भारतमा ओमिक्राेन संक्रमित बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यू

काठमाडाैं । भारतमा कोभिड संक्रमण फेरि तीव्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाट लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।

अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारले जनाएकाे छ । राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ ।

अन्य समयमा मास्क लगाएर हिँड्न तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । राज्य सरकारका अनुसार राज्यमा कोरोना संक्रमित दरमा ०.५ प्रतिशत वृद्धि भएको छ ।

आइतबार महाराष्ट्रमा सबैभन्दा बढी ३१ जनामा ओमिक्रोनका संक्रमित फेला परेका छन् । केरलामा १९, चण्डीगढ र मध्य प्रदेशमा ९-९, ओडिसामा ४, तेलंगनामा ३, आन्द्र प्रदेशमा २ हिमाञ्चल प्रदेशमा १ जनामा ओमिक्रोन फेला परेको छ ।

अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुरेन्ट, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१