बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो ।

उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

ब्यूरोले पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ’ ब्यूरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।

साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

उनले थपे, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।’

निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियाैँ । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।’

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली भइ दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७