Tag: नेपाल-भारत

  • अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रण र गर्न नेपाल र भारतबीच वार्ता

    अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रण र गर्न नेपाल र भारतबीच वार्ता

    काठमाडौं । नेपाल र भारत बीचको वैदेशिक व्यापारको विषयमा वार्ता सुरु भएको छ ।

    दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा बिहीबार वैदेशिक व्यापार थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ता टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका छन् ।

    वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात-निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए ।

    छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी-दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ ।

    नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। यसैगरी भारतिय टोलिमा राजस्व ईन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतिय दुतावासका प्रथम सचिव, कलकत्ता,पटना,लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता रहेको छ ।

  • नेपालस्थित भारतीय दूतावासमा ७६ औँ गणतन्त्र दिवस मनाइयो

    नेपालस्थित भारतीय दूतावासमा ७६ औँ गणतन्त्र दिवस मनाइयो

    काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा ७६औँ भारतीय गणतन्त्र दिवस धूमधामका साथ मनाइएको छ । नेपालका लागि भारतीय राजदूतले भारतीय राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधन प्रसारण गरिएको थियो भने भारतीय सेनाका शहीद परिवारलाई राहत रकम वितरण गरिएको दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कार्यक्रममा भारतीय सेनाका शहीद परिवारलाई ५ करोड रुपैयाँ बराबरको राहत रकम वितरण गरिएको छ । यसैगरी, २१९ जना शहीद परिवारलाई २३.२९ करोड रुपैयाँ प्रदान गरिएको छ । यस रकममा सेना समूह बीमा (एजीआई) अन्तर्गतका सुविधाहरू, जस्तै मृत्यु–सेवा सुविधा, विस्तारित बीमा सुविधा र २०२४ मा परिपक्व भएका एजीआई भुक्तानीहरू समावेश छन् ।

    राजदूतले नेपालमा बसोबास गर्ने पूर्वसैनिकहरूका लागि भारत सरकारका कल्याणकारी कार्यक्रमहरू समेटिएको ‘भु पु–२०२५’ पत्रिका पनि सार्वजनिक गरिएको दूतावासले जनाएको छ ।

    दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरूलाई २३.५ लाख रुपैयाँ बराबरका पुस्तकहरू पनि प्रदान गरेको छ । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको विशिष्ट आवश्यकता र अनुरोधहरूको आधारमा शैक्षिक सामग्रीहरू प्रदान गर्ने लक्ष्य राखेको दूतावासले जनाएको छ ।

    ११ नोभेम्बरदेखि ११ डिसेम्बर २०२४ सम्म सञ्चालन गरिएको ‘भारत को जानीये’ (बीकेजे) क्विजमा नेपालबाट उत्कृष्ट ५० अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको छ । बीकेजे क्विजले विदेशी नागरिकहरू र विदेशमा बसोबास गर्ने भारतीय समुदायलाई भारतको ज्ञान र बुझाइलाई गहिरो बनाउन प्रेरित गर्ने लक्ष्य राखेको दूतावासले जनाएको छ ।

    पुरस्कारको रूपमा, विश्वभरबाट उत्कृष्ट ३० विजेताहरूलाई यसै महिनाको सुरुमा दुई हप्ताको बीकेजे यात्राका लागि भारत निमन्त्रणा गरिएको थियो। यी विजेताहरूमा नेपालका श्री निखिल कुमार दास पनि सामेल थिए, जसलाई भारतको यस विशेष यात्रामा सहभागी हुने अवसर प्राप्त भयो ।

    कार्यक्रममा भारत-नेपाल सम्बन्धमा पछिल्ला वर्षहरूमा भएका प्रगतिहरूलाई विस्तृत रूपमा समेटिएको भिडियो पनि प्रदर्शन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई मिसनका सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण गरिएको दूतावासले जनाएको छ ।

  • परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्सालले मंगलबार अपरान्ह भारतीय विदेशमन्त्री एस. जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन्।

    आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन मंगलबार दिउँसो नयाँ दिल्ली पुगेकी उनले भारतका विदेशमन्त्री डॉ एस जयशंकरसँग संवाद गरेकी हुन्।

    भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले लम्साललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

    जयंशकरले नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बहुआयामिक सम्भावना र प्रगतिबारेमा लम्साललाई सुन्न पाउँदा प्रसन्नता प्रकट गरेका छन्।

    यही फागुन १७ देखि १९ गतेसम्म भारतको पुनेमा आयोजना हुने कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ।

    भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

  • भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

    भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

    काठमाडाैं । नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायत पदाधिकारी उद्घाटन कार्यक्रममा सहभागी थिए ।

    नेपाल–भारत विकास सहयोग परियोजनाअन्तर्गत भारतीय सरकारको ५ कडोर ८० लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको हो । राममणिमा अत्यावश्यक फर्निचरसहित तीनतले भवन निर्माण गरिएको छ भने नाहरपुरमा दुईतले भवन निर्माण गरिएको छ ।

    कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सरकारले गरिने सबै प्रकारका सहयोग नेपालका स्थानीय र संघीय सरकारको सिफारिस तथा निर्णयका आधारमा गरिने जनाए । नेपाल–भारतको बलियो पुरानो सम्बन्धलाई प्रगाढ बनाउन शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न खोजिरहेको बताउँदै उनले भारत सरकारले आर्थिक सहयोग मात्रै ती सरकारहरुको सिफारिसमा गर्ने र अनुदान रकम मात्रै दिएर त्यसको निर्माण स्थानीय निर्माण कम्पनीले नै गर्ने विधि पहिलै तय भएको जनाएका छन् ।

    राजदूत श्रीवास्तवले समाज विकासका आधारभूत स्रोत शिक्षा र स्वास्थ्य भएकाले त्यो क्षेत्रमा पछाडि परेका क्षेत्रहरु खोजेर सहयोग गरिएको बताए । उनले त्यसरी निर्माण भएका भौतिक संरचनाहरु अधिकतम प्रयोगमा ल्याउन आग्रह गर्दै सहयोग माग गर्दा हरेक योजना संचालन हुनसक्नेगरी योजना बनाएर त्यही अनुसारको बजेट तयार गर्न सुझाए ।

    भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत समग्र क्षेत्रका विकासमा सहकार्य गर्दै आएको उनको भनाइ छ । उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्धलाई थप मजदुत बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताए ।

    सन् २००३ देखि भारत सरकारले नेपालका लागि अगाडि सारेको समुदाय विकास कार्यक्रम मार्फत हालसम्म ५५० वटा विद्यालय भवन निर्माण भइसकेको र लुम्बिनी प्रदेशमा मात्र ६१ र रुपन्देहीका १२ वटा विद्यालय भवन निर्माण भएको उनले बताए । नेपाल सरकारका विभिन्न इकाईहरु स्थानीय तह र जिल्ला समन्वय समितिसँगको समन्वयमा ५५० वटा विद्यालय भवन निर्माण भइसकेको र ९५० वटा एम्बुलेन्स र २५० वटा स्कुल बस उपलब्ध गराइसकेको उनले बताए ।

  • परराष्ट्रमन्त्री साउद र नोबेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र नोबेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबिच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्‍याएकाे योगदानको चर्चा गरेका थिए ।

    सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेबापत नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्चमा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो ।

    लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ ।

    लुम्बिनी सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन आगामी मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो । उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसङ्घीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

    ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । रासस

     

  • भारतले भूकम्प प्रभावितका लागि पठायो चौथो चरणको राहत सामाग्री

    भारतले भूकम्प प्रभावितका लागि पठायो चौथो चरणको राहत सामाग्री

    काठमाडाैं । भारतले जाजरकोट र रुकुमपश्चिमसहितका जिल्लाहरुका भूकम्प प्रभावितका लागि अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री पठाएको छ ।

    राहत सामग्री सोमबार नेपाल आइपुगेको र सोही दिन हस्तान्तरण गरिएको थियो । नेपाल चिकित्सक संघको माग अनुसार भारतले यी राहत सामग्री उपलब्ध गराएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

    राजदूतावासले राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश रहेको जनाएको छ । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको राजदूतावासले जनाएको छ ।

    छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतको भनाई छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने समेत राजदूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

     

  • भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री सहयोग

    भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री सहयोग

    काठमाडौं । भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ ।

    बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामग्री लिएर नेपाल आएको हो ।

    राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    यसअघि भारतले त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण उपलब्ध गराएको थियो ।

    नेपालको प्रमुख विकास साझेदार भएले भारत सदैव सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।

     

  • नेपाल–भारत विकास साझेदारीले लियो थप गति

    नेपाल–भारत विकास साझेदारीले लियो थप गति

    काठमाडौं । भारतीय दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि र अघि बढेका विकास कार्यहरू सार्वजनिक गरेको छ।

    ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भनेको छ, ‘पारस्परिक लाभका लागि भारत-नेपाल ऊर्जा सहकार्य।’

    विशेषगरी प्रधानमन्त्रीको भ्रमणका क्रममा १० वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमता १० हजार मेगावाट पुर्‍याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै गएको विषय मुख्य उपलब्धिका रूपमा लिइएको छ।

    १३२ केभी टनकपुर-महेन्द्रनगर ट्रान्समिसन लाइनमार्फत विद्युत् थप भएको उल्लेख गर्दै तत्काल भारततर्फ १८० मेगावाट विद्युत् निर्यात स्वीकृत गरिएको दूतावासले जनाएको छ।

    यस्तै, अब नेपालले भारततर्फ ६३१ मेगावाट विद्युत् निर्यात गर्न सक्ने उल्लेख गरिएको छ। विद्युत्‌मा ‘डे अहडे’ बजारबाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध गराएको विषय र परराष्ट्र अधिकारीबीच उच्चस्तरीय वार्ता हुने दूतावासको भनाइ छ।

    दूतावासले कुर्था-बिजलापुर रेल सञ्चालनले आमनागरिक सम्पर्क बढ्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच भारत-नेपाल विकास सहकार्य भइरहेको उल्लेख गरेको छ।

    २०७२ सालमा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुनर्निर्माण, बूढानीलकण्ठ धर्मशाला पुनर्निर्माण लगायतका विषयलाई पनि भारतले नेपालसँगको सहकार्यको उपलब्धिका रूपमा सार्वजनिक गरेको छ।

    भारतले संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन, सुदूरपश्चिम प्रदेशमा तीनवटा परियोजना टीकापुर बहुमुखी क्याम्पस (कैलाली), पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालय (कञ्चनपुर जिल्ला) र सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन गरेको जनाएको छ।

    काठमाडौँको चन्द्रागिरीस्थित विष्णुदेवी माध्यमिक विद्यालय पुनर्निर्माण, दार्चुला, संखुवासभा र उदयपुरमा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाइका क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको विषयलाई भारतले विकास सहकार्यको नमुनाका रूपमा बाहिर ल्याएको छ।

    नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुलबस उपहारस्वरुप उपलब्ध गराएको र यो हरेक वर्ष गर्दै आएको कार्यको निरन्तरता रहेको जनाइएको छ।हालसम्म भारतले ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ। सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन भइरहेको छ।

    प्रधानमन्त्री प्रचण्डले गत जेठ १७ देखि २० सम्म चारदिने भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थिए। उनी भारतमा जुन तवरले भ्रमणमा गए त्यसअघि नै चीनले पनि निम्ता दिएको थियो।

    एक साताअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रचण्ड त्यतैबाट चीन पुगेका छन्। प्रधानमन्त्री चिनियाँ अधिकारीसँग भेटघाटमा व्यस्त रहँदा भारतले आफ्नो दूतावासमार्फत नेपाल भारत विकास साझेदारीले थप गति लिएको जानकारी बाहिर ल्याएको हो।

  • भारतीय दूतावासकाे आयाेजनामा हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन

    भारतीय दूतावासकाे आयाेजनामा हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन

    काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रमको आयोजना गरेकाे छ ।

    कार्यक्रमका प्रमुख अतिथि, सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालले बिपी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गरे ।

    कार्यक्रममा नेपालका वरिष्ठ कविद्वय स्नेह सायमी र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता संग्रह ‘उजाले के रंग’ र स्नेह सायमिको नेपाली कविता संग्रह ‘चश्मा र आँखाको वार्ता’ बारे चर्चा भयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दिप्ती, प्रतिष्ठित कवि विधान आचार्य र वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशले आ–आफ्नो विचार राखेका थिए ।

    सम्बोधनका क्रममा प्रमुख अतिथि गिरीशचन्द्र लालले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धमा साझा संस्कृति तथा दुवै देशको भाषाको महत्वबारे प्रकाश पारे ।

    कार्यक्रममा धेरै संख्यामा लेखक, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीको उपस्थिति थियो ।

  • भारतीय दूतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस

    भारतीय दूतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस

    काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएको छ । राजदूतावासमा मंगलबार विभिन्न कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाइएको हो ।

    यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरू गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्सा हो ।

    कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।

    यस्तै, भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपति मुर्मूले सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरेकी थिइन्।

    राष्ट्रपति मुर्मले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन्। साथै उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन्।

    उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी-२० को अध्यक्षताबारे उल्लेख गरिन्।

    दूतावासले भारतीय सशस्त्र बलमा कार्यरत रहँदा वीरगति प्राप्त गरेका गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रूपैयाँ वितरण गरी सम्मान गर्‍याे।

    कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य प्रस्तुत गरेका थिए।