काठमाडाैं । नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन् ।
‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ, त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो‚’ उनले भने‚ ‘संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’
नेता रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सुझाव दिएका छन् । अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै रावलले परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताए ।
बैठकमा नै रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले त्यस्तो नभनेको भन्दै रावललाई रोक्न खोजे । त्यसपछि रावलले भने, ‘तथ्य आउँदा मान्छे डराउँछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गरौं ।’