शिक्षामन्त्री र केएमसीका सञ्चालकबीच चर्काचर्की (भिडिओसहित)

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको विषयमा सर्वपक्षीय छलफल गर्ने भएका छन् ।

बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर विद्यार्थीहरुको आन्दोलनका बारेमा जानकारी लिँदै मन्त्री पौडेलले शुल्कका विषयमा शुक्रबार सर्वपक्षीय छलफल गर्ने जानकारी गराएका हुन् । सो क्रममा विद्यार्थीहरुले कलेजमा पढ्ने वातावरण नबनेको र आन्दोलन गर्नु परेको जानकारी गराएका थिए । त्यस्तै विद्यार्थीहरुले आयोगले तोकेभन्दा बढी शुल्क कलेजले मागेको बताएका थिए ।

कलेजले पानी बिजुली र इन्टरनेट बाहेक १२ हजार रुपैयाँ होस्टेलका लागि थप मागेको पनि जनाए । सो क्रममा मन्त्री पौडेलले तोकेभन्दा बढि शुल्क तिर्नु नपर्ने बताएका थिए ।

विद्यार्थीहरुसँगकाे छलफलपछि मन्त्री पौडेल कलेज प्रशासनमा पुगेका थिए । सो क्रममा कलेजका सञ्चालकले सम्झौतापत्र भन्दा बढि शुल्क नलिएको दाबी गरेका थिए । उनीहरुले चिकित्सा शिक्षा ऐनमाथि टेकेर सम्झौता गरिएको र आयोगबाट अनावश्यक दवाव दिएकाले अहिलेको परिस्थिति सिर्जना भएको बताएका थिए । मन्त्री पौडेलले विद्यार्थीहरुलाई नियमविपरितको दवाव नदिन निर्देशन दिए ।

विद्यार्थीहरुले आन्दोलन गरेकै कारण आफूहरुको अंक काट्ने चेतावनी आफूहरुलाई दिएको गुनासो पनि गरेका छन् । तोकेकोभन्दा बढी शुल्क मागेको भन्दै काठमाडौं मेडिकल कलेजलगायतका केही कलेजका विद्यार्थीहरु आन्दोलित भए पनि शिक्षामन्त्री पौडेलले चासो देखाए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१