हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो ।

दुई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गर्दै काउन्सिलले पत्रपत्रिका वितरण संपरीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको विज्ञप्तिमार्फत जानकारी गराएकाे हाे ।

नतिजाअनुसार आव २०७५/७६ को वर्गीकरणका लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् ।

यस्तै, ‘ख’मा ४७६ पत्रपत्रिका, ‘ग’ मा १३७ पत्रपत्रिका र ‘घ’ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् ।

वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, तीन अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, सातवटा द्वैमासिक पत्रिका र छवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् ।

तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । त्यस्तै आव २०७६–७७ को वर्गीकरणका लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् ।

यस्तै ‘ख’मा ४३१ पत्रपत्रिका, ‘ग’मा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । ‘घ’ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, दुई अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, छवटा द्वैमासिक पत्रिका र आठवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् ।

तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप सात दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको २५ प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१