सन्नी लियोनको ‘मधुवन’ गीतमा रिसाए मध्यप्रदेशका मन्त्री, भने- युट्युबबाट हटाउनुस्

काठमाडाैं । भारतको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले बलिउड अभिनेत्री सन्नी लियोन र संगीतकार सकिब तोसीलाई म्युजिक भिडियो हटाउन चेतावनी दिएका छन् ।

सन्नीले डान्स गरेको ‘मधुवनमे राधिका नाचे’ गीतको भिडियोलाई अश्लील तथा आपत्तिजनक भनी मन्त्री मिश्राले तीन दिनभित्र हटाउन आइतबार अल्टिमेटम दिएका हुन् । मिश्राले उक्त गीतको भिडियो आपत्तिजनक भएकाे र भिडियो नहटाए कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

भिडियोले हिन्दु भावनामाथि चोट पुर्‍याएको मन्त्री मिश्राको दाबी छ । उनले भनेका छन् ‘केही मान्छेहरूले निरन्तर रुपमा हिन्दु भावनामा चोट पुर्‍याइरहेका छन् । यहाँ राधाका मन्दिर छन् । हामी उहाँलाई प्रार्थना गर्छौं । साबिक तोसीले आफ्नो धर्मका गीत बनाउन सक्छन् । तर यस्ता गीतले हामीलाई चित्त दुखाउँछन् । यदी भिडियो तीन दिनभित्र हटाइएन भने म कानुनी सल्लाह लिएर कारबाही गर्छु ।’

सन्नी लियोनले नाचेको उक्त गीतको भिडियो रियालिटी शो सारेगम म्युजिकले बुधबार सार्वजनिक गरेको थियो । उक्त गीत कनिका कपुर र अरिन्दम चक्रवर्तीले गाएका हुन् । याे गीतकाे बारेमा भारतमा यतिबेला चर्चा चुलिएकाे छ । हिन्दु धर्ममा आस्था राख्ने अधिकांशले गीतकाे भिडियाे आपत्तीजनक भएकाे प्रतिक्रिया दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१