७३ औं गणतन्त्र दिवस मनाउदै भारत,नेपालस्थित भारतीय दुतावासमा विविध कार्यक्रम

आज भारतले आफ्नो ७३ औं गणतन्त्र दिवस मनाउँदै छ। गणतन्त्र दिवसमा भारतका १२ राज्य र केन्द्र शासित प्रदेशका साथै ९ मन्त्रालयले झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
भारतले प्रत्येक वर्षको जनवरी २६ मा आफ्नो गणतन्त्र दिवस मनाउँदै आएको छ। सन् १९५० को जनवरी २६ देखि भारतको आफ्नै संविधान कार्यान्वयनमा आएको थियो।

त्यस्तै गणतन्त्र दिवस नेपालस्थित भारतीय दुतावासमा पनि मनाईएको छ। नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाईएको थियो। साथै भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

७३ औ गणतन्त्र दिवस भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिने जनाईएको छ । सो अन्तर्गत नेपालमा प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ ।साथै नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरिनेछ ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१