व्यवहार गर्ने व्यक्तिलाई कारबाही सुनिश्चित गर्न म तीन वर्षभन्दा बढी समय अदालत धाइरहेँ। एक दिन अचानक उनको वकिलले मलाई ऊ मरिसकेको बताए। एउटा मान्छे कसरी यतिकै हराउन सक्छ?,” ती आमा भन्छिन् ।

    “ती वकिलले मलाई नयाँ मुद्दा लडेर उनको मृत्यु नक्कली भएको प्रमाणित गर्न धेरै खर्च हुने बताए। अरूले अभियुक्त जेलबाट निस्किएर बदला लिन सक्ने चेतावनी दिए।”

    “मैले वास्ता गरिनँ। मैले नडराउने र पैसाको व्यवस्था गर्ने बताएँ। मैले न्यायाधीश र अधिकारीहरूलाई भनेको थिएँ: ‘सत्य पत्ता लगाउनुहोस्’।”

    भारतको सबैभन्दा गरिब राज्य बिहारको भित्री भागमा रहेको पीडितको गाउँसम्म पुग्न हामीले खाल्डाखुल्डी भएका सडक, खुल्ला ढलहरू, झुपडीहरू, पहेँलै भएको तोरी बारी र धुवाँले भरिएको इँटा भट्टा हुँदै गाडीको यात्रा गर्‍यौँ।

    ती आमा आफ्ना दुई स्कुल जाने उमेरका छोराहरू र छोरीसँग बस्ने रहिछन्। जस्ता र टायलको छानो भएको उनीहरूको कोठा निकै सानो थियो। उनको जेठी छोरी विवाह गरेर अन्यत्र बस्न थालेकी रहेछिन्।

    उनीहरूको निरस र अँध्यारो कोठामा निकै कम सामानहरू थिए: एउटा डोरी र काठको खाट, अन्न राख्न एउटा स्टिलको भाँडो, भुईँमा टाँसिएको माटोको चुल्हो र लगाउने कपडाको थुप्रो। यो परिवारको आफ्नो जमिन रहेनछ।

    गाउँमा पानी र बिजुली पुगेको थियो तर रोजगारी थिएन। त्यसैले उनका बुबा १,७०० किलोमिटरभन्दा पर दक्षिणी राज्यमा बसाइँ गएका थिए। त्यहाँ उनले भारी बोक्ने मजदुरका रूपमा काम गर्थे र कमाएको पैसा घर पठाउँथे।

    बालिकाको परिवार विहारको एक भित्री गाउँमा बस्छ ।

    सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सरकारले व्यापक शौचालय निर्माण अभियानपछि भारतका शत प्रतिशत गाउँहरू ‘खुला दिसामुक्त’ भएको घोषणा गरेका थिए। तर, पीडित बालिकाको आमासहित धेरै घरहरूमा अझै पनि शौचालयको अभाव छ।

    त्यसैले उनकी छोरी नजिकैको उखुबारीलाई शौचालयको रूपमा प्रयोग गर्न गएकी थिइन्। न्यायाधीश लवकुश कुमारले गरेका फैसला अनुसार त्यसै बेला नीरज मोदी पछाडिबाट उनीसम्म पुगेर उनको मुख थुनेर जबरजस्ती करणी गरेका थिए। उनले उक्त कार्यको भिडिओ रेकर्ड गरेको र त्यसबारे कसैलाई भने भिडिओ भाइरल गरिदिने धम्की दिएको न्यायाधीशले बताए।

    “त्यो घटनापछि मेरी छोरीको जीवन रोकिएको छ,” उनकी आमाले भनिन्।

    घटना भएको १० दिनपछि डराएकी ती युवतीले आफ्नी आमासँग सबै कुरा भनिन्। उनकी आमा प्रहरीकहाँ गइन् र त्यसको केही दिनपछि बालिकाले प्रहरीलाई बयान दिइन्। उनले प्रहरीसमक्ष भनिन्,”नीरज मोदीले स्कुलमा प्रायः मलाई कुट्छन्।”

    नीरज पक्राउ परेपछि बालिका विद्यालय जान थालेकी थिइन्। तर, उनी धरौटीमा रिहा हुँदा उनी पढ्न जान छोडिन्। अब त उनी विद्यालय नगएको पनि चार वर्ष भयो। उनका पुस्तकहरू कबाडीमा बिक्री गरिएका छन्।

    फुस्रो र डर बोकेको मुहार बोकेर ती बालिका अहिले आफ्नो अधिकांश समय अँध्यारो कोठामा बिताउँछिन्। “उसको विद्यार्थी जीवनको अन्त्य भयो। मलाई उसलाई बाहिर पठाउन डर लाग्छ। मलाई उसको विवाह गराउन सक्छु कि भन्ने आशा छ,” उनकी आमाले भनिन्।

    धेरै प्रश्न अनुत्तरित नै छन्। ग्राम पञ्चायतले कागजपत्रहरू राम्रोसँग जाँच समेत नगरी कसरी प्रमाणपत्र जारी गर्‍यो? “जब मैले उनीहरूलाई चुनौती दिएँ, उनीहरूले गल्ती गरेको स्वीकार गरे,” ती आमाले भनिन्।

    नीरज मोदीको घटना “धेरै असामान्य र दुर्लभ” भएको बताउँछन् टोरन्टो विश्वविद्यालयका प्राध्यापक प्रभात झा।

    “हाम्रो कामको सिलसिलामा त्यस्तो एउटा पनि घटना भेटेका छैनौँ,” उनले भारतको वृहत् मिलियन डेथ स्टडीलाई उल्लेख गर्दै भने।

    “यस किसिमको दुरुपयोगको सम्भावना कम छ। तर मृत्यु दर्ताको लागि थप प्रतिबन्धहरू वा सीमा राख्नेबारे हामीले थप सावधानी अपनाउनु पर्छ। किनकि त्यस्ता प्रतिबन्धहरूले परिस्थिति अझै जटिल बनाउन सक्छ,” झाले भने।

    कारण: भारतमा मृत्यु र चिकित्सा दर्ता प्रक्रियामा पुरुषभन्दा बढी महिलाहरू र धनीभन्दा बढी गरिबहरू नगनिने भएकाले सम्पत्ति हस्तान्तरण र अन्य प्रयासहरूलाई झनै गाह्रो बनाउँछ। “सम्भवतः गरिबीको दलदलमा पुर्‍याउँछ।”

    “मैले पूरा गाउँ र अधिकारीहरूलाई यथार्थसम्म पुग्न दबाब दिएँ। मेरी छोरीलाई गलत व्यवहार गर्ने र उसको जीवनमा असर पुर्‍याउने मान्छे कारागारमा भएकाले म खुसी छु।”

    “तर मेरी छोरीको जीवन ठप्प भयो। अब उसलाई के हुन्छ?”

    –बीबीसी नेपालीबाट साभार । 

  • भारतीय विदेश सचिव तीन दिने भ्रमणका लागि नेपाल आउने

    भारतीय विदेश सचिव तीन दिने भ्रमणका लागि नेपाल आउने

    काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

    फागुन एक गते साेमबार उनी नेपाल आउन लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

    दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो ।

    भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने पनि जनाइएकाे छ ।

    उक्त अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनेछन् ।

  • बिहारको सबैभन्दा ठूलो ‘जेलब्रेक’ घटना, जसबारे बनाइएकाे वेब सिरिजको चर्चा

    बिहारको सबैभन्दा ठूलो ‘जेलब्रेक’ घटना, जसबारे बनाइएकाे वेब सिरिजको चर्चा

    बिहारको बारेमा बनाइएकाे वेब सिरिज अहिले चर्चामा छ । सुधीर मिश्राको यो वेब सिरिज ‘जहानाबाद अफ लभ एण्ड वार’ सोनी लिभमा रिलिज भएको छ ।

    ‘जहानाबाद अफ लभ एण्ड वार’ सन् २००५ को ‘जेहानाबाद जेलब्रेक’ घटनामा आधारित छ । त्यसबेला आफ्ना साथीहरूलाई बाहिर निकाल्न करिब एक हजार माओवादीले रातको अँध्यारोमा जेलमा नै आक्रमण गरेका थिए ।

    करिब दुई दशकअघि बिहारमा चलिरहेको जातीय द्वन्द्वमा हालै बनेको यो दोस्रो वेब सिरिज हो ।

    यसअघि यस्तै सत्य घटनालाई लिएर ‘खाकी द बिहार च्याप्टर’ पनि बनेको थियो, जसले निकै हेडलाइन्स बटुलेको थियो ।

    के भएकाे थियाे १३ नाेभेम्बर २००५ मा ?

    नोभेम्बर १३ आइतबार थियो । राति करिब ९ बजे बिहारको जेहानाबाद जिल्ला सदरमुकाममा ठूलो संख्यामा माओवादीले आक्रमण गरेका थिए । जेहानाबाद राजधानी पटनाबाट मात्र ६० किलोमिटर टाढा छ ।

    करिब एक हजार माओवादी चरमपन्थीले जेहानाबाद जेलमा मेसिनगन, बम र आधुनिक हतियारसहित आक्रमण गरेका थिए । उनले केही माओवादी नेतालाई जेलबाट रिहा गरेका थिए ।

    माओवादीले मगध रेन्जका एरिया कमाण्डर अजय कानु र उनका केही सहकर्मीलाई कारागारबाट लगेको प्रशासनले आक्रमणपछि जनाएको थियो ।

    माओवादीकाे मुख्य उद्देश्य अजय कानुलाई रिहा गर्ने मात्र थियो ।

    अजय कानु, पूर्व माओवादी नेता ।

    अजय कानुमाथि सन् १९९० मा जहानाबादमा भएको हत्याको आरोप थियो तर उनी फरार थिए ।

    कानुलाई सन् २००२ मा पटनाबाट पक्राउ गरी जेहानाबाद जेलमा राखिएको थियो ।

    यस घटनामा जेलमा रहेका रणवीर सेनाका कमाण्डर बिनु शर्मा उर्फ ​​बडे शर्माको पनि मृत्यु भएको थियो ।

    रणवीर सेना जमिनदारहरूले समर्थन गरेको सेना थियो, जसको प्रत्यक्ष लडाइ माओवादीसँग थियो । यसबाहेक जेल तोडफोडमा प्रहरीसहित अन्य तीन जनाको पनि मृत्यु भएको थियो ।

    अजय कानु हाल धरौटीमा रिहा भएका छन् ।

    याे वेब सिरिज रिलिज भएपछि अजय कानुले बीबीसीसँग भनेका छन्, ‘मैले ‘जेहानाबाद अफ लभ एण्ड वार’ शृंखला हेरेको छु । यो पूर्णतया काल्पनिक कथा हो । जहाँ जेहानाबादको अवस्था, त्यहाँका मानिसहरू, त्यहाँको समाजको कुनै चर्चा गरिएको छैन ।’

    अजय कानुले वेब सिरिजलाई हिट बनाउन र पैसा कमाउन जबरजस्ती दुरुपयोग गरिएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘बुद्धिजीवीहरूलाई यो पटक्कै मन पर्दैन ।’

    ‘जेहानाबाद जेलब्रेक घटना’ अजयलाई बाहिर निकाल्नकै लागि भएको हो ? भन्ने बीबीसीकाे प्रश्नमा उनले यति मात्र भने- ‘जब जेल भत्कियो, सबै मानिस बाहिर आए ।’

    अजय आफूलाई राजनीतिक व्यक्ति मान्छन् । उनका अनुसार माओवादी सङ्गठनमा एरिया कमाण्डर खासै ठूलो पद होइन, सङ्गठनमा ३०, ४० वा ५० जनाभन्दा बढी कमाण्डर हुन्छन् ।

  • बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार

    बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार

    काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो ।

    उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

    ब्यूरोले पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ’ ब्यूरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

    उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।

    साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

    उनले थपे, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।’

    निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियाैँ । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।’

    पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली भइ दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

    भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

    अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

  • नेपालको विकासमा जोड दिन भारत प्रतिबद्ध छ : भारतीय राजदूत श्रीवास्तव

    नेपालको विकासमा जोड दिन भारत प्रतिबद्ध छ : भारतीय राजदूत श्रीवास्तव

    धनुषा । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले नेपालको विकासमा जोड दिन प्रतिबद्ध रहेको बताएका छन् ।

    नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न लागिपरेको बताए ।

    जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा थप विकास गर्न भारत सरकार लागिपरेको उनकाे भनाइ थियाे ।

    राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा नै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए ।

    उनले भने, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ । त्योभन्दा पनि बढी जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतले जोड दिएको छ । किनकि नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो ।’

    राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

  • ६ हजार रुपैयाँकाे लागि आफ्नाे श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

    ६ हजार रुपैयाँकाे लागि आफ्नाे श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

    भारत । भारतकाे कानपुरमा ६ हजार रुपैयाँकाे लागि आफ्नाे श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ परेकी छन् ।

    कानपुरकाे सुराैली गाउँमा ६ हजार रुपैयाँकाे विवादमा आफ्नाे श्रीमान उमेशकाे हत्या गरेकाे माेनिकाले प्रहरीसमक्ष स्वीकार गरेपछि सिंगाे गाउँ स्तब्ध बनेकाे छ ।

    परिवारले उमेशकाे खाेजी गर्न प्रहरीसमक्ष आग्रह गरेपछि महिला हवल्दारले मोनिकालाई उमेशको बारेमा सोध्दा उनले हत्या गरेको स्वीकार गरी आफू सुतेकाे खाटतर्फ इशारा गरेकी थिइन् ।

    श्रीमानको हत्या गरी शव कोठामा गाडेपछि त्यसमाथि उनले खाट लगाएकी थिइन् । त्यसपछि रातभर उनी त्यहीँ सुतेकी थिइन् ।

    प्रहरीले जमिन खनेर शव निकालेको थियो ।

    मोनिकाको पति उमेशसँग बारम्बार झगडा हुने गरेको आमा शिवदेवीले प्रहरीलाई बताएकी छन् । उमेशकाे चार दाजुभाइ छन् । उनीहरु सुराैली गाउँमा अलग-अलग घरमा बस्छन् ।

    गएकाे मंगलबार उनीहरुबीच साँझ ६ हजार रुपैयाँका लागि विवाद भएको थियो । उमेशले एउटा भैँसी बेचेका थिए । जसकाे ६ हजार रुपैयाँ माेनिकासँग थियाे । त्यही पैसामा विवाद बढेकाे थियाे ।

    मोनिका र उमेशका दुई छोराछोरी गाउँकै प्राथमिक विद्यालयमा पढ्छन् । दुवै जनालाई बुधबार बिहान १० बजे मोनिकाले विद्यालय पठाइन् ।

    दिउँसो उमेश सुतिरहेका बेला भाँडोले घाँटी थिचेर हत्या गरिन् । त्यसपछि शवलाई कोठामै गाडिन् । घटनामा मोनिकासहित अरु कोही संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।

    प्रहरीलाई खबर गर्दा पनि मोनिकाले गेट नखोल्दा प्रहरी छिमेकीको घरबाट भित्र पसेका थिए । महिला हवल्दारले मोनिकालाई सोधपुछ गरेपछि उनले हत्या गरेको स्वीकार गरेकी थिइन् । उनले हत्या स्वीकार गरेपछि आफन्तले आक्रोश पोखे र मोनिकालाई कुटपिट गरे । प्रहरीले उनलाई त्यहाँबाट बचाएर लगेकाे थियाे ।

  • भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

    भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

    भारत । भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् ।

    सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ ।

    प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात दिनको समयसीमा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हिमाली राज्य सिक्किममा मूलतः नेपाली, भुटिया र लेप्चा समुदायको बसोबास छ । एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किमले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

    सर्वोच्चले यो सङ्गठनको पक्षमा गएको जनवरी १३ मा फैसला गरेको थियो । यही फैसलाका क्रममा सर्वोच्चले सिक्किमका बहुसङ्ख्यक नेपालीभाषीलाई विदेशी र आप्रवासी भनी टिप्पणी गरेपछि आन्दोलन सुरु भएको हो ।

  • ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस्

    ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस्

    काठमाडौं । भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् ।

    रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परीक्षा दिन परीक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र एक्लो केटा मान्छे रहेको थाह पाएपछि बेहोस् भएका हुन् ।

    मनिष शंकर अल्लाम इकबाल कलेजका विद्यार्थी हुन् भने उनको केन्द्र बिहार शरीफको ब्रिलियन्ट कन्भेन्ट स्कूलमा परेको थियो ।

    परीक्षा केन्द्रमा पुग्दा सबै केटीहरूलाई देखेर उनको अवस्था बिग्रिएको र उनी बेहोस भएको बताइएको छ ।

    ‘परीक्षा केन्द्रमा आफूलाई एक्लै पाएपछि उनी आत्तिए । यस केन्द्रका सबै केटीहरूमध्ये उ एक मात्र केटा रहेछ र यो देखेर उसलाई चक्कर लाग्यो । मनिषकी काकीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

    यस घटनासँग सम्बन्धित एक भिडिओ हाल भारतीय सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

  • भारतीय व्यवसायी अडानीले गुमाए तीन दिनमा ६५ अर्ब डलर

    भारतीय व्यवसायी अडानीले गुमाए तीन दिनमा ६५ अर्ब डलर

    काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले तीन दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् ।

    अडानी समूहका कम्पनीको शेयर मूल्य घटेपछि उनको सम्पत्ति घटेको हो ।

    टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार पछिल्लो तीन दिन अर्थात २५, २७ र ३० जनवरीको कारोबारमा अडानी समूहको बजार पूँजीकरण २९ प्रतिशतले घटेको हाे ।

    अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्गले अडानीका कम्पनी र लगानीमाथि प्रश्न उठाएर प्रतिवेदन सार्वजनिक गरेका कारण उनकाे कम्पनीको शेयर मूल्य घटेको हो ।

    सम्पत्ति घटेपछि अडानी विश्वको पाँच धनी व्यक्तिको सूचीबाट हटेका छन् र उनी अहिले विश्वको आठौँ धनी व्यक्ति बनेका छन् ।

  • दिल्लीमा हल्का वर्षा, न्यूनतम तापमान ९.३ डिग्री सेल्सियस मापन

    दिल्लीमा हल्का वर्षा, न्यूनतम तापमान ९.३ डिग्री सेल्सियस मापन

    काठमाडाैं । दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो ।

    भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार दिल्लीको अधिकतम तापक्रम सामान्यभन्दा दुई डिग्री बढी २१.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

    बिहीबार साँझ ६ः३० बजेको सापेक्षिक आर्द्रता ७३ प्रतिशत रहेको थियो ।

    पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान र पश्चिमी उत्तर प्रदेशमा पश्चिमी अवरूद्धता र सतहमा लागेकोे हावाका कारण कुहिरोको स्थितिमा उल्लेखनीय सुधार आएको छ ।

    पूर्वी उत्तर प्रदेश र बिहारमा बाक्लो कुहिरो लाग्ने क्रम जारी रहेको बताउँदै भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले जनवरी १५ देखि दिल्ली र यसका छिमेकी राज्यका केही स्थानमा शीतलहर पुनः जारी रहने जनाएको छ ।