Tag: राप्रपा

  • राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

    राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन् । मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

    राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ । गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए ।

    राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, कोषाध्यक्ष र सहायक कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ ।

    हेर्नुहोस् मनाेनितकाे सूची :

  • राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले चुनौती दिएका छन् ।

    राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई कारबाही गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक रहेको थापाले जनाएका छन् ।

    चारै जना पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासनमा परेका थिए । पदाधिकारी बैठकको निर्णय पार्टी हितमा नरहेको थापाले जनाएका छन् ।

    थापाले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् – राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका २ निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिइ पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ । उक्त निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताबारे चर्चा सुरु भएकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग भेट गरेपछि याे चर्चा सुरु भएकाे हाे ।

    भेटका क्रममा पार्टी एकताकाे सम्भावनाबारे छलफल भएकाे बताइएकाे छ । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जान सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको स्राेतले बताएकाे छ ।

    नेताहरूको भेटको तस्विर फेसबुकमा राखेर विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा ‘आशाजनक संवाद’ भएको पनि उल्लेख गरेका छन् ।

    मिश्रले फेसबूकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

    मिश्रले पछिल्लाे समय ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाइरहेका छन् ।

  • राप्रपा महामन्त्री कुन्ती शाहीले जब एमाले महासचिवको नाम बिगारिन्…

    राप्रपा महामन्त्री कुन्ती शाहीले जब एमाले महासचिवको नाम बिगारिन्…

    काठमाडाैं । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा सम्बाेधन गर्न पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले सम्बाेधनका क्रममा अतिथीकाे नाम लिन गल्ती गरेकी छिन् ।

    सम्बोधनका क्रममा शाहीले नेकपा एमालेका महासचिव ईश्वर पोखरेल भनेपछि हलमा हाँसो गुन्जियो । त्यहाँ उपस्थित एमाले महासचिव शंकर पोखरेल कुन्तीतर्फ पुलुक्क हेर्दै हाँसे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनीतर्फ हेर्दै मुसुमुसु हाँसे ।

    त्यसपछि शाहीले सच्याउँदै एमाले महासचिव शंकर पोखरेल भनिन् । यसपछि पनि जनता समाजवादी पार्टीका अध्यक्ष भनेपछि हतपति उपेन्द्र यादवको नाम लिन सकिनन् । पछाडिबाट कसैले भन्दिएपछि उनी अगाडि बढेकी थिइन् ।

  • अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

    अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अन्य पार्टीमा पनि पूर्वराजाकाे हस्तक्षेप हुन सक्ने आशंका गरेका छन् । आफ्नाे पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबीसहित उनले यस्ताे आशंका गरेका हुन् ।

    मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत् निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् ।

    आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन् ।

    विज्ञप्तिको पूर्णपाठ

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

    महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

    महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पीडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

    केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।

    मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

    तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथि नै गंभीर आघात पुगेको छ ।

    नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

    राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

    अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

    अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।

    यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।

    राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

  • राप्रपा अध्यक्ष लिङ्देनले बुधबारका लागि बोलाए केन्द्रीय समिति बैठक

    राप्रपा अध्यक्ष लिङ्देनले बुधबारका लागि बोलाए केन्द्रीय समिति बैठक

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।

    सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

    लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

    पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए । ‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन । मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुनसक्छ । त्यसमा भन्नु केही छैन । तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो । यो दुर्भाग्यपूर्ण छ ।’