Tag: नेपाल-भारत

  • बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।

    भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन ।

    नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ ।

    प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

  • ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

    ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

    सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवारीले जनाएका छन् ।

    भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

    खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवारीले बताए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवारीले जनाए ।

    बैठकमा सिरहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेको थिए । बैठकमा प्रजिअ कवारीसहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

  • भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट

    भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट

    काठमाडाैं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन् ।

    पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले मंगलबार एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए ।

    भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए । उक्त क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उनले उल्लेख गरे ।

    भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेकाे स्वकीय सचिव तिवारीले जानकारी दिए । हाल भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री भएका हुन् ।

  • भारतले मनायाे ७२ औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर)काे स्थापना दिवस

    भारतले मनायाे ७२ औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर)काे स्थापना दिवस

    काठमाडाैं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले गएकाे शनिबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ७२ औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर)काे स्थापना दिवस मनाएकाे छ ।

    आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्ध बलियाे बनाउने उद्देश्य लिएर याे दिवस मनाइएकाे हाे ।

    नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला, प्रसिद्ध अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए ।

    चर्चित अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिँदा बटुलेका अनुभवहरु साटेकी थिइन् । विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने

    भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने

    काठमाडाैं । भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने भएकाे छ ।

    जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा दुहुँ गाउँपालिका-दार्चुला, नौगाड गाउँपालिका-दार्चुला र गल्छी गाउँपालिका-धादिङबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे ।

    भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका उक्त विकास परियोजनाहरुको कूल अनुमानित लागत ७ करोड ८ लाख नेपाली रुपैयाँ रहेको छ । ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाइ परियोजनाको निर्माण गरिनेछ ।

    यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्नेछ । यसबाट स्थानीयहरुलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरुको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।

    नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

    त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ भने धादिङ् जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ ।

  • नेपालले अब भारतमा थप ३२५ मेगावाट बिजुली बेच्ने

    नेपालले अब भारतमा थप ३२५ मेगावाट बिजुली बेच्ने

    काठमाडाैं । नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ ।

    भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।

    यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो ।

    नेपालले अब कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ ।

    नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको पनि ऊर्जा मन्त्रालयले जनाएको छ ।

     

  • साेलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

    साेलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

    सोलुखुम्बु । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

    भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको करिब ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ ।

    याे परियोजना निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाइको व्यवस्था गर्नेछ ।

    नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

    त्यसमध्ये सोलुखुम्बु जिल्लामा २ परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजनाहरुलाई अघि बढाइएको छ ।

  • भारतको अनुदान सहयोगमा उदयपुरमा विद्यालयको नयाँ भवनको शिलान्यास

    भारतको अनुदान सहयोगमा उदयपुरमा विद्यालयको नयाँ भवनको शिलान्यास

    काठमाडाैं । भारत सरकारको अनुदान सहायता अन्तर्गत उदयपुर जिल्लाको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ ।

    सो विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि मंगलबार नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् ।

    सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।

    त्यस्तै, श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ भने विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७०% छात्राहरु रहेका छन् ।

    भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ ।

  • उर्जा क्षेत्र सहयोग सम्बन्धी नेपाल–भारत संयुक्त भिजनमा के छ ?

    उर्जा क्षेत्र सहयोग सम्बन्धी नेपाल–भारत संयुक्त भिजनमा के छ ?

    काठमाडौं । नेपाल र भारतले शनिबार ऊर्जा क्षेत्र सहयोग सम्बन्धी ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको समयमा नयाँदिल्लीबाट उक्त भिजन जारी गरिएको हो । जारी गरेपछि दुवै देशका प्रधानमन्त्रीले भारत–नेपाल संयुक्त भिजनलाई उर्जा क्षेत्रको ठूलो उपलब्धी बताएका थिए । भिजनमा दुवै देशका प्रधानमन्त्रीले केही बुँदामा सहमती जनाएका छन् ।

    नेपालमा विद्युत उत्पादन आयोजनाहरूको संयुक्त विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको विकास, पारस्परिक लाभ, बजारको माग र प्रत्येक देशको लागू घरेलु नियमका आधारमा दुवै देशको विद्युत बजारमा उपयुक्त पहुँचसहितको द्वि–दिशात्मक ऊर्जा व्यापार, राष्ट्रिय ग्रिडको समन्वयात्मक सञ्चालन र नयाँ सूचना, प्रविधि र ज्ञानको संस्थागत आदानप्रदान लगायत ऊर्जा क्षेत्रमा पारस्परिक रूपमा लाभदायक द्विपक्षीय सहयोग विस्तार र सुदृढ गर्ने अभूतपूर्व अवसरहरू रहेको कुरालाई भिजनमा दुवै प्रधानमन्त्री स्वीकारेका छन् ।

    सबै सहभागी पक्षहरूबीच पारस्परिक रूपमा सहमत सर्तहरू र सर्तहरूको अधीनमा बिबीआइएन फ्रेमवर्क अन्तर्गत आफ्ना साझेदार देशहरूलाई समावेश गर्न यस्तो सहयोग विस्तार गर्न सकिने भिजनमा उल्लेख छ । बिबीआएन बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन हो ।

    ‘तिनीहरूको सम्बन्धित राष्ट्रिय नीतिहरू र जलवायु परिवर्तन प्रतिबद्धताहरूको आधारमा, नवीकरणीय ऊर्जा उत्पादन, विशेष गरी जलविद्युतलाई तिनीहरूको ऊर्जा साझेदारीको आधारशिला बनाउन,’ भिजनमा बिबीआइएनलाई समेट्नुको कारण उल्लेख गरिएको छ ।

    नेपालको नवीकरणीय उर्जा क्षेत्रमा, विशेषगरी जलविद्युत क्षेत्रमा भारतीय लगानीले दुवै देशलाई रोजगारी सृजना गर्ने भिजनमा जनाइएको छ । आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउन, निर्यात आम्दानीमा बृद्धि गर्न र औद्योगिक तथा वित्तीय क्षमताको थप विकासमा योगदान पु¥याएर दुवै देशलाई फाइदा पु¥याउने क्षमता उर्जा क्षेत्रमा रहेको र यसमा आपसी सहमतिमा साझेदारी गर्ने कुरा पनि भिजनमा समेटिएको छ ।

    नेपालले भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत क्षेत्र लगायत सम्भाव्य नवीकरणीय ऊर्जा परियोजनाहरूको विकास, निर्माण र सञ्चालनमा लगानी गर्न आह्वान गरिएको छ । यसमा पारस्परिक लाभकारी साझेदारी मार्फत ‘स्टोरेज’ परियोजनाहरुमा समेत काम गर्न सकिने जनाइएको छ ।

    दुवै देशका प्रधानमन्त्रीहरू यस संयुक्त भिजनको आधारमा परियोजनाको कार्यान्वयनलाई प्राथमिकतामा राखी गति प्रदान गर्न सहमत भएका छन् । उनीहरुले पारस्परिक सम्मान र समानताको आधारमा एकअर्काको राष्ट्रिय विकास र समृद्धिलाई निरन्तरता दिने सहमति समेत भिजनमा गरेका छन् ।

  • प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

    देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

    देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।