विवेकशील साझा पार्टीबाट संयोजक मिलन पाण्डे निष्कासित

काठमाडाैं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक पत्र पठाएर पाण्डेलाई ​पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष मिश्रले यसअघि मंसिर २८ गतेको केन्द्रीय सम्पादन समितिको बैठकको निर्णयानुसार सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको पनि जनाएका छन् ।

मिश्रले पाण्डे​माथि पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र पाण्डेले समानान्तर समिति नै घोषणा गरेकाले साधारण सदस्यबाट हटाएको जनाएका छन् ।

मिश्रले पत्रमा भनेका छन् ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।’

मिश्रले पार्टीको नाम, लेटर हेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग नगर्न पनि भनेका छन् । उनले यदि त्यसो गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने पनि पत्रमा उल्लेख छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१