
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी छिटै संसद्बाट पारित हुने बताएका छन् ।
जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा गृहमन्त्री खाँणले यसलाई अघि बढाउनु सरकारको दायित्व भएको बताए । उनले भने – ‘एमसीसी अघिल्ला सरकारहरूका पालामा अघि बढेको हो । नेपालको विकासका लागि अघिल्ला सरकारहरूले सम्झौता गरेकाले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो ।’
सबै दलको सहमतिमै यो संसद्बाट पारित हुने उनको भनाइ थियो । उनले भने – ‘एमसीसीका विषयमा केही भ्रम फैलाइएको छ, ती सबै भ्रम हटाएर पारित गर्छौँ ।’
एमसीसीलाई लिएर सत्तारूढ दलबीच कुनै विवाद नरहेको उनको भनाइ थियो । एमसीसीलाई लिएर गठबन्धन टुट्ने भन्ने कुरा निराधार भएको उनको जिकिर थियो । तर, कहिलेसम्म पारित हुन्छ भन्ने प्रश्नमा उनले छिटै पारित हुने प्रतिक्रिया दिए ।