Tag: शेखर काेइराला

  • नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएकाे छ : शेखर काेइराला

    नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएकाे छ : शेखर काेइराला

    काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको बताएका छन्।

    शनिबार ट्वीट गर्दै कोइरालाले नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन भ्रष्टाचारविरूद्ध आम नगारिकसँग एकाकार गर्दै राष्ट्रिय साझा अभियानको थालनी गर्नुपर्ने बताएका छन् ।

    कोइरालाले राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामू देशको शिर निहुँरिएको टिप्पणी गरेका छन् ।

    त्यसकारण राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्ने उनले बताए ।

    ‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ,’ उनले लेखेका छन्, ‘अब समय आएको छ भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने ।’

  • गगनको तगारो शेखर

    गगनको तगारो शेखर

    काठमाडाैं । अन्ततः कांग्रेस महामन्त्री गगन थापाको राजनीतिक यात्राको बाधक डा. शेखर कोइराला बनेका छन् । संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने थापाको अभियानमा कोइराला पर्खाल झैं उभिएपछि थापालाई समस्या भएको छ ।

    कोइराला र थापा एउटै गुटका हुन् । १४औं महाधिवेशनमा युवालाई मौका दिनुपर्ने भन्दै कोइरालाले युवाहरुलाई समेटेर टिम बनाएका थिए । सोही समूहबाट थापाले महामन्त्रीमा जित निकालेका थिए । कोइराला समूहबाट उपसभापति धनराज गुरुङसहित सह महामन्त्रीमा बद्री पाण्डे, जीवन परियारलगायत विजयी भएका थिए ।

    महामन्त्री थापाले कांग्रेसको सुदृढीकरण र मुलुक परिवर्तनका लागि शेरबहादुर देउवालाई निशाना बनाएका थिए । देउवा भएसम्म पार्टी नबन्ने र मुलुकपनि उँभो नलाग्ने उनको बुझाइ छ । यसका लागि पार्टी भित्रैबाट उनलाई विगतमा कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले साथ दिएका थिए ।

    १४औं महाधिवेशनमा उनले शेखर कोइरालाको दरिलो साथ पाए । तर, अहिले कोइरालालाई प्रयोग गरेर दलको नेता बन्ने थापाको अभियानमा ठेस मात्र लागेको छैन, उनको भावी राजनीतिक जीवनसमेत धरापमा परेको छ ।

    कोइरालालाई थापाले संसदीय दलको नेता बनाउन अन्कनाउनु गम्भीर रुपमा हेरिएको छ । यस्तै, थापाले आफूलाई ‘अण्डरइस्टिमेट’ गरेको कोइरालाको बुझाइ छ । आफूसंग परामर्श नै नगरी थापाले दलको नेता बन्न अभियान थालेपछि कोइराला असन्तुष्ट छन् । यही कुरा अहिले थापालाई भारी परेको छ ।

    कोइरालाले दलको नेता बन्ने थापाले आफूलाई प्रस्ताव गरुन् भनेर इच्छा गरेका थिए । ठीक विपरित महामन्त्रीद्वय थापा र विश्वप्रकाशले गुटवन्दी गरेपछि त्यसको घेराबन्दीमा देउवासँगै आफूपनि परेको कोइरालाले निकटस्थलहरुलाई सुनाउने गरेका छन् ।

    भलै थापा र कोइराला मध्ये जो देउवासँग भिडे पनि उनीहरुबीच अविश्वासको विजारोपण भैसकेको छ । यसले कित्ता कोइराला र गगनका दुई गुट बनिसकेका छन् । आपसमै शीतयुद्ध भएपछि यसको प्रत्यक्ष फाइदा देउवालाई भएको छ ।

    संसदीय दलको गणितले देउवा सहजै निर्वाचित हुने देखाएको छ । यसबाट देउवालाई दोहोरो लाभ भएको छ । एकातर्फ उनी दलको नेता बन्ने निश्चित भएको छ भने अर्कोतर्फ आफूलाई चुनौती दिने कोइराला र थापाबीच फाटो आएको छ । यो फाटो दीर्घकालसम्म रहनेछ ।

    गगनले दलका नेता हुन आफ्नै गुट भित्रका नेताहरुलाई बेवास्ता गरेको आरोप लागेको छ । स्वयं उपसभापति धनराज गुरुङले पनि गगनलाई साथ दिन नसकिने आशय व्यक्त गरिसकेका छन् यद्यपी दुवैलाई मिलाउन उनले भूमिका खेलिरहेका छन् ।

    जुन प्रकारले गगन अघि बढिरहेका छन् यसले विगतमा उनलाई सफलता मिलेपनि अब भने उनको राजनीतिक यात्रा ओरालो लाग्ने विश्लेषण गरिएको छ । पार्टीका नेताहरुलाई प्रयोग गरेर माथिमाथि उक्लिदै जाने गगनको स्वभावसँग नेताहरु दिक्क भएका छन् ।

    पार्टीकै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, भिमसेनदास प्रधान लगायतले गगनले धोकापूर्ण राजनीति गर्ने गरेको आरोप लगाउने गरेका छन् । यसपटक त झन् गगनमाथि चुनावमा अन्तरघात गरेको आरोपसहित पार्टीमा उजुरी परेका छन् ।

    गगन पार्टीमा एक्लिँदै गएका बेला उनलाई अन्तिम घडीमा शेखरले साथ दिइरहेका थिए । तर, यसटक शेखरले समेत धोका पाएको महसुस गरेका छन् । उनले आगामी दिनमा गगनलाई साथ दिने सम्भावना कम देखिन्छ ।

    अब गगन सभापति देउवाको गुटमा मात्र जान बाँकी छ । देउवासँग मिलेर अघि बढे उनको राजनीति उकालो लाग्न सक्छ अन्यथा कोइराला क्याम्पमा भने उनलाई सहयोग हुने छैन । पहिलो तगारोको रुपमा शेखर नै उभिने निश्चित छ ।

  • कांग्रेसले १०० भन्दा कम सिट स्वीकार गर्न हुन्न : डा. शेखर कोइराला

    कांग्रेसले १०० भन्दा कम सिट स्वीकार गर्न हुन्न : डा. शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।

    बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानीका क्रममा उनले सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए ।

    नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँड भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँडमा कुराकानी हुने जानकारी दिए ।

  • गठबन्धनमा भागबण्डा विवादबीच केपी ओली र शेखर कोइरालाबीच वार्ता

    गठबन्धनमा भागबण्डा विवादबीच केपी ओली र शेखर कोइरालाबीच वार्ता

    काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका छन् ।

    अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीबार बालकोट पुगेर दुई घण्टा लामो वार्ता गरेका हुन् । कोइरालाले एमालेसँग गरेको वार्तालाई अर्थपूर्ण भनिएको छ ।

    बालकोटमा दुई नेताबीच भएको वार्ताको पुष्टि कोइराला र ओली दुवैको सचिवालयले गरेको छ।

    स्रोतका अनुसार उक्त वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित रहेकाे बताइएकाे छ । यसबारे थप विवरण भने दुवैकाे सचिवालयले खुलाउन चाहेन ।

  • शेखर काेइराला भन्छन्- १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न सकिँदैन

    शेखर काेइराला भन्छन्- १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न सकिँदैन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् ।

    अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि १०० बाट सिट संख्या घटाउन नसकिने उनले बताएका हुन् ।

    नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।

    पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।

  • कांग्रेस केन्द्रीय समिति बैठक : शेखरले गरे सभापति देउवाको आलोचना (विज्ञप्तिसहित)

    कांग्रेस केन्द्रीय समिति बैठक : शेखरले गरे सभापति देउवाको आलोचना (विज्ञप्तिसहित)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

    पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गरेका थिए । उनले पार्टी सही तवरले चल्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका थिए । उनले आगामी निर्वाचनको सन्दर्भमा भने गठबन्धन गरेर जाँदाभन्दापनि एक्लै जाँदा पार्टीलाई फाईदा हुने धारणा राखेका छन् ।

    उनले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरेको भए अहिलेको भन्दा झनै राम्रो परिणाम ल्याउनसकिने थियो भन्ने धारणा राखेका थिए । उनले गठबन्धन गर्दा आम कांग्रेसका कार्यकर्ता उत्साही नरहेको टिप्पणी गरेका छन् ।

    यस्तो छ कोइरालाको सम्बोधन

    आदरणीय सभापतिज्यु,

    बरिष्ठ नेता, पदाधिकारी तथा केन्द्रीय सदस्य साथीहरु !

    १. हामी स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौँ । पछिल्लो केन्द्रिय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेल मार्फत स्थानीय तहको निर्वाचनमा गयौँ । तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्याउन खोज्दै छौँ ? स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्यौँ ।

    अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो । त्यो पनि बिचार गर्न जरुरी छ । तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । तालमेलमा जानु पुर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाईनुपथ्र्यो । क्रियाशिलता, लोकप्रियता तथा बरिष्ठताको मापदण्ड बनाएर भुगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट बितरण गरिनुपथ्र्यो तर कतिपय स्थानमा त्यो हुन सकेन ।

    २. बिगतको तालमेल र आगामी निर्वाचनका बारेमा हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्याङ्कन गर्नैपर्छ । हामी यसबाट भाग्न सक्दैनाँै । हामीलाई त्यस्तो छुट छैन । हामीले दुरदराजका कर्मशिल र निष्ठावान साथीहरुलाई जवाफ दिनै पर्छ । कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् । यसै परीप्रेक्षमा आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्याँै भने पार्टीका साथीहरुलाई न्याय गर्न सक्छौँ त ? यसबारे आगामी निर्वाचन भन्दा अगाडि यस बिषयमा गम्भिर र बिस्तृतरुपमा पार्टीभित्र छलफल गरिनु पर्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो बिचार हो ।

    ३. नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो नीतिका बिषयमा कुनै काम हुन सकेन । तसर्थ यथाशीघ्र नीति अधिबेशन गर्न आग्रह गर्दछु । पार्टी संचालनका सम्बन्धमा मैले विगतका बैठकमा पनि भन्दै आएको छु । विधि, विधान भन्दा माथी हामी कोही छैनौँ । पार्टी विधिसम्मत चल्नु पर्यो । पार्टी सबैको हुनुपर्यो । केन्द्रदेखि वडा तहसम्म नेतृत्वमा रहेकाले आफुलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको बिकास गरियोस ।

    ४. स्थानीय तहको निर्वाचनका क्रममा पराजयको दोष पार्टीका साथिहरुलाई नै लगाई कतिपय जिल्लाका जिम्मेवार साथीहरुलाई पुर्वाग्रही ढंगले कारवाहीको सिफारिस गरि मान मर्दन गर्ने काम हुँदैछ । त्यस बारेमा केन्द्रीय कार्यसमितिकै ध्यानाकर्षण गराउन चाहन्छु ।

    ५. पार्टी संगठनको मेरुदण्ड भातृ तथा शुभेच्छुक संस्थाहरु हुन । यी संस्था लामो समयदेखि नेतृत्व विहीन तथा प्रायः निस्प्रभावी भएकाले प्रतिकुल प्रभाव परेको छ । तसर्थ यी संस्थाको नेतृत्व देखि कार्यसमिति विधान बमोजिम पदाधिकारी सहित न्यायोचित ढंगबाट निर्माण गरिनु पर्दछ ।

    ६. पार्टीको आन्तरिक जीवनमा बहस, छलफल र अन्तरक्रिया गरि निर्णयमा पुग्ने विगतको परिपाटी र परम्परा भन्दा पनि सभापतिज्यु एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ । यो पार्टीमा लाखौँ साथीहरूको बलिदानी तथा लगानी छ । तसर्थ पार्टीको निर्णयले सबैको मन छुन आबश्यक छ ।

    ७. सत्ता तालमेल दलका नेताहरु नेपाली कांग्रेसतिर फर्केर आरोप लगाईरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन् । स्थानीय निर्वाचनको परिणामलाई लिएर उनीहरु कांग्रेस विरुद्ध तीतो पोखिरहेको कुरा सभापतिज्युको जानकारीमा पनि होला भन्ने मलाई लागेको छ । यसरी एकातर्फ नकारात्मक चर्चा भैरहँदा किन हाम्रो पार्टी र नेताहरुले मौनता साँधेको हो ? म यी सबै बिषयमा गम्भीर छलफलको जोडदार माग गर्दछु ।

    ८. तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण बिभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकबादतर्फ जानु हो भनेका थियौँ । गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौँ तर बर्तमान सरकार बनेको पनि झण्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषयहरु प्राथमिकतामा किन परेनन् ? भष्ट्राचारका काण्डरूको छानबिन किन ओझेलमा पर्यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेहि बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।

    ९. ओली नेतृत्वकै सरकारले संविधानमा भएको संबैधानिक परिषद सम्बन्धि व्यवस्थाको प्रतिकुल हुनेगरी संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर संविधान मिच्ने काम गरेको थियो । हामीले तत्कालीन अवस्थामा कडा ढंगले प्रतिबाद गरेका थियौं । के हामीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँदछु ।

    १०. नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । महँगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुनेखानेहरु समेत सामान्य जीवन बिताउन कठिनाई महसुस गरेका छन भने गरिव, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला हामी काठमाडौँ बसेर त्यसको पिडा बोध गर्न सक्दैनौँ । सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, संचार जगत, व्यबसायी तथा आम नागरिकले समेत प्रश्न गर्न थालेका छन । यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ ।

    ११. गर्भनर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भयो । सरकारले गर्भनर हटायो तर अदालतले पुर्नबहाली गर्‍यो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो । देशको अर्थतन्त्रका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ भन्ने मेरो विश्वास छ । हालै बजेट निर्माणका क्रममा बजेटमा हस्तक्षेप गर्न अपिरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम भयो भनेर भएको चर्को दबाब पछि अर्थमन्त्रीको राजिनामा त आयो तर राजिनामा मात्रै समाधानको बाटो होइन । छानबिन समिति त बनेको छ । आशा छ समितिले सत्यतथ्य बाहिर ल्याउँछ । बजेट निर्माणका समयमा अनाधिकृत ब्यक्ति राखेर करको दायरा हेरफेर गरेकै कारण अर्थमन्त्रीको राजिनामा आयो, त्यसकारण अब कर सम्बन्धी प्राबधान परिमार्जन हुनुपर्छ । म सरकारलाई मुलुकको वर्तमान अर्थतन्त्र संकटोन्मुख रहेको, निजी क्षेत्र निराश भएको र आर्थिक अनुशासनहिनता बढेको बारे गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । यसतर्फ हामी पार्टीका साथिहरुले पनि सरकारलाई दवाव दिदै गम्भिर भएर लाग्नु पर्ने छ भन्ने जिम्मेवारीको स्मरण गराउन चाहन्छु ।

    १२. अर्कोतिर सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश विरुद्ध लगाईएको महाअभियोग प्रस्ताव लगभग बेवारिस अवस्थामा संसदको कुनामा थन्किएको छ । यसलाई निर्धारित प्रक्रियाबाट टुंग्याउनुपर्ने होइन र ? के यस बिषयमा प्रधानमन्त्री र उहाँ नेतृत्वको सरकारको कुनै भूमिका हुँदैन ? यस्ता जटिल बिषयहरुलाई समयमै निक्र्यौल नगर्दा आगामी निर्वाचनमा यसले पार्टीलाई असर गर्छ ।

     

  • महानिरीक्षक नियुक्तिमा शेखर कोइरालाको आपत्ति, ‘सरकारले विधिको शासनको खिल्ली उडायो’

    महानिरीक्षक नियुक्तिमा शेखर कोइरालाको आपत्ति, ‘सरकारले विधिको शासनको खिल्ली उडायो’

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको आलोचना गर्दै कोइरालाले वरीयता र प्रक्रिया मिचेर महानिरिक्षक नियुक्ति भएको भन्दै त्यसले विधिको शासनको खिल्ली उडाएको बताएका छन् ।

    ‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ,’ नेता कोइरालाले ट्विटमा उल्लेख गरेका छन् । सरकारको निर्णयले फेरि नेपाल प्रहरीमा विवाद ल्याएको तर्क समेत उनले गरेका छन् ।

    सरकारले कनिष्ठलाई बढुवा गरेको भन्दै कोइरालले आपत्ति जनाएका हुन् ।

  • एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला

    एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला

    काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् ।

    नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

    कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसकोे कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पारे । उनले एमसिसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए । उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे ।

    नेपाली कांग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र नं ६ (ख) का सभापति मधुबाबु तिवारी, महाधिवेश प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठलगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने सहिदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताए । नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गरे ।

  • चुनावमा गठबन्धन गरेर जाने प्रचण्डको प्रस्ताव कोइरालाद्वारा अस्वीकार

    चुनावमा गठबन्धन गरेर जाने प्रचण्डको प्रस्ताव कोइरालाद्वारा अस्वीकार

    काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्वीकार गरेका छन् ।

    बिहीबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका कोइरालासमक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए ।

    कोइरालाले प्रचण्डलाई सरकारमा गठबन्धन गर्ने तर चुनावमा गठबन्धन हुन नसक्ने प्रष्ट पारेका थिए ।

    उक्त भेटमा प्रचण्ड र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि छलफल भएको थियो ।

  • चुनावमा अपवित्र गठजाेड भयाे, राजनीति जित्याैँ : शेखर काेइराला

    चुनावमा अपवित्र गठजाेड भयाे, राजनीति जित्याैँ : शेखर काेइराला

    काठमाडाैं । नेपाली काँग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा अपवित्र गठजोड भएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गरी उनले चुनावमा पराजित भएपनि राजनीति भने जितेको बताएका छन् ।

    विज्ञप्तिमा उनले भनेका छन् ‘हामीसँग उर्जावान् युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।’

    उनले आफूले ४० प्रतिशत मत प्राप्त गर्दा भावविभाेर भएकाे पनि बताएका छन् । उनले बताएका छन् ​‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’

    आफू पार्टी सभापतिमा पराजित भए पनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएकोसमेत कोइरालाले बताएका छन् । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौंँ’ विज्ञप्तिमा भनिएको छ ।