Tag: सत्ता गठबन्धन

  • महानगरमा गठबन्धन भागबन्डा : सिट बाँडफाँटमै कांग्रेसलाई घाटा

    महानगरमा गठबन्धन भागबन्डा : सिट बाँडफाँटमै कांग्रेसलाई घाटा

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेद्वार उठाउने भएकाे छ । पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको हो । जहाँ यसले मेयरका लागि मात्र उम्मेदवारी दिन पाउनेछ ।

    त्यस्तै तीन उपमेयरका लागि उम्मेदवारी दिन पाउनेछ । वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसको भागमा उपमेयर परेको छ । यस हिसाबले ६ वटा महानगरमा कांग्रेसले तीन महानगरमा मेयर र तीन महानगरमा उपमेयरको सिट पाएको हो ।

    जबकि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुबैमा जितेको थियो । त्यस्तै पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो ।

    २०७४ को निर्वाचनमा महानगरमा मेयर र उपमेयर गरी सातजना जितेको कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर गरी ६ सिट पाएको छ । त्यसमा पनि सबै सिटमा जित हात पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । जति सिट पाएको छ ती सबैमा जिते पनि कांग्रेस महानगरमा अघिल्लो चुनावको तुलनामा कम सिटमा जित्नेछ ।

    कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका मेयर र उपमेयर दुबैमा जितेको थियो । मेयरमा चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत लिएर जितेका थिए । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकार ३२६ मतान्तरले पराजित भएका थिए । उनले २४ हजार ३१६ मत पाएका थिए ।

    उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार ८१९ मत पाएर विजयी भएकी थिइन् । साझा पार्टीकी शोभा शाक्य ५ हजार ५७९ मतान्तरले पराजित भएकी थिइन् । उनले १४ हजार २४० मत ल्याएकी थिइन् । ललितपुरमा २०७४ सालको निर्वाचनमा एक लाख १२ हजार ९२३ मतदाता थिए । अहिले एक लाख २२ हजार ८९० मतदाता छन् ।

    काठमाडौं महानगरपालिकामा २०७४ सालका निर्वाचनमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए । उनले ६४ हजार ९१३ मत पाएका थिए । कांग्रेस उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । विद्यासुन्दरले १९ हजार बढी मतान्तरले जोशीलाई पराजित गरेका थिए ।

    उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । काठमाडौं महानगरपालिकामा २०७४ सालमा दुई लाख ७९ हजार ३०९ मतदाता थिए । अहिले तीन लाख २४२ मतदाता छन् ।

    त्यस्तै कांग्रेसले मेयरमा दाबी गरेको अर्को महानगर हो, विराटनगर । विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी भएका थिए । पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

    उपमेयरमा कार्की २० हजार १४६ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । २०७९ को निर्वाचनका लागि विराटनरगमा कांग्रेसले मेयरको लागि मात्र सिट पाएका छ । उपमेयर भने जसपाले पाएको छ । २०७४ को निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता थिए भने अहिले एक लाख ३३ हजार १४२ मतदाता छन् ।

    २०७४ को निर्वाचनमा मेयर र उपमेयर एमाले विजयी भएको पोखरा महानगरपालिकामा यसपालि कांग्रेसको भागमा उपमेयर परेको छ । एकीकृत समाजवादीको भागमा मेयर परेको छ । जसले गर्दा त्यहाँ अहिले पनि विवाद चलिरहेको छ । कांग्रेस नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् ।

    वीरगञ्ज महानगरपालिकाको उपमेयर कांग्रेसको भागमा परेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसकै शान्ति कार्की १९ हजार ६०० मत पाएर विजयी भएकी थिइन् । मेयरमा भने तत्कालीन संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका थिए । उनी अहिले एमाले प्रवेश गरेका छन् । एमालेको तर्फबाट उनले नै टिकट पाउने प्रबल सम्भावना छ । सत्तारूढ गठबन्धनबाट भने जसपाको भागमा मेयरको सिट परेको छ ।

    महानगरमा घाटा, उपमहानगरमा फाइदै फाइदा

    ११ वटा उपमहानगरपालिकाको भागबन्डा भने टुंगिन सकेको छैन ।नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । त्यसका लागि पाँचदलीय गठबन्धनको बैठक बसिरहेको छ । दलहरू आ-आफ्नै अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो ।

    प्रस्तावित खाकाअनुसार ६ वटा उपमहानगरको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै तीन उपमेयर कांग्रेसको भागमा परेको छ भने जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबन्डा टुंगिन बाँकी छ । २०७४ सालको निर्वाचनमा सुरुमा कांग्रेसले दुईवटा उपमहानगरमा मात्र मेयर जितेको थियो । तीन उपमेयरमा विजयी भएको थियो । पछि उपनिर्वाचनमा कांग्रेसले धरानकाे मेयर पनि जितेकाे थियाे ।

    २०७४ सालको निर्वाचनमा कांग्रेस धनगढी र कलैया उपमहानगरको मेयरमा विजयी भएको थियो । धनगढी, नेपालगञ्ज र कलैयामा उपमेयर जितेको थियो । धनगढी र कलैया कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जितेको थियो ।

  • महानगर भागबण्डामा सहमति, एकीकृत समाजवादीले पायाे पाेखरा

    महानगर भागबण्डामा सहमति, एकीकृत समाजवादीले पायाे पाेखरा

    काठमाडाैं । पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिकाको मेयरको टिकट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय गरेकाे छ ।

    बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा कांग्रेसले दाबी छाडेपछि समाजवादीले पाउने भएको हो ।

    पोखरामा सहमति जुटेपछि पाँच दलीय गठबन्धनले ६ वटै महानगरपालिकाको टुंगो लगाएको छ ।

    देशभरका ६ वटा महानगरमध्ये ३ वटा कांग्रेसले लिने र बाँकी ३ वटा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई दिने तय भएको छ ।

    ६ महानगरमध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिका कांग्रेसले लिएको छ । त्यसैगरी, चितवनको भरतपुर माओवादी केन्द्रले लिएको छ । जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज महानगरपालिका लिने सहमति भएको बताइएकाे छ ।

  • गठबन्धनभित्रबाट अपमान भयाे, सहेर बस्दैनाैँ विद्रोह गर्छाैँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् ।

    स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान गर्ने काम भइरहेको बताए ।

    ‘कतिपय ठाउँमा अरूको शक्तिको अवमूल्यन गर्दै अलि अपमानपूर्ण व्यवहार भएकाे छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मिएका होईनौं । अपमानको विरूद्धमा विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।’

    सबै दलभित्र उम्मेदवार बन्न तानातान भइरहेको भन्दै चुनावमा पराजित हुने स्थिति भएकाहरूले समेत गजबले जित्छु भन्दै घुर्की लगाइरहेको बताए ।

    समाजवादीले अरूले भनेको आधारमा नभएर त्यहाँको वस्तुस्थितिको राम्रोसँग अध्ययन गरेर उम्मेदवार छनोट गर्ने उनले बताए । ‘त्यहाँको कमिटीले जनताको भावनालाई बुझेर अनि पार्टीको प्रभावलाई ध्यानमा राखेर, व्यक्तित्वलाई ध्यानमा राखेर, यसले पुर्‍याएको योगदानलाई ख्याल गरी, उसको लोकप्रियताको पनि ध्यान दिएर मात्रै अघि बढ्नु पर्छ ।’ नेपालले भने ।

    पाँच दलभित्र जतिमा सहमति हुन्छ त्यही सहमतिको आधारमा र नभएको खण्डमा मित्रताको आधारमा स्वस्थ प्रतिस्पर्धामा जाने बताए । ‘जति सहमति हुन्छ त्यही आधारमा जान्छौँ । हामीले सहमति गरिसकेका छौँ की पाँच दलकोबाहेक अरु दलहरूसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । सहमति हुन सकेन भने मित्रताको आधारमा स्वस्थ्य प्रतिस्पर्धामा जाने भन्ने टुंगो लगाएका छौँ ।’ अध्यक्ष नेपालले भने ।

    याे पनि पढ्नुहाेस् ।

    २०० युनिट बिजुली नि:शुल्क उपलब्ध गराउनेसहित यस्ता छन् नेकपा एसकाे चुनावी घाेषणापत्र (पूर्णपाठ)

  • बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु

    बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु

    काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ ।

    यसअघि साढे ११ बजे तय भएको बैठक दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

    बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

    यद्यपी मंगलबारकाे बैठकले निष्कर्ष निकाल्ने दाबी नेताहरुले गरिरहेका छन् ।

  • सत्तारुढ गठबन्धनको बैठक सर्‍यो

    सत्तारुढ गठबन्धनको बैठक सर्‍यो

    काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ ।

    बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

    गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । सबै दलले आ-आफ्नै अडान कायम राखेपछि बैठक भागबन्डाबारेको विवाद झन् पेचिलो बन्दै गएको छ ।

    सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न सकेको थिएन । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाबारे दलहरू आ-आफ्नै अडानमा कायम छन् । जसले गर्दा यसअघि तयार भएको मस्यौदामा सहमति जुट्न नसकेको हो ।

  • सहमति नजिक छाैँ, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

    सहमति नजिक छाैँ, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

    काठमाडौं । सोमबार दिनभरको रस्सा/कस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ । तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

    सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।

    गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् । उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ ।

    आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ- आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन ।

  • गठबन्धनको बैठक निष्कर्षविहीन, मंगलबार फेरि बस्ने

    गठबन्धनको बैठक निष्कर्षविहीन, मंगलबार फेरि बस्ने

    काठमाडाैं । चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

    नेताहरुले बैठक सकारात्मक भएको बताए पनि कुनै ठोस सहमति भने नभएको बताएका छन् । बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ ।

    गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।

    यसअघि बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ-आफ्नै दावी नछोडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।

  • हुम्लामा गठबन्धन भत्कियो, नेताहरूबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

    हुम्लामा गठबन्धन भत्कियो, नेताहरूबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

    हुम्ला । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि जुम्लामा भने गठबन्धन नहुने भएको छ ।

    स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए ।

    वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ ।

    सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।

    उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गाउँपालिका बाँडफाँटमा कुरा नमिलेपछि बैठक उपलब्धिपूर्ण हुन नसकेको कांग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए ।

    एकीकृत समाजवादीले राखेको कांग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा कांग्रेस सहमतिमा पुगे पनि माओवादीले मानेको र माओवादी चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेका कारण बैठकले भागबण्डा मिलाउन नसकेको कांग्रेस उपसभापति वसन्त रोकायाले बताए ।

    सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो । कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।

  • गठबन्धनमा किन हुन सकेन् संयुक्त चुनावी सभा ?

    गठबन्धनमा किन हुन सकेन् संयुक्त चुनावी सभा ?

    काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्‌वारलाई विजयी गराउन अनुरोध गर्दै सार्वजनिक भाषण गरे ।

    अधिकांश कार्यक्रममा पाँच दलीय गठबन्धनबाटै चुनाव लड्ने उनको दाबी थियो । हरेक स्थानीय तह तालमेल गर्दै अघि बढ्ने र त्यही अनुरूप तयारी गर्न सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।

    पाँच दलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा भएसँगै ४० भन्दा बढी कार्यक्रममा सहभागी भइसके । पार्टीले आयोजना गरेको भन्दा सरकारी कार्यक्रममा गएर उनले पनि चुनावी तालमेल गरेरै अघि बढ्ने दाबी गरे ।

    कांग्रेस एक्लै चुनाव लड्दा विगतमा कस्तो अवस्था भोगेको स्मरण गराउँदै तालमेलबाहेक चुनाव जान नसकिने उनको तर्क थियो । पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता यतिबेला चुनावी दौडाहमा छन् । उनीहरूले आफ्ना उम्मेदवारलाई भोट हाल्न अपिल गर्नुका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भोट नदिन भन्न समेत भ्याउँछन् ।

    यतिमात्र नभएर कुनै कुनै कार्यक्रममा गएर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरूमाथि गठबन्धनभित्रबाट अपमान भइरहेको समेत बताए । अपमान भइरहे सहन नसकिने भन्दै गठबन्धनबाट बाहिरिने समेत उनीहरूको चेतावनी थियो ।

    पाँच दलका शीर्ष नेतादेखि तल्लो स्तरका नेताहरूसम्म चुनावी दौडाहमा छन् । तर, पाँच दलले भने अहिलेसम्म संयुक्त चुनावी सभासमेत आयोजना गर्न सकिरहेका छैनन् ।

    पाँच दलले यहि २९ चैतमा संयुक्त अपिल जारी गरेका थिए । जसमा उनीहरूले एक अर्कालाई सहयोग गर्नेदेखि लिएर एकअर्काको विरुद्ध नलाग्ने सम्मको प्रतिबद्धता जनाएका थिए ।

    यहि ११ र १२ गते वैशाखमा उम्मेद्‌वार मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि दलहरूले एउटा पनि संयुक्त चुनावी सभा आयोजना गर्न नसकेका हुन् ।

    गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँटबारे निर्णय गर्न सकिरहेका छैनन् । गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका उनीहरूको गतिविधि हेर्दा एक्ला एक्लै लड्ने जस्तो देखिन्छ ।

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले विविध कारणले संयुक्त चुनावी अभियान गर्न नसकिएको बताए ।

    नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले तालमेलको व्यवहारिक निर्णय गर्न बाँकी रहेकोले संयुक्त चुनावी सभा गर्न नसकिएको जानकारी दिए । स्थानीय तहको सिटको बाँडफाँटबारे निर्णय भएपछि संयुक्त चुनावी सभा गरिने उनको भनाइ छ ।

    गठबन्धनमा आबद्ध दलहरूलाई अझै पनि तालमेलसहित चुनाव लड्नेमा विश्वास छैनन् । एक अर्काप्रति विश्वास नहुँदा उनीहरू एक्ला एक्लै चुनावी सभाहरू गर्दै आएका छन् ।

    नेपाली कांग्रेसले धेरै स्थानहरूमा तालमेल नगर्ने निर्णय गर्दै आफ्नै उम्मेद्‌वार घोषणा गरिरहेको छ । पालिका, जिल्ला र प्रदेशस्तरमा निर्णय गर्दै चुनावी तालमेलको विपक्षमा निर्णय गर्न थालेका हुन् । गठबन्धन तोड्दै उनीहरू स्वच्छ प्रतिपस्पर्धामा जाने निर्णयमा पुग्न थालेका हुन् ।

    चुनावी तालमेलको निर्णयको अवज्ञा हुँदा हुन थालेपछि गठबन्धनका शीर्ष नेताहरूले अर्को उपाय पनि अघि सारेका छन् । त्यो सबै दलसँगको सहमति नभएपनि जो जसको जोसँग सहमति हुन्छ त्यही अनुसार तालमेल गर्ने ।

    यसका लागि गठबन्धनको बैठकमा प्रस्तावकै रूपमा आएको छ । नेताहरूले त्यसलाई सबैको सहमति नजुटेको खण्डमा विकल्पको रूपमा हेरेका छन् । सबै दलहरूबीच भागबण्डा र तालमेलको विषयमा सहमति जुटेपछि मात्रै संयुक्त चुनावी सभा गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

  • गठबन्धन बैठक साेमबार पुन: बस्ने गरी स्थगित

    गठबन्धन बैठक साेमबार पुन: बस्ने गरी स्थगित

    काठमाडाैं । बालुवाटारमा जारी गठबन्धन बैठक साेमबार पुन: बस्ने गरी स्थगित भएको छ ।

    स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको हाे । बैठक साेमबार पुन: बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।