१० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार, लागत साढे १ लाख रूपैयाँ

कैलाली । धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले विद्युतीय कार बनाएका छन् । विद्याश्रममा १० कक्षामा अध्ययनरत विद्यार्थीले उक्त कार बनाएका हुन् ।

विद्यार्थीहरू रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत १ लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

कारको नाम ‘सारअल्फा’ राखिएको छ ।

कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् ।

अर्का विद्यार्थी ऋषिकेशले भने, ‘अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।’ रासस

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१