पूर्व मिस यूएसए चेस्लीले गरिन् आत्महत्या

काठमाडौं । सन् २०१९ की मिस यूएसए तथा म्यागजिन ‘एक्स्ट्रा’ की संवाददाता चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । उनी यही जनवरी ३० मा न्युयोर्क सिटीमा मृत भेटिएकी हुन् ।

न्युयोर्क पोस्टका अनुसार ३० वर्षीय चेस्लीको न्युयोर्क सिटीको ३५० वेस्ट ४२ स्ट्रिटमा अवस्थित २०६.१५ मिटर अग्लो भवनबाट आइतबार बिहान ७ : १५ बजे हामफालेर मृत्यु भएको हो । उक्त भवनको नवौँ तलामा बस्ने उनी त्यसको सबैभन्दा माथिको तला अर्थात् २९ औं तलाको कौसीबाट हामफालेकी हुन् ।

वासिङटन पोस्टमा विज्ञप्ति जारी गरी चेस्लीको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘ठूलो शोकमा, हामी हाम्रो प्यारी चेस्लीको निधनको खबर सार्वजनिक गर्दैछौँ । उनको महान् ज्योति भनेको उनको सुन्दरता र शक्तिले संसारभरिकालाई प्रेरणा दिनु रह्यो ।’

आत्महत्या गर्नुअघि उनले अन्तिम पोस्टका रूपमा इन्स्टाग्राममा आफ्नो एउटा सुन्दर फोटोसहित लेखेकी थिइन्, ‘यो दिनले तपाईंमा शान्ति र आराम ल्यायोस् ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१