बिहीबारदेखि मौसम सुधार हुने

काठमाडाैं । पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।

यो क्रम बुधबार रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरी देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताएकाे छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाइ/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोधसमेत महाशाखाले गरेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै, बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१