
काठमाडौं । भारतीय दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि र अघि बढेका विकास कार्यहरू सार्वजनिक गरेको छ।
‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भनेको छ, ‘पारस्परिक लाभका लागि भारत-नेपाल ऊर्जा सहकार्य।’
विशेषगरी प्रधानमन्त्रीको भ्रमणका क्रममा १० वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमता १० हजार मेगावाट पुर्याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै गएको विषय मुख्य उपलब्धिका रूपमा लिइएको छ।
१३२ केभी टनकपुर-महेन्द्रनगर ट्रान्समिसन लाइनमार्फत विद्युत् थप भएको उल्लेख गर्दै तत्काल भारततर्फ १८० मेगावाट विद्युत् निर्यात स्वीकृत गरिएको दूतावासले जनाएको छ।
यस्तै, अब नेपालले भारततर्फ ६३१ मेगावाट विद्युत् निर्यात गर्न सक्ने उल्लेख गरिएको छ। विद्युत्मा ‘डे अहडे’ बजारबाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध गराएको विषय र परराष्ट्र अधिकारीबीच उच्चस्तरीय वार्ता हुने दूतावासको भनाइ छ।
दूतावासले कुर्था-बिजलापुर रेल सञ्चालनले आमनागरिक सम्पर्क बढ्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच भारत-नेपाल विकास सहकार्य भइरहेको उल्लेख गरेको छ।
२०७२ सालमा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुनर्निर्माण, बूढानीलकण्ठ धर्मशाला पुनर्निर्माण लगायतका विषयलाई पनि भारतले नेपालसँगको सहकार्यको उपलब्धिका रूपमा सार्वजनिक गरेको छ।
भारतले संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन, सुदूरपश्चिम प्रदेशमा तीनवटा परियोजना टीकापुर बहुमुखी क्याम्पस (कैलाली), पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालय (कञ्चनपुर जिल्ला) र सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन गरेको जनाएको छ।
काठमाडौँको चन्द्रागिरीस्थित विष्णुदेवी माध्यमिक विद्यालय पुनर्निर्माण, दार्चुला, संखुवासभा र उदयपुरमा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाइका क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको विषयलाई भारतले विकास सहकार्यको नमुनाका रूपमा बाहिर ल्याएको छ।
नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुलबस उपहारस्वरुप उपलब्ध गराएको र यो हरेक वर्ष गर्दै आएको कार्यको निरन्तरता रहेको जनाइएको छ।हालसम्म भारतले ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ। सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालका विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन भइरहेको छ।
प्रधानमन्त्री प्रचण्डले गत जेठ १७ देखि २० सम्म चारदिने भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थिए। उनी भारतमा जुन तवरले भ्रमणमा गए त्यसअघि नै चीनले पनि निम्ता दिएको थियो।
एक साताअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रचण्ड त्यतैबाट चीन पुगेका छन्। प्रधानमन्त्री चिनियाँ अधिकारीसँग भेटघाटमा व्यस्त रहँदा भारतले आफ्नो दूतावासमार्फत नेपाल भारत विकास साझेदारीले थप गति लिएको जानकारी बाहिर ल्याएको हो।