• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने

काठमाडाैं । भारतकाे सहयाेगमा दार्चुलामा विद्यालय र स्वास्थ्य चाैकी भवन तथा धादिङमा सिँचाइ परियाेजना निर्माण हुने भएकाे छ ।

जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा दुहुँ गाउँपालिका-दार्चुला, नौगाड गाउँपालिका-दार्चुला र गल्छी गाउँपालिका-धादिङबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका उक्त विकास परियोजनाहरुको कूल अनुमानित लागत ७ करोड ८ लाख नेपाली रुपैयाँ रहेको छ । ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाइ परियोजनाको निर्माण गरिनेछ ।

यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्नेछ । यसबाट स्थानीयहरुलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरुको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ भने धादिङ् जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ ।