अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अन्य पार्टीमा पनि पूर्वराजाकाे हस्तक्षेप हुन सक्ने आशंका गरेका छन् । आफ्नाे पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबीसहित उनले यस्ताे आशंका गरेका हुन् ।

मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत् निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् ।

आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पीडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथि नै गंभीर आघात पुगेको छ ।

नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।

यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।

राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१