बीचमा रूखसहित दायाँबायाँ पिच, सडक भयो ‘भाइरल’

तनहुँ । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ ।

सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ ।

सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ ।

सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयसमेत रहेका व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले बताए ।

‘शनिबार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो’, उनले भने  ।

तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो ।

अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ। हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ ।

कूल रु १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो ।

उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।

कालोपत्र सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ ।

उक्त सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नम्बर १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ । रासस

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१