गोरखा र नुवाकोटका भूकम्प पीडितका लागि भारत र यूएनडीपीले बनाइदिए ५० हजार घर

काठमाडाैं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिएर नयाँ घर पाउनेहरु खुशी भएका छन् । पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दू रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् ।

जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम (यूएनडिपी) को संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ ।

गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरु बताउँछन् । तीन लाखमा निर्माणसम्पन्न भएकाे घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।

गाेरखा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताए । उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो पनि गरे ।

आवास पुनर्निर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको पनि बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढेकाे उनीहरुकाे भनाइ छ । उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ ।

आवास निर्माण साथी डम्बरबहादुर सुनारले घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गरेको बताए । उनले भने, ‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिति भएन । भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरु सहयोग गर्नाले घर बनाउन सफल भयाैँ । यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद ।’

त्यस्तै, सिक्स टेक्टिकल सर्भिसेस प्रालिका दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले नेपालमा भूकम्पबाट सुरक्षित घरहरु निर्माण गरेको बताए ।

उनले भने , ‘यूएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ । हामीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गरेका छौँ । यसमा हामी धेरै नै खुशी छौँ । हामीले सकेसम्म सुरक्षित घरहरु निर्माण गरेका छौँ ।’

नेपाल स्थित भारतीय दुतावास उपप्रमुख खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताइन् । उनले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा सहयोग गरिरहने जानकारीसमेत दिइन् ।

त्यस्तै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बर्नार्डो कोकोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताए । उनले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको भनि भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।

उपप्रतिनिधि बर्नार्डो कोकोले भने, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम हामीले सकेका छौँ । भारतले गरेको सहयोग पनि यसमा सह्रानिय छ । यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौँ ।’ कोकोले पुनर्निर्माणका काममा आफूहरु हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी पनि गरे । उनले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१